Friday, August 31, 2012

खान बस्नै धौ-धौ

राजधानी यतिधेरै महँगो हुँदै गएको छ कि, अधिकांशको कमाइ खान र बस्नमै खर्च हुने गरेको छ । राष्ट्र बैंकको एक अध्ययनले मुलुकको करिब एकतिहाइ आर्थिक क्रियाकलाप राजधानीमै केन्दि्रत भए पनि व्यक्तिको कमाइको ठूलो हिस्सा गास र बासमै सिद्धिने देखाएको हो । 
राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक मीनबहादुर श्रेष्ठका अनुसार उपत्यकाका तीन जिल्लाको आर्थिक क्रियाकलाप ४ खर्ब १८ अर्ब रुपैयाँ बराबर छ, जुन कुल ग्राहस्थ उत्पादन -जीडीपी) को ३१ प्रतिशत हो । 
अध्ययनअनुसार राजधानीवासीले मुलुककै सबैभन्दा बढी खर्च घरभाडामा गर्छन््, जसअनुसार कुल घरभाडामा खर्च हुने रकमको ६८ प्रतिशत राजधानी भित्रै हुन्छ । 'खाना र घरभाडामा बढी खर्च लाग्नुको अर्थ आय कम हुनु हो,' पूर्वअर्थसचिव रामेश्वर खनालले 
भने । राजधानीमा खानका लागि मात्र बर्सेनि १ खर्ब ३९ अर्ब १५ करोड रुपैयाँ खर्च हुने गरेको छ, जुन मुलुकभर हुने खाना खर्चको २० प्रतिशत हो ।
'राजधानीमा खुद सम्पत्ति वृद्धि भने १५ प्रतिशत मात्र देखियो' श्रेष्ठले भने । सम्पत्ति वृद्धि भन्नाले सरकार र निजी क्षेत्रबाट विकास निर्माण, उत्पादन, सम्पत्तिलगायतमा भएको थप लगानी हो । पछिल्ला वर्षमा सरकारले राजधानी बाहिर लगानी बढाइरहेको छ भने निजी क्षेत्रबाट पनि खासै लगानी हुन नसकेको यसले देखाउँछ । महँगीअनुसार उपत्यकावासीको आम्दानी नबढ्ने तर खर्च मात्र बढ्ने भएकाले सम्पत्तिको वृद्धि कम हुन पुगेको हो । 
'खुद सम्पत्ति वृद्धि एकदम कमजोर भयो,' अर्थविद्् चिरञ्जीवी नेपालले भने, 'यसले लगानीबाट रोजगारी र आय बढ्न नसकेको बुझिन्छ ।' मुलुकको प्रमुख आर्थिक केन्द्रबाटै यस्तो तथ्यांक आउँदा अन्यत्रको अवस्था आफैं आँकलन गर्न सकिने उनले बताए । 'राज्यको बजेट आएको छैन, आएको पनि खर्च हुन सक्दैन, त्यसैलाई हेरेर निजी क्षेत्रले पनि लगानी गरेका छैनन्,' उनले भने ।
प्रधानमन्त्रीका आर्थिक सल्लाहकारसमेत रहेका खनालकाअनुसार खुद सम्पत्ति वृद्धिमा सरकारको सबैभन्दा धेरै हिस्सा रहन्छ । विकास निर्माणका काम काठमाडौं बाहिर बढी हुने भएकाले यस्तो तथ्यांक आएको हुनसक्ने उनले बताए । 
'निजी क्षेत्रबाट खुल्ने कलकारखाना पनि राजधानी बाहिर नै बढी हुन्छन्,' उनले भने, 'त्यसैले यो तथ्यांक वास्तविक हो ।' उपत्यकामा सेवा क्षेत्र बढिरहे पनि त्यो खुद सम्पत्ति वृद्धिको तथ्यांकमा पर्दैन । समस्या राजधानीमा बढी कारोबार हुनु नभई बाहिर कम हुनु रहेको उनले बताए । 'अन्य मुलुकका राजधानीमा पनि आर्थिक कारोबार बढी नै हुन्छन् ।'
बढ्दो जनसंख्या सँगै राजधानीको उपभोगशैलीका आश्चर्यजनक तथ्यांकसमेत देखिएका छन्् । एलपीजी ग्यास उपभोग उपत्यकामा मात्रै ६० प्रतिशत हुने देखिएको छ भने बिजुली खपत २९ प्रतिशत । सर्वसाधारणलाई मर्का पर्ने भन्दै सरकारले यस्तो ग्यासमा प्रतिसिलिन्डर २ सय ५ रुपैयाँ अनुदान दिइरहेको छ । सरकारी ढुकुटीबाट ठूलो रकम खर्च गरेर दिइएको यस्तो सहुलियतबाट राजधानी सबैभन्दा लाभान्वित भएको देखिन्छ ।
यसका साथै मुलुकमा सबैभन्दा बढी पेट्रोल उपभोग पनि उपत्यकाका तीन जिल्लामै खपत हुने गरेको छ । तथ्यांकअनुसार ४५ प्रतिशत पेट्रोल काठमाडौं, ललितपुर र भक्तपुरमा खपत हुने गर्छ । जसबाट सरकारलाई प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा फाइदा छ । कुल खपतमध्ये ३८ प्रतिशत मटितेल र १५ प्रतिशत डिजेल उपत्यकाले उपभोग गर्छ । काठमाडौं उपत्यकाले कुल पेट्रोलियमको ३१ प्रतिशत खपत गर्छ । 
राजधानीमा बढेको आर्थिक क्रियाकपालको असर वित्तीय सेवामा पनि देखिएको छ । सञ्चालनमा रहेका बैंक वित्तीय संस्थाको शाखामध्ये २५ प्रतिशत काठमाडौं उपत्यकाभित्रै छन्, जसमा कुल निक्षेपको ६० प्रतिशत रकम छ ।

Thursday, August 30, 2012

नगद डलर भित्रिने क्रम घट्यो, कहाँ गयो डलर ?

काठमाडौं, भाद्र १४ - तथ्यांकमा हालसम्मकै सबैभन्दा बढी विदेशी मुद्राको सञ्चिति देखिए पनि नगद अमेरिकी डलर मुलुक भित्रिने क्रम घटेकाले बैंकबाट माग हुने बित्तिकै पाइन छाडेको छ । 'अभाव' कै अवस्था नभए पनि अधिकांश बैंकले धेरै नगद साट्न छाडेका छन् ।
पर्यटक आगमनमा उल्लेख्य नबढेको र नगदको साटो कार्डबाट भुक्तानी हुने क्रम बढेपछि यस्तो अवस्था आएको राष्ट्र बैंक बताउँछ । २० दिनभन्दा बढी समयदेखि मुलुकमा नगद डलरको अभाव देखिएर त्यसको असर बैंकसम्म पुगेको राष्ट्र बैंकका उच्च अधिकारीले बताए । 'नगदमा डलरको कमी भएको हो,' उनले भने, 'बैंकहरूलाई नगदमा भन्दा अन्य विकल्पबाट डलर दिन मौखिक जानकारी दिएका छौ ।'
राष्ट्र बैंकले डलर साट्ने वाणिज्य बैंकका सम्बन्धित शाखा प्रमुखलाई बोलाएर ५ सय डलरसम्म नगदमा दिन र सोभन्दा बढी माग भए ट्राभलर्स चेक वा अन्य विकल्पबाट भुक्तानी गर्न भनेको छ । 'राष्ट्र बैंकले पनि माग भएअनुसारको डलर भुक्तानी दिएको छैन,' एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, 'मुलुकभित्रै दुरुपयोग बढेको हुन सक्ने आशंका गरिएको छ ।' 
नगदमा डलरको अभाव हुने क्रम क्षणिक रहेको र छिट्टै समाधान हुने राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवाली बताउँछन् । 'सेप्टेम्बरबाट पुनः पर्यटन सिजन सुरु हुन्छ,' उनले भने, 'त्यसैले यो क्षणिक हो ।' मुलुकमा शोधनान्तरसँगै विदेशी मुद्रा सञ्चिति पनि उच्च अंकले बचतमा छ । विदेशी मुद्रा सञ्चिति उच्च भए पनि नगदमै भित्रिने क्रम घटेपछि यस्तो अवस्था आएको हो । 'आवश्यक पर्ने डलर बैंक वित्तीय संस्थाले उपलब्ध गराइरहेका छन्,' ज्ञवालीले भने, 'बैंकबाट नपाइए राष्ट्र बैंकको बैंकिङ कार्यालयबाट लिन सकिन्छ ।'
राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौदि्रक नीतिबाट विदेशी मुद्रा सटहीमा केही लचकता लिनुलाई नगद डलर अभाव हुनुसँग जोडेर हेर्न सकिन्छ । यसै वर्षबाट राष्ट्र बैंकले जतिपटक विदेश भ्रमण गर्दा पनि २५ सय अमेरिकी डलर लान पाउने व्यवस्था गरेको छ । अघिल्लो वर्षसम्म यस्तो रकम दुई पटक मात्र लैजान पाइन्थ्यो । यसका साथै व्यापार प्रवर्द्धन गर्न, सभा, सम्मेलनलगायतमा जाने नागरिकलाई ५ हजार डलरसम्म लैजान पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । सामान आयात गर्दा पनि साट्न पाइने अमेरिकी डलरको सीमा बढाइएको थियो ।
विदेश पढ्न वा घुम्न जानेलाई सम्बन्धित मुलुककै मुद्रा साट्न राष्ट्र बैंकले अनुरोध गरेको छ । डलर अभाव भएको 'हल्ला' चल्न थालेपछि राष्ट्र बैंकले यस्तो आग्रह गरेको हो । राष्ट्र बैंकले फुटकर नगद डलरबाहेकको अन्य रकम ट्राभलर्स चेक वा अन्य कार्डबाट लैजान पनि जानकारी गराएको छ । नगदबाहेकका रकम लैजाने व्यवस्था सबै बैंकले उपलब्ध गराउने र सुरक्षित भएको राष्ट्र बैंकले उल्लेख गरेको छ । 'हामी कार्डबाट आय गरिरहेका छौं भने कार्डबाटै खर्च गरौं भन्ने कुरा मात्र हो,' स्रोतले भन्यो, 'डलर नभएको होइन ।'
राष्ट्र बैंकले तोकिएकै विनिमय दरमा विदेशी मुद्रा साट्न सकिने र आवश्यक पर्दा उपलब्ध हुन नसक्ने अवस्था नरहेको उल्लेख गरेको छ । प्रयोजनका आधारमा राष्ट्र बैंकले आफैं, वाणिज्य बैंक वा इजाजत लिएका अन्य संस्थाबाट विदेशी मुद्रा सट्न पाउने सुविधा दिएको छ ।
कहाँ गयो डलर ?
नगदमा मुलुकभित्र रहेको अमेरिकी डलर अवैध रूपमा चीन जान थालेपछि समस्या देखिएको राष्ट्र बैंकका अर्का एक अधिकारी बताउँछन् । आधिकारिक रूपमा बोल्न नमिले पनि खासाका व्यापारीले नगद डलर लैजाने क्रम बढेपछि केही समस्या देखिएको उनी बताउँछन् । 'प्रहरीले समयसमयमा यस्ता कारोबारीलाई पक्रने गरेको छ,' राष्ट्र बैंक स्रोतले भन्यो, 'पछिल्लो समय त्यसमा कमी आएको हुन सक्छ ।'
खासाका व्यापारीले नेपाली मुद्रामै सामान बिक्री गर्ने गर्छन् । चीनमा नेपाली मुद्रा नचल्ने भएकाले उनीहरूले यसलाई साट्नुपर्छ । जसका लागि ठमेललगायत क्षेत्रमा रहेका मुद्रा सटही कम्पनी प्रयोग हुने गरेको प्रहरीको विभिन्न अनुसन्धानमा देखिएको छ ।
चीनबाट बोरामा नेपाली रुपैयाँ ल्याएर बिक्री गरी अमेरिकी डलर लैजाने क्रम बढेपछि बजारमा असर परेको हो । अमेरिकी डलर चीन लैजाने क्रममा पक्राउ परेका केही व्यक्तिबाट यस्तो काममा संगठित गिरोहको संलग्नता रहेको पनि भेटिएको छ । नेपाली मात्र नभएर चिनियाँ नागरिक पनि अमेरिकी डलर ओसार्न प्रयोग हुने गरेको प्रहरीले बताउँदै आएको छ ।

Wednesday, August 29, 2012

तरलता भए/नभए पनि ब्याज चर्को

काठमाडौ, भाद्र १३ - -एक वर्षअघिसम्म बैंकहरूले चरम तरलता अभाव झेल्दा सबैभन्दा बढी फाइदा संस्थागत निक्षेपकर्तालाई भयो । रकमको जोहो गर्न दिनहुँ बैंकका कर्मचारी धेरै रकम हुने यस्ता संस्था धाउने क्रम बढ्यो । त्यसक्रममा कमिसनको पनि चर्चा चलेको थियो । संस्थागत निक्षेपकर्ताले १२ प्रतिशतभन्दा बढीसम्म ब्याज पाए ।
-वर्ष दिनपछि बढेको तरलता कता लगानी गरौं भन्दै बैंकहरू कर्पोरेट ग्राहक खोज्दै विभिन्न संस्था धाउन थालेका छन् । जसले यस्ता ठूला ऋणीलाई १० प्रतिशतभन्दा सस्तो ब्याजमा कर्जा उपलब्ध हुन थालेको छ ।
-संस्थागतभन्दा थोरै रकम निक्षेप राख्ने वा कर्पोरेट ग्राहकभन्दा कम ऋण लिने सर्वसाधारणको अवस्थामा भने खासै परिवर्तन आएको छैन । यसको कारण हो उनीहरू त्यति जागरुक छैनन्, त्यसैले बर्गोनिङ क्षमता कम छ ।
काठमाडौं- केही समयअघि लिएको ऋणमा बैंकले ब्याज घटाएको छैन भने तपाईसँग पनि अब अवसर छ । बैंकको सम्बन्धित विभागमा गएर कुरा गर्दा ब्याजदरमा तत्काल केही न केही राहत पाउन सक्नुहुन्छ । त्यसो हुन नसके ऋण लिइरहेको भन्दा सस्तोमा दिन ग्राहक कुरेर अरू बैंक बसेका छन् ।
एक वर्षअघिसम्म महँगोमा पैसा लिएर महँगै ब्याज असुलेका बैंकले पछिल्लो समय केही परिवर्तन ल्याएका छन् । निक्षेपको ब्याज तुरुन्तै घटाए पनि कर्जामा भने ऋणीको 'दबाब' अनुसार ब्याज घट्न थालेको छ । पैसाको स्वभाव नै हो यो । थोरै र ढिलो दिने तर छिटो र बढी लिने । यस्तो क्रम कर्पोरेट ग्राहक हुँदै सर्वसाधारणसम्म पनि जान थालेको बैंकर बताउँछन् ।
बैंकको संख्या धेरै र बजार सानो भएकाले पनि ठूला निक्षेपकर्ता वा ऋणीको ब्याजदर छिटो परिवर्तन हुने गरेको छ । जुन सर्वासाधारणले खासै उपभोग गर्न पाएका छैनन् । नयाँ बैंकमा महँगो निक्षेप बढी हुनुका साथै पुरानाले नाफालाई ध्यानमा राख्नाले सर्वसाधारणको समस्या सम्बोधन हुन सकेको छैन । 'नयाँ बैंकसँग धेरै ब्याज दिनुपर्ने मुद्दती खाता बढी छन् । त्यसैले कर्जाको पनि ब्याज घटाउन सकेका छैनन्,' एक बैंकरले भने, 'पुराना बैंकले भने अन्य क्षेत्रबाट नाफा घटेको बेला आइरहने ब्याज किन घटाउनु भनेर परिवर्तन गरेका छैनन् ।'
तर बैंकर्स संघका उपाध्यक्ष उपेन्द्र पौडेल पछिल्लो समय कर्पोरेट ग्राहक र सर्वसाधारण दुवैको कर्जामा ब्याजदर घटेको बताउँछन् । 'केही बैंकले ब्याज घटाएपछि अन्यमा पनि त्यस्तो दबाब पर्न थालेको छ,' उनले भने । माग र आपूर्तिले बजार चल्ने भएकाले पछिल्लो समय ब्याजदर घट्ने क्रम देखिएको पौडेलको तर्क छ । 'बजारले धान्नेभन्दा बढीचाहिँ हुनु हुँदैन,' उनी भन्छन् ।
पछिल्लो समय कर्पोरेट ग्राहकलाई ऋण दिन प्रतिस्पर्धा देखिएको छ । 'प्रक्रियागत ढिलाइ नहुने र बैंकसँग यस्ता ग्राहकको सबै जानकारी हुने भएकाले यस्तो भएको हो,' उनले भने, 'बैंकहरूले १० प्रतिशतसम्म ब्याजमा ऋण दिन थालेका छन् ।' छोटो समयको लगानी र छिटो नाफा हुने भएकाले बैंकहरू उद्योगलाई चालू पुँजीलगायत कर्जा दिन प्रतिस्पर्धा गरिरहेका छन् । यसको अर्को कारण ट्रेजरी बिल्स, अन्तरबैंक कारोबारलगायतबाट आउने प्रतिफल न्यून हुनु पनि हो ।
बैंकहरूले सार्वजनिक गरेको तथ्यांकले पनि बैंकले लिने र दिने रकममा ब्याजदरको अन्तर नघटेको देखाउँछ । गत आर्थिक वर्षमा बैंकहरूको औसत स्प्रेड दर -निक्षेप र कर्जाको ब्याजदर अन्तर) ३ दशमलव ६४ प्रतिशत छ । जुन अघिल्लो वर्ष ३ दशमलव ४४ प्रतिशत थियो । यो बढ्नुको अर्थ प्रतिस्पर्धा कम हुनु हो ।
लगानी बढाउन दबाब परेपछि बैंकहरूले केही समयदेखि सस्ता ऋण योजना ल्याएका छन् । जसबाट ग्राहकलाई घरकर्जा, सवारीसाधन कर्जा लगायतमा ब्याज घटेको छ । साथै केही समय ब्याजदर परिवर्तन नहुने प्रतिबद्धतासहित पनि कर्जा योजना आएका छन् ।
गत वर्षभरि चर्चामा रहेको महँगो ऋणको समस्य सम्बोधन गर्न राष्ट्र बैंकले मौदि्रक नीतिमार्फत नियमित आधार ब्याजदर -बेसरेट) प्रकाशन गर्नुपर्ने घोषणा गरेको छ ।
बैंकहरूले लिने ऋणको ब्याजदर पारदर्शी बनाउने भनिएको यस्तो दर प्रकाशन गर्नुपर्ने निर्देशन भने आइसकेको छैन । 'काम भइरहेको छ,' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने । 'भइरहेको कामबारे खुलाउन समय भने आई नसकेको' उनले बताए । यसको अर्थ राष्ट्र बैंकले आधार ब्याजदरबारे कुरा निकाले पनि ठोस काम
गरिसकेको छैन ।
अर्कोतर्फ ब्याजदरलाई सीमाभित्र राख्न 'ब्याजदर कोरिडर' को अवधारणा ल्याएको एक वर्ष बितिसक्दा पनि राष्ट्र बैंकले उक्त 'सुरुङ' को अर्थ लगाउन सकेको छैन । 'राष्ट्र बैंकले कुनै निर्देशन दियो भने मात्र नयाँ र पुरानाबीचको ब्याजदर अन्तर फरक होला,' अर्का एक प्रमुख कार्यकारी अधिकृतले भने, 'तर यस्तो व्यवस्था गर्न उसलाई पनि सजिलो छैन ।'

Friday, August 24, 2012

पुँजी पर्याप्तता अनुपात ११ प्रतिशत हुनैपर्ने

काठमाडौ, भाद्र ८ - राष्ट्र बैंकले ११ प्रतिशतभन्दा कमी पुँजी पर्याप्तता अनुपात भएका वाणिज्य बैंकको लाभांश वितरणमा रोक लगाउने तयारी गरेको छ । एक साताअघि बैंकर्स संघका केही पदाधिकारीलाई बोलाएर 'सहज' पुँजी पर्याप्तता नभएका बैंकलाई लाभांश वितरण गर्न रोक लगाउन सक्ने अनौपचारिक जानकारी केन्द्रीय बैंकले दिएको हो ।
सञ्चालनमा रहेका ३२ वाणिज्य बैंकको अपरिष्कृत चौथो त्रैमासिक वित्तीय विवरणका अनुसार दुई सरकारी स्वामित्वका बैंकबाहेक सबैको पुँजी पर्याप्तता अनुपात ११ प्रतिशतभन्दा बढी छ । राष्ट्र बैंकको निर्देशन अनुसार पुँजी पर्याप्तता अनुपात न्यूनतम १० प्रतिशत हुनुपर्छ । तर अपरिष्कृत वित्तीय विवरणको तथ्यांक लेखापरीक्षण पछि फरक पर्न सक्छ । यसले केही बैंकको लाभांश रोकिन सक्ने देखिएको छ ।
'पुँजी पर्याप्तता अनुपात सहज नभए एक वर्ष लाभांश वितरण रोकिने जानकारी राष्ट्र बैंकका अधिकारीले दिएका छन्' बैंकर्स संघका एक पदाधिकारीले भने, 'यसबारे कुनै लिखित निर्देशन नआउने पनि बताइएको छ ।' सबै बैंकका प्रतिनिधिलाई नबोलाइएकाले यस्तो जानकारी अन्यलाई पनि दिन केन्द्रीय बैंकका अधिकारीले निर्देशन दिएका थिए । 'त्यहाँ उपस्थित नरहेका अन्यलाई पनि जानकारी गराउन भनिएको छ,' उनले भने । 
बैंकको पुँजी र जोखिम भारित सम्पत्तिका आधारमा पुँजी पर्याप्तता अनुपात निकालिन्छ । जोखिम भारित सम्पत्ति बैंकले लगानी गरेको क्षेत्र अनुसार फरक पर्छ । राष्ट्र बैंकले धेरै जोखिम रहेको भन्दै घरजग्गा लगायत क्षेत्रमा हुने लगानीमा यस्तो सम्पत्ति बढी तोकेको छ ।
'यो सामान्य अवधारणा हो,' केन्द्रीय बैंकका एक उच्च अधिकारीले भने, 'पुँजी पर्याप्तता अनुपात ११ प्रतिशत भन्दा कम भएकालाई लाभांश वितरणमा रोक लगाइने छ ।' यस अन्तर्गत विशेषगरी निष्त्रिmय कर्जा बढ्दै जाने र पुँजी घट्दै जाने संस्थालाई हेरिने उनले बताए । राष्ट्र बैंकको वाणिज्य बैंक नियमन विभागले तयार गरेको अवधारणा अनुसार यस्तो गर्ने तयारी भएको हो ।
आर्थिक वर्षको अन्तिम त्रैमासिकमा वाणिज्य बैंकहरूलाई नाफा बढाएर लगानीकर्तालाई बढी प्रतिफल दिन दबाब हुन्छ । संस्थाले कमाएको मुनाफा सेयरधनीलाई दिइने माध्यम लाभांश हो । मुनाफालाई साधारणतया सञ्चित मुनाफामा वा सेयरधनीलाई वितरण गर्ने प्रचलन छ ।
मुनाफा भएको अवस्थमा सेयरधनीलाई थप सेयर जारी गरेर वा नगदमै लाभांश दिने गरिन्छ । आधिकांश लगानीकर्ताले नगद लाभांशको अपेक्षा गरेका हुन्छन् । 'भविष्यको अनिश्चितता हेरेर एक वर्ष लाभांश वितरण नगर्दा पनि हुन्छ भन्ने आशय राष्ट्र बैंकको हो,' एक बैंकरले भने ।
बैंकहरूले लाभांश वितरण नगर्दा उक्त रकम सञ्चित मुनाफामा जान्छ । त्यसलाई अर्को वर्ष वितरण गर्न सकिन्छ । 'सञ्चित मुनाफा बढाउन र संस्थालाई बलियो बनाउन यस्तो व्यवस्था गर्न लागिएको जस्तो देखिन्छ,' अर्को एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ।
वाणिज्य बैंकहरूले सार्वजनिक गरेको पछिल्लो अपरिष्कृत वित्तीय विवरण अनुसार राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको पुँजी पर्याप्तता अनुपात नकारात्मक छ । यी बाहेक ११ दशमलव ०८ देखि २४ दशमलव ३९ सम्म पुँजी पर्याप्तता अनुपात हुने बैंक छन् । तर यी तथ्यांकले अन्तिम रूप पाउँदा केही परिवर्तन हुन सक्छ ।
बैंकहरूले आर्थिक वर्षको वित्तीय विवरण तयार गरेर राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाउँछन् । राष्ट्र बैंकले अन्तिम रूप दिएर विवरणलाई पुनः बैंकमा फर्काउने गर्छ । राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको सञ्चालक समिति बैठकबाट उक्त विवरणलाई पारित गरेर लागू गरिन्छ ।
के हो पुँजी पर्याप्तता अनुपात ?
बैंकले लिएको कुल जोखिममा उसले लगाउनुपर्ने पुँजीको अनुपातलाई पुँजी पर्याप्तता अनुपात भनिन्छ । बैंकहरूले गर्ने लगानीको जोखिम व्यवस्थापन गर्न अन्तर्राष्ट्रियस्तरमा यस्तो मापदण्ड तोकिएको छ । नेपालमा वासल टु भन्ने यस्तो विधि लागू गरिएको छ, जस अनुसार पुँजी पर्याप्तता अनुपात १० प्रतिशत हुनैपर्छ । त्यसको अर्थ प्रत्येक १ सय रुपैयाँ बराबर जोखिम भारित सम्पत्तिमा बैंकको लगानीकर्ताले १० रुपैयाँ बराबर पुँजी लगानी गर्नुपर्ने बुझिन्छ । बैंकहरूको पुँजी पर्याप्तता अनुपात कम हुनु भनेको लगानी गर्ने क्षमता घट्नु हो । यसलाई बढाउन हकप्रद, बोनस वा अग्राधिकार सेयर र ऋणपत्र जारी गर्न सकिन्छ ।
लाभांश के हो ? नबाँड्दा के हुन्छ ?
कम्पनीले कमाएको नाफा सेयरधनीलाई बाँड्ने रकम लाभांश हो । लाभांश सेयर वा नगदमा दिइन्छ । लाभांश वितरण नगर्दा कम्पनीको सञ्चिति मुनाफामा जोडिन्छ । लाभांश वितरण नहुँदा उक्त वर्ष सेयरधनीमा निराशा देखिए अर्को वर्षको प्रतिफल बढ्न जान्छ । साथै सञ्चिति मुनाफा बढ्दा कम्पनीको वित्तीय अवस्था पनि सबल हुन्छ ।

Wednesday, August 15, 2012

केएफसी र पिज्जा हट बन्द

काठमाडौ, श्रावण ३१ - मजदुर आन्दोलनका कारण वैदेशिक लगानीका उद्योगहरू धमाधम बाहिरिरहेका बेला बहुराष्ट्रिय कम्पनी केएफसी र पिज्जा हट पनि अनिश्चितकालका लागि बन्द भएका छन् । 
कर्मचारी र व्यवस्थापनबीच विवाद बढेपछि अमेरिकी बहुराष्ट्रिय कम्पनी केएफसीको फ्रान्चाइजरका रूपमा देवयानी इन्टरनेसनलले सूचना टाँस गरी आफू मातहतका नेपालमा सञ्चालित ५ रेस्टुराँ बन्द भएको जनाएको हो । संसारभर १७ हजार रेस्टुराँ रहेको केएफसी ब्रान्डले नेपालमा ३ वर्षअघि ११ करोड रुपैयाँको लगानीमा रेस्टुराँ खोलेको थियो ।
एक वर्षअघि मजदुर आन्दोलनकै कारण विराटनगरस्थित बहुराष्ट्रिय कम्पनी सूर्य गार्मेन्ट बन्द भएको थियो । मजदुरको अनावश्यक माग धान्न नसकेर तीन वर्षअघि हेटौंडास्थित कोल्गेट पामोलिभ पनि बाहिरिइसकेको छ । केही महिनाअघि मजदुर आन्दोलनकै कारण बरुण वेभरेज -पेप्सी उत्पादक) पनि बन्द भएको थियो । सहमति पछि खुलेको थियो ।
अहिले पनि मजदुर-व्यवस्थापकै असमझदारीका कारण अन्तर्राष्ट्रिय चेन रेस्टुराँ केन्टुकी फ्राइड चिकन (केएफसी) का दरबारमार्ग र ब्लुबर्ड त्रिपुरेश्वरमा रहेका दुई शाखा सहित पिज्जा हट, क्रिमबेल र पीएचडी बन्द भएका हुन् । सञ्चालक देवयानी इन्टरनेसनलले कर्मचारीमाथि कुटपिट भएको, धाकधम्की दिइएको, गैरकानुनी व्यवहार भएको र थप तोडफोड हुन सक्ने डरका कारण अनिश्चितकालका लागि बन्द गरेको सूचनामा उल्लेख गरेको छ । केएफसी र पिज्जाहटका यी रेस्टुराँमा करिब १ सय ८० कर्मचारी कार्यरत छन् । भारतीय लगानीकर्ताहरूको कम्पनी आरजे कर्पको सहायक कम्पनीका रूपमा देवयानीले रेस्टुराँ खोलेको हो ।
रेस्टुराँका एक व्यवस्थापकका अनुसार श्रम कार्यालय टेकुले ट्रेड युनियन खोल्नेबारे पठाएको पत्रको जवाफ बुझाउन जाँदा कर्मचारीहरूले मानवसंसाधन व्यवस्थापकलाई आक्रमण गरेका थिए । 'ट्रेड युनियन स्थापनामा हाम्रो आपत्ति होइन,' उनले भने, 'कर्मचारीको सुरक्षा नभएकाले बन्द गरिएको हो ।' कानुनी प्रावधान पूरा गरेर ट्रेड युनियन खोल्न सकिने उनले बताए । 'कार्यालयमा चिठी पुर्‍याउन गएका कर्मचारीलाई कुटपिट गरेर कागजात खोसियो,' उनले भने । 
मोहन वैद्य अध्यक्ष रहेको नेकपा माओवादी समर्थित अखिल नेपाल क्रान्तिकारी होटल तथा रेस्टुराँ मजदुर संघका उपाध्यक्ष टीका सुवेदीले रेस्टुराँका कसै माथि हातपात नभएको र बिनाजानकारी रेस्टुराँ बन्द गरिएको बताए । 'मेरो जानकारीमा भएसम्म कुटपिट भएको छैन,' उनले भने, 'व्यवस्थापनले यसअघि देखि कर्मचारीलाई ट्रेड युनियन नखोल्न धम्की दिइरहेका थिए ।'
देवयानी इन्टरनेसनलको सूचनामा 'नो वर्क नो पे' को सिद्धान्त अनुसार बन्द भएको अवधि भर कसैलाई पनि कुनै तलब भत्ता उपलब्ध नगराइने उल्लेख छ । सुवेदी भने बिप्पा सम्झौता र नो वर्क नो पेको ट्रेड युनियनले विरोध गरिरहेकाले मान्य नहुने बताउँछन् । 'यो भारतीय लगानी हो जसमा पुनः विस्तारवाद देखाउन खोजियो,' सुवेदीले भने, 'वार्ताबाट समस्या समाधान गर्न नखोजेर दिल्ली धाउने होइन ।'
कर्मचारीले व्यवस्थापनमा रहेका व्यक्तिलाई कुटपिट गर्ने र ज्यान मार्ने लगायत धम्की दिएको इन्टरनेसनलले टाँस गरेको सूचनामा उल्लेख छ । कर्मचारीले आदेश निर्देशन पालना नगरेको र केएफसी ब्रान्डको स्तर अनुसार सेवा सुविधा उपलब्ध नगराएको आरोप पत्रमा लगाइएको छ ।
उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरारकाले अन्तर्राष्ट्रिय लगानी रहेको रेस्टुराँ बन्द हुनुले नकारात्मक सन्देश जाने बताए । 'बन्द हुनुले विदेशी लगानीमा नकारात्मक सन्देश जान्छ,' उनले भने ।