Friday, March 29, 2013

अख्तियारको निर्देशनले फ्रिक्वेन्सीका काम ठप्प हुने

काठमाडौ, चैत्र १६ - दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्य) सम्बन्धी नीति २०६९ कार्यान्वयन नगर्न अख्तियारले निर्देशन दिएपछि एकीकृत अनुमतिपत्र, अतिरिक्त फ्रिक्वेन्सी, थ्रीजी, फोरजी सेवालगायत काममा ठप्प हुने भएको छ । उसले एकीकृत अनुमतिपत्रका लागि आवेदन दिएका कम्पनीलाई मार पर्ने र पुरानालाई फाइदा हुने देखिएको छ । आधारभूत टेलिफोन सेवाको नाममा एकीकृत लाइसेन्स दिने प्रक्रिया अघि बढिरहेको समयमा आएको अख्तियारको निर्देशनले जीएसएम मोबाइल सेवामा नयाँ कम्पनीको प्रवेशलाई पछि धकेल्ने भएको हो । नीतिले बढाएको शुल्क लागू नहुँदा पुराना कम्पनीलाई भने फाइदा पुग्ने देखिन्छ । अख्तियारले पत्रमा अनुसन्धान भइरहेकाले नीति लागू नगर्न भनेको छ । छिट्टै अनुसन्धान सकिएर स्पष्ट निर्देशन नआए दूरसञ्चार क्षेत्रका समस्या चुलिने देखिएको हो । अख्तियारले निर्णयको जानकारी दूरसञ्चार प्राधिकरणमा दिए पनि तालुकदार मन्त्रालय सूचना तथा सञ्चारमा भने जानकारी पठाएको छैन । 'हामीलाई कुनै जानकारी आएको छैन,' मन्त्रालय स्रोतले भन्यो, 'प्राधिकरणका पत्र आएको सुनिएको छ र त्यसले के भन्न खोजेको हो बुझेका छैनौं ।' अख्तियारले पत्र नपठाए पनि मन्त्रालयमा अनौपचारिक छलफल भने भएको थियो । 'चार जना सचिव र एक जना मन्त्रीले बनाएको नीति छलफलै नगरी एक सचिवले लागू नगर्न निर्देशन दिएका छन्,' सञ्चार स्रोतले भन्यो, 'के गर्न खोजिएको हो
बुझिएन ।' नीति कार्यान्वयन भइसकेकाले अख्तियारको निर्णयले प्राधिकरणलाई भने अप्ठेरोमा पारेको उनले बताए । '२ अर्बभन्दा बढी शुल्क पनि उठिसकेको छ,' मन्त्रालय स्रोत भन्छ, 'त्यो पनि फिर्ता गर्नुपर्ने हो वा होइन स्पष्ट छैन ।' प्राधिकरणले सहयोग मागे छलफल गर्न सकिने उनले बताए ।
दूरसञ्चार प्राधिकरणले भने अख्यिारको पत्र पाएपछि अध्ययन गरेर अघि बढ्ने बताएको छ । 'अध्ययन गरेर धारणा तयार गर्छौं र आवश्यक परे अख्तियारसमक्ष पत्राचार गर्छौं,' प्राधिकरणका निर्देशन आनन्दराज खनालले बताए । अध्ययन गरेपछि मात्रै अख्तियारको निर्देशनबाट पर्ने असरबारे बोल्न सकिने उनले बताए ।
पछिल्लो समय दूरसञ्चार प्राधिकरणले एकीकृत लाइसेन्सका लागि तीन कम्पनीको अध्ययन गरिरहेको छ । एकीकृत लाइसेन्स जारी गर्न कुनै समस्य नभए पनि कम्पनीलाई आवश्यक पर्ने पि|mक्वेन्सीलगायत सुविधामा असर पर्छ । नीतिले आधारभूत टेलिफोन सेवाका लागि न्यूनतम, अधिकतम र थप पि|mक्वेन्सी तोकेको छ । नीतिले कम्पनीको न्यूनतम पि|mक्वेन्सीको मूल्य कम्पनीको आम्दानीको ० दशमलव ४ प्रतिशत तोकेको छ । थप पि|mक्वेन्सीको मूल्य पनि नीतिबाटै सार्वजनिक भएको छ ।
अख्तियारले प्राधिकरणलाई पठाएको पत्रमा नीति र मन्त्रिपरिषद्ले गरेको असोज ११ गते गरेको निर्णयबीच तादात्म्यता नभएको र नीतिको दफा १४ अनुसार नवीकरण शुल्क लागू गर्दा सरकारलाई ठूलो आर्थिक नोक्सानी हुने उल्लेख गरेको
छ । तर यो नीति आउनुअघि थ्रीजी शुल्कबारे अन्य कानुनले केही बोलेका थिएनन् ।  सरकारले यही नीतिलाई आधार बनाएर २ अर्ब ७० करोड रुपैयाँ शुल्क उठाइसकेको छ । पछिल्ला तथ्यांकअनुसार नेपाल सेटलाइट टेलिकमबाहेकका ५ कम्पनीबाट थ्रीजी लगायत पि|mक्वेन्सी प्रयोग गरेबापत उक्त रकम सरकारले पाएको हो ।
नीतिले आधारभूत टेलिफोन सेवाको कम्तीमा दुई लाइसेन्स जारी भएको ३ देखि ६ महिनाभित्र थ्रीजी पि|mक्वेन्सीको बाँडफाँट गर्ने उल्लेख गरेको छ । जसमा न्यूनतम मूल्य प्रतिमेगाहर्ज १ करोड २० लाख रुपैयाँ राखिएको छ । यसका साथै भिस्याटको शुल्कबारे पनि यही नीतिमा उल्लेख छ । 'पि|mक्वेन्सीबिना दूरसञ्चार क्षेत्रमा केही हुँदैन, गएको मंसिरमा अख्तियारले नै नीति कडाइका साथ लागू गर्न भनेको थियो,' प्राधिकरणका एक अधिकारीले भने, 'अहिले किन यस्तो निर्देशन आयो थाहा भएन ।'
अख्तियारले गत मंसिर अन्त्यमा पि|mक्वेन्सी वितरण गर्दा १० अर्बभन्दा बढीको घाटा मुलुकलाई भएको भन्दै सार्वजनिक लेखा समितिले गरेको उजुरी माथिको अनुसन्धान रोकेका थियो । अनुसन्धान रोकेर पि|mक्वेन्सी वितरण नियमित गर्न अख्तियारले प्राधिकरणलाई निर्देशन दिएको थियो ।
यसअघि कुनै कानुनमा नभएको पि|mक्वेन्सी फिर्ता लिन सक्ने अधिकार पनि पछिल्लो नीतिमा छ । नीतिले आधारभूत टेलिफोन सेवा उपलब्ध गराउने कम्पनीले पाएको न्यूनतम पि|mक्वेन्सी र थप पि|mक्वेन्सी ग्राहक बढाउन नसके फिर्ता लिने प्रावधान पनि राखेको छ । फोरजी सेवाको सुरुवात गर्ने र मूल्य निर्धारणको विषय पनि यही नीतिमा छ । जसले नयाँ सेवा प्रदायकलाई पनि बाटो खोलेको छ । नयाँ सेवा वा प्रविधिका लागि छुट्याइने रेडियो पि|mक्वेन्सीको वितरण तथा मूल्य बजारले निर्धारण गर्ने र त्यसका लागि लिलाम बढाबढको व्यवस्था पनि नीतिमा छ । नीतिले नै पि|mक्वेन्सी व्यापार (स्प्रेक्ट्रम ट्रेडिङ) लाई रोक लगाएको छ ।

रेडियो फ्रिक्वेनसी नीति लागू नगर्न अख्तियारको निर्देशन

काठमाडौ, चैत्र १५ - अख्तियार दुरुपोग अनुसन्धान आयोगले दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेनसी-बाँडफाँट तथा मूल्य) सम्बन्धी नीति २०६९ कार्यान्वयन नगर्न निर्देशन दिएको छ । नीतिको दफा १४ ले निर्धारण गरेको नवीकरण शुल्क लागु गर्दा सरकारलाई ठूलो आर्थिक नोक्सानी हुन सक्ने र यसमाथि अनुसन्धान जारी रहेकाले लागू नगर्न दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको हो ।  
मन्त्रिपरिषद्ले असोज ११ गते नवीकरण शुल्कबारे गरेको निर्णय र नीतिबीच पनि तादात्म्यता नभएकाले लागू नगर्न अख्तियारले सोमबार निर्णय गरेको छ । 'दुईबीच तादात्म्यता नभएकाले नीति लागू नगर्न/नगराउन निर्देशन दिएका हौं,' अख्तियारका प्रवक्ता कृष्णप्रसाद ढुंगानाले भने ।
मन्त्रिपरिषद्ले उक्त मितिमा शुल्कमा रहेको विवाद समाधान गर्न बनेको कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा निर्णय गरेको थियो ।  निर्णयअनुसार नेपाल टेलिकम र एनसेलले ८ किस्तामा २० अर्ब १३ करोड रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्ने उल्लेख छ । नीतिले भने आधारभूत टेलिफोन सेवा सञ्चालकलाई १० किस्तामा नवीकरण शुल्क बुझाउन भनेको छ । 'मन्त्रिपरिषद्को निर्णयले दुई ठूला कम्पनीले ८ किस्तामा तिर्नुपर्ने व्यवस्था गर्‍यो । नीतिमा भने १० किस्ता राखिएकाले बाझियो,' अख्तियारका अनुसन्धान अधिकृत समीर सिलवालले बताए ।
टेलिकम र एनसेलले ८ वर्षमै पूरै शुल्क बुझाउने सुविधा पाएका छन् । नीतिअनुसार एकीकृत लाइसेन्स लिएर सञ्चालनमा आउने कम्पनीले सोही अवधिमा ३ अर्ब ५० करोड रुपैयाँ मात्र बुझाउँदा हुने देखिन्छ । नवीकरण शुल्कमा नीति र मन्त्रिपरिषद्को निर्णय नमिल्ने भन्दै अख्तियारमा उजुरी परेपछि पछिल्लो निर्णय आएको हो । 'यससम्बन्धमा हामी थप छानबिन गर्दै छौं,' सिलवालले भने । नीतिको नाम पि|mक्वेन्सी बाँडफाँट तथा मूल्य निर्धारण भए पनि त्यसले लाइसेन्स नवीकरणको मुद्दालाई पनि सम्बोधन गरेकाले न्यायोचित नदेखिएको अख्तियार स्रोत बताउँछ ।
मन्त्रिपरिषद्को निर्णयलाई आधार मानेर टेलिकम र एनसेलले पहिलो किस्ताको रकम बुझाइसकेका छन् । टेलिकमले पछिल्लो पटक २ अर्ब ५० करोड र त्यसअघि १८ करोड रुपैयाँ बुझाएको छ । एनसेलले पनि २ अर्ब ५० करोड रुपैयाँको पहिलो किस्ता बुझाएको छ । दुवैले ७ किस्ता बुझाउन बाँकी छ ।
गत असोजमा यूटीएलको लाइसेन्स नवीकरण गर्ने बेलामा मन्त्रिपरिषद्ले ८ वर्षमा शुल्क बुझाउँदा हुने छुट दिएको थियो । यूटीएललाई सुविधा दिएपछि सोही निर्णयमार्फत टेलिकम र एनसेललाई पनि छुट दिइएको थियो । यूटीएलले भने अन्य दुई जस्तो २० अर्ब रुपैयाँ शुल्क बुझाउनुपर्ने प्रावधान छैन । यूटीएलले नाफाको ४ प्रतिशत वा लाइसेन्स लिँदा कबोल गरेको रकम जुन बढी हुन्छ सोही बुझाउनुपर्ने सर्त छ ।
नेपाल टेलिकमले दुई वर्षअघि नै नवीकरण शुल्क बुझाउनुपर्ने भए पनि एनसेलले नबुझाएसम्म नतिरी बसेको थियो । एनसेलले पहिलो किस्ताको रकम बुझाएको करिब एक साताभित्र टेलिकमले पनि आफ्नोतर्फको रकम दिएको थियो । अख्तियारले दूरसञ्चार प्राधिकरणलाई पत्र पठाए पनि जानकारीमा आई नसकेको एक अधिकारीले बताए । 'हामीलाई जानकारी आइसकेको छैन,' दूरसञ्चार प्राधिकरण स्रोतले भन्यो । अख्तियारले उक्त नीति लागू नगर्न निर्देशन दिएपछि नवीकरण शुल्क बुझाउने समयमा पुनः समस्या हुने देखिएको छ । नयाँ नीति लागू नभएको अवस्थामा २०६८ को नीतिअनुसार काम गर्नुपर्ने भएको छ । सरकारले दूरसञ्चार सेवामा प्रयोग हुने पि|mक्वेन्सीको शुल्कमा समयानुकूल परिवर्तन गर्न र थ्रीजी, फोरजीलगायत प्रविधिमा आधारित सेवाको शुल्क तोक्न २०६९ मा पछिल्लो नीति लागू भएको थियो ।
एकीकृत दूरसञ्चार लाइसेन्समा पनि असर पर्ने
अख्तियारले दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेनसी (बाँडफाँट तथा मूल्य) सम्बन्धी नीति २०६९ को कार्यान्वयन रोकेपछि एकीकृत लाइसेन्समा पनि प्रभाव पर्ने देखिएको छ । दूरसञ्चार प्राधिकरणले तीन कम्पनीले अनुमति मागेको एकीकृत लाइसेन्सको अध्ययन गरिरहेको छ । कुनै कम्पनीले यस्तो लाइसेन्स पाइहाले फ्रिक्वेनसी र त्यसको मूल्य तोक्न समस्या हुने देखिएको हो । यी दुवै विषयलाई रोकिएको नीतिले समेटेको छ । यसका साथै लाइसेन्स पाए पनि नवीकरण शुल्क कति तिर्ने भन्ने विषय पनि अस्पष्ट भएको छ ।

Wednesday, March 27, 2013

किन बढ्दो छ एटीएम ठगी

काठमाडौ, चैत्र १४ - इन्भरेस्टमेन्ट बैंक, सिद्धार्थ, लक्ष्मी र एससीटी नेटवर्ककको कार्डसहित गैरकानुनी रूपमा एटीएमबाट रकम झिक्ने गिरोह कञ्चनपुरमा आइतबार पक्राउ पर्‍यो । उक्त गिरोहबाट भारतीय एटीएम मेसिन प्रयोग गरेर नेपाली खातामा रहेको रकम झिक्न बैंकको पिन नम्बर पनि भेटिए । यसबारे प्रहरीले अनुसन्धान जारी राखेको छ भने उता पिन नम्बर कसरी बाहिर गयो भन्ने विषयमा सम्बन्धित बैंक अचम्ममा परेका छन् ।
करिब ३ महिनाअघि हिमालयन बैंकको कार्ड शाखामा कार्यरत एक कर्मचारीले एटीएमको प्रयोग गर्दै गैरकानुनी तरिकाबाट सर्वसाधारणको रकम झिकेर चलाए । ग्राहकले खाताबाट रकम झिकिएको गुनासो गरेपछि बैंकले अनुसन्धान थाल्यो र फटाइँ गर्ने कर्मचारी टाप कसे । एक महिना पनि नबित्दै भारतबाट फेरि हिमालयन बैंककै ग्राहकको एटीएममार्फत रकम झिकियो । त्यसपछि बैंकले करिब ५० हजार कार्ड परिवर्तन गरेर समस्या सुल्झायो । सँगै एकै प्रणालीअन्तर्गत कार्ड सेवा दिइरहेका अन्य दुई बैंकले पनि आफ्ना ग्राहकको कार्ड परिवर्तन गरे
करिब वर्षअघि एक वाणिज्य बैंकका ग्राहकले खाताबाट पैसा हराएको गुनासो गरे । अनुसन्धानमा बैंकको कार्ड विभागका कर्मचारीले ग्राहकको पिन नम्बर छाप्दा कार्बन राखेर अर्को प्रति निकालेको थाहा भयो । कर्मचारीलाई कारबाही गरेर ग्राहकलाई क्षतिपूर्ति दिएपछि बैंकले कार्डको पिन नम्बर छापिने स्थानमा सीसीटीभी जडान गरेको छ ।
यीमध्ये दुई घटना सञ्चारमाध्यममा सार्वजनिक भइसकेका छन् । अन्तिममा राखिएको घटना भने सञ्चारमाध्यममा नआए पनि बैंकका कर्मचारीले प्रविधिका कारण बढ्दै गएको ठगीबारे बुझाउन एक औपचारिक कार्यक्रममा बताएका थिए । तीन घटनाले रकम सुरक्षित राख्ने बैंकको बढ्दो जोखिम देखाउँछ । सँगै कागजी कारोबार घटाएर अत्याधुनिक उपकरणको प्रयोग बढाउन खोजिरहेको राष्ट्र बैंकलाई पनि सुरक्षाका विषयमा सोच्न बाध्य पारेको छ ।
कार्ड प्रयोगकर्ताको संख्या बढ्न थालेपछि अपराधीका आँखा डेबिट र क्रेडिट कार्डमा पुगेको छ । मुलुकभर यस्ता कार्ड प्रयोग गर्ने ३० लाख २५ हजारको खाता र त्यसमा रहेको रकम झिक्न सजिलो नभए पनि जुक्ति लगाउने काम भने बढ्दै गएको माथिका घटनाले देखाउँछ ।
सूचना प्रविधिमा आधारित बैंकिङ सेवा बढ्दै गएपछि नयाँनयाँ ठगीका घटना आउने क्रम बढेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो -सीआईबी) को ठम्याइ छ । 'महिनामा एक/दुई वटा उजुरी आउने गरेका छन्,' सीआईबीका वरिष्ठ प्रहरी उपरीक्षक -एसएसपी) उत्तमबहादुर कार्कीले भने । आएका उजुरीको अनुसन्धान गरिरहे पनि नियन्त्रणको काम भने सम्बन्धित बैंकले नै गर्नुपर्ने उनको भनाइ छ ।
सेवाको माध्यममा विवधता आएपछि यस्ता घटना आउनु असामान्य भन्न नमिल्ने राष्ट्र बैंकका अधिकारी बताउँछन् । 'पहिले सिक्का, त्यसपछि नोट र चेकबाट पनि ठग्ने क्रम देखिएकै हो,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवाली भन्छन्, 'केही विषयमा बैंकले ध्यान दिए एटीएमबाट ठग्ने घटना कम गर्न सकिन्छ ।' तर ठगीका घटना हुनुले यस्तो ध्यान पुग्न नसकेको देखिन्छ । त्यसमा राष्ट्र बैंकले पनि ध्यान पुर्‍याउन नसकेको देखिन्छ ।
बैंक वित्तीय संस्थाले आफ्नो सूचना प्रविधि प्रणालीलाई दरिलो बनाउनुपर्ने र आन्तरिक नियन्त्रण प्रणालीमा पनि ध्यान दिँदा समस्या घट्ने ज्ञवाली बताउँछ । 'अहिले कर्मचारीसँग जोडिएका सूचना प्रविधिबाट हुने ठगीका घटना धेरै देखिएका छन्,' उनले भने, 'यसलाई अन्तरिक नियन्त्रण प्रणाली बलियो बनाएर रोक्न सकिन्छ ।'
कर्मचारीको कामप्रति लगाव नरहनु र फटाइँ गर्दा हुने कारबाहीबारे डर नभएले यस्ता समस्या देखिएको उनले बताए । राष्ट्र बैंकले दिएका निर्देशन पालना गर्ने र प्रणालीलाई बलियो बनाउँदा समस्या घट्ने उनको बुझाइ छ ।
बैंकर्स संघका उपाध्यक्ष उपेन्द्र पौडेल पनि नियन्त्रण प्रणाली बलियो बनाए समस्या हटाउन सकिने बताउँछन् । 'एकै कर्मचारीमा सबै जिम्मेवारी दिन हुँदैन,' उनले भने, 'चेक एन्ड ब्यालेन्स गर्न सकियो भने समस्या कम हुन्छ ।'
यस्ता ठगीका घटना प्रविधिको विकाससँगै आउनु सामान्य रहेको उनी बताउँछन् । 'प्रविधिबाट ठग्ने नयाँ उपाय आएजस्तै त्यसबाट बच्ने उपाय पनि आइरहेका छन्,' उनले भने, 'यो चलिरहने प्रक्रिया हो ।' इन्भेस्टमेन्ट बैंक आफैंले ठगी गर्नेलाई अनुगमन गरेर पक्राउ गर्नु यसकै उदारहण रहेको उनले बताए । 'बैंकले पनि सधै चनाखो रहनुपर्ने देखिएको छ,' उनले भने । बैंकका कर्मचारी मिल्दा यस्ता घटना हुने सम्भावना बढी रहेकाले व्यवस्थापनले जिम्मेवारी दिँदा विचार पुर्‍याउनुपर्ने उनले बताए ।
प्लास्टिक मनी नै किन ?
सिक्काको प्रयोगबाट सुरु भएको पैसा इतिहास पछिल्लो समय 'प्लास्टिक मनी' मा आइपुगेको छ । मूल्य तोकिएका यस्ता वस्तुको प्रचलनसँगै अपराधका नयाँनयाँ घटना पनि आउन थाले । पछिल्लो समय इन्टरनेटबाट हुने कारोबारमा विश्वभर यस्ता आपराधिक घटना बढेका छन् । डेबिट वा क्रेडिट कार्डबाट गरिने आपराध क्रियाकलाप पनि उत्तिकै छन् । तर पनि संसारभर प्लास्टिक मनीलाई प्रोत्साहन गर्ने कार्य जारी छ । यसको एउटा प्रमुख कारण हो, खर्च । सबै मुलुकले नोट छाप्नका लागि रकम खर्च गर्नुपर्छ । प्लास्टिक मनीको कारोबार बढेपछि यस्तो खर्च घट्छ ।
'यसले नोट छाप्दा लाग्ने खर्च घट्छ र बोक्न सजिलो पनि हुन्छ,' ज्ञवाली भन्छन्, 'त्यसले केही ठगीका घटना देखिए पनि कारोबारलाई सबै मुलुकले बढावा दिएका छन् ।' विकसित मुलुकमा यस्ता कार्डबाटै कारोबार गर्ने धेरै छन् । नेपाल आउने पर्यटकले पनि यस्ता कार्ड प्रयोग धेरै गरेपछि केही समयदेखि नगदमा विदेशी मुद्राको कमी देखिएको थियो । त्यसबेला राष्ट्र बैंकले विदेश जाँदा नगदको साटो अन्य विकल्प रोज्न सर्वसाधारणलाई आग्रह गरेको थियो ।
ठगी गर्न सजिलो छैन अर्कै व्यक्तिको खातामा भएको रकम एटीएमबाट झिक्नु सजिलो काम होइन । यसरी चोरी गर्दा कार्ड छाप्न सजिलै सकिए पनि त्यसमा रहेको नम्बर र पिन कोड पत्ता लगाउन असम्भव जस्तै हुन्छ । त्यसैले बैंकको कर्मचारीको संलग्नतामा यस्ता घटना भएका हुन्छन् । कार्ड छापेर धेरै रकम खातामा भएको व्यक्ति पत्ता लगाएपछि ठगी गर्नेले अन्य तथ्यांक जुटाउन थाल्छन् । यस्ता तथ्यांकको आधार एटीएमबाट निस्केको स्लिप वा कार्डमार्फत भुक्तानी गरिएका पसल हुन सक्छन् । तर कारोबार गर्न आवश्यक पिन नम्बर भने ग्राहक आफैंले नदिई वा बैंकका कर्मचारीले उपलब्ध नगराएसम्म थाहा पाउन सकिँदैन ।

Tuesday, March 26, 2013

नक्कली एटीएमबाट पैसा झिक्ने गिरफ्तार

काठमाडौ, चैत्र १३ - प्रहरीले कञ्चनपुरबाट नक्कली कार्ड प्रयोग गरी एटीएमबाट रकम झिक्ने तीन भारतीय नागरिकलाई गिरफ्तार गरेको छ । गिरफ्तारलाई थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौं ल्याएको छ ।
प्रारम्भिक अनुसन्धानमा इन्भेस्टमेन्ट बैंकको एटीएममार्फत ढेड लाख रुपैयाँ झिकेको खुलेको छ । 'अन्य तीन बैंकबाट पनि रकम झिकिएको हुन सक्ने अनुमान छ,' सीआईबी स्रोतले भन्यो । पछिल्लो चार दिनदेखि इन्भेस्टमेन्ट बैंकले आफैं अनुगमन गरी प्रहरीलाई खबर गरेपछि गिरोहका सदस्य पक्राउ परेका हुन् । छोटो समयमै पक्राउ परेपछि गिरोहले डेढ लाखको हाराहारीमा मात्र रकम झिक्न पाएको स्रोतको दाबी छ । 'पक्राउ परिसकेकाले बैंकका कुनै पनि खाता वा कार्डमा अहिले समस्या देखिएको छैन,' स्रोतले भन्यो ।
बैंकका एक ग्राहकले भारतबाट आफ्नो रकम झिकिएको गुनासो गरेपछि पछिल्लो सातादेखि बैंकले कार्डको अनुगमन थालेको थियो । 'दैनिक औसत १ हजार कार्ड भारतमा प्रयोग हुन्छ,' बैंक स्रोतले भन्यो, 'ती सबैको अनुगमन गर्दै शंका लागेका करिब ३५ कार्ड बन्द गरेका थियौं ।' कार्ड बन्द भएपछि गिरोहले नेपाल प्रवेश गरेर रकम झिक्न खोजेका थिए । बन्द गरिएको कार्डबाट रकम झिक्न खोजेको सूचना बैंकमा आएपछि प्रहरीलाई खबर गरेर तीन जनालाई पक्राउ गरिएको हो । 'झिक्न सक्ने रकमको सीमा घटाउँदै उनीहरू भएको ठाउँ पत्ता लगाएर प्रहरीलाई खबर गरेका थियौं,' स्रोतले भन्यो, 'आइतबार तीन जना पक्राउ परेका हुन् ।' इन्भेस्टमेन्टले कार्ड सेवा दिने अन्तर्राष्ट्रिय कम्पनी भिजासँग सहकार्य गरेर सबै कार्डको अनुगमन गरेको थियो । मुलुकभित्र अनुगमन गर्दा अन्य बैंकलाई पनि इन्भेस्टमेन्टको कार्ड प्रयोग गरिए खबर गर्न भनिएको थियो । 'ठूलो रकम ननिस्किएपछि ८ सय रुपैयाँसम्म झिक्न खोजेका थिए,' स्रोतले भन्यो । पक्राउ परेको साथमा पुराना धेरै वटा एटीएम कार्डको पिन नम्बर पनि फेला परेको छ । बैंकका ग्राहकको पिन नम्बर कुनै माध्यमबाट चोरेर घटना भएको हुन सक्ने अनुमान बैंकले गरेको छ । 'अनुसन्धान भइरहेको छ,' बैंक स्रोतले भन्यो, 'केही दिनमै सबै पत्ता लाग्ला ।' प्रहरीले भने अनुसन्धान जारी रहेको जानकारी दिएको छ । 'भारतबाट कार्ड बनाएर नेपालमा पनि झिक्ने गरेको देखियो,' प्रहरी स्रोतले भन्यो, 'एससीटी, हिमालयन, लक्ष्मी र सिद्धार्थ बैंकका कार्ड पनि भेटिए ।' घटनाले बैंक थप चनाखो हुनुपर्ने अवस्था आएको बैंकर्स संघका अध्यक्ष राजनसिंह भण्डारीको टिप्पणी छ । 'बैंकहरूले सुरक्षामा थप चनाखो हुनुपर्ने देखियो,' उनले कान्तिपुरसँग भने, 'प्रणालीभन्दा व्यक्तिको नियतमा खराबी भएर यस्तो समस्या भएको हो ।' रकम झिक्दा दायरा घटाइयो घटनापछि इन्भेस्टमेन्ट बैंकले एटीएमबाट झिक्न सकिने रकमको दायरा घटाएको छ । बैंकले एक कारोबारमा ५ हजार रुपैयाँसम्म झिक्न सकिने व्यवस्था गरेको छ । ५ हजारका दरले १० पटक रकम झिक्न सक्ने व्यवस्था गरिएको छ । अनुसन्धान अघि बढ्दै गएकाले यसलाई क्रमशः पुरानै व्यवस्था अनुसार बनाइने बैंकले जनाएको छ । सामान्य अवस्थामा २४ घन्टाभित्र एक पटक ४० हजारका दरले ४ पटक रकम झिक्न सकिन्छ । पक्राउ परेकासँग भेटिएको एटीएमका आधारमा अन्य केही बैंकले पनि झिक्न सक्ने रकमको दायरा घटाएका छन् । कसरी झिकिन्छ ?
नक्कली एटीएमबाट रकम झिक्न सजिलो छैन । हरेक कार्डलाई उपलब्ध गराइएको पिन नम्बर पत्ता लागेपछि मात्रै एटीएमबाट रकम झिक्न सकिन्छ । यस्तो पिन नम्बर बैंकका सीमित कर्मचारीभन्दा बाहिर जाँदैन । 'बैंकका कर्मचारीको मिलेमतो नभएसम्म यस्तो घटना हुन सक्दैन,' एक बैंकरले भने । नियत गलत भएका कर्मचारीले यसको दुरुपयोग गरेका घटना भने यसअघि पनि आएका छन् । यस्ता घटनाबाट बच्नका लागि ग्राहकले आफ्नो पिन नम्बर समयसमयमा परिवर्तन गर्नु नै सबैभन्दा उपयुक्त विकल्प भएको एक बैंकर्स बताउँछन् ।
शंका सुवालसम्म
केही महिनाअघि हिमालयन बैंकमा भएको काण्डजस्तै घटना भएपछि शंका पुरानै अभियुक्ततर्फ गएको छ । हिमालन बैंकका पूर्वकर्मचारी अनीशभक्त सुवालले नक्कली कार्डबाट करिब ६ करोड रुपैयाँ झिकेर फरार छन् । उनी फरार भएको केही समयपछि भारतबाट पनि गैरकानुनी रूपमा केही खाताबाट रकम झिकिएको थियो । यी दुवै घटनामा सुवालकै संलग्नता रहेको अनुमान छ । हिमालयन बैंकले २०१२ अघि जारी गरेका कार्डबाट उक्त समय रकम झिकिएको थियो । इन्भेस्टमेन्ट बैंकका पनि पुराना खाताबाट रकम झिकिएको थियो । योसँगै दुवै घटना भारतमा भएकाले पनि सुवालमाथि शंका गएको हो । सुवाल हिमालयन बैंकको कार्ड शाखामा कार्यरत थिए, त्यसैले बैंकले जारी गरेको पिन नम्बर लिन उनलाई सजिलो थियो ।

Monday, March 25, 2013

सञ्चालक र व्यवस्थापक छुट्याउने प्रयास अलपत्र

काठमाडौ, चैत्र १२ - महत्त्वाकांक्षी भएर राष्ट्र बैंकले मौद्रिक नीतिमा बैंक वित्तीय संस्थामा व्यवस्थापक र सञ्चालकबीच भिन्नता राख्ने कार्यक्रम ल्याए पनि कार्यान्वयन हुन सकेको छैन । यस वर्षको मौदि्रक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंकर र उद्यमी व्यवसायीबीच भिन्नता कायम गर्ने कार्यक्रम राखेको थियो । जसलाई नीतिको समीक्षा गर्दा पनि दोहोर्‍याइएको थियो । तर बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०६३ ले बैंक वित्तीय संस्थामा सञ्चालक कार्यकारी प्रमुख हुन पाउने व्यवस्था सहित अन्य छुट दिएपछि भिन्नता ल्याउन असहज भएको छ । 'लाइसेन्स नीतिका कारण यो एकै पटक हुने काम होइन,' राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले भने, 'यसमा धेरै एजेन्डा छन्, बिस्तारै हुन्छ ।' लाइसेन्स नीतिमै परिमार्जन गरेपछि मात्रै लगानीकर्ता र बैंकर छुट्याउन सकिने उनले बताए । लगानी गर्ने र व्यवस्थापन सम्हाल्ने दुवै जिम्मा एकै व्यक्ति वा समूहले लिएको बैंक वित्तीय संस्थाको सुशासन र ऋण पोर्टफोलियो अन्यको तुलनामा बढी समस्यामा देखिएको छ । राष्ट्र बैैंकको सुपरिवेक्षण विभागले गरेको अध्ययनमा यस्तो समस्या देखिएको हो । 'मुख्य लगानी भएको व्यक्ति व्यवस्थापनमा समेत बस्दा समस्या भएको देखियो,' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, 'जसलाई सुधार गर्नुपर्ने देखिएको छ ।' नेपाल सेयर मार्केट्स, गोर्खा विकास बैंक, किस्टल फाइनान्स, हिमालय फाइनान्स, कुबेर मर्चेन्ट फाइनान्स, श्रीलंका मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, युनाइटेड विकास बैंकलगायत संस्थामा पनि देखिएको संस्थागत सुशासन अभाव र त्यसका सञ्चालकको संलग्नताका कारण यस्तो देखिएको हो । राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवाली पनि बैंकको दैनिक काममा सेयरधनीको हस्तक्षेप हुनु राम्रो नरहेको बताउँछन् । 'बैंकका प्रवर्द्धक काममा प्रत्यक्ष संलग्न हुनु राम्रो होइन,' उनले भने, 'यसलाई अन्तर्राष्ट्रियस्तरमा पनि राम्रो मानिदैन ।' सबै संस्थापकका कारण संस्थामा समस्या नपरे पनि समस्यामा पर्ने अधिकांश संस्थामा कारक भने हस्तक्षेप गर्न खोज्ने लगानीकर्ता नै देखिएका छन् । लाइसेन्स नीतिमा कुनै रोकटोक नभएपछि अधिकांश व्यापारिक पृष्ठभूमिका व्यक्तिले बैंक वित्तीय संस्थामा खुलेर लगानी गरेका छन् । जसलाई रोक्न, छेक्न राष्ट्र बैंकलाई सजिलो छैन । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनले लगानीकर्ता प्रवर्द्धकलाई बैंक वित्तीय संस्थाको व्यवस्थापनमा बस्न छुट दिएपछि त्यस विपरीत निर्देशन दिन मिल्दैन तर मौखिक निर्देशन भने समय समयमा दिने गरेको छ । अर्कोतर्फ एकै समूहको लगानी रहेका वित्तीय संस्थालाई गाभिन राष्ट्र बैंकले प्रेरित गरिरहेको छ । बैंक वित्तीय संस्थामा लगानी गर्नेको अध्ययन गरेर यसलाई अघि बढाइएको हो ।  समस्या देखिएका संस्थामा प्रवर्द्धकले आफू नजिकका व्यक्तिलाई ऋण दिन लगाउने, व्यवस्थापनलाई जानकारी नदिई काम गर्ने, सर्वसाधारणको खातामा निक्षेप जम्मा नगर्ने जस्ता काम भएको पाइएको थियो । सञ्चालक समितिले संस्थागत सुशासन पालना गराउनुपर्ने र नीति नियमलाई पारित गर्नुपर्ने भए पनि फाइदा लिन खोज्नेको क्रम बढेपछि समस्या भएको हो । सुपरिवेक्षण विभागको पछिल्लो अध्ययनलाई आधार मानेर राष्ट्र बैंकले कुनै निर्णय लिई नसके पनि बैंक वित्तीय संस्थाका लगानीकर्ता र व्यवस्थापनबीच फरक ल्याउने काम भने थालिसकेको छ । गतको वर्षबाट राष्ट्र बैंकको मौदि्रक नीतिले 'बैंकर र उद्यमी/व्यवसायीबीच भिन्नता कायम गर्ने' लक्ष्य लिएको छ । जसलाई केही निर्देशनले सहयोग गरेका छन् । गएकै वर्ष राष्ट्र बैंकले  एउटा संस्थामा सञ्चालक रहेको व्यक्ति एकै पटक अर्को इजाजत प्राप्त संस्था वा सहकारीमा सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ । एकै परिवार वा कम्पनीका व्यक्तिले एउटा बैंक वित्तीय संस्थामा एकभन्दा सञ्चालक पनि पठाउन नपाउने व्यवस्था छ । सञ्चालकका साथै व्यवस्थापनको उच्च तहमा रहेका कर्मचारीलाई समेत ऋण लिनका लागि निरुत्साहित गर्ने नीति राष्ट्र बैंकले लिएको छ । सञ्चालक समितिअन्तर्गत विभिन्न उपसमिति बनाएर बैठक भत्ता लिने क्रमलाई रोक्न राष्ट्र बैंकले सीमा लगाएको छ । संविधानसभाको चुनावपछि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन संशोधनको तयारी भए पनि पूरा हुन सकेन । संशोधनका लागि तयार गरिएको मस्यौदाले पनि व्यवसायी र बैंकरबीच फरक बढाउने प्रस्ताव राखेको थियो । २०६३ सालको ऐन निर्माण हुँदा राखिएका बुँदाका कारण धेरै संस्था खुलेको र राष्ट्र बैंकलाई नियमन गर्न असहज रहेको विभिन्न अन्तर्राष्ट्रिय संस्थाले समय समयमा बताउँदै आएका छन् ।