Saturday, July 28, 2012

कहिले घट्ला ब्याजदर ?

काठमाडौ, श्रावण १३ -
-जग्गा तथा आवास विकास संघका एक पदाधिकारीलाई महिनाअघि बैंकबाट टेलिफोन आयो । ब्याज ५ प्रतिशतमा झारिएको सुनेर उनी छक्क परे । १५ प्रतिशत ब्याज तिरिरहेका उनले यो पत्याएनन् र पुनः प्रश्न गरे । प्रत्युत्तरमा कर्जाको नभई निक्षेपको ब्याजदर घटेको थाहा पाए । 'निक्षेपको ब्याज एकै पटक साढे २ प्रतिशत बिन्दुले  घट्यो तर कर्जामा दुई पटक गरेर १ प्रतिशत बिन्दुले मात्र घटाए,' उनी भन्छन् ।
-कपनका राजन भट्टराईले घर बनाउनका लागि ३ वर्षअघि ऋण लिएका थिए ।  तीन वर्षमा कम्तीमा चार पटक ब्याजदर बढेको उनी सम्झन्छन् । 'बैंकमा पैसा थुपि्ररहेको छ भन्ने सुनिन्छ तर ब्याज चाहिँ घटाएका छैनन्,' उनी भन्छन् ।


यी दुई बाहेक जुनसुकै शीर्षकमा कर्जा लिन बैंक तथा वित्तीय संस्था पुगेका अधिकांशले पछिल्लो दुई वर्षदेखि भोगेको समस्या हो चर्को ब्याजदर । बैंक तथा वित्तीय संस्थाको नियामक केन्द्रीय बैंकले उठाइरहने प्रश्न पनि ब्याजदर निर्धारणकै हो । पछिल्लो समय निक्षेपमा ब्याजदर घटिरहने तर कर्जामा सोही अनुपात कम नहुने प्रवृत्ति देखिएको छ । गत साता सार्वजनिक मौदि्रक नीतिले ब्याजदर घटाउन दबाब दिने कार्यक्रम सार्वजनिक गरेको छ । सँगै ब्याजदर बढ्न सहयोग पुग्ने निर्देशन पनि आएको छ ।
अर्थविद् चिरञ्जीवी नेपाल मौदि्रक नीति कठोर रूपमा आएको र ब्याजदर झनै बढ्ने बताउँछन् । 'मौदि्रक नीतिले बजार सुकाएको छ,' उनले भने, 'बजारमा पैसा छ, लगानी गराउन सकेको छैन, त्यही भएर यस्तो नीति आएको जस्तो देखिन्छ ।' उत्पादनशील क्षेत्रमा कर्जा बढाउने भनिए पनि जबजरजस्ती कोही नजाने उनी बताउँछन् । 'बैंक नाफामुखी संस्था हुन्,' उनले भने, 'वातावरण नभई जबरजस्ती गर्दैमा कसैले टेर्दैन ।' मौदि्रक नीतिबाट पुँजीको लागत बढ्ने र ब्याजदर घटाउन सम्भव नहुने उनी बताउँछन् ।
मौदि्रक नीतिले अनिवार्य नगद मौज्दात, विदेश लैजान पाउने रकम र विपन्न वर्ग कर्जाको दायरा बनाएको छ । यसले बजारमा रहेको तरलता -लगानीयोग्य पुँजी) कम गर्न मद्दत गर्छ । यसका साथै केन्द्रीय बैंकले बजारको ब्याजदरलाई कता जानुपर्छ भनेर बाटो देखाउने बैंक दरलाई पनि बढाएको छ । गत वर्ष ७ प्रतिशत रहेको बैंक दर यस वर्ष ८ प्रतिशत पुर्‍याइएको छ ।
अर्कोतर्फ कर्जामा आधारभूत दर कायम गर्ने र अल्पकालीन मुद्रा बजारका दरलाई निश्चित परिधिमा राख्न ब्याजदर कोरिडर नीति क्रमशः लागू गर्ने नीति केन्द्रीय बैंकले लिएको छ । यसमा बैंकहरूले पुँजीको लागत प्रकाशन गरेर सोही अनुरूप मात्र ब्याजदर निर्धारण गर्न दिने तयारी केन्द्रीय बैंकको हो । ब्याजदर कोरिडरको चर्चा १ वर्ष अघिदेखि चले पनि केही प्राविधिक विषय र आवश्यक दरहरू तोकिन बाँकी रहेको केन्द्रीय बैंकले जनाएको छ । अन्य मुलुकमा पनि केन्द्रीय बैंकले विभिन्न अनौपचारिक बाटोबाट बजारको ब्याजदरलाई निश्चित परिधिभित्र राख्ने गरेको छ । 'बैंकहरूको लागत अनुसार निश्चितभन्दा बढी ब्याजदर तोक्न नपाउने व्यवस्था गर्ने तयारी छ,' केन्द्रीय बैंक स्रोतले भन्यो ।
उद्योग वाणिज्य महासंघको बैंकिङ, फाइनान्स र बिमा कमिटीका अध्यक्ष शेखर गोल्छा ब्याजदर धान्न नसक्ने अवस्थामा मात्र केन्द्रीय बैंकले हस्तक्षेप गर्नुपर्ने बताउँछन् । 'ब्याजदरलाई बजारले निर्धारण गर्ने गरी छाडिनुपर्छ,' उनको धारणा छ, 'तर धान्न नसक्ने भए केन्द्रीय बैंकले हस्तक्षेप गर्ने हो ।' पछिल्लो समय राष्ट्र बैंकले मौदि्रक नीति र अन्य निर्देशन मार्फत ल्याएका केही विषयले समस्या ल्याएको गोल्छाले बताए । 'बैंकका सञ्चालकले कर्जा  लिन नपाउने जस्ता व्यवस्था एकै पटक आउँदा विकृति पनि भित्रन सक्छ,' उनले भने, 'यस्ता विषयमा बिस्तारै बन्देज लगाउँदै जाँदा राम्रो हुन्छ ।'
वृद्धि गरिएको अनिवार्य नगद मौज्दातले ब्याजदरमा बैंकलाई केही दबाब पर्न सक्ने बैंकर्स संघका उपाध्यक्ष उपेन्द्र पौडेल बताउँछन् । 'पूर्ण बजेट नआएकाले पुनः तरलता अभाव नहोला भन्न सकिँदैन,' उनले भने, 'मौदि्रक नीतिका केही निर्णय हतारमा आएको जस्तो देखिन्छ ।' पछिल्लो समय लगानी वृद्धिका लागि बैंकर ब्याजदर घटाउन प्रयास गरिरहेको उनले बताए । 'ब्याजदर कोरिडर लगायत विषय स्पष्ट भएका छैनन्,' उनले भने, 'त्यो स्पष्ट भएपछि मात्र के हुन्छ भन्न सकिन्छ ।'
बैंकर अनिल शाह भने पूर्ण बजेट नआएको समयमा राष्ट्र बैंकले कसिलो मौदि्रक नीति ल्याएको बताए । 'पूर्ण बजेट नआएको समयमा मौदि्रक नीति बनाउन सजिलो छैन,' उनले भने, 'त्यसैले कसिलो मौदि्रक नीति आएको हुन सक्छ ।' मौदि्रक नीतिले बढाएको अनिवार्य नगद मौज्दात र विपन्न वर्ग कर्जाको दायराबाट करिब १५ अर्ब रुपैयाँ प्रयोग हुने उनले बताए । 'सीआरआरले १० अर्ब रुपैयाँ खिच्ने र विपन्न वर्गमा ५ अर्ब रुपैयाँ थप लगानी हुने देखिन्छ,' उनले भने, 'तर तरलता निक्षेप अनुपात २० प्रतिशत रहेकाले धेरै असर पर्दैन ।' निक्षेपको मात्र नभएर पछिल्लो समय कर्जाको पनि ब्याजदर घटेको उनले बताए । 'करिब ८० प्रतिशत लगानी कर्पोरेट हाउसका २० प्रतिशत व्यक्तिलाई भइरहेको छ,' उनले भने, 'त्यसमा हेर्नुभयो भने ब्याजदर दोहोरो अंकबाट तल आउन लागेको छ ।' अधिकांश बैंक वित्तीय संस्थाको लगानी कर्पोरेट क्षेत्रमा धेरै भएकाले प्रतिस्पर्धाका आधारमा ब्याज कम आएको उनले बताए ।
पछिल्लो समय बैंकहरूसँग ६० अर्बको हाराहारीमा तरल कोष रहेको कमर्ज एन्ड ट्रस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराई बताउँछन् । 'बैंकले त्यत्तिकै रकम राख्दैनन्,' उनले भने, 'प्रतिस्पर्धाकै आधारमा विस्तारै ब्याज घट्दै जान्छ ।' पहिले ठूला बैंकले ब्याज घटाएपछि अन्यलाई पनि दबाब परेर घट्ने उनी बताउँछन् । 'सरकारी बोन्ड र टे्रजरी बिल्सबाट आउने प्रतिफल बढ्ने हो भने तुरुन्तै ब्याजदर घट्न सक्छ,' उनले भने ।

Friday, July 27, 2012

कर्जामा कडाइले उद्योगीलाई समस्या

काठमाडौ, श्रावण १२ - राष्ट्र बैंकले ट्रस्ट रिसिप्ट (टीआर) कर्जा लिनेलाई गरेको नयाँ व्यवस्थाका कारण उद्योगमा समस्या पर्न थालेका छन् । यस्तो ऋण चुक्ता गर्न अन्य प्रकारका ऋण लिन नपाइने व्यवस्था निर्देशन मार्फत भएपछि उद्योग सञ्चालन गर्न सक्ने अवस्था नरहेको व्यवसायीले बताएका छन् । टीआर कर्जा तिर्न अन्य ऋण लिए खराब कर्जामा वर्गीकरण गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
उद्योगले विदेशबाट कच्चा पदार्थ आयात गरेपछि बैंकबाट टीआर कर्जा लिने गर्छन् । कच्चा पदार्थ बैंकको स्वामित्वमा हुने भएकाले तोकिएको समयमा ऋण भुक्तानी गर्ने सर्तमा टीआर कर्जा लिइन्छ । ९० दिनभित्र यस्तो कर्जा भुक्तानी हुन नसके खराब कर्जामा वर्गीकरण गर्नुपर्छ । ९० दिनभित्रै भुक्तानी गर्न नसक्ने अवस्थामा उद्योगहरूले छोटो अवधिको कर्जा (सर्ट टर्म लोन) लिएर टीआर कर्जाको भुक्तानी गर्दै आएका थिए । जसलाई राष्ट्र बैंकको निर्देशनले रोकेको छ । छोटो अवधिको कर्जा लिएर टीआर लोन भुक्तानी गर्न नपाउने भएपछि उद्योगी समस्यामा परेका छन् । 
औद्योगिक अवस्था खराब रहेकाले ९० दिन भित्रै कच्चा पदार्थलाई तयारी उत्पादन बनाउन नसक्ने र ऋण तिर्न समस्या हुने भएकाले निर्देशनबाट मार्का परेको व्यवसायीले बताएका छन् । '९० दिनको टीआर कर्जाबाट मात्रै उद्योग चल्न सक्दैन,' उद्योगी किरण साखले भने, 'सर्ट टर्म लोन लिएर उद्योगले २/४ महिनामा ऋण तिर्ने गरिरहेका थिए ।'
उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले पछिल्लो व्यवस्था खराब समयमा आएको बताए । 'उत्पादनमूलक उद्योगलाई त्यत्तिकै धेरै समस्या छन्,' उनले भने, 'पछिल्लो व्यवस्थाले उद्योगलाई साथ दिने भन्दा संकुचित बनाउने काम गर्‍यो ।' राजनीति, श्रम, ऊर्जा, लगायत कारणबाट उद्योग फस्टाउने र व्यवसायीले ढुक्क भएर काम गर्ने अवस्था नरहेका बेला राष्ट्र बैंकको निर्देशनले झन असहज भएको उनले बताए । 'अन्य मुलुकमा सरकारले उत्पादनमूलक उद्योगलाई सुविधा दिन्छन्,' उनले भने, 'हामीकहाँ हरेक क्षेत्रबाट असहज अवस्था बनाउने काम भयो ।'
उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यका अनुसार राष्ट्र बैंकले जारी गरेका निर्देशनमध्ये सबैभन्दा बढी समस्या टीआर कर्जा सम्बन्धी परिवर्तन भएको व्यवस्थाले बनाएको छ । 'साथीहरूबाट यस्तो गुनासो आइरहेको छ,' उनले भने, 'यो विषयलाई अध्ययन गरेर शुक्रबारसम्म राष्ट्र बैंकमा लैजाँदै छौं ।'
बैंकर्स संघका एक पदाधिकारीका अनुसार टीआर कर्जामा गरिएको परिवर्तनबाट उद्योगलाई समस्या पर्ने निश्चित छ । '९० दिनमा कुनै पनि उद्योगले कच्चा पदार्थ ल्याएर त्यसलाई उत्पादन बनाई बजारबाट बिक्री गरिसक्न सम्भव छैन,' उनले भने, 'पछिल्लो समय उद्योगमैत्री वातावरण नभएकाले पनि यो व्यवस्थाले असहज अवस्था आउने देखिएको हो ।'
राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले निर्देशनबाट देखिएका समस्याबारे बैंकरलाई सुझाव पठाउन भनेको बताए । 'समस्या भए लेखेर पठाउन भनेका छौं,' उनले भने, 'टीआर कर्जा सदुपयोग नभएको हुन सक्ने अवस्था देखेर पछिल्लो परिवर्तन गरिएको हो ।'
राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक वित्तीय संस्थाले उद्योगलाई  वैशाखसम्म ३६ अर्ब ९ करोड रुपैयाँको हाराहारीमा टीआर र आयात कर्जा दिएका छन् । जसमा सबैभन्दा धेरै वाणिज्य बैंकले ३६ अर्ब १ करोड लगानी गरेका छन् । बाँकी लगानी विकास बैंकबाट भएको छ ।
राष्ट्र बैंकका अर्का एक अधिकारीका अनुसार टीआर कर्जा भुक्तानी अवधि थप्दै लैजाने प्रवृत्ति निरुत्साहित गर्न यस्तो निर्देशन जारी गरिएको हो । 'अधिकांश बैंक व्यवसायीले चलाएका छन्,' स्रोतले भन्यो, 'उनीहरूलाई असर गर्ने भएपछि यस्तो विरोध भएको हो ।' कच्चा पदार्थ आयात गरेर उत्पादन गर्न समय लागे पनि त्यसले टीआर कर्जा भुक्तानी गर्न समस्या नहुने उनले बताए । 'कच्चा पदार्थबाट उत्पादन गर्न उद्योगले अन्य ऋण लिएकै हुन्छन्,' स्रोतले भन्यो, 'एउटा ऋण तिर्न अर्को ऋण दिनुपर्छ भन्नु राम्रो प्रवृत्ति होइन ।' यसका साथै टीआर कर्जा लिएर अन्य प्रयोजनमा पनि प्रयोग भएको हुन सक्ने आशंका केन्द्रीय बैंकको छ । 'थप कर्जा लिएर अवधि बढाउँदै अन्य क्षेत्रमा पनि लगानी भएको हुन सक्छ,' स्रोतले भन्यो ।

Thursday, July 26, 2012

सर्वसाधारण लक्षित मौद्रिक नीति

काठमाडौ, श्रावण ११ - पूरा बजेट नआए पनि सर्वसाधारणले भोगिरहेका ब्याजदर, विदेशमा रकम लान पाउने सुविधा, निक्षेपको जोखिम लगायत समस्यालाई मौदि्रक नीतिले सम्बोधन गर्ने प्रयास गरेको छ । बुधबार राष्ट्र बैंकले जारी गरेको मौदि्रक नीतिले ऋणको ब्याजदर घटाउन अप्रत्यक्ष दबाब दिनुका साथै विदेश जाँदा लान पाउने रकमलाई खुकुलो बनाएको छ । वित्तीय संस्थाको समस्याले निक्षेप डुब्ने चिन्तामा रहेका साना बचतकर्ताको ३ लाखसम्म रकमको बिमा गर्ने सुविधा पनि नीतिले दिएको छ ।
साना किसान र उद्यमीलाई सस्तोमा ऋण उपलब्ध गराउने र ग्रामीण क्षेत्रमा वित्तीय सेवा पुर्‍याउने कार्यक्रमलाई विस्तार गरेको छ । 'कर्जाको उत्पादक उपयोग, वित्तीय पहुँच अभिवृद्धि तथा वित्तीय सुशासनका सवाललाई सम्बोधन गर्नेतर्फ मौदि्रक नीति उन्मुख रहनुपर्ने भएको छ,' कार्यक्रममा गभर्नर युवराज खतिवडाले भने । विदेशमा लगानी गर्न बन्देज गरेको अवस्थामा नीतिले क्रमशः यसलाई खुकुलो बनाउने संकेत गरेको छ ।
'विश्व अर्थतन्त्रसँग जोडिने क्रममा क्रमशः विदेशमा लगानी गर्न पाउने व्यवस्थातर्फ जान खोजेको संकेतका रूपमा बुभmदा हुन्छ,' गभर्नर खतिवडाले भने ।
तरलता खिचियो, खर्च बढ्यो
अनिवार्य नगद मौज्दात र निक्षेप बिमाको दायरा बढाएर मौदि्रक नीतिले बैंक वित्तीय संस्थाको खर्च पनि बढाएको छ । मौदि्रक नीति अनुसार वाणिज्य बैंक र विकास बैंकले अनिवार्य नगद मौज्दात बढाउनुपर्ने भएको छ ।
यसअघि ५ प्रतिशत राख्नुपर्ने अनिवार्य नगद मौज्दात अब वाणिज्य बैंकले ६ प्रतिशत, विकास बैंकले ५ दशमलव ५ प्रतिशत राख्नुपर्ने छ । वित्त कम्पनीलाई भने यो यथावत् राखिएको छ । यो सर्वसाधारणबाट उठाइएको रकममध्ये लगानी नगरी नगदकै रूपमा राख्नुपर्ने मौज्दात हो ।
बैंक वित्तीय संस्थामा बढेको तरलताका कारण अनिवार्य नगद मौज्दात बढाइएको खतिवडाले बताए । नयाँ व्यवस्थाले बिनाब्याज आम्दानी राष्ट्र बैंकमा बस्ने रकमको मात्रा बढ्ने छ । गत वर्षभर सर्वसाधारणको ब्याजदर कम गर्न नसक्नुको एक प्रमुख कारण यस्तो रकम रहेको बैंकहरूले बताएका थिए ।
बजारमा रहेको तरलतालाई बढाउन वा घटाउन अनिवार्य नगद मौज्दातलाई परिवर्तन गर्ने गरिन्छ ।
यसका साथै २ लाख रुपैयाँसम्मको निक्षेप सुरक्षणलाई बढाएर ३ लाख रुपैयाँ बनाइएको छ । सर्वसाधारणको नाममा रहेको खाताको ३ लाख रुपैयाँ रकमको बैंक वित्तीय संस्थाले निक्षेप सुरक्षण गर्नुपर्ने भएको छ । निक्षेप सुरक्षण गर्दा यी संस्थाले शुल्क बुझाउनुपर्छ ।
राष्ट्र बैंकका औजारबाट बढी प्रतिफल, मर्जरमा जाँदा विशेष सुविधा लगायतको आशा गरिरहेका बैंकरलाई भने मौद्रिक नीतिले केही निरास बनाएको छ । 
ब्याजदरमा दबाब
ब्याजदर कोरिडर अघि बढाउने, लगानीको ब्याजदरलाई उपयुक्त स्थानमा राख्न आधार ब्याजदर अवधारणा कार्यान्वयन गर्ने, निक्षेप र कर्जाको ब्याजदरबीचको अन्तर अनुगमन र सुधार गर्ने लगायतका कार्यक्रम मौदि्रक नीतिबाट आएका छन् । 'आईटी अपग्रेडेसन, आधार ब्याजदर लगायतको निर्धारण भएपछि ब्याजदर कोरिडर लागू हुने छ,' गभर्नरले भने । तर सँगै विदेशी मुद्रामा लिइएको लचकता र बढाइएको अनिवार्य नगद मौज्दातले ब्याजदर कम नगर्न दबाब पनि दिने देखिन्छ । साथै राष्ट्र बैंकले बैंक दरलाई १ प्रतिशत बिन्दुले बढाएर ८ प्रतिशत बनाएको छ । जसले केन्द्रीय बैंकले ब्याजदरलाई कता लैजान खोज्दै छ भन्ने देखाउँछ ।
सस्तियो पुनर्कर्जा, फराकिलो लगानी
बैंक वित्तीय संस्थाले लिने गरेको पुनर्कर्जाको दर राष्ट्र बैंकले घटाएको छ । कृषि, जलविद्युत् र अन्य तोकिएका उत्पादनशील क्षेत्रका लागि ६ प्रतिशत ब्याजमा पुनर्कर्जा उपलब्ध हुने भएको छ । यसअघि यो कृषि र जलविद्युत्का लागि ६ दशमलव ५ र अन्यका लागि ७ प्रतिशत थियो । यसका साथै पशुपक्षी तथा माछापालनका लागि पनि ६ प्रतिशत ब्याजमै पुनर्कर्जा पाइने भएको छ । बैंक वित्तीय संस्थाले असल कर्जा धितो राखेर राष्ट्र बैंकबाट लिएको यस्तो ऋण लगानी गर्दा ९ प्रतिशत भन्दा बढी ब्याज लिन नपाइने व्यवस्था गरिएको छ ।
सधैं जस्तै यस वर्ष पनि बिपन्न वर्ग कर्जाको दायरा राष्ट्र बैंकले बढाएको छ । यस वर्ष वाणिज्य बैंकहरूले ४, विकास बैंकले ३ दशमलव ५ र वित्त कम्पनीले ३ प्रतिशत विपन्न कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ । 
उत्पादनशील क्षेत्र अन्तर्गतको कृषिमा औजार, मल, बीउ, पशुपक्षी दाना, सिँचाइ, भण्डाररण र प्रशोधनलाई पनि समेटिएको छ ।
विदेशी मुद्रामा केही लचकता
राष्ट्र बैंकले विदेशी मुद्राको प्रयोगमा केही लचकता सहित नयाँ मौदि्रक नीति ल्याएको छ । निजी भ्रमण, आयातका काम र बैंक वित्तीय संस्थाको विदेशी मुद्रा कारोबारमा केही सहुलियत दिइएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई विदेशका एजेन्सी बैंकमा रहेको मौज्दातबाट ३० प्रतिशतसम्म लगानी गर्न सक्ने सुविधा दिएको छ । यस्तो लगानी कल डिपोजिट, सर्टिफिकेट अफ डिपोजिट लगायत उपकरणमा लगानी गर्न सक्ने व्यवस्था गरिएको छ ।
विदेश घुम्न वा अन्य कामका लागि जाने नागरिकले आर्थिक वर्षमा दुई पटक मात्र राहदानी देखाएर साट्न पाउने विदेशी मुद्रालाई जतिपटकका लागि पनि खुला गरिएको छ । एक पटक विदेश जाँदा २५ सय अमेरिकी डलरसम्म साट्न पाइन्छ । व्यवसाय प्रवर्द्धन, व्यापार मेला, गोष्ठी लगायतमा जाने नेपाली नागरिकले राहदानी प्रयोग गरेर ५ हजार अमेरिकी डलरसम्म लैजान सक्ने नयाँ व्यवस्था गरिएको छ ।
यसका साथै तेस्रो मुलुकबाट ड्राफ्ट/टीटीका आधारमा वस्तु आयात गर्दा बढीमा ३० हजार अमेरिकी डलरसम्म भुक्तानी गर्न पाइने व्यवस्था गरिएको छ । यो यसअघि २५ हजार अमेरिकी डलर थियो ।
कागजात देखाएर मुलुकमा १० हजार अमेरिकी डलरसम्मको रकम साट्न पाइने भएको छ । यसअघि यो ६ हजार डलर थियो । वस्तु तथा सेवा आयात गर्दा विदेशी बैंक ग्यारेन्टीका आधारमा सहटी सुविधा उपलब्ध हुने भएको छ ।
विदेशी मुद्रामा खाता खोलेको नागरिकले प्रतिवर्ष ५ हजार डलरसम्म उपयोग गर्न पाउने भएका छन् । विदेशी नागरिकले नेपालमा खोलेको खाता पनि सधैंका लागि सञ्चालन गर्न सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । 'यो विदेशी मुद्रा खाताको प्रचलन बढाउन गरिएको हो,' गभर्नर खतिवडाले भने ।
संस्थागत सुशासन र वित्तीय स्थायित्व
पुँजीकोष अपर्याप्त हुँदा मात्र हुँदै आएको शीघ्र सुधारात्मक कारबाहीलाई तरलता र निष्त्रिmय सम्पत्तिको आधारमा समेत लगाइने भएको छ । २ अर्बभन्दा बढी लगानी गरेका बैंक वित्तीय संस्थाले आफैं दबाब परीक्षण गरेर राष्ट्र बैंकलाई बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।  बैंक वित्तीय संस्थाबाट निश्चित रकमभन्दा बढी कर्जा लिएकाले स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।
जोखिममा आधारित सुपरिवेक्षण गर्ने, बैंकर र उद्यमी/व्यवसायी बीचको भिन्नता कायम गर्ने लगायतका कार्यक्रम पनि मौदि्रक नीतिबाट आएका छन् ।
नयाँ वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी खोल्न इजाजत दिने काम रोकिराखेर कृषि, ऊर्जा, भौतिक पूर्वाधार जस्ता क्षेत्रमा सहयोग पुर्‍याउने गरी वित्तीय संस्था भने खोल्न दिइने गभर्नरले बताए ।
आर्थिक वृद्धिदर ५ दशमलव ५, मूल्य वृद्धि ७ दशमलव ५ राष्ट्र बैंकले आर्थिक वर्षमा ५ दशमलव ५ प्रतिशतसम्मको आर्थिक वृदिदर हासिल गर्ने लक्ष्य लिएको छ ।
सरकारले पूर्ण बजेट ल्याउन नसकेको अवस्थामा वृद्धिदरको पहिलो अनुमान र लक्ष्य राष्ट्र बैंकले गरेको हो । साथै मूल्यवृद्धिलाई ७ दशमलव ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य पनि राष्ट्र बैंकको छ । तर यस वर्ष कृषि क्षेत्रबाट योगदान घट्ने, डलरको मूल्यमा देखिएको अस्थिरताले असर गर्ने र
भारतमा समेत मूल्यवृद्धि हुने कारणले चुनौती थपिएको छ ।
यसै वर्ष राष्ट्र बैंकले पारिवारिक बजेट सर्वेक्षण गर्ने भएको छ । यो सर्वेक्षणका आधारमा मूल्यवृद्धि लगायत अनुमान गरिन्छ । चालू आर्थिक वर्षमा आन्तरिक कर्जा १६ प्रतिशतले बढ्ने अनुमान राष्ट्र बैंकको छ ।
लघुकर्जा र पहुँचको दायरा बढाइयो
राष्ट्र बैंकले लघुकर्जाको दायरा बढाएको छ । समूहका आबद्ध भएका ऋणी सदस्यलाई बैंक तथा वित्तीय संस्थामार्फत लघु उद्यम वा लघु व्यवसाय गर्न प्रतिसमूह १ लाख रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था गरिएको छ । धितोमा दिइने यस्तो कर्जा भने ३ लाखसम्म बनाइएको छ । मोबाइल बैंकिङ, शाखा रहित सेवा लगायतलाई प्रोत्साहित गर्ने नीति केन्द्रीय बैंकले लिएको छ । क, ख, ग का साथै घ वर्गका वित्तीय संस्थालाई पनि गाभिन विशेष प्रोत्साहन गर्ने केन्द्रीय बैंकले जनाएको छ ।

Tuesday, July 24, 2012

मौद्रिक नीति: अपेक्षा धेरै, ठाउँ थोरै

काठमाडौ, श्रावण ९ - पूर्ण बजेट आउन नसकेको अवस्थामा मौद्रिक नीतिले निजी क्षेत्रका विशेषगरी वित्तीय क्षेत्र सम्बद्ध समस्यालाई सम्बोधन गर्ने आपेक्षा राखेका छन् । तर मुख्यतया सरकारी बजेटको पूरकका रूपमा राष्ट्र बैंकले जारी गर्ने मौदि्रक नीतिसँग ती समस्या सम्बोधन गर्न सक्ने ठूलो ठाउँ भने छैन । वित्तीय सुशासन विशेषगरी घरजग्गासँग जोडिएका जटिलतालाई केन्द्रीय बैंक तत्काल खुकुलो बनाउन सक्ने देखिँदैन भने लगानीकर्ताको विश्वास गुमेको सेयर बजारमा धेरै आशा पनि जगाउन सक्दैन । गैरआर्थिक कारणले प्रभाव पार्ने मुद्रास्फीति नियन्त्रणका गर्न मुद्रा प्रवाहका औजार पर्याप्त छैनन् भने बढ्दै गएको शोधनान्तरको व्यवस्थापन गर्न सक्ने आर्थिक हैसियत मुलुकसँग छैन ।
संकुचित वा खुला
एक तिहाई खर्चको आधारमा चलिरहेको सरकार र करका दरमा परिवर्तन गर्न सकिने नीतिगत व्यवस्था नभएका बेला विस्तारकारी मौदि्रक नीतिको अपेक्षा गरिएको छैन । अर्थविद् विश्वम्भर प्याकुर्‍याल पूर्ण बजेट नआएको र करको दरमा हेरफेर हुन नसक्ने भएकाले राज्यबाट खर्च बढ्ने सम्भावना नरहेको बताउँछन् । 'गत वर्ष मनसुन र बजेट समयमै आएर कुल गार्हस्थ उत्पादनमा वृद्धि देखियो,' उनले भने, 'यस वर्ष त्यसको ठीक उल्टो भएको छ ।'
मौदि्रक विशेषज्ञ हरिहरदेव पन्त भने मौदि्रक नीति धेरै संकुचित हुँदा पनि तत्कालका समस्या सम्बोधन हुन कठिन हुने बताउँछन् । शोधनान्तर बचत उच्च रहेको र मूल्यवृद्धिमा मुद्रा प्रवाह बढ्दा पनि चाप नपर्ने भएकाले यस्तो नीति आवश्यक रहेको उनले बताए । 'हामीकहाँ खुलाका साथै स्थिर अर्थतन्त्र रहेकाले मुद्रा प्रवाह बढ्दा पनि मूल्यवृद्धिमा धेरै चाप देखिँदैन,' उनले भने । दिगो आर्थिक वृद्धिका लागि लघु वित्त मार्फत कर्जा बढाउने नीति लिनुपर्ने निर्धन उत्थान बैंक सञ्चालक समितिका सदस्य समेत रहेका उनी बताउँछन् । 'लघु उद्योगलाई ६० हजार रुपैयाँ मात्र नभएर ४/५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउनुपर्छ,' उनले भने, 'यसबाट कृषि र गैरकृषि क्षेत्रमा लगानी बढेर गरिबी घट्छ र रोजगारी बढ्छ ।'
तरलता
दुई वर्षअघि जस्तो तरलताको समस्या यतिखेर छैन । गत वर्षभरि नै निक्षेप बढ्ने तर सोही अनुपातमा कर्जा प्रवाह नहुने प्रवृत्ति देखियो । तरलता भए पनि लगानी बढ्न नसकेको, सोही अनुपातमा ब्याजदर नघटेको र लगानीकर्ता निरास भएको अवस्थामा राष्ट्र बैंकले यसलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ । 'केन्द्रीय बैंकका उच्च पदस्थ अधिकारीहरूले आफ्ना लेख, भाषणमा उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने बताइरहेका छन्,' एक अर्थविद्ले भने, 'त्यही अनुसार यस वर्षको नीति ल्याउन आवश्यक छ ।'
अर्कोतर्फ गत वर्ष जस्तै तरलता वृद्धिको अवस्था जारी रहला भन्ने पनि छैन । पछिल्लो समय निक्षेपमा घट्न थालेको ब्याजदरका कारण लगानी अन्यन्त्र मोडिन सक्ने सम्भावना पनि उत्तिकैै छ ।
ब्याजदर 
वित्तीय क्षेत्रमा बढिरहेको तरलतालाई राष्ट्र बैंकले समेत रिभर्स रिपो लगायतका माध्यमबाट नखिचेपछि बैंकहरू समस्यामा छन् । ट्रेजरी बिल्सको बट्टादर १ प्रतिशतभन्दा तल छ भने अन्तर बैंक ब्याजदर पनि सोही हाराहारीमा छ । बढेको तरलताले बचतकर्ताको ब्याजदर घटाउनुपर्ने बाध्यता एकातर्फ छ भने सरकारी सुरक्षणबाट राम्रो प्रतिफल आउन नसक्दा वित्तीय क्षेत्रमा चाप छ ।
बजारमा उपलब्ध तरलताका आधारमा ब्याजदर तल/माथि हुन छाडेको अर्थविद् प्याकुर्‍याल बताउँछन् । 'बजारको प्रकृति अनुसार ब्याजदर देखिएको छैन,' उनले भने, 'भोलिको परिस्थिति अनिश्चित छ ।' सरकारले नीति मार्फत सुरक्षा दिन्छु भन्न नसकेकाले ब्याजदरमा यस्तो अवस्था देखिएको उनी बताउँछन् । 'सरकारी निकायबीच नै अन्तरसम्बन्ध टुटेको र अनिश्चितताको अवस्था छ,' उनले भने, 'जसले भोलि फेरि तरलताको अभाव नहोला भन्न सक्ने अवस्था छैन ।' यसका साथै राष्ट्र बैंकले पनि तरलता अनुसारको नीति ल्याउन नसकेको उनी बताउँछन् ।
ब्याजदर कोरिडरको एक वर्ष अघिबाट कुरा थालेको राष्ट्र बैंकले यस वर्ष कार्यान्वयनमा ल्याउने रणनीति भने महत्त्वपूर्ण हुने देखिन्छ । नेपालको बजारमा ब्याजदर निर्धारण गर्दा भारतको अवस्था पनि हेर्न जरुरी छ । पछिल्लो समय भारतीय बैंकमा तरलता अभाव छ । नेपालमा ब्याजदर भारतभन्दा कम भए पुँजी पलायनको डर पनि रहन्छ ।
मूल्यवृद्धि
गत आर्थिक वर्षको लक्ष्यभन्दा २ प्रतिशत बिन्दुले माथि पुगिसकेको मूल्य वृद्धि यस वर्ष चुनौतीपूर्ण हुने देखिएको छ । अघिल्ला वर्षमा गैरखाद्य वस्तुबाट मूल्यवृद्धि तोकिएको भन्दा माथि गए पनि यस वर्ष भने खाद्य वस्तुबाट पनि चाप पर्ने देखिएको छ । समयमा मनसुन सुरु नहुनु र प्रमुख उत्पादन धानका लागि मल उपलब्ध नभएकाले खाद्यान्न उत्पादन र मूल्य दुवैमा असर पर्ने देखिएको छ । साथै भारतमा पनि खाद्यान्नको मूल्य वृद्धि हुन सक्ने सम्भावना बढेकाले केन्द्रीय बैंकको चुनौती थपिएको छ । यसमा थप सहयोग अमेरिकी डलरले गरेको छ । अमेरिकी डलरको मूल्य बढ्ने क्रम जारी रहँदा आयातित सामान महँगो भइरहेको छ । 'आगामी वर्ष सरकारले व्यापारमा बिचौलियाको काम गर्नेलाई नियन्त्रण गर्न नसक्ने हो भने मूल्यवृद्धि बढ्ने निश्चित छ,' राष्ट्र बैंककै एक अधिकारी भन्छन् ।
मूल्यवृद्धि नियन्त्रण केन्द्रीय बैंकका लागि चुनौतीपूर्ण रहेको प्याकुर्‍याल बताउँछन् । 'गैरबजेटरी खर्च बढ्ने सम्भावना नरहनु र पूर्ण बजेट नआउनाले मूल्यवृद्धि त्यति नबढ्ने देखिए पनि अनौपचारिक अर्थतन्त्रको विकासका कारण मूल्यवृद्धिको सम्भावना बढाएको छ,' उनले भने ।
वित्तीय स्थायित्व
मर्जरलाई विशेष प्राथमिकतामा राखेको केन्द्रीय बैंकले एक वर्षमा केही सफलता पाएको छ । तर निर्देशन ल्याउने र त्यसको विरोध हुन थालेपछि फिर्ता गर्ने प्रवृत्ति पनि पछिल्लो समय केन्द्रीय बैंकमा बढेको छ । यस वर्षको बजेटबाट मर्जरका लागि ठूलै राहत आउला भनी कुरेका बैंक वित्तीय संस्थाले पुनः केन्द्रीय बैंकको मुख ताकिरहेका छन् ।
अघिल्लो वर्ष देखिएको तरलता अभाव र गत वर्ष तरलता प्रयोग गर्न देखिएको समस्यामा पनि केन्द्रीय बैंकको ध्यान जानुपर्ने देखिएको छ । साथै घरजग्गा क्षेत्र र त्यसले बैंक वित्तीय संस्थामा देखाइरहेको असर पनि महत्त्वपूर्ण छ ।
फाइनान्स कम्पनीको निक्षेप वृद्धिमा देखिएको न्यून वृद्धिलाई पनि ध्यानमा राख्नुपर्ने वित्त कम्पनी संघका अध्यक्ष राजेन्द्रमान शाक्य बताउँछन् । 'गत आर्थिक वर्षको १० महिनामा क र ख वर्गका संस्थामा १० प्रतिशत निक्षेप वृद्धि देखिएको तर फाइनान्स कम्पनीमा ३ प्रतिशत घटेको देखिन्छ,' उनले भने, 'त्यसकारण एक वर्षदेखि वित्तीय संस्थामा देखिएको डिप्रेसन र सर्वसाधारणको आत्मविश्वासका लागि पनि सम्बोधन हुन जरुरी छ ।' पछिल्लो समय बैंक वित्तीय संस्थाको वासलातमा परेको दबाब र त्यसले सर्वसाधारणमा पर्ने प्रभाव हेरेर केन्द्रीय बैंकले केही सुविधा दिनुपर्ने उनी बताउँछन् ।
'जोखिम व्यवस्थापन, कर्जा वर्गीकरण लगायतमा केही पुनरावलोकन गर्न सके असर पर्ने थियो,' उनले भने, 'यस सम्बन्धी लिखित सुझाव दिएका छौं ।'
प्रक्षेपण र वास्तविकता
राष्ट्र बैंकले गत वर्ष मौदि्रक नीति मार्फत गरेको प्रक्षेपण धेरै चुकेको छ । शोधनान्तर बचत, मूल्यवृद्धि लगायतबाट यो प्रत्यक्ष देखियो । गत वर्ष केन्द्रीय बैंकले ५ अर्ब रुपैयाँको हाराहारीमा शोधनान्तर बचतमा राख्ने र मूल्यवृद्धिलाई ७ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य लिएको थियो । आर्थिक वर्षको १० महिनामै शोधनान्तर बचत १ खर्ब १० करोड रुपैयाँ र मूल्यवृद्धि ८ दशमलव ७ प्रतिशत पुगेको छ । आर्थिक वर्षको अन्तिम तथ्यांकमा यसमा वृद्धि हुने प्रक्षेपण पनि आइरहेको छ । केन्द्रीय बैंककै अनुमान यसरी नमिल्नुको प्रमुख कारण अनौपचारिक क्षेत्र रहेको प्याकुर्‍याल बताउँछन् । 'अर्थतन्त्रको आधा जत्तिकै कारोबार अनौपचारिक क्षेत्रबाट हुन्छ,' उनले भने, 'सहकारी लगायतमा रहेको तरलता समेटेर अनुमान नगरिनुका कारणले यस्तो हुन्छ ।'

Thursday, July 19, 2012

वित्तीय सुशासन केन्दि्रत मौदि्रक नीतिको तयारी

काठमाडौ, श्रावण ४ - पुनर्कर्जाको प्रक्रियालाई सजिलो र मर्जरमा केही कडाइ गर्दै वित्तीय सुशासन केन्दि्रत मौदि्रक नीति सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकको छ । आगामी साता सार्वजनिक गर्ने गरी मौदि्रक नीतिमा केन्द्रीय बैंकले अन्तिम छलफल गरिरहेको छ ।
धितोको ८० प्रतिशतसम्म उपलब्ध हुँदै आएको पुनर्कर्जा शत प्रतिशतसम्म दिने तयारी मौदि्रक नीतिबाट ल्याउने तयारी केन्द्रीय बैंकको छ । पुँजी पर्याप्तता अनुपात तोकिएकोभन्दा कम भएका संस्थालाई पनि पुनर्कर्जा दिने योजनामा राष्ट्र बैंक छ । साथै बैंक तथा वित्तीय संस्थाले पुँजी -कोर क्यापिटल) को ६० प्रतिशतसम्म पुनर्कर्जा लिन पाउने व्यवस्था गर्न लागिएको छ । जलविद्युत् लगायत अन्य केही पूर्वाधारका क्षेत्रमा पुनर्कर्जा मार्फत १० प्रतिशत ब्याजमा बैंक वित्तीय संस्थाले ऋण दिँदै आएका छन् । बैंक वित्तीय संस्थाले भने राष्ट्र बैंकबाट यस्तो ऋण ७ प्रतिशतमा पाउँछन् ।
राष्ट्र बैंकले वित्तीय संस्थाको उपस्थितिका आधारमा तयार गर्ने दुर्गम जिल्लाको नाममा पनि केही हेरफेर गर्ने तयारी गरेको छ । काठमाडौं छेउछाउका जिल्लामा शाखा खोल्ने र त्यसलाई आधार बनाएर काठमाडौंमा शाखा खोल्ने क्रम बढेपछि यस्तो गर्न लागिएको
छ । मोफसलमा दुई शाखा खोलेपछि काठमाडौंमा एक शाखा खोल्न पाउने प्रावधान छ ।
बैंक तथा वित्तीय संस्थाको मर्जरलाई प्रोत्साहन गरिरहेको राष्ट्र बैंकले मौदि्रक नीतिबाट केही कडाइ गर्न सक्ने सम्भावना छ । जसमा संस्थाको वित्तीय अवस्था, संस्थागत सुशासन, नियम/कानुन पालना, प्रवर्द्धक लगायत हेरेर मर्जरमा जानुपर्ने व्यवस्था आउन सक्ने राष्ट्र बैंकका एक उच्च अधिकारीले
बताए । 'मर्जरका विषयमा राष्ट्र बैंक बढी केन्दि्रत भएर मौदि्रक नीति आउन सक्छ,' उनले भने । सरकारलाई मर्जरबारे थप बुँदा उल्लेख गर्न सुझाव दिए पनि पूर्ण बजेट नआएपछि रोकिएको छ ।
मर्जरका कारण एक वर्षमा बैंक तथा वित्तीय संस्थाको संख्या २ सयमा र्झन सफल राष्ट्र बैंकले विस्तारै मर्जरलाई बाध्यकारी बनाउँदै लैजान खोजेको हो ।
संस्था घटाउन अन्तर्राष्ट्रिय संघसंस्थाको सुझावसँगै केही बैंक तथा वित्तीय संस्थामा देखिएको संस्थागत सुशासनको समस्याका कारण मर्जरलाई राष्ट्र बैंकले प्राथमिकतामा राखेको छ ।
राष्ट्र बैंकले यस वर्ष मूल्य वृद्धि ८ प्रतिशतको हाराहारीमा हुने अनुमान गरेको छ । 'मूल्यवृद्धिबारे स्पष्ट नभए पनि गत आर्थिक वर्षभन्दा बढी हुने देखिएको छ,' अर्का एक अधिकारीले भने । मनसुन ढिलो सुरु भएको, मल आपूर्ति सहज नभएको र भारतमा पनि अवस्था सन्तोषजनक नदेखिएकाले यस वर्ष खाद्यान्नको मूल्य बढ्ने देखिएको छ । गैरखाद्य वस्तुको मूल्यमा अमेरिकी डलरको अधिमूल्यन र पेट्रोलियम पदार्थको मूल्यले असर गर्ने देखिएको छ । गत वर्ष गैरखाद्य वस्तुको मूल्य बढे पनि खाद्यान्नमा घटेकाले केही राहत भएको थियो । तर यस वर्ष भने दुवैको बढ्ने सम्भावना देखिएकाले मूल्यवृद्धि बढ्ने भएको हो । मौदि्रक नीतिको एक प्रमुख उद्देश्य मूल्य वृद्धि भए पनि चालू वर्षमा महँगीले ठूलो चुनौती दिने देखिएको छ । यसपटक बैंक दर र अनिवार्य नगद मौज्दात-सीआरआर) लाई नचलाउने मनस्थितिमा केन्दि्रय बैंक देखिन्छ ।
साथै गत वर्ष अनुमान गरेको भन्दै कयौं गुणा बढी देखिएको शोधनान्तर बचत यस वर्ष पनि जारी रहने अनुमान राष्ट्र बैंकको छ । 'शोधानान्तर बचत जारी रहने तर वृद्धि दर गत वर्ष जस्तो नहुने देखिन्छ,' स्रोतले भन्यो ।दुई वर्षअघि जस्तै पूर्ण बजेट आउन नसकेको अवस्थामा राष्ट्र बैंकले समयमै मौदि्रक नीति सार्वजनिक गर्दै छ ।बैंक तथा वित्तीय संस्थाका छुट्टाछुट्टै संघले केही समयअघि राष्ट्र बैंकलाई मौदि्रक नीतिबारे सुझाव दिएका थिए ।