Wednesday, December 19, 2012

चीन र भारतभन्दा बढी कमोडिटिज

काठमाडौं, पुस ४ - अन्तर्राष्ट्रिय व्यापार सहजीकरण र स्थानीय उत्पादनलाई उपयुक्त मूल्य उपलब्ध गराउने थलो कमोडिटिज बजारको संख्या नेपालमा भारत र चीनमा भन्दा बढी छन् । कानुनबिनै चलिरहेका एक्सचेन्जले सर्वसाधारणमाथि ठगी गरेको गुनासो आइरहेका बेला सरकारले हालै नयाँ तीनवटालाई अनुमति दिएपछि संख्या आठ पुगेको छ । सयौं गुणा बढी ठूलो अर्थतन्त्र भएका चीन र भारतलाई पनि नेपालका कमोडिटिज बजार सञ्चालकले पछि पारेका छन् । चीनमा चारवटा ठूला एक्सचेन्ज छन् ।  भारतमा पाँच राष्ट्रियस्तरका एक्सचेन्ज छन् । दुवै मुलुकको कुल गार्हस्थ्य उत्पादन क्रमशः ७० खर्ब ३१ अर्ब र १० खर्ब ८४ अर्ब अमेरिकी डलर छ । विश्व बैंकको तथ्यांकअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन २०११ मा १८ अर्ब ८८ करोड डलर मात्र छ ।
छुट्टै कानुन नभएकाले कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरी कमोडिटिज बजार खुल्ने गरेका छन् । 'सरकारले समयमै ध्यान दिन नसक्दा वित्तीय क्षेत्रमा ठूलो दुर्घटना आउन सक्ने देखिन्छ,' अर्थविद् चिरञ्जीवी नेपालले भने । कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरेकै भरमा सर्वसाधारणको करोडौं रकम उठाउन पाउने भएपछि एउटा कोठाबाट कमोडिटिज बजार चलाउनेको संख्या बढ्न थालेको हो । स्वतन्त्र रूपमा सञ्चालित एक्सचेन्जले कारोबारको विवरण उपलब्ध नगराए पनि दैनिक २ करोड रुपैयाँभन्दा बढी रकम यो बजारमा दाउ लगाइन्छ । कम्पनी रजिस्ट्रारको कार्यालयमा ५० भन्दा बढी कमोडिटिज कारोबारका लागि कम्पनी दर्ता गरिएको छ । जसमा अधिकांशले एक्सचेन्जका रूपमा सञ्चालन हुन अनुमति लिने छन् । 'सरकारले ढिलो गर्दै जाने हो भने यी ४० वटै कम्पनी सञ्चालनमा आउँछन्,' अर्का एक कमोडिटिज एक्सचेन्जका सञ्चालकले भने, 'अचेल फेसबुकबाटै एक्सचेन्ज खुलेको जानकारी दिन थालिएको छ ।' रामेश्वर खनाल अर्थसचिव हुँदादेखि कमोडिटिज बजार नियमनको चर्चा चले पनि लागू भएको छैन ।
'त्यसपछि दुईजना अर्थसचिव भइसके,' एक कमोडिटिज एक्सचेन्जका सञ्चालक भन्छन्, 'तर नियमनको कुरा गर्नेबाहेक कसैले केही गरेका छैनन् ।' अर्थविद् नेपाल सरकारले नियमन नगरेर मिलेमतोमा गैरकानुनी काम भइरहेको बताउँछन् । 'प्रधानमन्त्रीसम्मलाई जानकारी गराउँदासमेत केही भएको देखिँदैन,' उनले भने, 'फटाइ गर्न सरकारले सहयोग गरेजस्तो देखिन्छ ।' सेयर बजारभन्दा कैयौं गुणा बढी प्राविधिक र जटिल भएकाले कमोडिटिज बजारलाई समयमै ध्यान नदिँदा दुर्घटना हुन सक्ने उनले बताए । 'विश्वमा आर्थिक मन्दीको कारक यसलाई मानिन्छ,' उनले भने । अर्थमन्त्री वर्षमान पुन संयोजक रहने उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिले तुरुन्तै कमोडिटिज नियमन थाल्ने बताएको दुई महिनाभन्दा बढी भइसकेको छ । असोजको पहिलो साता कमोडिटिज बजारसम्बन्धी नियमावली धितोपत्र बोर्डबाट अर्थ मन्त्रालय पुगेको थियो । त्यसको केही सातामा आवश्यक सुधार गरेर अर्थले कानुन मन्त्रालयको जिम्मा लगाएको थियो । दसंैअघिबाटै नियमन गर्ने भने पनि नियमावली र प्रक्रियाबारे सरकारको स्पस्ट धारणा आएको छैन । 'मस्यौदा कानुन मन्त्रालय पठाएका छौं,' अर्थ मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले भने, 'छिट्टै स्वीकृत भएर आउला ।' कानुन मन्त्रालय पुगेर थन्केको लामो समय भए पनि सरोकारवाला निकायले कारण दिएका छैनन् । कमोडिटिज बजारबारे धितोपत्र बोर्डले गर्न लगाएको एक अध्ययनमा लगानी गरेका अधिकांश व्यक्तिले रकम गुमाइरहेको र पुँजी पलायन हुन सक्ने आशंका गरिएको थियो । मुलुकमा विदेशी मुद्रा र डेरिभेटिभ उपकरणको कारोबार राष्ट्र बैंकको अनुमति प्राप्त संस्थाबाट मात्र गर्न पाइन्छ । तर निजी कम्पनीका रूपमा समेत सञ्चालित कमोडिटिज एक्सचेन्जले यस्तो कारोबार वषौर्ंदेखि गरिरहेका छन् । सरकारले अध्यादेशबाट नमिले धितोपत्र ऐनमा संशोधन गरेर वा प्रशासकीय कार्यविधि नियमित गर्ने ऐनबाट नियमन गर्न बाटो रहेको मर्केन्टायल एक्सचेन्ज नेपाल -मेक्स) का प्रबन्ध निर्देशक दीपेन्द्र खतिवडा बताउँछन् । 'बजारलाई राखिराख्न कतै न कतैबाट सुरुवात गर्नुपर्ने आवश्यकता देखिएको छ,' उनले भने । धितोपत्र बोर्डले गराएको अध्ययनमा कमोडिटिज एक्सचेन्जले ग्राहकलाई उपलब्ध गराउने तथ्यांकमा एकरूपता नरहेको देखाउँछ । सञ्चालनमा रहेका सबै एक्सचेन्जले आ-आफ्नै सफ्टवेयर र तथ्यांकअनुसार ग्राहकलाई कारोबार गराइरहेका छन् । जसका कारण सफ्टवेयरमा गडबढी गरेर एक्सचेन्जले ग्राहकको पैसा थुतेको आरोप लगानीकर्ता लगाउँछन् । अधिकांश एक्सचेन्जले आफ्नै स्वामित्व रहेको र नजिकका व्यक्ति राखेर क्लियरिङ मेम्बर (राफसाफ सदस्य) बनाएका छन् । यसले लगानीकर्ताको रकम जोखिममा पर्छ । करोडौं रकमको कारोबार गर्ने भए पनि यस्ता सदस्यको पुँजी २५ लाख रुपैयाँभन्दा बढी छैन ।

Tuesday, December 18, 2012

एचएन्डबीका ८ कर्मचारी निलम्बित


काठमाडौं, पुस ३ - एचएन्डबी डेभलपमेन्ट बैंकले आफ्ना ८ कर्मचारीलाई निलम्बन गरेको छ । गुड फर पेमेन्टे चेक काण्ड भएपछि कुलेश्वर शाखाका कर्मचारीसहित बैंकको प्रमुख सञ्चालन अधिकृत र वित्त (फाइनान्स) विभाग प्रमुख निलम्बनमा परेका हुन् ।
खातामा पैसा भएका व्यक्तिको नाममा जारी गरिने गुड फर पेमेन्ट चेकको अवैध कारोबार गरेर कुलेश्वर शाखा प्रमुख निरज नेपालले करोडौं रकम ठगी गरेको आरोप लागेको छ । जसमा बैंकका केही ग्राहकको पनि संलग्नता रहेको पुष्टि भएको छ । घटनाको अनुसन्धान बैंक आफैंले गरिरहेको छ । 'घटनामा बैंकको व्यवस्थापनमा रहेका अन्य वा सञ्चालकको कुनै संलग्नता देखिएको छैन,' राष्ट्र बैंक उच्च स्रोतले भन्यो, 'त्यो नदेखिएकाले भएको गल्ती सुधार गर्न सहयोग गरिरहेका हौं ।'
बैंकले गुड फर पेमेन्ट चेकबाट भएको अनियमिततामा कर्मचारीको थप संलग्नता हुन सक्ने अनुमान गर्दै निलम्बन गरिएको हो । 'अनुसन्धान चलिरहेकाले कर्मचारीलाई निलम्बनमा राखिएको हो,' बैंककी प्रमुख कार्यकारी अधिकृत जसोदा सैंजुले भनिन्, 'सञ्चालनमा त्रुटि देखिएकाले यस्तो गरेका हौं ।' राष्ट्र बैंकको अनुसन्धानबाट कुलेश्वर शाखाका प्रमुख नेपालले चेक जारी गरेर दुई व्यवसायी मनोज चौरसिया र जयकुमार यादवलाई बुझाएको देखिन्छ । दुवै व्यवसायीको खातामा रकम नभए पनि चेक जारी गरिएको थियो । काण्डका कारण बैंकले १७ करोडको हाराहारीमा नगद अभाव झेल्ने देखिएको छ । यसका साथै ५० करोड रुपैयाँको हाराहारीमा गुड फर पेमेन्टे चेकको दाबी बैंकलाई आएको छ । सैंजुले बैंकको अवस्था डराउनुपर्ने नरहेको र पर्याप्त तरलता रहेको बताइन् । बैंकको पुँजी र आयबाट घाटा सजिलै बेहोर्न सकिने उनले बताइन् । बैंकमा ७ अर्ब ५० करोड रुपैयाँको हाराहारीमा निक्षेप र ६ अर्बको कर्जा छ । पछिल्ला दिनमा बैंकमा रकम झिक्ने मात्र नभएर राख्नेको संख्या पनि बढ्न थालेको स्रोत बताउँछ । एचएन्डबीसँगै प्रहरीले पनि घटनाको अनुसन्धान गरिरहेको छ । गुड फर पेमेन्ट चेकबाट ऋण दिने संस्थाको संख्या अनुसन्धानबाट बढ्न सक्ने राष्ट्र बैंक स्रोत बताउँछ ।

गुड फर पेमेन्ट चेकबाट करोडौं ऋण निकाल्ने गिरोह सक्रिय


काठमाडौं, पुस १ - एचएन्डबी डेभलपमेन्ट बैंकबाट गुड फर पेमेन्ट चेक लिँदै ऋण लिने गिरोह र दिने संस्थाका एक दर्जन व्यक्तिको खाता राष्ट्र बैंकले रोक्का गरेको छ । वित्तीय अपराधीले यस्तो चेकलाई आधार बनाएर रकम उठाउन थालेको घटना एचएन्डबीका एक कर्मचारीबाट भएको गैरकानुनी काम सार्वजनिक भएपछि बाहिर आएको हो । एचएन्डबीबाट सुरु भएको यो घटनाले अन्य थुप्रै संस्थालाई पनि तान्ने देखिएको छ ।
'यो गिरोह सक्रिय देखियो, यस्तो प्रवृत्ति अन्यमा छैन भन्न सक्ने अवस्था रहेन,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने, 'रोक्न कडा कानुनी र नीतिगत नियन्त्रण आवश्यक छ ।' अनुसन्धानपछि खुलेका तथ्यसँगै राष्ट्र बैंक संवेदनशील बनेको उनले बताए । गुड फर पेमेन्ट चेकलाई आधार बनाएर गरिएको ठगी पहिलोपटक सार्वजनिक भएको हो । यही घटनाका कारण एचएन्डबीलाई कुनै समस्या नपर्ने पनि ज्ञवालीले बताए । 'तरलता पर्याप्त छ र वित्तीय अवस्था राम्रो भएकाले निक्षेपकर्ता डराउनु पर्दैन,' उनले भने ।  
एचएन्डबीबाट करिब ५० करोड रुपैयाँ हाराहारीको गुड फर पेमेन्ट चेक जारी भएको र १२ करोडको हाराहारीमा नगद गायब रहेको अनुसन्धानमा देखिएको छ । चेक अर्को संस्थाबाट ऋण लिन प्रयोग गरिएको र नगद एचएन्डबीका कुलेश्वर शाखा प्रमुख नीरज नेपालले व्यक्तिगत रूपमा चलाएको देखिन्छ । तत्काल यो घटनाले एचएन्डबीलाई समस्या नभए पनि कानुनी दायरामा आउन सक्ने राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।
यसरी गायब नगदको दायित्व बैंकमा आए पनि चेकबाट लिएको ऋण भने सम्बन्धित संस्थाले नै बेहोर्नुपर्ने भएको छ । 'चेक भनेको नगदमा रूपान्तरित गर्नमात्र जारी गर्ने हो,' ज्ञवालीले भने, 'यसबाट ऋण दिनु राष्ट्र बैंकको निर्देशनविपरीत हुन आउँछ ।' अनुसन्धान सुरु भएपछि खातामा पैसा नभए पनि चेक जारी गर्ने र त्यसलाई धितो राखेर ऋण दिने संस्थाको संख्या बढ्न थालेको छ । चेक जारी गर्ने संस्थासँगै ऋण दिने अन्य वित्तीय संस्था पनि यो काण्डमा फस्ने देखिएको छ ।
खातामा पैसा भएका व्यक्तिलाई वित्तीय संस्थाले गुड फर पेमेन्ट चेक जारी गर्न सक्छ । यस्तो चेक अर्को संस्थाबाट नगद झिक्नमात्र प्रयोग गर्न सकिन्छ । नगद दिने संस्थाले चेक जारी गर्ने संस्थाबाट उक्त रकम फिर्ता लिँदैनन् । दुई संस्थाबीच ग्राहकलाई सेवाको सुविधा दिन यस्तो चेक प्रचलनमा ल्याइएको हो । जसलाई धितो राखेर ऋण दिन पाइँदैन ।
घटनामा मुछिने संस्थाको संख्या र व्यक्ति बढ्न थालेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पनि छानबिनमा सहयोग गर्न थालेको छ । 'हामी पनि यो मुद्दामा सहयोग गरिरहेका छौं,' ब्युरोका निमित्त प्रमुख उत्तम कार्कीले भने । यो घटनाअघि अर्को एक गुड फर पेमेन्टसम्बन्धी उजुरी ब्युरोलाई आएको पनि उनले बताए ।  
एचएन्डबी बैंकको कुलेश्वर शाखा प्रमुख नेपालले खातामा रकम नभए पनि यस्तो चेक जारी गर्दै केही ग्राहकलाई उपलब्ध गराएपछि राष्ट्र बैंकले अध्ययन थालेको छ । यस्तो चेकलाई धितो मानेर विभिन्न वित्तीय संस्था र सहकारीले ऋण दिएका थिए । यस्तो रकम ऋण लिन मात्रै नभएर नक्कली बैंक ब्यालेन्स देखाउन पनि प्रयोग गरिएको अनुसन्धानमा देखिएको छ । 'यस्तो चेक लिएर गैरकानुनी काम गर्ने ठूलै गिरोहको पर्दाफास हुन थालेको छ,' एचएन्डबी बैंकका एक सञ्चालकले भने, 'केही दिनभित्रै नयाँ अनुहार सार्वजनिक हुन सक्छन् ।'
राष्ट्र बैंक स्रोतका अनुसार एचएन्डबी बैंकमा गैरकानुनी काम गर्न उक्साउने गिरोहले ८ महिनाअघि एक वाणिज्य बैंकमा पनि काण्ड गरेका रहेछन् । 'एक ठूलै वाणिज्य बैंकमा सोही गिरोहले एकै प्रकृतिको घटना गराएको अनुसन्धानमा देखिएको छ,' राष्ट्र बैंक स्रोत भन्छ, 'यस्तो कामका लागि ठूलै गिरोह सक्रिय छ ।'
के देखियो अनुसन्धानमा ?
एचएन्डबी डेभलपमेन्ट बैंकका शाखा प्रमुखलाई प्रलोभनमा पारेर चेक लिँदै अन्य समूहबाट केही व्यापारीले ऋण दिएको अनुसन्धानमा देखिएको छ । खातामा पैसा नभए पनि चेक जारी गराएर वैभव फाइनान्सबाट ठूलो रकम ऋण लिएको केन्द्रीय बैंक स्रोत बताउँछ । 'चेक देखाएर वैभव फाइनान्सबाट ६ करोड रुपैयाँको हाराहारीमा ऋण लिएको देखिन्छ,' स्रोतले भन्यो, 'फाइनान्सले गैरकानुनी काममात्र होइन, आफ्नो क्षमताभन्दा बढी ऋण पनि दिएको छ ।' केन्द्रीय बैंकले फाइनान्सका व्यक्तिको पनि खाता रोक्का राखेको छ । 'धेरै ऋण सहकारीबाट लिएकाले यकिन तथ्यांक आइसकेको छैन,' स्रोतले भन्यो, 'यसमा ऋण दिने संस्था फस्ने देखिन्छ ।' चेकलाई आधार मानेर ऋण दिनु गैरकानुनी काम भएकाले एचएन्डबीलाई वित्तीय भार नपर्ने भएको छ । 'त्यस्तो चेक राखेर ऋण दिन नमिल्ने भएकाले सम्बन्धित संस्थालाई नै कारबाही हुन्छ,' राष्ट्र बैंक स्रोत बताउँछ । राष्ट्र बैंकका अनुसार घटनामा ठूलो रकम अनियमितता भएको देखिए पनि त्यसले एचएन्डबीलाई असर गर्दैन । 'एचएन्डबीमा रकम राखेकाले डराउनुपर्ने अवस्था छैन,' ज्ञवालीले भने । एचएन्डबी बैंकका सञ्चालक पनि पर्याप्त तरलता रहेकाले समस्या नरहेको र घटनाबाट निक्षेपकर्तालाई कुनै समस्या नहुने बताउँछन् ।

एचएन्डबीका शाखा प्रमुखद्वारा ७० करोड हिनामिना


काठमाडौं, मंसिर २९ - एचएन्डबी डेभलपमेन्ट बैंकको कुलेश्वर शाखा प्रमुख निरज नेपालले दुई ग्राहकसँग मिलेर करोडौं रुपैयाँ हिनामिना गरेको खुलेको छ । करिब ७० करोड रुपैयाँ हिनामिना भएको अनुमान गरिएको यो घटनाको थप अनुसन्धान गर्न बैंकले नेपाललाई प्रहरीको जिम्मा लगाएको छ । यो काण्डलाई राष्ट्र बैंकले पनि विशेष निगरानी गरेको जनाएको छ । 'एचएन्डबीका एक कर्मचारीले केही व्यापारीसँग मिलेर गैरकानुनी काम गरेको देखियो,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने, 'त्यसको बैंक र प्रहरीबाट अनुसन्धान भइरहेको छ ।' अनुसन्धानपछि हिनामिना रकमबारे यकिन हुने उनले बताए । उनले राष्ट्र बैंकले पनि विशेष निगरानी बढाएको जानकारी दिए । ज्ञवालीका अनुसार गलत तरिकाबाट गुड फर पेमेन्ट चेक जारी गरी हिनामिना गरिएको प्रारम्भिक चरणमा बुझिएको छ । उनले बैंकले ती प्रमुखमाथि कारबाही अघि बढाएको र उक्त वित्तीय स्वास्थ्यमा कुनै समस्या नरहेको जानकारी दिए । 'यही कारोबारका कारण निक्षेपकर्ता डराउनुपर्ने अवस्था छैन,' ज्ञवालीले भने । स्रोतका अनुसार दुई ग्राहक मिलेर घोटाला गरेको देखिएको छ । विभिन्न व्यक्तिबाट आएको उजुरीका आधारमा ७० करोड रुपैयाँको हाराहारीमा घोटाला भएको अनुमान गरिएको हो । '३५ करोड जति रकम सीधै प्रयोग गरिएको र बाँकी गुड फर पेमेन्ट चेकबाट हिनामिना गरिएको खुलेको छ,' स्रोतले भन्यो । प्रहरीले भने २ करोड २२ लाख रुपैयाँको मात्र जाहेरी प्राप्त भएको जनाएको छ । बैंक खातामा नक्कली मौज्दात देखाउन सक्रिय समूहसँग बैंकको कर्मचारी मिलेर घोटाला भएको अनुमान केन्द्रीय बैंकका एक अधिकारीको छ ।
बैंककी प्रमुख कार्यकारी अधिकृत जसोदा सैंजुले घोटालाबारे अनुसन्धान भइरहेको बताइन् । 'बैंकमा रहेको खाताबाट पैसा गएको हालसम्म देखिएको छैन,' उनले भनिन्, 'गुड फर पेमेन्ट चेक कति जारी भयो भन्ने अनुसन्धान भइरहेको छ ।' रकमबारे अनुसन्धानपछि मात्र भन्न सकिने उनले बताइन् । 'एचएन्डबीको घटनाले अन्य बैंक तथा वित्तीय संस्थासम्म तानिन सक्ने देखिएको छ,' स्रोतले भन्यो । हालसम्म शाखा प्रमुखको मात्र संलग्नता देखिए पनि अनुसन्धानले अन्यलाई तान्न सक्ने अनुमान केन्द्रीय बैंकको छ । 'एउटा शाखाको प्रमुखले मात्र यस्तो गरे होलान् भन्न सकिँदैन,' स्रोतले भन्यो, 'यसमा सञ्चालक र व्यवस्थापनमा रहेका केही उच्च पदाधिकारीको पनि संलग्नता हुन सक्छ ।' हिमचुली विकास बैंक र वीरगन्ज फाइनान्स गाभिएपछि एचएन्डबी बैंक बनेको हो । दुई संस्थामा फरक प्रवृत्ति रहेका सञ्चालक भएकालेे प्रतिस्पर्धाका कारण पनि हिनामिना हुन सक्ने अनुमान केन्द्रीय बैंक स्रोतको छ । कमलादी मुख्य कार्यालय रहेको बैंकको काठमाडौंभित्रैको अर्को शाखामा करोडौं रकम घोटाला हुँदा पनि लामो समय व्यवस्थापनलाई जानकारी नभएको घटनाले पुष्टि गरेको छ । घटनाले बैंक व्यवस्थापनले सञ्चालन जोखिममा ध्यान नदिएको देखिन्छ । 

Thursday, December 13, 2012

ठूला सहकारीको अध्ययन हुने

काठमाडौ, मंसिर २८ - समस्या देखिएका ठूला सहकारीको अध्ययन गरेर कारबाही अघि बढाइने भएको छ । सहकारी विभागका रजिस्ट्रार सामेल एक समितिबाट ओरियन्टल, गुण, परिदृश्य, एक्जिमलगायत सर्वसाधारणलाई रकम फिर्ता गर्न नसकेका सहकारीको अध्ययन हुने भएको हो ।
यी सहकारीको सम्पत्तिी र दायित्व अध्ययन गरेर आवश्यक कारबाही अघि बढाउने तयारी भइरहेको छ । सहकारी विभाग, राष्ट्रिय सहकारी संघ, बचत तथा ऋण सहकारी संघ, सूचना सञ्चार सहकारीका प्रतिनिधि सामेल समितिले पहिलो चरणमा समस्या देखिएका संस्थाको अध्ययन गर्ने भएको हो । 'समितिले सहकारीमा देखिएका समस्याको तथ्या पत्ता लगाउने छ,' सहकारी विभागका रजिस्ट्रार केदार न्यौपानेले भने, 'तीन-चार वटा विषयमा यो समितिले काम अघि बढाउने छ ।'
संवेदनशील क्षेत्र भएकाले तथ्य पत्ता लगाएर आवश्यक कारबाही अघि बढाउन अध्ययन हुन लागेको उनले बताए । सहकारी विभाग स्रोतका अनुसार समस्या सुल्झाउन सके सुझाव दिने र नसकिने भए कारबाहीका लागि सम्बन्धित निकायमा खबर गर्ने तयारी भएको हो । 'सुधार हुन सक्ने अवस्थाका सहकारीलाई समय दिएर निर्देशन दिने नहुनेलाई ठगीको मुद्दा लगाउन सकिन्छ,' विभाग स्रोतले भन्यो, 'अध्ययनका क्रममा जस्तो अवस्था आउँछ त्यहीअनुरूप कारबाही अघि बढाउँछौं ।' सहकारीले आवश्यक सुधार नगरे विभागबाट १५ सय जरिवाना वा दर्ता खारेजीको कारबाही हुन सक्छ । ठगी गरेको देखिए सहकारी विभाग वा डिभिजन कार्यालयले प्रहरीलाई खबर गरेर कारबाही गर्न सक्छ । ठूला सहकारीमा देखिएको समस्या घरजग्गा र बैंकसम्म जोडिएकाले अन्य निकायलाई पनि सामेल गरेर अघि बढ्ने तयारी विभागको छ ।
'घरजग्गा, बैंक र सहकारी एकअर्कामा जोडिएका छन्,' स्रोतले भन्यो, 'एउटामा परेको असर सबैमा पर्ने भएकाले विभिन्न निकायबीच सहकार्य आवश्यक छ ।' विभागले सहकारी मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्र बैंकको संलग्नतामा समस्या सुल्झाउन पहल गर्ने उनले बताए । गठन भएको उच्चस्तरीय सहकारी सुदृढीकरण राष्ट्रिय समितिका अध्यक्ष केशव बडालले समस्या देखिएका सहकारीलाई बोलाएर छलफल गर्ने र वास्तविकता बाहिर ल्याउने बताए । 'दुई वर्षअघि नै केही सहकारीलाई बोलाएर आधारभूत सिद्धान्त बाहिर नजानुस्, घरजग्गामा लगानी नगर्नुस् भनेका थियौं,' उनले भने, 'तीमध्ये केहीमा समस्या देखिएको छ ।'
केले ल्यायो समस्या ?
राष्ट्र बैंकले घरजग्गा क्षेत्रको लगानीमा सीमा लगाएपछि पैसा बटुल्न सहकारी खोल्ने र खुलेकाले पनि छिट्टै ठुलो रकम कमाउन रियलस्टेटमा लगानी गर्ने क्रम बढेपछि समस्या आएको विभागका एक अधिकारी बताउँछन् । 'सहकारी सदस्यको नियन्त्रणमा नहुने, साधारणसभाले निर्देशन दिन नसक्ने र लेखापरीक्षण समितिले पनि काम नगर्नाले समस्या बढेको हो,' विभागका एक अधिकारी भन्छन्, 'त्यसपछि विभागबाटै गरिएका अध्ययन पनि त्रुटिपूर्ण भए ।'
सहकारीमा पैसा जम्मा गर्न एजेन्ट लाग्ने र भूमिगत काम गर्ने प्रवृत्ति बढेपछि पछिल्लो अवस्था आएको उनी बताउँछन् । 'समयमै बार लगाउन सकेको भए समस्या हुने थिएन,' स्रोतले भन्यो, 'अहिले पनि ढिलो भइसकेको छैन ।' जोखिम बेहोर्न सक्ने क्षमता नहेरी लगानी गर्न थालेपछि समस्या आएको उनी बताउँछन् । 'सहकारीले रोजगारी सिर्जना गर्ने उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने थियो,' स्रोतले भन्यो, 'त्यसको उल्टो भएपछि अधिकांश ठप्प भएका हुन् ।'
सहकारी संस्था समस्यामा पर्न थालेको हल्लाका कारण पनि केहीलाई असहज अवस्था आएको उनले बताए । 'सर्वसाधारण लाइन लागेपछि दिने रकम नभएर पनि केही समस्यामा परेका छन्,' उनले भने ।