Wednesday, March 13, 2013

ज्योति समूह वाणिज्य बैंकतर्फ

काठमाडौ, फाल्गुन ३० - ठूला व्यावसायिक घरानामध्येको एक ज्योति समूह एक निजी वाणिज्य बैंकमा ठूलो हिस्सा ओगट्ने तयारीमा जुटेको छ । फाइनान्स कम्पनीबाट गाभिएर विकास बैंकसँग जोडिएको समूहले किस्ट बैंकमा लगानी गरेर वित्तीय क्षेत्रमा उपस्थिति बढाउन लागेको हो । भाजुरन्त फाइनान्सलाई भिबोर विकास बैंकमा गाभेको एक वर्षपछि समूहले किस्ट बैंकको संस्थापक सेयर खरिद गर्न लागेको छ । हाल योजनामा रहेअनुसार काम अघि बढे भिबोर र किस्ट बैंक गाभिने सम्भावना पनि बढेको छ ।
योसँगै व्यापारिक समूहको वाणिज्य बैंकमा हुने लगानी पनि बढ्ने छ । चौधरी, गोल्छा, खेतान, सिभिल, आईएमईलगायतका व्यावसायिक समूहले बैंक सञ्चालन गरिरहेका छन् । पुरानो व्यापारिक समूहमा ज्योतिले चलाएको एक कम्पनीको नामबाट इन्भेस्टमेन्ट बैंकमा सेयर छ । बैंक सञ्चालन गर्न नयाँ लाइसेन्समा रोक लागेपछि हाल भएकै संस्था खरिद गर्न सक्ने बाटो मात्र छ ।
गुण समूहको स्वामित्वमा रहेको किस्ट बैंकको करिब १५ प्रतिशत सेयर ज्योति समूहले खरिद गर्ने तयारी गरेको छ । घरजग्गा र सहकारीमा समस्या देखिएपछि समूहले आर्थिक स्रोत जुटाउन यसअघि एयरलाइन्स बिक्री गरिसकेको छ । यसका साथै किस्ट बैंकमै रहेको साधारण सेयर पनि समूहका सञ्चालकले बिक्री गरिसकेका छन् ।
ज्योति समूहका उपाध्यक्ष रूप ज्योतिले समस्यामा परेका राजेन्द्रमान शाक्यलाई सहयोग गर्न लागेको बताए । 'गुण समूहका परियोजना नराम्रा छैनन्, तरलताको समस्या मात्र परेको हो,' उनले भने, 'त्यसैले हामी सहयोग गरिरहेका छौं ।' सहयोगकै क्रममा शाक्यले किस्ट बैंकको सेयर लिन भनेको र खरिद गर्ने तयारी भएको उनले बताए । 'किस्टको सेयर खरिद गर्ने सम्झौता भएको छैन' उनले भने, 'तर सम्भावना बढी छ ।' किस्टको सेयर खरिद गर्ने र भिबोरसँग गाभिनेबारे पनि छलफल भइरहेको उनले बताए । 'यो विन विन सिचुएन (दुवै पक्षको जितको अवस्था) हो' उनले भने, 'किस्ट राम्रो व्यवस्थापन भएको र निम्न वर्गमा भिजेको बैंक हो ।' उनले गुण समूहलाई सहयोग गरिरहेको बताए पनि सेयर खरिद गर्न लागिएको रकमबारे खुलाएनन् । पछिल्लो समय किस्ट बैंकको प्रवर्द्धक सेयर प्रतिकित्ता १ सय ८ रुपैयाँमा बिक्री भइरहेको छ । किस्ट बैंक व्यवस्थापन समूहका एक सदस्यले पनि दुई संस्था गाभिन सक्ने सम्भावना रहेको बताए । 'अन्य कुनै समस्या नभए पनि हामीलाई पुँजी बढाउन आवश्यक छ,' किस्ट बैंक स्रोतले भन्यो, 'भिबोरमा भइरहेको सुधारपछि गाभिँदा दुवैलाई राम्रो हुने देखिन्छ ।' किस्टमा पुँजी वृद्धि गर्न आवश्यक भएको र व्यावसायिक समूहको प्रवेश भए सजिलो हुने स्रोत बताउँछ ।
बैंकका प्रबन्ध निर्देशक कमलप्रसाद ज्ञवाली पनि नयाँ लगानीकर्ता आउनु र गाभिनु फाइदाजनक हुने बताउँछन् । 'ज्योति समूह आए बैंकलाई राम्रो हुन्छ,' उनले भने ।
घरजग्गामा आएको मन्दीका कारण एक वर्षअघि भिबोरमा समस्या देखिएको थियो । भाजुरन्तसँग गाभिएपछि भिबोरले सुधारका विभिन्न कार्यक्रम लागू गरेको छ । पछिल्लो समय आफ्नो मातहतको घरजग्गामा लगानी गर्ने कम्पनी बिक्री गर्ने तयारी गरिरहेको छ । योबाहेक बैंकको ५० करोडभन्दा बढी लगानी घरजग्गा क्षेत्रमा छ । पछिल्लो प्रकाशित विवरणअनुसार भिबोरको निष्त्रिmय कर्जा ३३ दशमलव ३८ प्रतिशत छ । यसको ९१ करोड रुपैयाँको हाराहारीमा चुक्ता पुँजी छ ।
पछिल्लो विवरणअनुसार भिबोरलाई ११ करोड रुपैयाँको खुद घाटा भएको थियो । दोस्रो त्रैमासिकको अन्त्यमा किस्ट बैंकको निष्त्रिmय कर्जा ७ दशमलव १५ प्रतिशत थियो जुन चैतसम्म ५ प्रतिशत तल झर्ने बैंक स्रोत बताउँछ ।
अर्कोतर्फ पुँजी पर्याप्तता अनुपात १० दशमलव ९ प्रतिशत भएकाले किस्टलाई थप लगानी बढाउन सजिलो छैन । योजनाअनुसार दुवै संस्था गाभिए पँुजी ३ अर्ब रुपैयाँ पुग्ने र वित्तीय परिसूचकमा पनि सुधार आउने देखिन्छ । दुवै संस्था गाभिने चर्चासँगै सेयरमा पनि प्रभाव देखिएको छ । दुवै संस्थाको सेयर मूल्य केही दिनयता बढ्न थालेको छ ।

Monday, March 11, 2013

बजार हिस्सा गुमाउँदै वाणिज्य बैंक

काठमाडौ, फाल्गुन २८ - आक्रामक शाखा विस्तारले उपस्थिति बाक्लिए पनि वाणिज्य बैंकले बजारमा आफ्नो हिस्सा गुमाउँदै गएका छन् । वित्तीय सेवामा सबैभन्दा सबल वाणिज्य बैंकको हिस्सा पछिल्ला ५ वर्षमा  ६ दशमलव १ प्रतिशत विन्दुले घटेर ५१ प्रतिशतमा आइपुगेको छ । जबकि यस अवधिमा वाणिज्य बैंकको संख्या २५ बाट ३२ पुगेको छ । सँगै यी मातहत रहेका शाखाको संख्या १४ सय २५ पुगेको छ ।
बैंक वित्तीय संस्था गाभिने, नयाँ खुल्ने क्रम र ग्रामीण क्षेत्रमा विकास बैंकको बढ्दो उपस्थितिका कारण समीकरणमा परिवर्तन आएको हो ।
चालू आर्थिक वर्षको सुरुवातमा वाणिज्य बैंकको समग्र वित्तीय सेवामा ५१ दशमलव १ प्रतिशत हिस्सा छ । जुन ५ वर्ष अघि ५७ दशमलव २ थियो ।
यी वर्षमा विकास बैंक र लघु वित्त विकास बैंकले आफ्ना हिस्सामा केही सुधार गरेको छ भने वित्त कम्पनीको भाग घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको एक अध्ययनले विकास बैंकको बजार भाग ७ दशमलव ८, वित्त कम्पनीको ५ दशमलव ३ र लघु वित्त विकास बैंकको १ दशमलव ४ प्रतिशत देखाएको छ ।
पाँच वर्षमा सबैभन्दा बढी सुधार विकास बैंकको भागमा परेको छ । जुन ५ दशमलव २ प्रतिशत विन्दुको हो । 'विकास बैंकको संख्या बढ्यो र ग्रामीण अर्थतन्त्र उत्थानलाई काम पनि गरे,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणि ज्ञवाली भन्छन्, 'व्यक्तिगत सेवामा ध्यान दिएपछि विकास बैंकको हिस्सा बढेको हो ।' सँगै वित्त कम्पनी गाभिएर विकास बैंक बन्ने क्रमले पनि सुधार आएको उनी बताउँछन् ।
पछिल्लो ५ वर्षमा सबैभन्दा बढी संख्यात्मक वृद्धि वित्त कम्पनीको छ । ४६ वटा नयाँ थपिएर आर्थिक वर्ष सुरु हुँदा वित्त कम्पनीको संख्या ७० पुगेको छ । यही अवधिमा विकास बैंकको संख्या ३० ले बढेर ८८ पुगेको छ । ग्रामीण विकास बैंक भने १२
बाट ५ वर्षको अन्तरालमा २४ पुगेका छन् ।
हिस्सा बढ्नमा नयाँ संस्था थपिनु र ग्रामीण क्षेत्रमा पनि विस्तार हुनु रहेको एस डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डे बताउँछन् । 'नयाँ थपिनुसँगै बजारमा आफ्नो उपस्थिति बढाउने क्रम पनि जारी छ,' उनले भने, 'कतिपय वाणिज्य बैंक नपुगेको स्थानमा क्षेत्रीय विकास बैंक खुलेका छन् ।' पछिल्लो समय विकास बैंक र वित्त कम्पनीमा तरलताको पनि समस्या देखिन छाडेको उनी बताउँछन् । 'लगानी व्यवस्थापन गर्नचाहिँ समस्या देखिएको छ,' उनले भने ।
केही समय अघिसम्म संस्थागत सुशासन अभाव भएका वित्त कम्पनीमा देखिएको समस्याका कारण समग्र क्षेत्रमै असर परेको थियो । केही वित्त कम्पनी र विकास बैंकको असरले समग्र समूहकै निक्षेप संकलनमा देखियो । पछिल्लो समय राष्ट्र बैंकले सुरु गरेको निक्षेप सुरक्षणका कारण अवस्थामा केही परिवर्तन आएको छ ।
निक्षेप वृद्धिको क्रम पछिल्लो केही महिनादेखि वाणिज्य बैंकभन्दा विकास बैंक र वित्त कम्पनीभन्दा बढी छ । 'ख' र 'ग' वर्गका संस्थाले निक्षेपमा दिने ब्याज 'क' भन्दा बढी हुनाले पनि यस्तो परिवर्तन देखिने गर्छ ।
आर्थिक वर्षको ६ महिनामा वाणिज्य बैंकको निक्षेप ४ दशमलव ६ प्रतिशतले बढेको छ । यस्तो वृद्धि विकास बैंकमा ७ दशमलव ४ प्रतिशत र वित्त कम्पनीमा ५ दशमलव ८ प्रतिशत छ । लगानीको वृद्धि भने वाणिज्य बैंकको सबैभन्दा बढी छ । राष्ट्र बैंकको तथ्यांक अनुसार ६ महिनामा वाणिज्य बैंकको कर्जा वृद्धि १० दशमलव ७ प्रतिशतले भएको छ । विकास बैंकको ७ दशमलव २ र वित्त कम्पनीको ५ दशमलव ८ प्रतिशतले बढेको छ ।
वित्तीय प्रणालीमा आफ्नो भाग बढाए पनि विकास बैंकको शाखा संख्या वाणिज्य बैंकको आधाभन्दा कम छ । चालू आर्थिक वर्ष सुरु हुँदा विकास बैंकका कुल ६ सय ७८ शाखा सञ्चालनमा थिए । वित्त कम्पनीले मुलुकभर २ सय ९२ शाखा खोलेका छन् । सबै वर्गको उपस्थिति मध्यमाञ्चल क्षेत्रमा उल्लेख्य छ । वाणिज्य बैंकका ७ सय ९, विकास बैंकका २ सय ६० र वित्त कम्पनीका १ सय ६९ शाखा सञ्चालित छन् ।

Friday, March 8, 2013

कर्जा नबढ्दा ब्याज घटेन

काठमाडौ, फाल्गुन २५ - अधिकांश वाणिज्य बैंकले लगानी बढाउन नसक्दा पुराना ऋणको ब्याज घट्न छाडेको छ । आवश्यक नयाँ ऋण बढ्न नसकेपछि पुरानाबाटै आम्दानी गरिराख्नुपर्ने अवस्थाले ब्याज नघटेको हो । पुँजी पर्याप्तता अनुपात (सीएआर) मा दबाब परेका कारण धेरैजसो पुराना बैंकले लगानी बढाउन नसकेका हुन् ।
पछिल्लो समय यस्तो दबाबले नयाँको तुलनामा पुराना ऋणको ब्याज नघट्नु र निक्षेप आकर्षक ब्याज नहुनुको कारण बनेको छ । बैंकको पुँजी पर्याप्तता अनुपात १० प्रतिशत हुनुपर्छ, जसको अर्थ १ सय रुपैयाँ लगानी गर्न १० रुपैयाँको पुँजी न्यूनतम बैंकको हुनुपर्छ । सञ्चालनमा रहेका पुराना र ठूला बैंकको पुँजी पर्याप्तता अनुपात १० देखि १२ को बीचमा छ । नयाँ बैंकको भने १८ प्रतिशतसम्म छ ।
यही अनुपातका कारण लगानी बढाउन नसकेपछि आम्दानीको स्रोत पुरानो ऋण मात्र बाँकी रहन्छ । अर्कोतर्फ बैंकमा पैसा राख्ने व्यक्तिलाई ब्याज दिनुपर्ने भएकाले आम्दानी बढाउन थप दबाब पर्छ । आर्थिक वर्षको ६ महिनामा वाणिज्य बैंकको लगानी अघिल्लो वर्षभन्दा १० दशमलव ७ प्रतिशतले बढेको छ । नयाँ खुलेका बैंकको आक्रामक लगानीका कारण बढेको हो । अधिकांश पुराना बैंकको चालू वर्षमा ठूलो लगानी विस्तार भएको छैन, जसको असर ब्याजबाट हुने आम्दानीमा पर्छ ।
पुँजी पर्याप्तता अनुपातका कारण बैंकको लगानी गर्ने क्षमतामा असर परेको एनआईसी बैंकका प्रमुख कार्यकारी अधिकृत ससिन जोशी बताउँछन् । 'लगानीमा असर पक्कै परेको छ,' उनले भने, 'जसल गर्दा पुराना कर्जामा प्रभाव परेको हुन सक्छ ।' कमर्ज एन्ड ट्रस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराई पनि ब्याज कम नहुने एक कारण पुँजी पर्याप्तता अनुपातको दबाब र ऋण नबढ्नु रहेको बताउँछन् । 'यसका साथै सबै रकम लगानी गर्न नमिल्ने तर ब्याज दिनुपर्ने अवस्थाले पनि हो,' उनले भने । बैंकले सर्वसाधारणबाट लिएको रकममध्ये करिब ७५ प्रतिशत मात्र लगानी गर्न सक्छन् ।
अनिवार्य १० प्रतिशत हुनुपर्ने सीआरआरमा सँगै राष्ट्र बैंकले नगद लाभांश वितरणका लागि थप १ प्रतिशत छुट्याउनुपर्ने प्रावधान बनाएको छ । 'यसले कम सीआरआर भएका बैंकलाई थप दबाब परेको छ,' उनले भने । पुँजी पर्याप्तता अनुपातका कारण लगानी विस्तार गर्न असहज भएपछि केही बैंकले ऋणपत्र निष्कासन गरेका छन् । केही वर्षका लागि सर्वसाधारणबाट उठाइने यस्तो रकमबाट ऋण लगानी गर्ने क्षमता बढ्छ । सँगै पुँजी बढाउनुपर्ने बाध्यता पनि केही वर्ष पछि धकेलिन्छ । 'ऋणपत्र ल्याउनु सस्तो देखिन्छ र पुँजी बढाउन केही समय पनि थप हुन्छ,' जोशीले भने । यस्तो ऋणपत्र सेयर बजारमा पनि सूचीकृत गर्नुपर्छ । हालसम्म सेयर बजारमा १३ ऋणपत्र सूचीकृत छन् । ऋणपत्र जस्तै 'कन्भर्टेबल पि्रफरेन्स' बाट पनि पुँजी बढाएर लगानी गर्न सक्ने अवसर बैंकसँग छ । तर हालसम्म एउटा बैंकले मात्र यस्तो बाटो लिएको छ ।
ऋण लगानी बढाउनका साथै अन्य प्रावधान पूरा गर्न पनि बैंकले पुँजी बढाउनुपर्ने बाध्यता देखिएको छ । बैंक वित्तीय संस्थाले मान्ने अन्तर्राष्ट्रिय बैंकिङ कानुन र नियमन बासल थ्री लागू भएपछि त्यसका केही प्रावधानका कारण पनि पुँजी बढाउनुपर्ने अवस्था आउने छ । अर्कोतर्फ थप सेयर जारी गरेर पनि बैंक वित्तीय संस्थाले पुँजी बढाउन सक्छन् ।
तर प्रवर्द्धकै ठूलो रकम लगानी गर्नुपर्ने र सर्वसाधारणले पनि खरिद गर्ने/नगर्ने टुंगो छैन । थप सेयरको असर इक्विटीबाट हुने आम्दानीमा पनि पर्छ । देखिएका समस्या सुल्झाउन र पुँजी बढाउने अर्को विकल्प भने मर्जर हो । मर्जरमा जानका लागि अधिकांश बैंक तथा वित्तीय संस्थाले बाटो खुला राखेका छन् । वाणिज्य बैंक एक आपसमा गाभिने क्रम पनि सुरु भएको छ ।

Monday, March 4, 2013

विश्वकै धनीमा चौधरी पनि

काठमाडौ, फाल्गुन २२ - विनोद चौधरी र उनको परिवारको सम्पत्ति ८८ अर्ब (एक अर्ब डलर) रुपैयाँ बराबर पुगेको छ । विश्वभरका अर्बपतिको सूची सार्वजनिक गर्ने पत्रिका फोर्ब्सको सूचीमा चौधरीको नाम समावेश भएको छ । फोर्ब्सको अर्बपति सूचीमा पर्ने उनी पहिलो नेपाली हुन् । विश्वका १४ सय २६ अर्बपतिको सूचीमा चौधरी १३ सय ४२ औं स्थानमा परेका छन् ।
फोब्र्सले ५७ वर्षका चौधरीलाई नेपालको पहिलो अर्बपति भन्दै मुलुकभित्र भन्दा बाहिर बढी सम्पत्ति रहेको उल्लेख गरेको छ । चौधरी समूहको वाईवाई र नबिल बैंक सबैभन्दा चल्तीका ब्रान्ड/कम्पनी हुन् । 'पत्रिका सूचीमा पर्न सफल भयौं, यो ज्यादै खुसीको कुरा हो,' चौधरीले कान्तिपुरसित भने, 'मुलुककै लागि पनि गर्व हो । नेपाल अब सगरमाथा, गौतम बुद्धको देशमात्र हैन, कर्पोरेट जगत्मा पनि चिनिने छ ।' यसअघि सन् २००८ मा फोब्र्सले नै ५० करोड डलरका मालिक भन्दै उनको फिचर छापेको थियो ।
फोब्र्सले छुट्टै समूह परिचालन गरेर वाषिर्क रूपमा अर्बपतिको सूची सार्वजनिक गर्छ । यस्तो सूची २७ वर्षदेखि तयार हुँदै आएको छ । पत्रिकाले सम्पत्ति पत्ता लगाउँदा अर्बपतिको सार्वजनिक र निजी कम्पनीमा रहेको लगानी, घरजग्गा, कला, नगद र ऋण पनि हेर्ने उल्लेख गरेको छ ।
सेयर बजारमा रहेको लगानीलाई पछिल्लो मूल्यका आधारमा समावेश गरिएको हुन्छ । यस्तो सम्पत्ति अन्यसँग दाँज्ने र विशेषज्ञसँग सल्लाह पनि हुने गरेको फोब्र्सको वेबसाइटमा उल्लेख छ । एकै व्यक्ति संस्थापक र सञ्चालक भए अर्बपतिलाई परिवारसहित राखिने व्यवस्था गरिएको छ । चौधरीलाई पनि परिवारअन्तर्गत नै राखिएको छ ।
चौधरी ग्रुपअन्तर्गत १५ क्षेत्रका विभिन्न कम्पनी सञ्चालनमा छन् । मुलुकभित्र रहेको उद्योग व्यवसाय चौधरी समूह र बाहिरका व्यवसाय सिनोभेसनअन्तर्गत छन् । मुलुकभित्रका उद्योग/व्यापार तयारी खाद्य सामग्री, वित्तीय सेवा, अटोमोबाइल्स, ऊर्जा, घरजग्गा, शिक्षा, स्वास्थ्यलगायत छन् । पछिल्लो समय कम्पनीले दूरसञ्चार क्षेत्रमा पनि हात हालेको छ ।
कम्पनीले एसटीएम टेलिकम सञ्चार प्रालिको ८० प्रतिशत (८ हजार कित्ता) सेयर किनेको छ । सिंगापुरमा रहेको सिनोभेसन ग्रुपअन्तर्गतको सीजी फुड्सका तीन उद्योग भारतमा छन् ।
यी उद्योगले विभिन्न प्रकारका तयारी चाउचाउ उत्पादन गर्छ । भारत, मालदिभ्सलगायत विभिन्न होटलमा ताज समूहसँग साझेदारीमा लगानी गरेको सिनोभेसनले एसियाका अन्य मुलुकमा पनि होटल विस्तार गरिरहेको छ । जिंक नामक ब्रान्डमा संसारभर ३० वटा होटलमा लगानी गरेको यो समूहले नेपालमा पनि होटल खोल्न अध्ययन गरिरहेको छ ।
चौधरीको अन्तर्राष्ट्रिय व्यापार उनका दुई छोरा राहुल र बरुणले हेर्छन् भने नेपालको जेठा छोरा निर्वाणले सम्हालेको फोर्ब्सले लेखेको छ । व्यवसायमा अझै सक्रिय उनी पछिल्लो समय अवकाश लिने चरणमा रहेको बताउँछन् । 'म अवकाश पाउने चरणमा छु, सबै काम छोराहरूलाई जिम्मा लगाएको छु,' उनले भने, 'आफैंले रोपेको बिरुवा भएकाले हेर्ने काम भने गरिरहन्छु ।'
नेपालबाट विदेशमा लगानी गर्न नपाइने कानुनी व्यवस्था भए पनि चौधरी परिवारका विभिन्न व्यवसाय अन्तर्राष्ट्रिय रूपमा फैलिएका छन् । चौधरीको हालैमात्र सार्वजनिक आत्मकथामा उनले यसलाई स्वीकारेका छन् । 'नीतिगत सुधार आजसम्म हुन सकेको छैन,' चौधरीले पुस्तकमा लेखेका छन्, 'म आफ्नै ढंगले अन्तर्राष्ट्रिय विस्तारमा धेरै अघि बढिसकें ।' चौधरी समूहलाई बहुराष्ट्रिय कम्पनीका रूपमा स्थापित गर्ने अडान जारी रहेको पुस्तकमा उल्लेख छ । उनले विदेशमा पैसा लगेर नभई, व्यवस्थापन सम्हालेबापत इक्विटी सेयर पाएको र भेन्चर क्यापिटलमार्फत लगानी गरेको बताएका छन् । उनका दुई छोरा बरुण र राहुल गैरआवासीय नेपाली भएकाले उनीहरूले नै विदेशमा लगानी गरिरहेको चौधरीले बताउँदै आएका छन् ।
भारतको राजस्थानबाट आएको चौधरी परिवारले नेपालमा कपडा आयात गरेर व्यवसाय सुरु गरेको थियो । विनोदका हजुरबुवा भुरामल चौधरीले २ सय रुपैयाँ मासिक भाडा तिरेर १९९० मा न्युरोडमा पसल खोली व्यवसाय सुरु गरेका थिए । त्यसलाई उनका छोरा लुनकरणदास चौधरीले विस्तार गर्दै विराटनगरबाट जुट निर्यात गर्न थालेको चौधरी समूहको वेबसाइटमा उल्लेख छ । चौधरी समूहले २०२२ मा मोर्डन होजियारी इन्डस्टि्रजबाट मोजा उत्पादन गरेर उद्योगमा हात हालेको थियो ।

Saturday, March 2, 2013

सजिलो टीभी-यु ट्युब

काठमाडौ, फाल्गुन १८ - दक्षिण कोरियाली गायक पीएसवाईले आफ्ना ६ एल्बममा दर्जनौं गीत गाए । तर उनलाई संसारभर चिनाउने काम गर्‍यो, पछिल्लो एकै गीत गङनम स्टाइलले । पत्रकार डेकेन्द्र थापाले ०५९ सालमा गाएको गीत कमैले सुनेका थिए । उनी मारिएको ८ वर्षपछि यसलाई ४६ हजारभन्दा बढीले हेरे र सुने । कोलाबेरी डी गाएका धनुष सोसल मिडिया मार्फत नै एकाएक चर्चित गायक बने ।
यी तीनै घटनालाई चर्चित बनाउने माध्यम बन्यो, यु-ट्युब । गएको भ्यालेन्टाइन-डे मा स्थापनाको ८ वर्ष पूरा गरेको यु-ट्युब धेरै भिडियोहरूलाई चर्चित बनाउने माध्यम बनेको छ । हेर्नका लागि टेलिभिजन अघि कुरेर बस्नुपर्ने ट्रेन्डलाई यु-ट्युबले परिवर्तन गरिरहेको छ ।
लोडसेडिङमा टीभी सिरियल छुट्दा विकल्प बन्न थालेको यो वेबसाइट पछिल्लो समय नेपाली कार्यक्रमको अन्तर्राष्ट्रिय च्यानल पनि भएको छ । त्यसका कारण देखाउने र हेर्न चाहनेलाई सजिलो भइदिएको छ ।
सन् २००५ को फेब्रुअरीमा व्यक्तिगत भिडियोलाई लक्षित गरी खोलिएको यु-ट्युब अहिले विश्वमै धेरै हेरिने तेस्रो वेबसाइट भएको छ । यसमा प्रत्येक मिनेटमा भिडियो अपलोड भइरहेका हुन्छन् । यसमा चढेको भिडियो र बढेको दर्शक संख्याले टेलिभिजन च्यानलहरूमाथि चुनौती तेर्सिएको छ ।
आवश्यक परेको समय हेर्न सकिने र दोहोर्‍याउन मिल्ने भएकाले पनि यु-ट्युब टेलिभिजनको प्रतिस्पर्धामा अघि आउन थालेको हो ।
'केही वर्षमा यु-ट्युबले टेलिभिजन हेर्ने ट्रेन्ड परिवर्तन गर्ने देखिन्छ,' टेलिभिजन र आईटी ज्ञाता करुण थापा भन्छन्, 'नेपाल र विदेशमा भएका नेपालीमा पनि यसले परिवर्तन ल्याउन थालेको छ ।' टेलिभिजन २४ घन्टा आउने भए पनि समयका कारण प्रसारण क्षेत्रभन्दा उल्टो ठाउँमा रहेकालाई हेर्न सजिलो छैन ।
त्यसलाई सजिलो बनाउने काम यु-ट्युबले गर्दैछ । 'अमेरिकामा रहेकाले काम सकेर टेलिभिजन खोल्दा बेलुका नेपाली टीभीबाट भजन आउँदो रहेछ,' थापाले भने, 'कार्यक्रम दोहोर्‍याउँदा समय नमिल्ने भएकाले विकल्पमा यु-ट्युब भएको छ ।' यु-ट्युबमा हेर्नेको संख्या बढ्दै गएपछि कम्पनीले त्यसको राम्रो व्यवस्थापनमा काम अघि बढाएको छ ।
त्यसकै उदाहरण यु-ट्युबले नेपालमा सर्भर राख्नु हो । सर्भर नेपालमा हुनु, इन्टरनेटको गति बढ्नु र मूल्य घट्नुले यो वेबसाइटको लोकपि्रयता बढाउन मद्दत पुगेको छ । 'नेपालमै पनि म्युजिक भिडियो र सिनेमाका प्रोमो यु-ट्युबबाट सार्वजनिक हुने क्रम बढेको छ,' थापाले भने, 'प्रतिक्रिया सजिलै आउने भएकाले टीभीमा भन्दा यसमा आकर्षण देख्ने बढेका छन् ।'
'टेलिभिजनको च्यानलले निश्चित समयमा कुनै एउटा कार्यक्रम दिन्छ,' अन्तर्राष्ट्रिय टेलिभिजन कार्यक्रम निर्माता इरिक स्पाइजेलमेनलेले न्युयोर्करमा लेखेका छन्, 'यु-ट्युबको च्यानलले त्यसको विपरीत धेरै अवसर दिएको छ ।' टेलिभिजन च्यानललाई तिर्नुपर्ने शुल्कका अगाडि यु-ट्युब
हेर्दा हुने खर्च न्यून भएकाले दर्शक बढेको उनले लेखेका छन् ।
यसै कारणले हुन सक्छ युरोप र अमेरिकाका विभिन्न टेलिभिजन च्यानलले यु-ट्युबमा पनि लाइभ गर्न थालेका छन् । त्यसमा ब्लुमबर्ग, सिनेट, अलजजिरा, फेसन टीभी हुँदै कलर्ससम्म आइपुगेको छ । टेलिभिजनका कार्यक्रम मात्रै खोज्नुभयो भने अंग्रेजी, जर्मन, हिन्दी हुँदै नेपालबाट प्रसारण हुने अधिकांश भेटिन थालेको छ ।
अर्को कारण स्मार्टफोन र टेलिभिजनको संख्या बढ्नु पनि हो । आइफोनमा आईटीभीदेखि एन्ड्रोइडका अधिकांश ग्याजेटमा यु-ट्युबले उपस्थिति बनाएको छ । वाईफाई र थ्रीजी सेवा खोज्न धेरै हिँड्नु पर्दैन । त्यसैले टेलिभिजन अब कोठाभित्र नभएर बाटोबाटोमा पुग्न थालेको छ ।
'किताब पढ्नका लागि किन्डल भनेजस्तै टीभी हेर्नका लागि यु-ट्युब माध्यम बन्दै आएको छ,' थापाले भने । स्मार्ट टेलिभिजनमा उपलब्ध भइसकेको यु-ट्युबले अन्य उपायबाट पनि आफ्नो उपस्थिति बढाउँदै गएको छ । गएको साता मात्रै यु-ट्युबले बेलायती कम्पनी फिस्याटसँग सम्झौता गरेर टेलिभिजनमा आफ्नो पहुँच बढाएको छ ।
निःशुल्क टेलिभिजन च्यानल उपलब्ध गराउने फिस्याटमा जोडिएर यु-ट्युबले चुनौती भने परम्परागत टेलिभिजनलाई दिइरहेको छ । यसका साथै केबल टेलिभिजन र अन्य माध्यममा पनि यसले उपस्थिति बढाउँदै लगेको छ । टेलिभिजनका कार्यक्रम मात्र नभएर यु-ट्युबले आफ्नो छुट्टै बनाउनका लागि तयारी गरेको बेलायती पत्रिका गार्जियनले उल्लेख गरेको छ ।
त्यसमा विभिन्न प्रख्यात निर्माताले बनाएका कार्यक्रम प्रसारण गर्न ६० नयाँ च्यानल यु-ट्युबमा खोलिने लेखिएको छ । यु-ट्युब सोसल मिडियामा सजिलै जोडिन सक्ने भएकाले पनि चर्चित बन्नुको एक कारण हो । 'टेलिभिजनका कार्यक्रम दर्शकलाई आकषिर्त गर्ने हुनुपर्छ भन्ने भनाइ छ,' थापाले भने, 'जसलाई यु-ट्युबमार्फत सजिलै गर्न सकिन्छ ।'
सामाजिक सञ्जाल फेसबुक, टि्वटरलगायत आफ्नै वेबसाइटमा पनि राख्न मिल्ने भएकाले यु-ट्युब सजिलो टीभी बन्न थालेको छ । 'नेपालमा रहँदा विदेशी सुन्नु परे पनि विदेशमा पुगेपछि नेपाली गीत खोज्ने धेरै छन्,' थापाले भने, 'त्यस्तै माग पूरा गर्न यु-ट्युबमा भएका लोकगीत राखेर एउटा वेबसाइट बनाइएको रहेछ ।'
विदेशमा नेपाललाई जोड्ने एउटा माध्यम भइसके पनि नेपालमै भने टेलिभिजनलाई चुनौती दिन केही समय लाग्ने थापा बताउँछन् । 'अलिकति व्यवस्थापन हुन बाँकी छ,' उनले भने, 'छरिएर रहेका विषयलाई समेट्ने हो भने यु-ट्युब धेरै सजिलो भएको छ ।' हुन पनि, के हेर्ने ? यु-ट्युबमा सबै, जहिले पनि देखिन्छ ।