Saturday, April 21, 2012

साना देशका नियोगका खाता नरोक: अमेरिका

काठमाडौ, वैशाख ९ - अमेरिकी विदेशमन्त्री हिलरी क्लिन्टनले साना देशका नियोगका खाता बन्द नगर्न सबै बैंक वित्तीय संस्थालाई आग्रह गरेकी छन् । नेपाल सहित ३० देशका नियोगलाई त्यहाँ खाता खोल्न समस्या भइरहेका बेला कूटनीतिक असर परेको भन्दै मन्त्री क्लिन्टनले उक्त आग्रह गरेको वालस्टि्रट जर्नलले समाचार प्रकाशित गरेको छ ।
अमेरिकाका लागि नेपाली राजदूत शंकर शर्माले पनि अमेरिकामा बैंकिङ कारोबार गर्न सहज हुँदै गएको बताए । 'कारोबार गर्न वातवरण सहज नै छ,' उनले कान्तिपुरसित टेलिफोनमा भने, 'अमेरिकी सरकार पनि कारोबार अझ सहज बनाउन संवेदनशील छ, जसले आगामी दिनमा थप सजिलो हुने देखिन्छ ।'
सम्पत्ति शुद्धीकरण र आतंकवादी काममा रकम दुरुपयोग हुन नदिन अमेरिकी बैंकले शंका लागेका खाता बन्द गर्ने गर्छन् । सरकारी नीति अनुसार यस्ता खाता बन्द गरिए पनि पछिल्लो समय कूटनितिक सम्बन्धमा असर पर्न थालेपछि अमेरिकाले आफ्ना ठूला बैंकलाई विदेशी दूतावस र नियोगका खाता पुनः खोल्न जोड दिन थालेको वालस्टि्रट जर्नलले जनाएको छ ।
सम्पत्ति शुद्धीकरण कानुनको पालना गर्ने क्रममा बन्द गरिएका विभिन्न दूतावासका खाताका कारण कूटनीतिक अलोचना बढेपछि ठूला बैंकलाई घच्घचाउन थालेको जर्नलले उल्लेख गरेको छ । अमेरिकाको अन्तर्राष्ट्रिय मामिला हेर्ने स्टेट डिपार्टमेन्ट भनेको विदेश मन्त्रालय हो । जसका अधिकारीले  जेपी मोगर्न र सिटी ग्रुपलाई २०१० र ११ मा बन्द गरिएका यस्ता विदेशी नियोगका खाता पुनः खोल्न निर्देशन दिएको सञ्चार माध्यमले जनाएका छन् ।
एङगोला, सुडान, यमन, कङ्गो सहित करिब ३० मुलुकले कारोबारका लागि बैंक खोजिरहेका छन् । वालस्टि्रटको समाचार अनुसार ट्रेजरी सचिव (अर्थमन्त्री) टिमोटी गिथनर र क्लिन्टनले अमेरिकी बैंकहरूको साझा संस्था अमेरिकन बैंकर्स एसोसिएसनलाई पत्र लेखेर दूतावासलाई बैंकिङ सेवाबाट वञ्चित गर्दा अमेरिकाको अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रन सक्ने जनाएका छन् । जसको उत्तरमा एसोसिएसनले नियम अनुसार यस्तो कारोबार गर्न 'झन्डै सम्भव' भनेका थिए ।
विदेश मन्त्रालयको उक्त आग्रह आए पनि संयुक्त राष्ट्रसंघमा प्रतिनिधित्व गर्ने न्युयोर्क स्थित नेपाली नियोगको खाता भने फेरि बन्द हुने अवस्थामा पुगेको पनि वालस्टि्रटले नियोगका तृतीय सचिव डिल्ली आचार्यलाई उद्धृत गर्दै समाचार प्रकाशित गरेको छ । राजदूत शर्माले भने यसबारे जानकारी नरहेको बताए । दूतावास वासिङगटनमा छ ।
यसअघि नेपाली नियोगको खाता रहेको जेपी मोर्गनले खाता बन्द गरेपछि वासिङगटनफस्ट नामक बैंकमा सारिएको थियो । उक्त बैंकले पनि बन्द गर्ने जनाएको आचार्यलाई उद्धृत गर्दै जर्नलले उल्लेख गरेको छ ।
ठूला बैंकले यस्ता खाता बन्द गर्न थालेपछि नेपाल सहित अन्य साना देशका नियोग/दूतावासको साना बैंकमा खाता खाल्ने क्रम बढेको थियो । वालस्टि्रट जर्नलका अनुसार वासिङटनभित्र चार शाखा भएको कंग्रेसनल बैंक, १० शाखा भएको वासिङटनफस्ट बैंक लगायतमा यस्ता नियोगले खाता खोलेका थिए । तर साना बैंकले ठूला कारोबार हुने उक्त खाता व्यवस्थापन गर्न असहज भएको बताउँदै आएका थिए । जसमध्ये वासिङटनफस्टले धेरै वटा राजदूतावासलाई अपि्रल अन्त्यबाट खाता बन्द गर्ने जनाएको स्रोतलाई उद्धृत गर्दै जर्नलले छापेको छ । 
स्टेट डिपार्टमेन्टले सम्बन्ध समधुर बनाउन यस्तो जोड दिइरहे पनि बैंकमा रहेको निक्षेप र कारोबारबारे कडा निगरानी भने अमेरिकाले कायमै राख्ने संकेत दिएको छ । हतियार बेचबिखन, आतंकवादी गतिविधि, लागूपदार्थ बेचबिखन र मानव बेचबिखनबाट आर्जित कालो धनलाई सेतो हुन नदिन संसारभरि नै सम्पत्ति शुद्धीकरण निवारणलाई अमेरिका लगायतका विकसित देशले विशेष चासो दिने गरेका छन् । कूटनीतिक नियोग र दूतावास रहेको क्षेत्रलाई विदेशी भूमिको दाँजोमा राखिएकाले निगरानी गर्न सजिलो नरहेको अमेरिकी बैंकले अझै बताउँदै आएका छन् ।
यसै महिना सिटी ग्रुपलाई मुद्रा सम्बन्धी एक निकायले सम्पत्ति शुद्धीकरण र आतंकवादीलाई वित्तीय सहयोग गर्ने नियम पालनामा कमजोर रहेको टिप्पणी गरेको जर्नलमा उल्लेख छ । समान्यतया दूतावासले एक सानो व्यवसाय जस्तै कारोबार गर्छन् । जसमा निक्षेप राख्ने, ब्याजदर हेर्ने र कर्मचारीलाई तलब सुविधा उपलब्ध गराउने लगायत काम हुन्छ ।
खाता बन्द हुने क्रमलाई ट्रेजरी अफिसले भने व्यावसायिक निर्णय मात्र भएको बताउँदै आएको छ । 'धेरै महिनादेखि विदेशी नियोगलाई बैंकिङ सेवा उपलब्ध गराउने काम गरिरहेका छौं,' एक अधिकारीलाई उद्धृत गर्दै जर्नलमा भनिएको छ, 'यसमा धेरै सफलता पाइएको छ ।' बैंकहरू भने नियमनकारी निकायको अनुगमन महँगो भएको बताउँदै आएका छन् । सम्पत्ति शुद्धीकरण सम्बन्धी नियम पालना नभएको पाए नियामकले बैंकलाई जरिवाना गर्छ, जसले साख जोखिममा पर्छ ।

Thursday, April 19, 2012

घट्न थाल्यो घर किन्ने ब्याज

काठमाडौ, वैशाख ७ - लक्ष्मी बैंकले बुधबारदेखि घरजग्गा कर्जाको ब्याजदरलाई १० प्रतिशतमा झारेको छ । १० वर्ष अवधिका लागि दिइने उक्त ब्याजदर सम्भवतः बैंकिङ क्षेत्रको सबैभन्दा कम हो । 'बैंकले सानो प्रयास थालेको हो,' लक्ष्मीका प्रमुख कार्यकारी अधिकृत सुमन जोशीले भने, 'घरजग्गा क्षेत्रमा माग बढेर रियलस्टेट क्षेत्रलाई सहयोग गर्न खोजेका हौं ।'
 बैंक स्थापनाको १० वर्ष पुगेको उपलक्ष्यमा ल्याइएको उक्त योजना अन्तर्गत सीमित परियोजना र समयका लागि नयाँ दरमा कर्जा पाइने बैंकले जनाएको छ । 'घरजग्गा क्षेत्रलाई चलायमान बनाउन हामीले प्रयास गरे पनि अहिले नै सबैमा १० प्रतिशतमा लगानी गर्न सकिने बेला भएको भने होइन,' जोशीले भने, 'तर असारसम्ममा सबैलाई १० प्रतिशतमै दिने प्रयास रहने छ ।'
लक्ष्मीसँगै बैंक अफ एसियाले पनि ११ दशमलव ९९ प्रतिशत ब्याजमा घरकर्जा दिन थालेको छ । यो ब्याजदर भने पाँच वर्ष अवधिका लागि मात्रै हो । 'तरलता बढ्दै गएपछि लगानी बढाउन वैशाख १ बाट घरकर्जामा ब्याजदर घटाइएको हो,' बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले भने, '४ दिनमा ५ सयभन्दा बढी सोधपुछ भएको छ ।'
समग्र बैंकिङ क्षेत्रको औसत हेर्दा १५ प्रतिशतसम्म पुगेको घरकर्जाको ब्याजदरलाई अन्य बैंकले पनि बिस्तारै घटाउन थालेका छन् । सर्वसाधारण र संस्थागत निक्षेपकर्जाको पैसा बैंकिङ क्षेत्रमा आउन थालेपछि ब्याजदर कम हुँदै गएको बैंकर बताउँछन् । 'छोटो समयको ऋणमा ब्याजदर साढे १० प्रतिशतसम्म छ,' कमर्ज एन्ड ट्रस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले भने, 'होम लोन, अटो, ट्रेडिङ लगायतमा पनि कम हुँदै गएको देखिन्छ ।'
बैंकिङ प्रणालीमा बढ्दै गएको तरलता, ट्रेजरी बिल्स लगायतबाट आउने थोरै प्रतिफलका साथै बढी ब्याजमा लिइएको निक्षेपका कारण कर्जा लगानी बढाउनुपर्ने चाप परेकाले पनि बैंकहरू ब्याज घटाउन बाध्य भएका हुन् । माग र आपूर्तिका आधारमा चल्ने बजारमा प्रतिस्पर्धा बढेपछि बैंकहरूले ब्याज घटाएर लगानी बढाउन थालेका हुन् ।
राष्ट्र बैंकका अनुसार एक अर्को बैंकबाट लिने सापटीको अन्तर बैंक ब्याजदर ० दशमलव ७४ प्रतिशत छ । यसैगरी तरलता मापन गर्ने अर्को सूचक ९१ दिने ट्रेजरी बिल्सको बट्टादर पनि ० दशमलव ९४ प्रतिशत मात्रै छ । बजारमा तरलता अभाव हुँदा अन्तर बैंक दरले १५ प्रतिशत छोएको थियो भने ९ प्रतिशतको हाराहारीमा बट्टादर पुगेको थियो । सोही अनुसार बैंकले सर्वसाधारणलाई दिने ब्याजदर पनि पछिल्लो ३ वर्षमा झन्डै दोब्बर बनाएका थिए । 'लगानी र निक्षेपबीच व्यवस्थापन गरेर सन्तुलित वासलात राख्न पनि दबाब बढेको हो,' भट्टराईले भने ।
घरकर्जा सहज हुन थालेपछि व्यवसायी पनि उत्साही भएका छन् । 'घरकर्जाको ब्याजदर घट्नु ज्यादै सकारात्मक कुरा हो,' जग्गा तथा आवास विकास संघका सचिव भेषराज लोहनीले भने, 'यसले रियलस्टेट क्षेत्रलाई पुनः चलायमान बनाएको छ ।' राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई लगानीमा सीमा तोक्नुसँगै ब्याजदर उच्च भएपछि घरजग्गा कारोबार पछिल्लो तीन वर्षमा लगभग ठप्प भएको थियो ।
अघिल्लो त्रैमासिकदेखि लगानीको वृद्धि फराकिलो बनाएका वाणिज्य बैंकले तेस्रो त्रैमासिकमा पनि त्यसलाई निरन्तरता दिएका छन् । वाणिज्य बैंकको फागुन ५ देखि वैशाख १ सम्म २८ अर्ब निक्षेप र २३ अर्ब कर्जा थपिएको छ ।
यो वृद्धिदर अघिल्ला दुई त्रैमासिकभन्दा बढी हो । चैतको अन्तिम सातामा मात्रै वाणिज्य बैंकहरूमा ५ अर्ब निक्षेप र ८ अर्ब रुपैयाँ लगानी बढेको छ । यो वृद्धिसँगै सञ्चालनमा रहेका वाणिज्य बैंकको वैशाख १ गते ७ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप र ५ खर्ब ८६ अर्ब रुपैया कर्जा लगानी पुगेको छ ।



 

Tuesday, April 17, 2012

आन्तरिक बचत बढ्ने

काठमाडौ, वैशाख ६ - यस वर्ष मुलुकको आन्तरिक बचत बढ्ने अनुमान सहितको आर्थिक विवरण केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको छ । कुल गार्हस्थ उत्पादन -मुलुकभित्र उपलब्ध वस्तु तथा सेवाको मूल्य) को तुलनामा आन्तरिक बचत ९ दशमलव ७८ प्रतिशत पुग्ने प्रक्षेपण विभागको छ ।
गत आर्थिक वर्षमा यो ८ दशमलव ६२ प्रतिशत थियो । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार १५ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ बारबरको उपभोग आर्थिक वर्षमा हुने छ । सामान्यता यस्तो बचत रोजगारी र आय बढेपछि वृद्धि हुन्छ । सरकारले खर्च गर्न छुट्याएको रकम प्रयोग नहुँदा पनि बचत देखिन्छ ।
अर्थविद् विश्वम्भर प्याकुर्‍याल तथ्यांकमा देखिएको बचत सरकारले बजेट अनुसार खर्च गर्न नसक्दा भएको बताउँछन् । 'आय बढेर बचत बढेको होइन,' उनले भने, 'सरकारले खर्च गर्न नसकेर भएको बचतले अर्थतन्त्रमा दीर्घकालीन नकारात्मक असर पुग्छ ।' सरकारले बजेट मार्फत खर्च गर्न ७२ अर्ब रुपैयाँ छुट्याए पनि पछिल्लो समयसम्म ३४ प्रतिशत मात्र निकासा भएको छ ।
विभागले सार्वजनिक गरेको तथ्यांकमा कुल गार्हस्थ उत्पादनको वृद्धिदर प्रक्षेपण थोरै बढेको छ । यसअघि सरकारका अन्य निकायले सार्वजनिक गरेको तथ्यांकभन्दा ० दशमलव ०६ बढी अर्थात ४ दशमलव ५६ प्रतिशत, कुल गार्हस्थ उत्पादनको वृद्धिदर रहने विभागले जनाएको छ । यो वृद्धिको प्रमुख कारण कृषि क्षेत्र हुने देखिएको छ । विभागका अनुसार कृषि क्षेत्रको वृद्धिदर ४ दशमलव ९३ र गैरकृषिको ४ दशमलव २७ प्रतिशत हुने छ । यसलाई अझ विस्तृत रूपमा हेर्दा कृषि तथा वन क्षेत्रको वृद्धिदर ४ दशमलव ८६ प्रतिशत हुने छ ।
धान र मकैको उत्पादनमा दोहोरो अंकको वृद्धि हुने अनुमान सहित यो प्रक्षेपण गरिएको छ । अर्थतन्त्रमा अर्को महत्त्वपूर्ण योगदान दिने उद्योग क्षेत्रको वृद्धिदर १ दशमलव २८ प्रतिशत मात्रै हुने प्रक्षेपण छ ।

दोहोरो अंकले बढ्ने आधार छैन

काठमाडौ, वैशाख ५ - राजनीतिक सहमतिसँगै जनतामा आशा सञ्चार भए लगत्तैदेखि सेयर बजार पनि आकासिन थालेको छ । वितेको सातादेखि उकालो लागेको सेयर बजार नियन्त्रण गर्न आइतबार र सोमबार त स्टक एक्स्चेन्जले सर्किट ब्रेकरै लगाउनुपर्‍यो । तीन वर्षदेखि सुस्त रहेको सेयर बजार बितेको दुई दिनमा ३४ दशमलव ५७ अंकले परिसूचक बढेर ३ सय ५४ दशमलव ५१ बिन्दुमा पुगेको छ । तर के यो आकासिने क्रम दीर्घकालीन हो ? के साँच्चै सेयर बजारले गति लिन थालेको हो त ?
'बजार बढ्ने कुनै ठोस कारण देखिएको छैन,' धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी भन्छन्, 'यस्तो समयमा लगानीकर्ता सचेत हुनुपर्छ ।'
यसअघि शान्ति प्रक्रियाका थालनीका (२०६३/६४ मा) क्रममा पनि सेयर बजार बिनाआधार आकासिएको थियो । खुला अर्थतन्त्रमा माओवादी सकारात्मक देखिएकाले आकासिएको बजार तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईको नकारात्मक अभिव्यक्तिले ह्वात्तै घटेको थियो । त्यसपछि अर्थ मन्त्रालयले अनेक प्रयास गर्दा पनि बजार उँभो लाग्न सकेको थिएन । केही अघि अर्थ मन्त्रालयले आर्थिक वर्षको अन्त्यसम्म परिसूचकलाई ३ सय ५० पुर्‍याउने योजना सार्वजनिक गरे पनि कुनै असर देखाएको थिएन । तर बितेको सातादेखि बढेको बजारलाई भने सेयर बजारका विज्ञले सकारात्मक रूपमा लिएका छैनन् । 'राजनीतिक जटिलता कम हुँदै जानु सकारात्मक कुरा हो,' धितोपत्र बोर्डका पूर्वअध्यक्ष चिरञ्जीवी नेपालले भने, 'तर नेप्सेमा दोहोरो अंककै वृद्धि हुनैपर्ने गरी होइन ।'
सोमबार बजारको वृद्धिमा सबैभन्दा ठूलो योगदान दूरसञ्चार कम्पनीको सेयरले गरेको छ । बजार पुँजीकरणमा २० प्रतिशतभन्दा बढी स्थान लिने यो कम्पनी रहेको अन्य समूह १० प्रतिशतले बढेको छ । स्टक एक्सचेन्जलाई सबैभन्दा उच्च बिन्दु ११ सय ७५ पुर्‍याउन यही कम्पनीको सेयरले सहयोग गरेको थियो । ०६५ भदौमा उच्च बिन्दुमा पुगेको परिसूचक घट्नको मुख्य कारण पनि दूरसञ्चार कम्पनीको सेयर नै बनेको थियो । 'पुँजीकरणमा ठूलो हिस्सा राख्ने भएकाले यो कम्पनीको सेयरबाट सजिलै बजारलाई दिशा दिन सकिन्छ,' एक विश्लेषकले भने, 'जुन समग्र बजारका लागि राम्रो होइन ।'
अन्तर्राष्ट्रिय रूपमा सरकारले लिने नीतिका कारण सेयर बजारमा सकारात्मक प्रभाव पर्ने भए पनि यहाँ भने सधंै त्यस्तो नदेखिएको नेपाल बताउँछन् । 'अधिकांश समय नकारात्मक समाचारबाट पनि सकारात्मक प्रभाव परेको छ,' उनले भने, 'त्यसैले एक दुई दिनको बजार वृद्धि हेरेर निर्णय लिन सकिँदैन ।'
नेप्सेमा राजनीतिक प्रभाव र त्यसले ल्याउने वृद्धिको केही समय पछि नै ठूलो गिरावट देखिएका उदाहरण प्रशस्त छन् । २०६० साल साउन १ गते देखि ०६४ साउन १ सम्म परिसूचकको औसत वृद्धि प्रतिदिन ० दशमलव ०७९ प्रतिशत थियो । तर त्यसको विपरीत ०६४ पुसदेखि एक वर्षमा ० दशमलव २६ प्रतिशतले परिसूचक घट्यो ।
जन आन्दोलनको पूर्वसन्न्ध्या ०६२ माघ २२ देखि ०६४ माघ अन्त्यसम्म दैनिक औसत ० दशमलव २३६ प्रतिशतले बढेको छ । यो समयमा जनआन्दोलन, शान्ति सम्झौता लगायतका राजनीतिक विषयले नेप्से बढाउन सहयोग गरे । ०६६ असार अन्त्य देखि ०६८ असार अन्त्यसम्म ० दशमलव १३ अंकले घटेको थियो ।
खुद्रा लगानीकर्तामा मात्र रहेको नेप्सेमा सजिलै भावनात्मक असर पर्ने गरेको छ । यसको फाइदा केही सीमित लगानीकर्ताले लिन सक्ने सम्भावना हुन्छ । बिना ठोस कारण बजार बढ्नु भनेको 'पम्प एन्ड डम्प' प्रवृत्ति हुन सक्ने विश्लेषक बताउँछन् । यसमा बिनाकारण सेयर बजार बढाएर निश्चित व्यक्तिले आफ्नो सेयर बिक्री गर्ने गर्छन् । 'केही समिति व्यक्तिले बजार वृद्धि गराएर सर्वसाधारणलाई झुक्याएका घटना धेरै छन्,' नेपालले भने, '१०/१५ कित्ता सेयरबाटै बजारमा ठूलो उछाल वा गिरावट ल्याउने गरेको देखिन्छ ।' सरकारी नीतिसँगै कम्पनी र प्रतिफल हेरेर मात्र लगानी गर्नुपर्ने उनी बताउँछन् । 
सोमबार प्रवृत्तिको विश्लेषण गर्न नसकिए पनि आइतबार भने ठूला कारोबार भएकाले बजार वृद्धिको आशा रहेको ब्रोकर्स एसोसिएसनका अध्यक्ष अञ्जन पौडेल बताउँछन् । 'केही दिन अघिको कारोबार रकम, परिमाण हेर्दा बजार बढ्ने संकेत छ,' उनले भने, 'तर एक साताको कारोबार नहेरेसम्म केही भन्न सकिँदैन ।'

Tuesday, April 10, 2012

लघु बिमाका लागि छुट्टै कोष सञ्चालन गर्ने तयारी

काठमाडौ, चैत्र २७ - लघु बिमा योजना कार्यान्वयनका लागि बिमा समितिले पुल (कोष) बनाउने तयारी थालेको
छ । नयाँ क्षेत्र भएकाले पुनर्बिमा कम्पनीले सहकार्य गर्ने सम्भावना कम देखिएकाले कोष स्थापनाको काम अघि बढाइएको हो । 'लागू गरेपछि फिर्ता हुन नपरोस् भनेर धेरै अध्ययन गरिरहेका छौं,' बिमा समितिका कार्यकारी निर्देशक विनोद अर्यालले भने, 'त्यसै अन्तर्गत कोषको काम अघि बढाएका छौं ।'
बिमा कम्पनीले जोखिम कम गर्न पुनर्बिमा कम्पनीसँग सम्झौता गरेका हुन्छन् । पुनर्बिमा कम्पनीले सम्झौता गर्न नमाने मुलुकभित्रै यस्तो कोष खडा गर्ने गरिन्छ । माओवादी द्वन्द्वका समयमा पुनर्बिमा कम्पनीसँग सम्झौता गर्न असहज भए पनि आकस्मिक बिमा कोष स्थापना गरिएको थियो । सोही प्रकृतिमा लघु बिमाका लागि पनि छुट्टै कोष बनाउन थालिएको हो ।
'यसका लागि अर्थ मन्त्रालयमा कुराकानी गरिरहेका छौं,' अर्यालले भने, 'सरकार र बिमा कम्पनीको लगानीमा यस्तो कोष स्थापना गर्ने तयारी भएको हो ।' यस्तो कोषले केही वर्षका लागि पुनर्बिमाको काम गर्ने छ । कोषको पुँजी ५ करोड रुपैयाँको हुने उनले बताए । जसमा सरकार र सबै बिमा कम्पनीले बराबरी लगानी गर्ने योजना बनाइएको हो । यस्तो कोषका बिमा कम्पनीका तीन, बिमा समितिका एक र बाहिरबाट अन्य आवश्यक व्यक्ति हुने अर्यालले बताए । यस्तो कोषको निर्माण मन्त्रिपरिषद्ले निर्णय गरेर मात्र
हुन सक्छ ।
बिमा समितिले सबै कम्पनीलाई करिब ४ प्रतिशत लघु बिमा अनिवार्य गर्ने तयारी गरेको छ । जसमा पशु, स्वास्थ्य, दुर्घटना, स्वरोजगार म्यादी र सावधिक जीवन बिमा लेख राखिएको छ । स्वास्थ्य बाहेकका अन्य लघु बिमा १ लाख रुपैयाँसम्मको गर्न सकिने तयारी छ । स्वास्थ्य बिमाको सीमा भने ३० हजार रुपैयाँ राखिएको छ ।
 लघु बिमा क्षेत्र मुलुकमा नयाँ भएको र जोखिम सम्बन्धी पर्याप्त तथ्यांक उपलब्ध नभएकाले विदेशी कम्पनीले सहयकार्य गर्ने सम्भावना कम छ । पुनर्बिमा कम्पनीले सम्झौता गर्नुअघि बिमा गरिने क्षेत्रबारे सम्पूर्ण तथ्यांक हेर्ने गर्छ । यस्तो तथ्यांकले उक्त क्षेत्रमा रहेको जोखिम देखिने
गर्छ । धेरै जोखिम हुने क्षेत्रमा बढी शुल्क र कममा थोरै शुल्क लाग्छ ।
लघु बिमा योजना मुलुकमा अवश्यक भइसकेको उल्लेख गर्दै शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले यसलाई पूर्ण अध्ययन गरेर मात्र लागू हुनुपर्ने
बताए । 'अहिले कस्ता योजना राम्रा छन् र कुनकुन आवश्यक छ भनेर हेरिरहेका छौं,' लघु बिमा अध्ययन समितिका सदस्य समेत रहेका पाण्डेले भने, 'बजारले कत्तिको स्वीकार गर्छ भनेर हेर्न जरुरी छ ।'
लघु बिमा थोरै आयआर्जन भएका व्यक्तिलाई लक्षित गरिएको योजना
हो । सहकारी, लघुवित्त कम्पनी, सामुदायिक समूह लगायतको सहकार्यमा यस्तो योजना बिक्री गर्न सकिने व्यवस्था समितिले गर्दै छ । न्यून आय भएका परिवारको संख्या ठूलो रहेकाले यस्ता योजना सफल हुने व्यवसायी बताउँछन् ।
'तर एकै पटक ठूलो मात्रामा यस्ता योजना बिक्री गर्न लगाइए सम्भव नहुन सक्छ,' अर्का एक बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने, 'सामान्य बिमाकै बजारमा धेरै गर्न बाँकी रहेको समयमा धेरै लघु बिमा अनिवार्य गर्न हुँदैन ।'