Monday, December 3, 2012

बैंकको सवा अर्ब जोखिममा

काठमाडौ, मंसिर १७ - एउटैले करिब १ अर्ब ३० करोड रुपैयाँ जोखिममा पारेपछि नेपाली बैंक चिनियाँ ठेकेदारसँग तर्सिएका छन् । मेलम्ची खानेपानी आयोजनाको काम लिएर पूरा नगरी निकालिएको चिनियाँ ठेकेदार चाइना रेल्वे कम्पनी १५ ब्युरो ग्रुप कर्पोरेसन तथा चाइना सीएमआईआईसी इन्जिनियरिङ कर्पोरेसन संयुक्त उपक्रम र उसको ग्यारेन्टी बस्ने चाइना कन्सट्रक्सन बैंकबाट रकम नआएपछि बैंकरले उक्त बैंकसँग कारोबार नगर्ने र अन्यसँग पनि सतर्क रहने निष्कर्ष निकालेका छन् ।
नेपाल बैंकर्स संघले शुक्रबार बैठक बसेर चिनियाँ ठेकेदार कम्पनीसँग सावधानी अपनाउन सदस्यलाई निर्देशन दिएको छ । मेलम्ची खानेपानी आयोजनाको ग्यारेन्टी बराबरको रकम चाइना कन्स्ट्रक्सन बैंकले भुक्तानी दिन आनाकानी गरेपछि उक्त बैंकसँग कारोबार नै नगर्ने निर्णयमा अधिकांश वाणिज्य बैंकले सहमति जनाएका छन् । 'चिनियाँ कन्स्ट्रक्सन बैंकसँग आगामी दिनमा कारोबार हुँदैन,' बैकर्स संघका अध्यक्ष र हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले कान्तिपुरसित भने, 'अरूमा पनि जोखिम देखिनसक्ने भएकाले सचेत हुनुपर्ने देखिन्छ ।'
ग्यारेन्टी बसेको अर्को वित्तीय संस्था बैंक अफ काठमाडौंका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले एउटा ठेकेदारको प्रवृत्ति अरूमा देखिए समस्या बढ्ने बताए । 'विदेशी ठेकेदारले बनाउने सबै आयोजनामा यहाँका बैंक नै काउन्टर ग्यारेन्टी बसेका हुन्छन्,' उनले भने, 'यस्तो प्रवृत्ति अरूमा देखिए समस्या बढ्छ भनेर छलफल भएको हो ।' उनले राष्ट्र बैंक र सरकारमार्फत ग्यारेन्टीको रकम ल्याउन पहल थालिएको बताए । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनीका तर्फबाट चाइना कन्स्ट्रक्सन कम्पनी ग्यारेन्टी बसेको थियो । उक्त आयोजनाको काउन्टर ग्यारेन्टीमा हिमालयन बैंक र बैंक अफ काठमाडौंले काम गरेका थिए । ठेकेदारले काम गर्न नसकेपछि केही महिनाअघि सरकारले ठेक्का तोडेको थियो ।
आयोजनाबाट हटाइएपछि ग्यारेन्टीका रूपमा राखिएको रकम चिनियाँ बैंकले बुझाउनुपर्ने थियो । तर उक्त रकम चिनियाँ कम्पनीले नबुझाएपछि नेपालमा काउन्टर ग्यारेन्टी बसेका हिमालयन र बैंक अफ काठमाडौंलाई समस्या परेको हो । 'त्यो रकम चिनियाँ बैंकले नेपाली बैंकलाई दिनुपर्ने थियो,' संघका एक अर्का अधिकारीले भने, 'रकम दिनुको साटो अदालतमा मद्दा परेर नआएपछि समस्या भएको हो ।' उनका अनुसार चिनियाँ ठेकेदारले काम गर्ने वातावरण नभएकाले पैसा नतिर्ने बताएर अदालतबाट निशेषधाज्ञा लिएको छ । सम्झौताअनुसार रकम तिर्नुपर्ने भए पनि काम गर्न नपाएको भनिएपछि अदालतले चिनियाँ र नेपाली बैंकलाई रकम नतिर्न निर्देशन दिएको उनी बताउँछन् । 'आफैं काम नगर्ने र काम गर्न दिएनन् भनेर रकम नतिरी पन्छिएको देखिन्छ,' संघका अधिकारी भन्छन् ।
संघले लिखित निर्णय नगरे पनि आगामी दिनमा चिनियाँ कम्पनीसँग काम गर्दा 'विषेश सावधानी' अपानाउने अनौपचारिक निर्णय गरेका छन् । यस्तो सावधानी राम्रा कम्पनी छान्नेदेखि काम नै नगर्नेसम्मको हुनसक्ने संघका एक पदाधिकारीले बताए । 'अन्तर्राष्ट्रिय प्रावधानअनुसार काम नगर्ने र आफ्नो भन्दै छुट दिने प्रवृत्ति चिनियाँ पक्षबाट देखियो,' बैकर्स संघका एक अर्का अधिकारीले भने, 'यस्तो अवस्थाले सबै बैंकलाई चिनियाँ कम्पनीसँग काम गर्दा धेरैपटक सोच्नुपर्ने अवस्था आएको छ ।'
यता मेलम्ची आयोजनाले भने रकम माग गरिसकेको छ । काउन्टर ग्यारेन्टीका रूपमा बसेका बैंकले काम नभएपछि जुनसुकै हालतमा उक्त रकम बुझाउनुपर्ने आयोजनाका कार्यकारी निर्देशक कृष्ण आचार्यले बताए । 'हिमालयन बैंकले ६६ लाख २५ हजार डलर र बैंक अफ काठमाडौंले त्योसहित १४ लाख युरो -करिब १ अर्ब ३० करोड रुपैयाँ) बुझाउनुपर्ने भएको छ,' उनले भने, 'असुलउपर गराउनका लागि राष्ट्र बैंकलाई चिठी पठाएका छौं ।' पछिल्लो समय चिनियाँ ठेकेदारले लिएका ठूला ४ आयोजनामा भेरिएसन बढ्ने र समयमा काम नहुने समस्या देखिएका छन् । जसमा मेलम्चीसहित, चमेलिया, कुलेखानी तेस्रो र माथिल्लो त्रिशूली ३ ए आयोजना छन् ।
रकम तिर्ला चिनियाँ बैंकले ?
मेलम्ची आयोजनाको ठेक्कामा बैंकहरूले काउन्टर ग्यारेन्टी बस्दा 'युनिर्फम रुल फर डिमान्ड ग्यारेन्टी' अन्तर्गत काम गरेका छन् । इन्टरनेसनल चेम्बर अफ कमर्सले बनाएको यो नियमअनुसार चिनियाँ बैंकले काररअनुसार रकम भुक्तानी गर्नुपर्छ । चिनियाँ बैंकमा मुद्दा परेकाले नेपाली बैंकले पनि त्यहींबाट रकम तिराउने फैसला गराउनुपर्छ । ठेकेदारले काम गर्न नसकेको प्रमाणित हुनेबित्तिकै चिनियाँ बैंकले रकम तिर्नुपर्ने अवस्था आउने देखिन्छ ।

Thursday, November 29, 2012

एनबी समूहको पकड सकिँदै

काठमाडौं, मंसिर १४ - श्रीलंका मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको अनियमिततासँगै एनबी समूहको सबै व्यवसायमा पकड सकिएको छ । बैंक वित्तीय संस्थासँगै समूहले उद्योग र पर्यटनमा लगानी गरेको थियो । जसमा इन्टरनेसनल रिक्रिएसन सेन्टर लिलामीको प्रक्रियामा गएको छ भने हरिसिद्धि इँटा तथा टायल कारखाना पनि सञ्चालनमा छैन । यो समूहले वित्तीय क्षेत्रमा नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, श्रीलंका मर्चेन्ट बैंक, नेपाल बंगलादेश फाइनान्स एन्ड लिजिङ कम्पनी र एनबी इन्स्योरेन्समा लगानी गरेको थियो । जसमध्ये पहिला मर्चेन्ट बैंक र लिजिङ कम्पनी गाभिएका थिए । उक्त गाभिएको संस्था पछिल्लो समय एनबी बैंकमा जोडिएको छ । समूहको बंगलादेश बैंक र एनसीसी बैंकमा १४ दशमलव ५ प्रतिशतको हाराहारी मात्रै सेयर छ ।
बंगलादेश बैंकको साझेदार आईएफआईसी बैंकले एनबी समूहको सेयर खरिद गर्न अन्तिम चरणमा पुगेको छ । 'आईएफआईसीले बंगलादेशकै कम्पनीबाट विस्तृत वित्तीय अध्ययन -डीडीए) गराउन लागेको छ,' बंगलादेश बैंक स्रोतले भन्यो, 'त्यो सकिएपछि सेयर खरिद गर्ने प्रक्रिया अघि बढ्छ ।' प्रक्रिया पूरा भए पहिलो पटक 'बैंक रन' झेलेको बंगलादेश बैंकबाट एनबी समूहको स्वामित्व सकिने छ । 'पछिल्लो समय राष्ट्र बैंकले सम्बन्धित संस्थाका व्यवस्थापकलाई आवश्यक कारबाही अघि बढाउन दैनिक निर्देशन दिइरहेको छ,' राष्ट्र बैंक स्रोतले भन्यो, 'आगामी दिनमा एनबी समूह यी कम्पनीबाट बिस्तारै बाहिरिने देखिन्छ ।'
समूहले प्रवर्द्धन गरेको इन्टरनेसनल रिक्रिएसन सेन्टरलाई केही समयअघि नबिल बैंकले लिलामीको प्रक्रियामा लगेको थियो । सेन्टर धितो राखेर लिएको ऋण लक्ष्मीबहादुर श्रेष्ठले नतिरेपछि नाम कालोसूचीमा समावेश भएको थियो । कालोसूचीमा नाम परेपछि कम्तीमा ३ वर्ष सूचीकृत कम्पनीको सञ्चालक समितिमा बस्न पाइँदैन । नबिल बैंक स्रोतका अनुसार श्रेष्ठले २० करोड रुपैयाँभन्दा बढी ऋण लिएका थिए । 'यो करिब ४ वर्ष पुरानो ऋण हो,' बैंक स्रोतले भन्यो, 'तिर्न नसकेपछि लिलामीमा लगेका हौं ।' एक पटक सूचना प्रकाशित गर्दा लिलामी नभएपछि बैंकले पुनः गर्ने तयारी थालेको छ । 'जग्गामा लगाएको रकम उठ्न नसकेर ऋण तिर्न नसकेको देखिन्छ,' स्रोतले भन्यो । श्रेष्ठले आफ्नै बैंकको सेयर र सेन्टर धितोमा राखेर आएको पैसा जग्गामा लगाएको अनुमान केन्द्रीय बैंकको छ । तर उनले जग्गामा कहाँ र कति लगानी गरेका छन् भन्ने खुल्न सकेको छैन ।  
एनबी समूहकै लगानी रहेको नेसनल हाइड्रोको सञ्चालक समितिबाट पनि लक्ष्मीबहादुर र उनको परिवार बाहिरिएको छ । कालोसूचीमा परेपछि श्रेष्ठ स्वतः सञ्चालक हुन अमान्य भएका हुन् । उनका भतिजा जेन श्रेष्ठले पनि दसैंअघि नै सञ्चालक समितिबाट राजीनामा दिएको धितोपत्र बोर्डका एक उच्च अधिकारीले बताए । 'दुई वर्षदेखि नेसनलको वाषिर्क साधारणसभा हुन सकेको छैन,' बोर्ड स्रोतले भन्यो, 'यसलाई छिट्टै गराउन तयारी गरिरहेका छौं ।'
सञ्चालकबाट हटेपछि एनबी समूहले वाषिर्क साधारणसभा रोक्न र सञ्चालक समिति वैधानिक नभएको भन्दै अदालतमा मुद्दा हालेको थियो । अदालतले भने कालोसूचीमा नपरेका र स्वतन्त्र सञ्चालकबाहेकका व्यक्तिबाट साधारणसभा गर्न आदेश दिएको अधिवक्ता रुद्र पोखरेल बताउँछन् । 'आदेशको पूर्ण पाठ आएको छैन,' दुई सञ्चालकका तर्फबाट मुद्दा लडेका उनले भने, 'त्यो आएपछि बाँकी रहेका दुई सञ्चालकबाट वाषिर्क साधारणसभा गर्न सकिने देखिन्छ ।'
नेसनल हाइड्रो स्थापना भएदेखि अहिलेसम्म नाफा बाँड्न सकेको छैन । स्थापनाको समयमा ठूलो लगानी रहे पनि पछिल्लो समय एनबी समूहले २० देखि ३० प्रतिशतको हाराहारी मात्र सेयर राखेको बोर्ड स्रोत बताउँछ । 'लकिङ समयपछि समूहले आफ्नो अधिकांश सेयर बिक्री गरेको हो,' उनले भने । यसका सञ्चालक रहँदा एनबी समूहका व्यक्तिले संस्थाको नाममा ऋण लिएर व्यक्तिगत प्रयोजनमा चलाएको आरोप बोर्डमा गरिएको छ । बोर्डले पनि यससम्बन्धी अनुसन्धान गरेको छ । तर उक्त अनुसन्धानलाई सार्वजनिक गरिएको छैन ।  समूहकै लगानी रहेको एनबी इन्स्योरेन्समा पनि केही समयअघि नियामक बिमा समितिले कारबाही गरेको थियो । एनबी समूहका सञ्चालकले आफ्नै घरमा कार्यालय राखेर ३ वर्षको घरभाडा अगि्रम भुक्तानी गरेपछि कारबाही गरिएको थियो । एनबी समूहका कार्यकारी निर्देशक लक्ष्मीबहादुरसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेर प्रहरीले खोजिरहेको छ । तत्कालीन श्रीलंका मर्चेन्टबाट ऋण प्रवाह हुँदा अनियमितता गरेको आरोपमा बैंकिङ कसुर ऐनअन्तर्गत उनीहरूको खोजी भएको हो ।

१८ जनाविरुद्ध १ अर्ब ८० करोड बिगो दाबी

काठमाडौं, मंसिर १३ - एनबी समूहका प्रवर्द्धक सहित १८ जनाले तत्कालीन नेपाल श्रीलंका मर्चेन्ट बैंकिङमा गरेको अनियमितताको अभियोगमा १ अर्ब ८० करोड रुपैयाँ बिगो असुलउपर गर्न प्रहरीले मुद्दा दायर गरेको छ । २६ करोड ८५ लाख रुपैयाँको कर्जा प्रवाह गर्दा संलग्नता देखिएको प्रहरीले उक्त बिगो दाबी गरेको हो । एनबी समूहका प्रवर्द्धक लक्ष्मीबहादुर श्रेष्ठको परिवारका चार जनासहित थप चार जना नातेदारलगायत विरुद्ध उक्त बिगोको मुद्दा दायर गरिएको छ । श्रेष्ठका दाजु पूर्णबहादुर,  भाउजू गीता, भतिजा जेन र भान्जा नविन श्रेष्ठविरुद्ध अभियोग छ । मुद्दामा प्रतिवादी बनाइएका विजयकुमार श्रेष्ठ, शैलेन्द्र श्रेष्ठ र देवबहादुर श्रेष्ठ पनि उनको नजिकका नातेदार रहेको प्रहरीले बताएको छ ।
संस्थामा कार्यकारी अध्यक्ष रहेका रुवी जोशी, सञ्चालकहरू मुकुन्द कर्माचार्य, गौरीशंकर चौधरी, श्रीरामप्रसाद लामिछाने, एलिजा वैद्यसहित नायब महाप्रबन्धक खिमबहादुर डीसीको संलग्नतामा कर्जा प्रवाह भएको देखिएको छ ।
ऋण लिनेमा राइजिङ हाउजिङ एन्ड कमर्सियल कम्प्लेक्सका सञ्चालक देवबहादुर श्रेष्ठसहित नविन श्रेष्ठ, विजयकुमार श्रेष्ठ, शैलेन्द्रकुमार श्रेष्ठ, चण्डीराज ढकाल, प्रकाश घिमिरेसहित अल्का अस्पतालका तिलकबहादुर थापा र विद्या श्रेष्ठ थापा छन् ।
दायर गरेको मुद्दाअनुसार अल्का अस्पतालका सञ्चालकद्वय थापा र उनकी श्रीमतीले मात्र ऋण चुक्ता गरेका छन् । गाभिएपछि नेपाल बंगलादेश बैंकले थापा दम्पतीलाई साँवा ब्याजको किस्ता नियमित रूपमा तिर्न र धितो राख्न भनेपछि थापा दम्पतीले नेपाल बंगलादेश बैंकबाटै कर्जा लिएर उक्त ऋण तिरेका थिए । सुरुमा श्रीलंका मर्चेन्टबाट अल्का अस्पतालको संस्थागत जमानीमा ऋण दिइएको थियो । तर बंगलादेश बैंकले व्यक्तिगत जमानीमा ऋण दिएको अनुसन्धानमा देखिएको छ । २ करोड ७० लाख रुपैयाँ एनबी बैंकले बिनाधितो व्यक्तिगत जमानीमा दिएको प्रहरी अनुसन्धानमा खुलेको हो । 'ऋण दिन रोक लगाएको समयमा ठूलो कर्जा बाँडिएको छ,' राष्ट्र बैंक स्रोतले भन्यो, 'त्यसरी बाँडिएको ऋण पनि सञ्चालकले उपयोग गरेको देखिन्छ ।'
बाँडिएको रकम उठ्ने सम्भावना ज्यादै न्यून भएको स्रोत बताउँछ । 'ऋण जति उनीहरूले लिएर रित्तो कम्पनीलाई गाभेको देखिन्छ,' स्रोतले भन्योे, 'जुन अब उठ्न नसक्ने देखिएको छ ।' प्रहरी अनुसन्धानमा पनि कर्जा लक्ष्मी बहादुर श्रेष्ठ र उनको परिवारले उपभोग गरेको खुलेको छ ।
राष्ट्र बैंकको सूक्ष्म निगरानी
राष्ट्र बैंकका एक उच्च अधिकारीले पछिल्लो समय एनबी बैंकको सूक्ष्म निगरानी गरिरहेको दाबी गरेका छन् । 'देखिएका अनियमितता र त्यसले सबै सरोकारवालालाई असर गर्ने पक्का छ,' उनले भने, 'हामीले व्यवस्थापनलाई सूक्ष्म निगरानी गरेर थप नोक्सानी हुनबाट रोक्न खोजिरहेका छौं ।' अनियमितता भएको रकम उठ्न सजिलो नरहेको र त्यसले सबैलाई असर गर्ने उनले स्विकारे । श्रीलंका मर्चेन्टबाट थपिएर आएको ऋणबाहेक एनबी बैंकमा मात्रै लक्ष्मीबहादुर र उनको परिवारको सवा अर्ब हाराहारीमा कर्जा देखिएको उनले बताए । 'धेरै पहिलादेखिकै ऋण चुक्ता गर्न बाँकी थियो,' उनले भने, 'सञ्चालकले आफ्नो मात्रै नभएर अन्यको नामबाट पनि मिलाएर ऋण लिएका छन् ।' राष्ट्र बैंकले केही वर्षदेखि निगरानीमा राखिरहे पनि 'यताउताबाट' मिलाएर लक्ष्मीबहादुर ऋण लिन सफल भएको उनी बताउँछन् ।
श्रेष्ठलाई पनि जग्गाले डुबायो
हालसम्मकै ठूलो अनियमितताका रूपमा सार्वजनिक हुँदै गएको एनबी समूहको प्रकरणमा पनि घरजग्गाको असर देखिएको छ । आफ्ना कम्पनीको सेयर धितो राखेर आफ्नै बैंकबाट ऋण लिएका लक्ष्मीबहादुर श्रेष्ठ घरजग्गामा लगानी गरेपछि फस्दै गएको राष्ट्र बैंकका एक अधिकारी बताउँछन् । 'जग्गा बिक्री नहुने र भएका सेयरबाट पनि लाभांश आउन छाडेपछि श्रेष्ठको समस्या बढेको हो,' उनले भने, 'यो सँगै पुराना अनियमितता पनि बाहिर आउन थाले ।'

अन्ततः श्रीलंका मर्चेन्टले तान्यो एनबी समूहलाई

काठमाडौं, मंसिर १२ - पटकपटक आर्थिक अनियमितता बाहिर आए पनि जोगिँदै आएको एनबी समूह श्रीलंका मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको ऋण प्रकरणपछि कारबाहीमा तानिएको छ । नेपाल बंगलादेश बैंक (एनबी) सँग गाभिने (मर्जर) को निर्णय भई राष्ट्र बैंक कर्जा दिन रोक लगाइसकेपछि समूहका प्रवर्द्धकको परिवारसहित उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले बिनाधितो ठूलो परिमाणमा कर्जा लिएको फेला परेपछि १८ जनाविरुद्ध बैंकिङ कसुरको अभियोगमा मुद्दा दायर भएको छ ।
ऋणसम्बन्धी प्रकरण मुद्दामा एनबी समूहको प्रवर्द्धकसम्बद्ध लक्ष्मीबहादुर श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठ, जेन श्रेष्ठ, गीता श्रेष्ठ प्रतिवादी बनाइएका छन् । तत्कालीन नेपाल श्रीलंकाको सञ्चालक समितिका पाँच जनालाई प्रतिवादी बनाइए पनि अध्यक्ष रुवी जोशी, सञ्चालकद्वय श्रीराम लामिछाने र गौरीशंकर चौधरी मात्र पक्राउ परेका छन् । सञ्चालकद्वय मुकुन्द आचार्य र एलिजा वैद्य फरार छन् । तत्कालीन बैंकका महाप्रबन्धक खिमबहादुर बीसीलाई पनि अभियुक्त बनाइएको छ । समूहमा प्रवर्द्धक लक्ष्मीबहादुर पनि पछिल्लो समय फरार रहेको प्रहरीले जनाएको छ । श्रीलंका मर्चेन्ट एनबी समूहले प्रवर्द्धन गरेको फाइनान्स कम्पनी थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३५ करोड ३१ लाख रुपैयाँ नोक्सानी पुर्‍याएको भन्दै श्रीलंका मर्चेन्टका पूर्वअध्यक्ष जोशीका साथै सञ्चालकहरू लामिछाने र चौधरीलाई पक्राउ गरेको हो । यी व्यक्तिले फाइनान्स गाभिन अन्तिम स्वीकृति पाइसकेपछि एनबी समूहका सदस्य र ढकाललाई बिनाधितो कर्जा प्रवाह गरेको आरोप लगाइएको छ । एनबी समूहका सञ्चालकले सेयर धितो राखेर बिनाप्रयोजन ऋण लिएको पनि प्रहरीको अनुसन्धानमा खुलिसकेको छ । यसका साथै अन्य संस्थामा ऋण नतिरेर कालोसूचीमा परेका ढकाललाई समेत ऋण दिएको अनुसन्धानमा देखिएको छ । 'संस्था गाभिने अनुमति पाइसकेपछि निक्षेप रित्तिने गरी कर्जा बाँडेको देखिएको छ,' राष्ट्र बैंकका एक अधिकारीले भने, 'आफैं र चिनेकालाई मागेभन्दा बढी ऋण दिएको देखिन्छ ।' समूहकै प्रवर्द्धनमा रहेको एनबी बैंकबाट समेत लक्ष्मीबहादुर र उनको परिवारले देखिने गरी करिब ८० करोड रुपैयाँ ऋण लिएको बैंक स्रोतको दाबी छ । एनबी बैंक र श्रीलंका मर्चेन्ट गाभिन अघि श्रेष्ठले ठाडो आदेशमा आफ्नो परिवार र नजिकालाई ऋण बाँडेका थिए । जसमा कुनै पनि धितो प्रयोग भएको छैन । सञ्चालकले आफू प्रवर्द्धक रहेको वित्तीय संस्थाबाट ऋण लिन पाउँदैनन् । यता ढकालले भने श्रीलंका मर्चेन्टसँग २ करोड रुपैयाँ ऋण माग गरे पनि मागभन्दा ८ लाख रुपैयाँ बढी पाएका थिए । नातामा ढकालका भाञ्जा पर्ने प्रकाश घिमिरेको नाममा पनि त्यत्ति नै रकम झिकिएको दायर मुद्दामा उल्लेख छ । उनले पनि २ करोड रुपैयाँ माग गरेका थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो -सीआईबी) ले अनुसन्धान सुरु गरेपछि ढकालले दुई पृष्ठ लामो पत्र लेखेर आफूले ऋण माग गरे पनि नपाएको जिकिर गरेका थिए । 'तर अनुसन्धानका क्रममा उनले रकम लिएको स्थापित भयो,' सम्बद्ध स्रोतले भन्यो । ऋण नपाएको जिकिर लिएका ढकालले कर्जा स्वीकृत भएपछि सहीछाप गरी बैंकसँग सम्झौता गरी उनको बैंक खातामा पैसा जम्मा भएको फेला परेको थियो । यसरी जम्मा भएको रकम ढकालले पटकपटक गरी झिकेका थिए । अनुसन्धान सुरु गर्नासाथ ढकालको संलग्नता देखिए पनि प्रहरीले उनलाई पक्राउ पुर्जी जारी गरेको छैन । कसुरको मुख्य पात्र एनबी समूहका लक्ष्मीबहादुर भएकाले उनको मतियारलाई खोजी गर्न चासो नदेखाएको प्रहरी सम्बद्ध स्रोतको जिकिर छ । लक्ष्मीबहादुरलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरे पनि फेला पार्न नसकेको सीआईबीका एक अधिकारीले बताए । गत मंगलबार दायर भएको बैंकिङ कसुरको मुद्दामा थुनछेकका लागि बहस जारी रहेको छ । ढकाललगायत अभियुक्तले अदालतले थुनामा रहेका तीन जनालाई तारेखमा थुनामुक्त गरे अदालतमा हाजिर हुने सम्भावना छ । 'यदि थुनामै राखेर मुद्दा चलाउने वा धरौटीबापत ठूलो रकम माग भए पनि पुनरावेदन गर्छन् होला,' स्रोतले भन्यो ।   

Monday, November 26, 2012

१० लाख नर्तिर्ने पनि कालोसूचीमा

काठमाडौं, मंसिर ११ - राष्ट्र बैंकले आइतबार गरेको नयाँ व्यवस्थाअनुसार ऋण नतिरेर कालोसूचीमा पर्नेको नाम लम्बिने भएको छ । राष्ट्र बैंकले १० लाख वा सोभन्दा बढी ऋण नतिर्ने व्यक्ति/संस्थालाई कालोसूचीमा समावेश गर्ने नयाँ व्यवस्था लागू गरेको छ ।
यसअघि २५ लाख वा सोभन्दा बढी ऋण नतिर्ने व्यक्ति/संस्था मात्र कालोसूचीमा समावेश हुन्थे । 'कर्जा कारोबार पारदर्शी बनाउन यस्तो व्यवस्था गरेका हौं,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने ।
१० देखि २५ लाखसम्मका अधिकांश ऋण साना तथा मझौला कर्जा, व्यापार कर्जा र हायरपर्चेज ऋण हुने गर्छन् । पछिल्लो समय सवारी साधन खरिद गर्न लिइने हायरपर्चेज ऋणमा धेरै समस्या देखिएको छ । 'यो व्यवस्थाले कालोसूचीमा पर्ने ऋणीको संख्या बढ्ने सम्भावना भयो,' बैंकर्स संघका सदस्य किशोर महर्जनले भने । बस, ट्रकलगायत सवारीसाधन खरिद गरेर ऋण नतिर्नेको संख्या बढ्दै गएको समयमा पछिल्लो व्यवस्था भएको छ । 'यसले हायरपर्चेजमा देखिएको समस्या समाधान गर्न केही सहयोग गर्ने देखिन्छ,' उनले भने, 'साना तथा मझौला ऋणमा धेरै समस्या देखिँदैन ।' बस, ट्रकका साथै महँगा कार खरिद गर्ने र ऋण नर्तिनको संख्या पनि पछिल्लो समय चुलिएको छ । बैंकले यस्तो ऋण नतिर्ने व्यक्तिको नाममा ३५ दिने सूचना सार्वजनिक गर्ने क्रम बढेको छ ।
कालोसूचीमा समावेश नहुँदा एउटा बैंकलाई ऋण नतिरी अर्को बैंकबाट नयाँ ऋण लिन सजिलो भएको थियो । यस्तो काम गर्नेलाई कालोसूचीमा चढाउन र नयाँ ऋण नदिन पछिल्लो निर्देशनले सजिलो बनाएको छ ।
ऋण नतिर्ने व्यक्तिको नाम वित्तीय संस्थाले कर्जा सूचना केन्द्रमा पठाउँछन् । केन्द्रले त्यसलाई कालोसूचीमा समावेश गरेर सबै संस्थालाई जानकारी दिन्छ । सूची ऋण लिने व्यक्तिको जोखिम मापन गर्न प्रयोग हुन्छ । यस्ता सूचीमा परेका व्यक्तिलाई अन्य संस्थाले सजिलै ऋण उपलब्ध गराउँदैनन् । आइतबार परिपत्र जारी गरेर राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको हो । जसअनुसार १० लाख वा सोभन्दा बढी रकमको कर्जा प्रवाह भएको १५ दिनभित्र केन्द्रीय बैंकलाई जानकारी दिनुपर्ने छ । साथै ९० दिनभन्दा बढीले भाका नाघेका १० लाख वा बढीका कर्जाबारे पनि सूचना उपलब्ध गराउनुपर्ने छ । विभिन्न शाखाबाट १० लाखभन्दा कम ऋण लिएर नतिरे पनि यस्तो सूचीमा पर्ने सम्भावना छ । सम्बन्धित वित्तीय संस्थालाई ऋणीले सबै शाखाबाट लिएको ऋण जोडेर जानकारी दिन केन्द्रीय बैंकले निर्देशन दिएको छ । के हँुदा परिन्छ कालोसूचीमा ? कर्जाको साँवा वा ब्याजको भुक्तानी मिति १ वर्ष नाघेमा कालोसूचीमा राख्न सकिन्छ । कर्जा लिँदा खुलाएको भन्दा फरक प्रयोजनमा रकम खर्चेको पाइए पनि यस्तो सूचीमा परिन्छ । साथै धितोका रूपमा राखेको वस्तु प्रयोग गरेको पाइएमा पनि सम्बन्धित संस्थाले कालोसूचीमा सिफारिस गर्न सक्छन् । ऋणी टाट पल्टे वा गायब भए पनि सूचीमा पर्न सक्छ । साथै ऋणी विरुद्ध अदालतमा मुद्दा दायर भए वा ऋण असुली न्यायाधिकरणमा उजुरी दिए पनि सूचीमा पर्ने सम्भावना रहन्छ । नक्कली चेक, विदेशी मुद्रा, ड्राफ्टलगायत प्रयोग गरेर ठगी गर्ने, वित्तीय अपराध गर्ने, खातामा पर्याप्त नगदबिनै चेक जारी गर्ने व्यक्ति पनि यस्तो सूचीमा पर्ने गर्छन् । के हुन्छ सूचीमा परेपछि ? कालोसूचीमा परेपछि नयाँ ऋण कुनै पनि संस्थाले दिँदैनन् । कालोसूचीमा परेको व्यक्तिको परिवारका अन्य सदस्यले पनि कर्जा पाउन गाह्रो छ । ऋण नतिरी कालोसूचीमा पर्ने व्यक्तिको राहदानी जफत पनि हुन सक्छ । क्रेडिट, डेबिट कार्ड पनि रोक्ने व्यवस्था छ । कम्पनीमा सञ्चालन हुन नपाउने, सम्पत्ति रोक्का गर्ने, राजनीतिक नियुक्ति नपाउनेलगायतका कारबाही गर्न सक्ने प्रावधान छ । सरकारले दिने सुविधा, मान पदवीलगायतबाट पनि कालोसूचीमा परेपछि वञ्चित हुनुपर्छ । कालोसूचीमा पर्ने भए पनि सिफारिस नगरे ऋण दिने संस्थालाई पनि कारबाही गर्न सक्ने व्यवस्था छ ।