Sunday, December 4, 2011

जीडीपीको २० प्रतिशत रेमिटेन्स


काठमाडौं, मंसिर १८ - कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब २० प्रतिशत बराबरको रकम नेपालले रेमिटेन्सबाट पाउने गरेको एक अध्ययनमा देखिएको छ । यसले नेपाललाई कुल गार्हस्थ्य उत्पादनको तुलनामा धेरै रेमिटेन्स पाउने छैटौं मुलुक बनाएको छ । रेमिटेन्सलाई जीडीपीमा जोडिँदैन । जीडीपी भनेको मुलुकभित्र उपलब्ध वस्तु तथा सेवाको मूल्य जनाउने सूचक हो । रेमिटेन्सको रकमबाट अर्थतन्त्रमा ठूलो प्रभाव पर्ने १० मुलुकमध्ये नेपाल पनि एक हो ।
सबैभन्दा बढी ताजकिस्तानले कुल गार्हस्थ्य उत्पादनको करिब ३१ प्रतिशतको हाराहारीमा रेमिटेन्स पाइरहेको छ । विश्व बैंकले सार्वजनिक गरेको एक अध्ययन अनुसार नेपालले २०११ मा ४० करोड अमेरिकी डलरको हाराहारीमा रेमिटेन्स भित्र्याउनेछ । भारत विकासोन्मुख मुलुकमा सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा परेको छ । विश्व बैंकको तथ्यांकले २०११ मा भारतले ५८ अर्ब अमेरिकी डलर भित्र्याउने देखाएको छ । यसपछि चीनमा ५७, मेक्सिकोमा २४, फिलिपिन्समा २३, पाकिस्तान र बंगलादेशमा १२/१२ अर्ब डलर भित्रिने अध्ययनले देखाएको छ ।
विकासोन्मुख मुलुकमा रेमिटेन्सको आप्रवाह एक वर्षमा ८ प्रतिशतले बढेको विश्व बैंकले जनाएको छ । २०११ मा यी मुलुकले कुल ३ खर्ब ५१ अर्ब अमेरिकी डलर रेमिटेन्सका रूपमा भित्र्याउने उल्लेख छ । विश्व आर्थिक मन्दीपछि पुनः रेमिटेन्स भित्रिने क्रममा सुधार आएको अध्ययनमा देखिएको छ । २०११ मा रेमिटेन्सको आप्रवाह ७ देखि ८ प्रतिशत बढ्ने र २०१४ मा ४ खर्ब ४१ अर्ब पुग्ने अनुमान गरिएको छ ।
रेमिटेन्स आप्रवाहमा युरोप र अमेरिकाको बेरोजगारीले असर गर्ने सम्भावना पनि उत्तिकै देखिएको छ । बेरोजगारीका कारण सरकारले वैदेशिक रोजगारीमा रहेकालाई कडा नियम लगाउन सक्ने सम्भावना रहेको अध्ययनमा उल्लेख छ । बेरोजगारी दर बढ्दै गएपछि विकसित मुलुकका सरकारले विदेश नागरिकलाई भन्दा स्वदेशीलाई प्राथमिकतामा राखेर योजना ल्याउने देखिन्छ । यसका साथै घटबढ भइरहने विदेशी मुद्रा विनिमय दर र तेलको मूल्यमा रहेको अनिश्चितताले पनि रेमिटेन्सलाई असर गर्न सक्ने उल्लेख छ ।
बढ्दो रेमिटेन्ससँगै यसमा लाग्ने खर्च पनि कटौती हुँदै आएको अध्ययनमा देखिएको छ । विश्व बैंकका अनुसार २००८ मा ८ दशमलव ८ प्रतिशत रहेको रेमिटेन्स लागत २०११ को तेस्रो त्रैमासिकमा ७ दशमलव ३ प्रतिशतमा झरेको छ । अपि|mका र साना मुलुकमा भने यो अझै उच्च रहेको बैंकले जनाएको छ ।
अमेरिकी डलरको तुलनामा रेमिटेन्स भित्र्याउने मुलुकहरूको मुद्रा अवमूल्यन भएका कारण पनि वृद्धिदर कायम रहेको अध्ययनमा देखिएको छ । रेमिटेन्सले परिवारको क्रयशक्ति बढाउने भएकाले बढी मात्रामा आप्रवाह भइरहेको उल्लेख छ । नेपालमा पनि पछिल्लो तीन महिनाभित्र अमेरिकी डलर १० रुपैयाँले महँगिएको छ । चाडबाडका साथै अमेरिकी डलरको अधिमूल्यनका कारण नेपाल भित्रने रेमिटेन्स बढेको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको अतथ्यांक अनुसार आर्थिक वर्षको पहिलो तीन महिनामा २८ दशमलव ३ प्रतिशतले बढेर ७५ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।

Saturday, December 3, 2011

घरजग्गाको मूल्य घट्छ: राष्ट्र बैंक

काठमाडौ, मंसिर १७ - व्यवसायी र दलालको अनावश्यक चलखेलले राजधानी र पोखरामा घरजग्गाको मूल्य आकासिएर कारोबार रोकिएको अध्ययनले देखाएको छ । केही समयपछि यस्तो मूल्य कम हुँदै जाने समेत अध्ययनमा उल्लेख छ ।
अध्ययन अनुसार एक वर्षयता यी दुई बाहेक अन्य ६ सहरमा घरजग्गाको मूल्य १० देखि ३० प्रतिशतसम्म बढेको छ । राजधानी र पोखरामा भने मूल्य स्थिर छ । 'यी दुई स्थानमा मात्र कारोबार रोकिनु र अन्य स्थानमा जारी रहनुले मूल्य अनावश्यक रूपमा बढाइएको स्पष्ट हुन्छ,' गभर्नर युवराज खतिवडाले भने, 'मूल्य कम हुने बित्तिकै कारोबार सुरु हुन्छ ।'

राष्ट्र बैंकले प्रमुख ७ सहरमा अनुसन्धान गरेको थियो । अन्य सहरमा भने कारोबार र मूल्य दुवै बढेको देखियो । 'यी दुई सहर बाहेेक अन्यमा कारोबारलाई केही असर परेको छैन,' अध्ययनमा सामेल राष्ट्र बैंक स्रोतले भन्यो, 'एक वर्षयता मूल्य १० देखि ३० प्रतिशतसम्म बढेको देखिन्छ ।'
केन्द्रीय बैंकले नगर विकास, मालपोत कार्यालय र व्यवसायी बीच अनुसन्धान गरेको थियो । दुई कार्यालयबाट तथ्यांक र व्यवसायीबाट 'मनसायको अनुसन्धान' भएको थियो । 'तथ्यांकले अन्य सहरमा कारोबार बढ्नुका साथै आवश्यकता अनुसार मूल्य वृद्धि भइरहेको देखाएको थियो,' स्रोतले भन्यो, 'अनुसन्धानमा संलग्न अधिकांशले मूल्य घट्न सक्ने संकेत दिएका छन् ।' अनुसन्धानमा स्थानीय उद्योग वाणिज्य संघ र घरजग्गा व्यवसायीलाई पनि अनुसन्धानमा समेटिएको छ ।
'काठमाडौं र पोखरामा नाफाकै लागि मात्र कारोबार गर्नेको संख्या धेरै भएकाले अस्वाभाविक मूल्य वृद्धि भएर कारोबार रोकिएको देखियो,' उनले भने, 'मूल्य बढाउन सरकार र राष्ट्र बैंकले सहयोग गर्नुपर्ने मनसाय व्यवसायीमा देखियो ।'
दुई वर्षदेखि घरजग्गा बिक्री नभएर मूल्य समायोजन भइसकेको व्यवासायीले बताउँदै आएका छन् । तर अस्वाभाविक मूल्य भएकाले अझै कम हुनुपर्ने तर्क राष्ट्र बैंकको छ । 'व्यवसायीले मूल्य कम नगरे आफैं पनि घट्ने देखिएको छ,' स्रोतले भन्यो, 'काठमाडौं र पोखरामा पहिलेको जस्तै मूल्य वृद्धि हुने सम्भावना छैन ।'
नाफा मात्र लिने मनसायले घरजग्गाको खरिद बिक्री धेरै भएकाले दुई सहरमा सर्वसाधारण 'पर्ख र हेर को अवस्थामा रहेको अध्ययनले देखाएको छ । 'पैसा भए पनि मूल्य घट्छ भनेर पर्खने धेरै छन्,' अध्ययन स्रोतले भन्यो, 'यो घट्ने संकेत हो ।'
दुवै सहरमा एक वर्षयता मूल्य नघटेको अध्ययनमा उल्लेख छ । 'अति आवश्यक भएका मात्र केहीले मूल्य कम गरेर बिक्री गरेका छन्,' राष्ट्र बैंक स्रोतले भन्यो, 'अन्यले ब्याज तिरेर भए पनि बिक्री गरेका छैनन् ।'
दुई सहरका व्यवसायीले अझै मूल्य कम गरेर कारोबार नगरे समस्या बढ्दै जाने केन्द्रीय बैंकले जनाएको छ । 'अर्थशास्त्रको विद्यार्थीका रूपमा भन्दा मूल्य ३० प्रतिशतसम्म कम गरेर बिक्री गर्दा व्यवसायीकै जोखिम कम हुने देखिन्छ,' केन्द्रीय बैंकका अर्का एक अधिकारीले भने, 'मूल्य बढ्ला र फाइदा भएपछि बिक्री गर्छु भन्ने हो भने व्यवसायीकै जोखिम बढ्छ ।' कारोबार हुन नसकेकाले व्यवसायी घाटामा गएको र कारोबार सुरु भएको केही समयभित्रै सकारात्मक प्रभाव देखिने केन्द्रीय बैंकले जनाएको छ । 'घर जग्गाबाटै करोडौं कमाएका व्यवसायीले अहिले केही घाटा खाएर कारोबार गर्दा फाइदै हुन्छ,' उनले भने, 'फाइदाकै आशामा बस्ने हो भने घाटा दोब्बर हुन सक्छ ।' गभर्नर खतिवडा पनि घरजग्गा व्यवसायीले केही घाटा भए पनि कारोबार गर्नुपर्ने बताउँछन् । 'जोखिम बढी भएको क्षेत्रमा कारोबार गरेपछि घाटा सहन पनि तयार हुनुपर्छ,' उनले भने, 'घाटा नचाहेको भए घरजग्गा कारोबार नगरेर बैंकमा पैसा राखेको भए हुन्थ्यो ।'
क्रयशक्ति बढ्दा पनि घरजग्गा कारोबारमा शिथिलता आएकाले मूल्य घट्न जरुरी रहेको खतिवडाले बताए । 'रेमिटेयान्सबाट भित्रिने रकम बढ्नुका साथै बैंकले पनि लगानी गर्न सक्ने अवस्था छ,' खतिवडाले भने, 'यस्तो अवस्थामा मूल्य केही घटाएर बिक्री गर्दै अवसरको लाभ लिनुस् ।' घरजग्गाको कारोबार घटेर बैंक तथा वित्तीय संस्थालाई घाटा नभएको गभर्नरले बताए । 'निष्त्रिmय कर्जा केही बढेको र नाफा केही घटेको देखिन्छ,' उनले भने, 'यसले समस्या ल्याएको भन्न मिल्दैन ।' बैंक तथा वित्तीय संस्था घाटामा गएर प्रणालीलाई असर गरे मात्र समस्या हुने उनी बताउँछन् । 

Friday, December 2, 2011

खाद्य संस्थानमा तीन कार्यकारी प्रमुख

 काठमाडौ, मंसिर १६ - खाद्य संस्थानले कार्यकारी प्रमुख तीन जना पाएको छ । सरकारले नयाँ महाप्रबन्धक नियुक्ति सुरु गरेपछि पुरानाले अदालतबाट थमौती पाएको र दुवै अनुपस्थितिमा निमित्त तोकिएपछि तीन जना प्रमुख भएका हुन् ।
वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कार्यरत महाप्रबन्धक हरिनारायण साहको 'काम सन्तोषजनक नभएको' जिकिरसहित स्पष्टीकरण मागेका थिए । उनलाई हटाउने उद्देश्यसहित स्पष्टीकरण मागिएको थियो । साहले स्पष्टीकरण दिनुको सट्टा आफूलाई हटाउन खोजेको दाबीसहित थमौती गर्नुपर्ने रिट निवेदन लिएर सर्वाेच्च अदालत गएका थिए । अदालतले यथावत् रूपमा काम गर्न दिनू भन्ने अन्तरिम आदेश दियो । आदेश पाएपछि कर्मचारीले उनलाई प्रवेश गर्न दिएनन् ।
उता अदालतको आदेश आउनुपूर्व मन्त्रिपरिषद्को बैठकले लेकेन्द्र शाहीलाई मंसिरको पहिलो साता प्रमुख नियुक्त गरिसकेको थियो । तर अदालतको आदेशका कारण नयाँ महाप्रबन्धक शाहीले नियुक्ति पत्र पाउन सकेनन् । दुवैको अनुपस्तिथिका कारण काम कारबाही अघि नबढेको भन्दै मन्त्रालयले कार्यकारी अधिकारी राजेन्द्रप्रसाद बाँस्कोटालाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएको हो ।
साह आर्थिक अनियमिततामा संलग्न रहेको र छानबिन हुनुपर्ने मागसहित माओवादी र एमाले निकट कर्मचारी संगठनले प्रवेश रोक लगाएका हुन् । खाद्य महाप्रबन्धकमा २०६६ साउनदेखि २ वर्ष जागिर खाइसकेका साहको म्याद सकिएपछि तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री उपेन्द्र यादवले साउन १६ मा पुनः थप गरेका थिए ।
संस्थानका कर्मचारीहरूले आर्थिक अनियमिमता संलग्न रहेको कारण साहलाई काम गर्न दिन नहुने अडान राखेका छन् । 'साहको नियुक्ति भएदेखि संस्थानलाई धेरै घाटा लागेको छ,' खाद्य संस्थान कर्मचारी संघका अध्यक्ष बलराम आचार्यले भने, 'उनीविरुद्ध १९ वटा मुद्दा सबैमा जानकारी गराइसकेका छौं ।' साह नियुक्त हुनु अघिको वर्षसम्म संस्थानले दसैंको समयमा खसीबोका बिक्री गरेर नाफा कमाउँदै आएको थियो । उनी नियुक्त भएकै वर्षदेखि बढी रकममा खरिद गरेर सस्तोमा संस्थाले बिक्री गर्न थालेको कर्मचारी बताउँछन् ।
उनै महाप्रबन्धक भएको समयमा संस्थानले बजारभन्दा बढी मूल्यमा धान खरिद गरी भण्डार गरेको र ढुवानीमा पनि धेरै कमिसन लिने गरेको कर्मचारी आरोप लगाउँछन् । कांग्रेस निकट युनियनका अध्यक्ष शिशिरकुमार झाले साहको प्रवेश रोकमा समर्थन नभए पनि छानबिन हुनुपर्ने बताउँछन् । 'बिनासूचना कसरी एक्कासि विरोध सुरु भयो त्यसलाई पनि ध्यानमा राख्नुपर्छ,' उनले
भने । महाप्रबन्धकलाई लगाइएको आरोपमा 'राजनीतिक अभीष्ट' रहेको उनी बताउँछन् ।
महाप्रबन्धक साह भने मन्त्रीले राजनीतिक हस्तक्षेप गरेको बताउँछन् । 'दादागिरी शैलीमा मन्त्रीले काम गरे,' उनले भने, 'स्पष्ट कारण र आधार बेगर स्पष्टीकरण सोधेर हटाउन खोजेका हुन् । अदालतको आदेश समेत अटेर गरी मलाई काम गर्न दिइएको छैन ।' उनले राजनीतिक आग्रहकै कारण कर्मचारीहरूले आफूलाई गलत आरोप लगाएको दाबी गरे ।
संस्थानमा ४ सय ५९ कर्मचारी छन् । संस्थानले तीन दिनपछि ३७ औं वाषिर्कोत्सव मनाउँदै छ ।
मन्त्री भट्टले अन्य दुई वटा संस्थानका कार्यकारी प्रमुख हटाए पनि अदालतले थमौती दिएको छ । उनले स्पष्टीकरण सोधी हटाएका नेसनल ट्रेडिङ र गोदाम पारवाहन लिमिटेडका महाप्रबन्धक पनि अदालतको अन्तरिम आदेश आएपछि यथावत् रूपमा काम गरिरहेका छन् । निर्यात प्रवर्द्धन केन्द्रबाट हटेका प्रमुखले अन्तरिम आदेश ल्याउन हालेको मुद्दा भने खारेज भएको थियो ।

Thursday, December 1, 2011

राष्ट्र बैंकले साढे ३ अर्बको विकास ऋणपत्र जारी गर्ने


काठमाडौ, मंसिर १५ - राष्ट्र बैंकले ३ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र सार्वजनिक गर्ने तयारी गरेको छ । घट्दो सेयर बजार, घरजग्गाको सुस्तता लगायतले लगानी वातावरण नभएको अवस्थामा ऋणपत्र उपयुक्त विकल्प हुने बैंकको ठहर छ । सरकारी ऋणपत्रलाई जोखिमरहित र उच्च प्रतिफल दिने लगानीको औजार मानिन्छ ।

प्रक्रिया पूरा गरेर ऋणपत्र जारी गर्नुअघि राष्ट्र बैंकले अनुमतिका लागि बुधबार अर्थ मन्त्रालयमा प्रस्ताव पठाइएको छ । 'सरकारको अनुमतिका लागि बुधबार पठाएका छौं,' बैंक स्रोतले भन्यो, 'स्वीकृत भएपछि थप जानकारी दिन सकिने छ ।'
राष्ट्र ऋण उठाउने विधेयक अन्तर्गत विकास ऋणपत्र जारी हुने भएकाले मन्त्रालयको अनुमति आवश्यक हुन्छ । ऋणपत्रबाट उठेको रकम सरकारले विभिन्न विकास निर्माणका काममा खर्च गर्ने गर्छ ।
बैंकिङ क्षेत्रको तरलता -लगानीयोग्य पुँजी) प्रयोगको अवस्था नरहेको र लगानीकर्ताले पनि वातावरण नरहेको गुनासो गरिरहेको समयमा आउन लागेको ऋणपत्रको 'आवश्यकता भन्दा बढी माग' हुने अपेक्षा राष्ट्र बैंकले गरेको छ ।
२ वर्ष अवधि रहने ऋणपत्रको ब्याजदर बारे सोमबारबाट राष्ट्र बैंकमा छलफल सुरु भएको थियो । ९ प्रतिशत ब्याजदर हुने गरी ऋणपत्र प्रस्ताव गरिन लागेको छ । ऋणपत्रको ब्याजदर सामान्यतया वाषिर्क मुद्रास्फीति भन्दा १ प्रतिशत बढी राख्ने गरिन्छ । 'यस वर्षको ९ र आगामी वर्षको ७ प्रतिशत मुद्रास्फीति हुने प्रक्षेपणका आधारमा औसत मुद्रास्फीति ८ प्रतिशत हुन्छ,' स्रोतले भन्यो, 'अर्थशास्त्रको सिद्धान्त अनुसार यसमा १ प्रतिशत थपेर ब्याजदर तोकिन्छ ।'
ऋणपत्रको बिक्रीलाई प्रतिस्पर्धी र अप्रतिस्पर्धी गरी दुई भागमा बाँड्ने तयारी छ । प्रतिस्पर्धीमा बैंक तथा वित्तीय संस्था र अप्रतिस्पर्धीमा अन्य संस्था सहित व्यक्तिगत लगानीकर्ता हुने छन् । बैंक तथा वित्तीय संस्थालाई ४० प्रतिशत र अर्को समूहलाई ६० प्रतिशतसम्म ऋणपत्र खरिद गर्न दिने तयारी छ ।
प्रतिफल र कम जोखिमका आधारमा सरकारी ऋणपत्रको खरिद गर्न व्यक्तिगत लगानीकर्ता निकै उत्साही हुने गरेका छन् । बैंक वित्तीय संस्थाले पनि वैधानिक तरलता अनुपातलाई व्यवस्थापन गर्न पनि यसको प्रयोग गर्न सक्छन् । ब्याज आउने मात्र नभएर धितोका रूपमा प्रयोग गरेर ऋण पनि लिन सकिने भएकाले बैंक तथा वित्तीय संस्थामा यसको आकर्षण रहेको हो ।
'३ अर्ब ५० करोड मात्र नभएर धेरै ठूलो रकममा निकालिए पनि यसको बिक्री सजिलै हुन्छ,' स्रोतले भन्यो, 'त्यसैले निष्कासनको छोटो समयमै बिक्री भइसक्ने देखिन्छ ।'
पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा रहेको तरलता प्रयोग हुन सकेको छैन । उच्च ब्याजदरका कारण ऋणी मर्कामा रहेको बताइरहेका छन् भने बैंकहरू लगानीको क्षेत्र संकुचन भएको बताउँछन् । अर्कोतर्फ साढे ८ प्रतिशतले बढिरहेको मूल्य वृद्धिका कारण सेयर बजारमा लगानी गर्नेहरू पनि थप जोखिम लिन चाहिरहेका छैनन् । सर्वसाधारणलाई लगानीको विकल्प नभएकाले बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धिको क्रम बढेको छ । लगानी बढाउन नसक्नुका साथै निक्षेप वृद्धि हुने क्रम जारी रहेकाले बैंक तथा वित्तीय संस्थाको नाफामा पनि असर गरिरहेको छ ।
बैंकहरूले सर्वसाधारणलाई मात्र नभएर अन्य औजारमा लगानी पनि गर्ने गर्छन् । बजारमा तरलता बढी भएपछि राष्ट्र बैंकले विभिन्न औजार जारी गरेर पैसा खिच्ने गर्छ । यस्तो औजारमध्ये रिभर्स रिपो राष्ट्र बैंकले यस वर्ष जारी गरेको छैन । अन्य औजार ट्रेजरी बिल्स र अन्तर बैंक कारोबारमा ब्याजदर औसत १ प्रतिशत मात्र छ ।

शोधनान्तर बचत ३३ अर्ब नाघ्यो

 काठमाडौ, मंसिर १५ - देश भित्रिने र बाहिरिने रकमबीचको फरक शोधनान्तर बचत असोज मसान्तमा ३३ अर्ब रुपैयाँ नाघेको छ । गत फागुनमा साढे २३ अर्ब रुपैयाँले ऋणात्मक रहेको शोधनान्तर स्थितिमा रेमिट्यान्स, डलर अधिमूल्यन र निर्यातमा भएको सामान्य वृद्धिले सुधार भएको हो । गत वर्षको सोही अवधिमा यो ६ अर्ब ८८ करोड रुपैयाँले घाटा थियो ।
'डलरको मूल्य वृद्धि, दसैंका बेला वृद्धि भएको रेमिट्यान्स आप्रवाह र निर्यातले शोधनान्तरमा सुधार देखिएको हो,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने । रेमिट्यान्स यस वर्षको पहिलो ३ महिनामा २८ दशमलव ३ प्रतिशतले बढेर ७५ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा यो १४ दशमलव २ प्रतिशतले बढेको थियो ।
पहिलो ३ महिनामा २ अर्ब २० करोड रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी प्राप्त भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी बापत १८ करोड रुपैयाँ मात्र प्राप्त भएको थियो । रुपैयाँको तुलनामा अमेरिकी डलरको मूल्य १० रुपैयाँसम्म बढेको छ । एक वर्षको अवधिमा मूल्य वृद्धिमा भने कुनै परिवर्तन आएको छैन । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वाषिर्क बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८ दशमलव ९ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यो ८ दशमलव ९ प्रतिशत नै
थियो । सबैभन्दा बढी खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि भएकाले मुद्रास्फीतिमा चाप परेको हो । आर्थिक वर्ष २०६८/६९ को तीन महिनासम्ममा कुल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६ दशमलव ९ प्रतिशतले बढेको छ । यो १८ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा १६ अर्ब ८७ करोड रुपैयाँको निर्यात थियो । असोज मसान्तमा विदेशी विनिमय सञ्चिति ३ खर्ब २५ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । २०६८ असार मसान्तसम्म २ खर्ब ७२ अर्ब १० रोड रुपैयाँबाट १९ दशमलव ५ प्रतिशतले बढेको हो ।
निर्यातमध्ये भारततर्फ सबैभन्दा ठूलो वृद्धि देखिएको छ । समीक्षा अवधिमा भारततर्फको निर्यात १२ दशमलव १ प्रतिशतले बढेको छ । योे निर्यात अघिल्लो वर्षको सोही अवधिमा ११ दशमलव ९ प्रतिशतले बढेको थियो । अन्य मुलुकतर्फको निकासीमा नकारात्मक अवस्था जारी छ । यस आर्थिक वर्षको तीन महिनामा अन्य मुलुकतर्फको निकासी १ दशमलव ३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो १ दशमलव ८ प्रतिशतले घटेको थियो । भारतमा जुटको सामान, जस्ता पाता, लत्ताकपडा, कपर वायर रड, तार र अलैंचीको निर्यात बढेको छ ।
अन्य मुलुकमा भने दाल, हस्तकलाका सामान, जडिबुटी र छालाका तयारी सामानको निर्यातमा कमी आएको छ । निर्यात मात्र नभएर आयात पनि बढ्दै गएको छ । समीक्षा अवधिमा कुल वस्तु आयात ७ दशमलव ८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । यो १ खर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा आयात ५ दशमलव १ प्रतिशतले बढेर ९२ अर्ब ९८ करोड रुपैयाँ पुगेको थियो ।
भारतबाट हुने आयात अघिल्लो वर्षभन्दा कम भएको छ । यस आर्थिक वर्षको तीन महिनामा भारतबाट हुने आयात ० दशमलव ६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो ३२ दशमलव ७ प्रतिशतले बढेको थियो । अन्य मुलुकबाट हुने आयातमा भने वृद्धि आएको छ । गत वर्षको तीन महिनामा २७ दशमलव ४ प्रतिशतले घटेको अन्य मुलुकबाट आयात यस वर्षको सोही अवधिमा २३ दशमलव ४ प्रतिशतले बढेको छ । अन्य मुलुकबाट विशेषगरी सुन तथा चाँदी, भटमासको कच्चा तेल, रासायनिक मल, विद्युतीय सामान र अन्य मेसिनरी तथा पार्टस्को आयातमा वृद्धि भएको छ ।
निर्यातमा देखिएको वृद्धिसँगै आयात पनि बढेकाले कुल वस्तु व्यापार घाटामा चाप परेको छ । यो तीन महिनामा ८ प्रतिशतले बढेर ८२ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।