Sunday, December 30, 2012

कालोसूचीको जोखिम फेरि बढ्यो


काठमाडौं, पुस १५ - अन्तर्राष्ट्रियस्तरमा गरिएको प्रतिबद्धता पूरा गर्नुपर्ने समय नजिकिँदै जाँदा पनि सम्पत्ति शुद्धीकरण (एन्टी मनी लन्डरिङ) निवारणसम्बन्धी पर्याप्त व्यवस्था गर्न नसक्दा मुलुकको छवि धमिलिने जोखिम फेरि बढेको छ । गत वर्ष राजनीतिक प्रतिबद्धता जनाएर जसोतसो कालोसूचीमा पर्नबाट जोगिए पनि काम गर्न नसकेका कारण अगामी महिना अन्तर्राष्ट्रिय समुदायसँगको बैठकमा नेपालले जवाफ दिने ठाउँ कम हुँदै गएको छ ।
फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) हङकङमा आगामी जनवरी १५ देखि आयोजना हुने बैठकमा नेपालले गत वर्ष गरेका प्रतिबद्धताबारे जवाफ दिनुपर्नेछ । बैठकमा अर्थ र कानुन सचिवले भाग लिने टुङ्गो लागिसकेको छ ।
गत वर्ष सरकारले गरेका प्रतिबद्धतामध्ये संगठित अपराध विरुद्धको कानुन बनाउने, सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ संशोधन गर्ने, सम्पत्ति जफत र त्यसको व्यवस्थासम्बन्धी कानुन बनाउनेलगायतका काम भएको छैन ।
'यसमा सबैभन्दा पहिले गर्नुपर्ने काम संगठित अपराधविरुद्धको कानुन बनाउनु हो,' राष्ट्र बैंकको वित्तीय जानकारी इकाईका निर्देशक धर्मराज सापकोटाले भने । मुलुकले यो कानुन २०१० सम्ममा बनाइसक्नुपर्ने थियो । गत वर्ष यसलाई तुरुन्तै बनाएर लागू गर्ने प्रतिबद्धता गरिएको थियो । सम्पत्ति शुद्धीकरण कानुन लागू गर्ने क्रममा यसलाई महत्त्वपूर्ण भाग मानिन्छ । अन्य सबै प्रावधान पुर्‍याएर पनि यस्तो कानुन लागू नभएसम्म अन्तर्राष्ट्रिय मान्यता पाइँदैन । संगठित अपराधसम्बन्धी अभिसन्धि ०६८ जेठमा पारित भइसकेको छ । अभिसन्धि पारित भएलगत्तै कानुन आउनुपर्ने थियो । कानुन आउन नसक्दा अभिसन्धि पारित भएको अर्थ लाग्दैन ।
प्रतिबद्धता पूरा गर्ने समय नजिकै आउन थालेपछि अर्थ मन्त्रालयले यसबारे छलफल अघि बढाएको छ । 'सम्पत्ति शुद्धीकरणका बारेमा आवश्यक काम अघि बढाउन आइतबार बैठक बस्दै छौं,' अर्थ मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले भने ।
यस्तो कानुन हङकङमा हुने बैठकसम्म बनाएर लागू गर्न नसके मुलुक कालोसूचीमा पर्ने सम्भावना बढ्छ । 'गत वर्ष प्रतिबद्धता दिएर आएपछि केही काम भएको छैन,' सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोगका एक पदाधिकारीले भने, 'आवश्यक कानुन, नियम केही बन्न सकेका छैनन् ।' स्रोतका अनुसार पछिल्लो समय सबैभन्दा ठूलो दबाब संगठित अपराधसम्बन्धी कानून लागू गराउन छ । बैठकअगावै वा बैठक बसेको एक साताभित्र मुलुकले कानुन बनाएर लागू गराए मात्र कालोसूचीबाट जोगिन सकिन्छ । बैठक बसेको एक सातासम्म गरिएका निर्णयलाई अन्तिम रूप दिइन्छ ।
संसद् नभएको अवस्थामा अध्यादेशका रूपमा कानुन आउनुपर्छ । प्रधानमन्त्री र राष्ट्रपति सत्ता जोगाउन र छोडाउन लागेकाले पछिल्लो समय कुनै पनि अध्यादेश तयार वा पारित हुन सकेका छैनन् । जसको प्रभाव सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन बनाउन पनि परेको छ ।
यसका साथै आगामी ६ महिनाभित्र सम्पत्ति शुद्धीकरण निवारण ऐनमा पनि सरकारले संशोधन गर्न बाँकी छ । २०६४ सालमा बनेको ऐनलाई अन्तर्राष्ट्रिय प्रचलनअनुसारको बनाउन बाँकी रहेको हो । यसको संशोधन पनि अध्यादेशमार्फत नै गर्नुपर्ने हुन्छ । संशोधनसहित कानुनले गैरकानुनी सम्पत्ति जफतसम्बन्धी नियम पनि दरिलो बनाउन बाँकी छ । 'जफत भएको सम्पत्तिलाई राफसाफ गर्न अर्को कानुन बनाउन बाँकी छ,' सापकोटाले भने ।  
सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत गैरकानुनी रूपमा आर्जन भएको सम्पत्ति सरकारले जफत गर्छ । यस्तो सम्पत्ति नासिने भए लिलामीमा लैजाने गरिन्छ । घरजग्गालगायतका स्थिर सम्पत्ति भने रोक्का गरेर राखिन्छ । 'नाश हुने सम्पत्ति बिक्री गर्नका लागि राष्ट्रियस्तरको छुट्टै निकाय गठन हुनुपर्छ,' सापकोटाले भने, 'त्यससम्बन्धी कुनै काम हुन सकेको छैन ।' हाल यस्तो सम्पत्ति जफत गर्ने संस्थाले नै राख्ने गर्छ । कानुन बनाएर छुट्टै संस्थाले जफत गर्ने र बिक्रीबाट आएको रकम छुट्याएर राख्ने व्यवस्था गर्न आवश्यक छ । यस्तो संस्था खडा गर्ने समय पनि ६ महिना मात्र बाँकी छ । यस्तो संस्था खडा गर्न र कानुन बनाउन मस्यौदासमेत तयारी गरिएको छैन । मस्यौदा बनाउनका लागि मात्रै २ महिनाभन्दा बढी समय लाग्छ ।
राष्ट्र बैंक मातहतको वित्तीय जानकारी इकाईले पनि नयाँ सफ्टवेयर ल्याउन बाँकी छ । टेन्डरबाट नयाँ सफ्टवेयर खरिद गर्न खोजे पनि उपलब्ध नभएपछि पछिल्लो समय संयुक्त राष्ट्रसंघबाट ल्याउने तयारी भइरहेको छ ।
के हुन्छ कालोसूचीमा पर्दा ?
फाइनान्सियल एक्सन टास्क फोर्स संसारभर कालोधनलाई सेतो बनाउन नदिन निगरानी राख्न खोलिएको संस्था हो । यसले विश्वभरिकै गतिविधिलाई हेर्छ । एसियाली मुलुकलाई हेर्न अस्ट्रेलियामा एसिया प्यासेफिक एन्टी मनी लन्डरिङ ग्रुप स्थापना गरिएको छ । यी दुई संस्थाले विशेषगरी ४ प्रकारबाट कमाएको धनलाई सेतो हुन नदिन संसारभरिकै देशलाई खबरदारी गरिरहेका हुन्छन् । जसमा हातहतियार बेचबिखन, लागूऔषध, मानव तस्करी र आतंकवादी गतिवधि छन् । २० वर्षअघि नै यसबारे व्यवस्था भए पनि अमेरिकामा सन २००१ मा भएको आक्रमणपछि यसलाई व्यापक विस्तार गरिएको छ । नेपालले पनि यसलाई मान्दै २०६४ मा कानुन ल्यायो । १० लाखभन्दा बढीको रकम बैंकमा जम्मा गर्दा स्रोत देखाउनुपर्ने व्यवस्था गरियो । घरजग्गा, सेयर किनबेचमा मात्रै होइन क्यासिनोमा पनि स्राेत देखाउने व्यवस्था गरियो । सहकारी बिमामा पनि स्रोत खुलाउनुपर्ने व्यवस्था गरियो । छुट्टै सम्पत्ति शुद्धीकरण विभाग स्थापना गरियो । राष्ट्र बैंकमा वित्तीय जानकारी इकाई गठन गरियो ।
तर पनि अन्तर्राष्ट्रिय समुदायले यसलाई अपर्याप्त मान्यो । त्यसैकारण नेपाललाई अहिले खतराको सूचीमा राखिएको छ । जसलाई ग्रे जोन भन्ने गरिन्छ । अबका बैठकहरूमा पनि प्रतिबद्धता पूरा नभए नेपालको अवस्था 'डार्क ग्रे' हुँदै कालोसूचीमा राखिन्छ । मुलुक कालोसूचीमा परे नेपाली बैंकले जारी गरेको प्रतीतपत्र विदेशी वित्तीय संस्थाले नमान्न सक्छन् । जसले अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुन्छ । यसैगरी विदेशी सहयोग नियोगहरूले पनि नेपाललाई दिने सहायतामा कटौती गर्नसक्ने खतरा हुन्छ ।

Wednesday, December 26, 2012

१० करोड जोखिममा

काठमाडौ, पुस १० - एचएन्डबी डेभलपमेन्ट बैंकमा पैसा जम्मा गर्दा २४ प्रतिशतसम्म ब्याज दिने प्रलोभन देखाउँदै गिरोहले सर्वसाधारणबाट १० करोड रुपैयाँभन्दा बढी रकम असुलेको भेटिएको छ ।
यसरी प्रलोभनमा पर्नेले बैंकमा पैसा जम्मा गर्ने बित्तिकै ब्याज प्राप्त गरे पनि साँवा भने डुब्ने स्थितिमा पुगेको छ । सोही गिरोहबाट गुड फर पेमेन्ट चेक लिएर अर्को संस्थामा धितो राख्दै ऋण लिनेको रकम छुट्टै छ । जुन गैरकानुनी काम हो । तर ब्याजकै लोभमा रकम राख्ने सर्वसाधारण भने गिरोह गायब भएपछि अन्योलमा परेका छन् । '२४ प्रतिशत ब्याज दिने भनेपछि मैले दसैंपछि ७० लाख रुपैयाँ बैंकमा राखेको थिएँ,' रकम जम्मा गरेको बताउने विष्णु भण्डारीले भने, 'समस्या भएपछि कहाँबाट र कहिले पैसा आउने हो टुंगो छैन ।'
गुड फर पेमेन्ट चेक भनेको बैंकले जारी गर्ने व्यक्तिको खातामा पैसा भएको र जुनसुकै हालतमा पनि रकम पाइन्छ भनेर छाप लगाइदिएको चेक हो । यस्तो चेक पाइसकेपछि रकम नडुब्ने हुँदा सर्वसाधारण ढुक्क हुने अवस्था थियो । तर बैंकका कर्मचारीकै मिलेमतोमा गिरोह नै संलग्न भएर ठगी भएपछि बचतकर्ताहरू समस्यामा परेका छन् । बैंक वित्तीय संस्थाको खातामा पैसा जम्मा गर्दा ८ प्रतिशत पनि पाउन मुस्किल भएको बेला आकर्षक ब्याजमा लोभिएर ढुब्नेको संख्या बढ्दो छ ।
ऋण चुक्ता गर्न भैंसेपाटीको घर बिक्री गरेर बाँकी पैसा आफैसँग राखेका भण्डारीले घरखर्च चल्ने गरी ब्याज आउने भएपछि साथीको भनाइमा लागेर एचएन्डबीमा रकम राखिदिएका थिए । 'कात्तिक १४ र १५ गते दुई चेक लगेर जम्मा गरेको हो,' उनले भने, 'बैंककै मेनेजरले एक ग्राहकलाई विदेशी कम्पनीको डिलरसिप लिन रकम आवश्यक भएको बताएपछि उसको खातामा पैसा राखेको थिएँ ।' जयकुमार यादवको नाममा रकम जम्मा गरेका उनले बताए । 'पछि थाहा भयो त्यो मान्छेलाई साथीले पनि चिनेका होइन रहेछन्,' उनले भने, 'रकम के हुने हो स्पष्ट जवाफ कसैले दिएनन् ।'
उनले चिनेजानेका व्यक्तिको मात्रै करिब १० करोड रुपैयाँ प्रयोग गरिएको बताए । 'ब्याज पनि धेरै आउने र गुड फर पेमेन्ट चेक पनि पाउने भएपछि घरखर्च चलाउन पैसा राखियो,' उनले भने, 'धेरैले सजिलै धेरै ब्याज आउने भएर राखेका छन् ।'
एचएन्डबी बैंककै न्युरोड शाखामा भैंसेपाटीको घर धितोमा राखेर ऋण लिएका ज्ञानेन्द्र केसीलाई पनि उस्तै समस्या छ । 'व्यापार गर्न ऋण लिएपछि लगानी गर्ने ठाउँ नपाएर एक महिना भए पनि ब्याज पाउन पैसा राखेको थिएँ,' केसीले भने, 'अहिले गुड फर पेमेन्ट चेक पनि बाउन्स भयो पैसा पाउने टुंगो भएन ।' बैंकमा बुझ्दा उनले पैसा जम्मा गरेको खाता अहिले खाली भइसकेको छ । साथी र बैंककै कर्मचारीको प्रस्ताव सुनेपछि उनले ८८ लाख रुपैयाँ एचएन्डबीको कुलेश्वर शाखामा राखेको बताए । 'यो अघि पनि केही पटक यस्तो कारोबार गरेको थिएँ,' उनले सुनाए, 'त्यो बेला भने समस्या भएको थिएन ।'
जयकुमार यादव र मनोज चौरसियाले विदेशी कम्पनीको डिलर लिन, व्यापार बढाउन, सामान ल्याउनलगायत काम देखाएर रकम जम्मा गर्दै ब्याज दिने गरेको उनले सुनाए । 'पहिलो पटक जलविद्युत् कम्पनीको नाममा पैसा राखेको थिएँ,' उनले भने, 'त्यसपछि व्यक्तिका नाममा पैसा राख्दै ब्याज लिइरहेको थिएँ ।' सुरुसुरुमा बैंकका कर्मचारीसँग बुझ्दा पैसा राख्दा हुने भन्दै खातामा भएको रकम देखाएको उनले बताए । 'कर्मचारीले हुन्छ भन्दै खातामा पैसा राखेको देखाएपछि यस्तो काम सुरु गरेका हौं,' उनले भने । केसीले २२ देखि २४ प्रतिशतसम्म ब्याज पाउने गरेको बताए ।
चेक बाउन्स भएपछि उनीलगायतको समूह सोमबार राष्ट्र बैंक पुगेको थियो । 'केही समय लाग्छ, पर्खनुस् भनेका छन्,' उनले सुनाए । एचएन्डबीमै घर धितो राखेर ऋण लिएका उनी ब्याज बुझाउँदै बसेका छन् । 'पैसाको टुंगो नहुने हो भने घर नै लिलामीमा पनि लैजान सक्ने भयो,' उनले भने । उनका ५ साथीको मात्र ५ करोड रुपैयाँभन्दा बढी रकम यस्तो प्रयोजनमा चलाइएको सुनाए । 'बैंक अहिले यस्तो रकम २० देखि २५ करोड रुपैयाँ पुगेको बताउँदै छ,' उनले भने ।
एचएन्डबीबाट जारी गुड फर पेमेन्टको चेक लिएर अन्य संस्थामा धितो राख्दै ऋण लिने व्यक्ति पनि भेटिन थालेका छन् । तर ब्याजकै लोभमा परेर रकम जुटाउनेको समस्या भने फरक छ । आकर्षक ब्याज दिएर सर्वसाधारणको रकम बटुले पनि के काममा प्रयोग गरियो भन्ने खुल्न सकेको छैन । गुड फर पेमेन्ट चेक जारी भएका खाताबाहक व्यक्ति पैसा राख्नेको सम्पर्कमा छैनन् । बैंक आफैं र प्रहरीले अनुसन्धान गरिरहेकाले यस्तो रकम अझ बढ्न सक्ने अनुमान केन्द्रीय बैंकको छ । एचएन्डबीले भने यस्तो प्रवृत्ति देखिएको कुलेश्वर शाखाका सबै कर्मचारीसहित अन्य केहीलाई निलम्बनमा राखेको छ ।
राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले प्रहरी अनुसन्धान चलिरहेकाले रिपोर्ट नआएसम्म केही भन्न नसकिने बताए । 'बैंकको वित्तीय अवस्था ठीक छ,' उनले भने, 'शंकास्पद लागेका केही चेकको भुक्तानी रोकिएको हुन सक्छ ।' अन्य कारोबार भने सामान्य रहेको उनले बताए । 'सामान्य कारोबार गर्नेलाई समस्या छैन,' उनले भने, 'गतल काम गर्नेको खोजी भइरहेको छ, त्यस्तालाई कारबाही हुन्छ ।' एचएन्डबीमा देखिएको समस्यापछि राष्ट्र बैंकले गुड फर पेमेन्ट चेक धितो राखेर ऋण लिन नपाइने र यस्तो चेक जारी गर्दा कम्तीमा दुई जनाले हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरेको छ ।
यता बैंकले सोमबार नै एक विज्ञप्ति जारी गर्दै कुलेश्वर शाखाका प्रमुख निरज नेपालले ग्राहकसँग मिलेमतो गरी निक्षेप जम्मा नगर्ने, चेकमा गैरकानुनी रूपले गुड फर पेमेन्टको छाप लगाएको विषयमा बैंकले अनुसन्धान गरिरहेको जनाएको छ । बैंकले अनुसन्धानपछि प्रचलित कानुनबमोजिम सबै ग्राहकलाई भुक्तानी दिने उल्लेख गरेको छ । बैंकको नेटवर्थ १ अर्ब ५ करोड रुपैयाँ रहेकाले वित्तीय परिसूचक अत्यन्त राम्रो भएको दाबी छ ।

फ्रिक्वेन्सी वितरण नियमितः अख्तियार

काठमाडौं, पुस ११ - संसदको लेखा समितिले व्यापक अनियमितता भएको भन्दै थप छानबिन र कारबाहीका लागि निर्देशन दिएको मोबाइल रेडियो फ्रिक्वेन्सी वितरण कानुनबमोजिम भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रक्रिया रोकेको छ ।
फ्रिक्वेन्सी वितरणमा १० अर्ब रुपैयाँभन्दा बढी घाटा मुलुकलाई हुने निर्णय भएकाले थप छानिबन गर्न अख्तियारमा पठाएको थियो । तर संसद विघटन भएको एक वर्ष पुग्न लाग्दा अख्तियारबाट यस्तो निर्णय आएको छ ।
अख्तियारको उक्त निर्णयले त्रुटि सच्याउने अवसर र संलग्न व्यक्तिमाथि कारबाही नहुने देखिएको छ । समितिले प्राधिकरणका अध्यक्षदेखि मन्त्रीसम्मको ठाडो आदेशमा अनियमित निर्णय भएको औंल्याएको थियो ।
लेखा समितिअन्तर्गतको उपसमिति सदस्य रविन्द्र अधिकारीले अध्ययनलाई बेवास्ता गर्नु 'आफैं सर्वेसर्वा हुँ' भन्ने सोच्नु रहेको बताए । 'यो संसद नहुँदाको प्रतिफल हो,' उनले कान्तिपुरसँग भने । फ्रिक्वेन्सीबारे अध्ययन गर्न बनेको उपसमितिका अर्का एक सदस्यले अख्तियारको निर्णय प्रभावित भएर गरिएको दाबी गरे । 'संसद नहुँदाको अवस्थामा प्रश्न उठाइने ठाउँ भएन,' उनले भने, 'यस्तो अवस्थामा प्रभावित भएर निर्णय भएको हुन सक्छ ।'
उक्त अध्ययन गर्ने उपसमितिका संयोजक प्रकाशचन्द्र लोहनीले अख्तियारले आवश्यक पर्नेजति अनुसन्धान नगरेको प्रतिक्रिया कान्तिपुरलाई दिए । 'नयाँ संसद आएपछि यसबारे पुनः अनुसन्धान हुन सक्छ,' उनले भने ।
मोबाइल सेवा प्रदायक कम्पनीले रेडियो पि|mक्वेन्सी प्रयोग गरेर सञ्चार गर्छन् । यस्तो फ्रिक्वेन्सी प्राधिकरणबाट खरिद गर्नुपर्छ । हरेक मुलुकको सीमित फ्रिक्वेन्सी हुनाले यसलाई मूल्यवान् मानिन्छ ।
करिब एक वर्षअघि लेखा समितिले छानबिन गरेर थप अनुसन्धान आवश्यक रहेको देखाएको थियो । तर अख्तियारले तीन साताअघि दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएर नियमसंगत निर्णय भएको उल्लेख गरेको छ । साथै एक वर्षदेखि रोकिएको नयाँ फ्रिक्वेन्सी वितरणको कामलाई पनि अख्तियारले खोलिदिएको छ । 'हामीलाई यसबारे जानकारी आइसकेको छैन,' सूचना तथा सञ्चार मन्त्रालयका एक अधिकारीले भने, 'गरिएको निर्णय मगाएका छौं ।'
लेखा समितिले थ्रीजीका लागि फ्रिक्वेन्सी वितरण हुँदा र गैरमोबाइल सेवा प्रदायकलाई मोबाइल फ्रिक्वेन्सी ब्यान्ड दिँदा अनियमितता भएको प्रतिवेदन तयार पारेको छ । जसमा तत्कालीन मन्त्री र प्राधिकरणका अध्यक्षको ठाडो आदेश प्रयोग भएकाले सम्बन्धित निकायबाट थप अनुसन्धान हुन आवश्यक रहेको सुझाव समितिको थियो ।
यसका साथै ऐन/नियममा कतै उल्लेख नभएको र विदेशमा पनि सामान्यतः प्रयोग नहुने लिमिटेड मोबिलिटी शब्द राखेर फ्रिक्वेन्सी वितरण भएकामा पनि समितिले प्रश्न उठाएको थियो । निश्चित क्षेत्रका लागि भन्दै अनुमति दिएर मुलुकभर सेवा प्रदान गर्न दिएको भन्दै समितिले प्राधिकरणमाथि प्रश्न उठाएको छ । 'आधारभूत सुविधामा स्वीकृत गरिएको कम्पनीलाई बिस्तारै मोबाइल सुविधा कौडीको मोलमा प्रदान गरियो र प्राप्त हुन सक्ने राजस्वबाट मन्त्रालय र प्राधिकरणले नेपाल सरकारलाई वञ्चित गराएको देखापर्दछ,' प्रतिवेदनमा भनिएको छ, 'यसबारे थप अनुसन्धान हुनुपर्ने देखिन्छ ।'
सीमित हुने फ्रिक्वेन्सी सस्तो मूल्यमा बिक्री गरेर अनियमितता भएको आशंका समितिले गरेको थियो । थ्रीजीको अनुमति दिँदा प्राधिकरण अध्यक्षले ठाडो आदेश दिएका कारण ठूलो रकमको अनुमति दस्तुर र फ्रिक्वेन्सी दस्तुर मुलुकले गुमाएको समितिको अध्ययनमा उल्लेख छ । समितिले थ्रीजी अनुमति दिँदा मात्रै ७ देखि १० अर्ब रुपैयाँ राज्यले गुमाएको उल्लेख गरेको थियो । एक वर्षका लागि परीक्षणमा दिएको थ्रीजी अनुमतिलाई बिनाप्रतिस्पर्धा निरन्तरता दिनुमा खोट रहेको प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनले भारतमा फ्रिक्वेन्सी बाँडफाँड गर्दा न्यून शुल्क लिनुलाई भ्रष्टाचार सरह मानिएको उल्लेख गरेको छ ।  
प्रतिवेदनले अन्तर्राष्ट्रिय गेटवेको अनुमति नपाएको अवस्थामा पनि एक कम्पनीलाई उक्त सेवा सञ्चालनका लागि आवश्यक पर्ने उपकरण आयात गर्न दिएर प्रक्रियागत त्रुटि गरिएको उल्लेख छ ।
अध्ययनले प्राधिकरणबाट भएका निर्णयमाथि प्रश्न उठाउँदै कुनै पनि निकायबाट छानबिन हुन नसकेको प्रतिवेदनमा उल्लेख गरेको छ । 'दूरसञ्चार सेवाको क्षेत्रमा निजी क्षेत्रको प्रवेशपश्चात यसको नियामक निकाय दूरसञ्चार प्राधिकरण र नीति निर्माण गर्ने निकाय सूचना तथा सञ्चार मन्त्रालयको कार्यशैली अपारदर्शी रहेका कारण यसले निर्णयहरू मनोगत आधारमा गर्दै गएको देखिन्छ,' प्रतिवेदनमा भनिएको छ ।
अपारदर्शी निर्णय भएकाले पुनः अनुसन्धान प्रक्रियालाई अगाडि बढाउन संवैधानिक सम्बन्धित निकायहरूलाई निर्देशन दिने अध्ययनमा भनिएको छ । समितिमा बुझाइएको प्रतिवेदनले कुनै पनि कम्पनीको बक्यौता रोयल्टी रकम र नवीकरण दस्तुर मिनाहा गर्न नमिल्ने बताएको छ । कुनै कम्पनीले यस्तो रकम एकैपटक बुझाउन नसके आपसी सहमितबाट उठाउन समितिले भनेको थियो ।

सीडीएस सफ्टवेयर अन्योलमा

काठमाडौं, पुस ८ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पुँजीगत लाभकरबारे स्पस्ट धारणा दिन नसक्दा केन्द्रीय निक्षेप प्रणालीको सफ्टवेयर बनाउन ढिलाइ हुन थालेको छ । भारतीय कम्पनी सीएमसीले बनाइदिने सफ्टवेयरमा पुँजीगत लाभकर लगाउने प्रक्रियाबारे स्पष्टता आउन नसकेर ढिलाइ भएको हो । केन्द्रीय निक्षेप प्रणाली र त्यसको सफ्टवेयरले सेयर किनबेचपछि रकम राफसाफको प्रक्रियालाई विद्युतीय बनाउँछन्, जसले हाल कागजी रूपमा भइरहेको कारोबार विस्थापित गरेर छिटो काम हुन थाल्छ ।
भारत लगायत अधिकांश मुलुकमा कारोबार कर र पुँजीगत लाभकर लगाउने गरिन्छ । हरेक कारोबारमा कर लाग्ने र नाफा भए पुँजीगत लाभकर लगाउने व्यवस्था हुन्छ । नेप्सेले भने हालसम्म पुँजीगत लाभकर मात्र लगाइरहेको छ, जुन नाफा हुँदा तिरिन्छ ।
भारतले एक वर्षभन्दा कम समयमा सेयर बिक्री गर्नेलाई लाभकर लगाउँछ । सट्टेबाजी निरुत्साहित गर्न र दीर्घकालीन लगानी बढाउन यस्तो नियम बनाइएको हो । 'एक वर्षभरि लगानीकर्ताले गरेको कारोबार र त्यसमा भएको नाफा घाटा हेरेर पुँजीगत लाभकर लगाउनु उपयुक्त हो,' सेयर बजार विश्लेषक रवीन्द्र भट्टराईले भने, 'त्यस्तो नभएकाले हामीकहाँ समस्या देखिएको हो ।'  कारोबार कर लगाउन सके पारदर्शिता र सरकारको आय बढ्ने उनी बताउँछन् ।
नेपालका लागि बनाइदिने सफट्वेयरमा कारोबार कर नलगाइ पुँजीगत लाभकर मात्र लगाउँदा झन्झटिलो हुने भएकाले भारतमा जस्तै बनाउन सफट्वेयर निर्माता कम्पनीले सुझाव दिएको थियो । तर अर्थ मन्त्रालयले त्यसलाई स्वीकार गरेन । 'सफट्वेयर आफू अनुसार बनाउने हो, आफू सफ्टवेयर अनुसार हुने होइन,' अर्थ मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले भने, 'हालकै जस्तो बनाउन भनेका छौं, उनीहरूले हुन्छ भनेका छन् ।' करिब ८ महिनाअघि यस्तो छलफल भए पनि कम्पनीको परामर्शदातासँग पछि कुराकानी नभएको उनले बताए ।  
सफ्टवेयर निर्माता कम्पनीले पुँजीगत लाभकरबारे प्रश्न उठाएपछि अर्थ मन्त्रालयले केन्द्रीय निक्षेप प्रणाली सञ्चालन गर्ने कम्पनी सीडीएस एन्ड क्लियरिङ लिमिटेड र नेपाल स्टक एक्सचेन्जलाई अध्ययन गर्न भनेको थियो । तर दुवै संस्थाले कस्तो कर लगाउँदा उपयुक्त हुन्छ भनेर अध्ययन गरेका छैनन् । 'लाभकरबारे छलफल हुँदा दुवै संस्थालाई अध्ययन गरेर बुझाउन अर्थले भनेको थियो,' धितोपत्र बोर्डका एक अधिकारीले भने, 'तर अहिलेसम्म अध्ययन तयार गरेका छैनन् ।' सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अध्यक्ष जीवनाथ धितालले भने पुँजीगत लाभकरबारे छलफल भइरहेको बताए । 'यसको कुरा आएको थियो,' उनले भने, 'हाम्रो आफ्नै फर्मुला छ, धितोपत्र बोर्डसँग छलफल गरेर अघि बढ्छौं ।'
नेप्सेकै सफ्टवेयर पनि अलमलमा
केन्द्रीय निक्षेप प्रणाली पूर्ण तयार भएपछि फेर्नुपर्ने नेपाल स्टक एक्सचेन्जको कारोबार सफ्टवेयरबारे पनि टुंगो लाग्न सकेको छैन । कोरिया, सिंगापुर वा भारतबाट ल्याउने तयारी गरिए पनि नेप्सेले यसको टुंगो लगाउन सकेको छैन । कोरिया एक्सचेन्ज (केआरएक्स) ले सफ्टवेयर उपलब्ध गराए बापत् नेप्सेमा सेयर मागेपछि कुरा अड्किएको छ । नेप्सेका समेत अध्यक्ष रहेका धितालले तीन मुलुकसँगै छलफल भइरहेको तर मूर्तरूप पाउन नसकेको बताए । अन्य दुई मुलुकसँग भन्दा अघि कुरा बढेको कोरियाली समकक्षीले सेयर मागेपछि नेप्सेले निर्णय गर्न नसकेको हो । 'सुविधा सम्पन्न भवन र प्रविधि दिन्छौं तर न्यूनतम १० प्रतिशत सेयर आवश्यक छ भनेका छन्,' धितालले भने ।
नेप्सेमा सरकार, राष्ट्र बैंक, एनआईडीसी, सेयर ब्रोकरको लगानी छ । जसमध्ये राष्ट्र बैंकले आफ्नो सेयर बिक्री गर्ने भने पनि काम अघि बढेको छैन । 'लिखित रूपमा कसैले सेयर बिक्री गर्छु भनेर आएको छैन,' धितालले भने, 'त्यो नआएसम्म अरू कसैलाई दिन्छु भन्न सकिँदैन ।' सरकारले एक्सचेन्जलाई निजीकरण गर्ने तयारी थाले पनि काम अघि बढाएको छैन । अर्थ मन्त्रालय अघि बढेर निजीकरणका कुरा गरे पनि काम नथाल्दा पँुजीबजारमा परिवर्तन आउन सकेको छैन ।
हाल कारोबारमा प्रयोग भइरहेको सफ्टवेयरले बारम्बार समस्या दिने गरेको छ । ५ वर्षका लागि ल्याइए पनि नेप्सेले सफ्टवेयर फेर्न सकेको छैन । सेयर ब्रोकरले खरिद वा बिक्रीको अर्डर दिए पनि लामो समय नलिने समस्या बारम्बार देखिँदै आएको छ ।
सफ्टवेयरको टुंगो लागिनसके पनि धितालले भने माघ १ गतेबाट सीडीएस लागू हुने बताउँछन् । राफसाफबारे नियमावली एक महिना अघिदेखि धितोपत्र बोर्डमा पठाए पनि पारित भएर नआएको धितालले बताए । 'त्यो आएपछि अनलाइन कारोबारलाई अघि बढाउन मद्दत पुग्ने थियो,' उनले भने । केन्द्रीय निक्षेप प्रणालीको नियमावली पारित भई साउन १ बाट अन्य काम भने सुरु भएको छ ।

Wednesday, December 19, 2012

चीन र भारतभन्दा बढी कमोडिटिज

काठमाडौं, पुस ४ - अन्तर्राष्ट्रिय व्यापार सहजीकरण र स्थानीय उत्पादनलाई उपयुक्त मूल्य उपलब्ध गराउने थलो कमोडिटिज बजारको संख्या नेपालमा भारत र चीनमा भन्दा बढी छन् । कानुनबिनै चलिरहेका एक्सचेन्जले सर्वसाधारणमाथि ठगी गरेको गुनासो आइरहेका बेला सरकारले हालै नयाँ तीनवटालाई अनुमति दिएपछि संख्या आठ पुगेको छ । सयौं गुणा बढी ठूलो अर्थतन्त्र भएका चीन र भारतलाई पनि नेपालका कमोडिटिज बजार सञ्चालकले पछि पारेका छन् । चीनमा चारवटा ठूला एक्सचेन्ज छन् ।  भारतमा पाँच राष्ट्रियस्तरका एक्सचेन्ज छन् । दुवै मुलुकको कुल गार्हस्थ्य उत्पादन क्रमशः ७० खर्ब ३१ अर्ब र १० खर्ब ८४ अर्ब अमेरिकी डलर छ । विश्व बैंकको तथ्यांकअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन २०११ मा १८ अर्ब ८८ करोड डलर मात्र छ ।
छुट्टै कानुन नभएकाले कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरी कमोडिटिज बजार खुल्ने गरेका छन् । 'सरकारले समयमै ध्यान दिन नसक्दा वित्तीय क्षेत्रमा ठूलो दुर्घटना आउन सक्ने देखिन्छ,' अर्थविद् चिरञ्जीवी नेपालले भने । कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरेकै भरमा सर्वसाधारणको करोडौं रकम उठाउन पाउने भएपछि एउटा कोठाबाट कमोडिटिज बजार चलाउनेको संख्या बढ्न थालेको हो । स्वतन्त्र रूपमा सञ्चालित एक्सचेन्जले कारोबारको विवरण उपलब्ध नगराए पनि दैनिक २ करोड रुपैयाँभन्दा बढी रकम यो बजारमा दाउ लगाइन्छ । कम्पनी रजिस्ट्रारको कार्यालयमा ५० भन्दा बढी कमोडिटिज कारोबारका लागि कम्पनी दर्ता गरिएको छ । जसमा अधिकांशले एक्सचेन्जका रूपमा सञ्चालन हुन अनुमति लिने छन् । 'सरकारले ढिलो गर्दै जाने हो भने यी ४० वटै कम्पनी सञ्चालनमा आउँछन्,' अर्का एक कमोडिटिज एक्सचेन्जका सञ्चालकले भने, 'अचेल फेसबुकबाटै एक्सचेन्ज खुलेको जानकारी दिन थालिएको छ ।' रामेश्वर खनाल अर्थसचिव हुँदादेखि कमोडिटिज बजार नियमनको चर्चा चले पनि लागू भएको छैन ।
'त्यसपछि दुईजना अर्थसचिव भइसके,' एक कमोडिटिज एक्सचेन्जका सञ्चालक भन्छन्, 'तर नियमनको कुरा गर्नेबाहेक कसैले केही गरेका छैनन् ।' अर्थविद् नेपाल सरकारले नियमन नगरेर मिलेमतोमा गैरकानुनी काम भइरहेको बताउँछन् । 'प्रधानमन्त्रीसम्मलाई जानकारी गराउँदासमेत केही भएको देखिँदैन,' उनले भने, 'फटाइ गर्न सरकारले सहयोग गरेजस्तो देखिन्छ ।' सेयर बजारभन्दा कैयौं गुणा बढी प्राविधिक र जटिल भएकाले कमोडिटिज बजारलाई समयमै ध्यान नदिँदा दुर्घटना हुन सक्ने उनले बताए । 'विश्वमा आर्थिक मन्दीको कारक यसलाई मानिन्छ,' उनले भने । अर्थमन्त्री वर्षमान पुन संयोजक रहने उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिले तुरुन्तै कमोडिटिज नियमन थाल्ने बताएको दुई महिनाभन्दा बढी भइसकेको छ । असोजको पहिलो साता कमोडिटिज बजारसम्बन्धी नियमावली धितोपत्र बोर्डबाट अर्थ मन्त्रालय पुगेको थियो । त्यसको केही सातामा आवश्यक सुधार गरेर अर्थले कानुन मन्त्रालयको जिम्मा लगाएको थियो । दसंैअघिबाटै नियमन गर्ने भने पनि नियमावली र प्रक्रियाबारे सरकारको स्पस्ट धारणा आएको छैन । 'मस्यौदा कानुन मन्त्रालय पठाएका छौं,' अर्थ मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले भने, 'छिट्टै स्वीकृत भएर आउला ।' कानुन मन्त्रालय पुगेर थन्केको लामो समय भए पनि सरोकारवाला निकायले कारण दिएका छैनन् । कमोडिटिज बजारबारे धितोपत्र बोर्डले गर्न लगाएको एक अध्ययनमा लगानी गरेका अधिकांश व्यक्तिले रकम गुमाइरहेको र पुँजी पलायन हुन सक्ने आशंका गरिएको थियो । मुलुकमा विदेशी मुद्रा र डेरिभेटिभ उपकरणको कारोबार राष्ट्र बैंकको अनुमति प्राप्त संस्थाबाट मात्र गर्न पाइन्छ । तर निजी कम्पनीका रूपमा समेत सञ्चालित कमोडिटिज एक्सचेन्जले यस्तो कारोबार वषौर्ंदेखि गरिरहेका छन् । सरकारले अध्यादेशबाट नमिले धितोपत्र ऐनमा संशोधन गरेर वा प्रशासकीय कार्यविधि नियमित गर्ने ऐनबाट नियमन गर्न बाटो रहेको मर्केन्टायल एक्सचेन्ज नेपाल -मेक्स) का प्रबन्ध निर्देशक दीपेन्द्र खतिवडा बताउँछन् । 'बजारलाई राखिराख्न कतै न कतैबाट सुरुवात गर्नुपर्ने आवश्यकता देखिएको छ,' उनले भने । धितोपत्र बोर्डले गराएको अध्ययनमा कमोडिटिज एक्सचेन्जले ग्राहकलाई उपलब्ध गराउने तथ्यांकमा एकरूपता नरहेको देखाउँछ । सञ्चालनमा रहेका सबै एक्सचेन्जले आ-आफ्नै सफ्टवेयर र तथ्यांकअनुसार ग्राहकलाई कारोबार गराइरहेका छन् । जसका कारण सफ्टवेयरमा गडबढी गरेर एक्सचेन्जले ग्राहकको पैसा थुतेको आरोप लगानीकर्ता लगाउँछन् । अधिकांश एक्सचेन्जले आफ्नै स्वामित्व रहेको र नजिकका व्यक्ति राखेर क्लियरिङ मेम्बर (राफसाफ सदस्य) बनाएका छन् । यसले लगानीकर्ताको रकम जोखिममा पर्छ । करोडौं रकमको कारोबार गर्ने भए पनि यस्ता सदस्यको पुँजी २५ लाख रुपैयाँभन्दा बढी छैन ।