Saturday, May 14, 2011

राष्ट्र बैंकले वित्तीय संस्था गाभ्न निर्देशन दिन सक्ने

रोशन अधिकारी 
काठमाडौ, वैशाख ३० - एकै समूहका व्यक्ति, र्फम वा कम्पनीले एकभन्दा बढी वित्तीय संस्थालाई एक अर्कामा गाभिन प्रोत्साहित गर्ने गरी राष्ट्र बैंकले विनियमावली सार्वजनिक गरेको छ । सीधै बाध्य गर्ने उल्लेख नभए पनि विनियमावलीका प्रावधानबाट राष्ट्र बैंकले यस्ता संस्थालाई वित्तीय अवस्था हेर गाभिन निर्देशन भने दिन सक्नेछ ।
'यसले सकभर गाभिन प्रोत्साहन गर्ने नीति लिएको छ,' केन्द्रीय बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने, 'त्यसले नभए सुझाव हुँदै आदेशसम्म दिन सकिने व्यवस्था छ ।' एकै समूहले विभिन्न संस्था सञ्चालन गरे अस्वस्थ्य प्रतिस्पर्धा हुन सक्ने भएकाले यस्तो व्यवस्था गरिएको उनले बताए । 

मस्यौदा बनाउँदादेखि नै राष्ट्र बैंकले विभिन्न संस्थामा संलग्न एकै परिवारका सदस्यको खोजी सुरु गरेको थियो । अध्ययनबाट फरकफरक वाणिज्य बैंकमा पनि पारिवारिक लगानी देखिएको स्रोतले बतायो । 'केही वाणिज्य बैंकको अर्को वाणिज्य बैंकसँगै विकास बैंकको फाइनान्ससँग र धेरै फाइनान्सको अर्को फाइनान्ससँग सम्बन्ध रहेको देखिन्छ,' राष्ट्र बैंकको उच्च स्रोतले भन्यो, 'हामी थप अध्ययन गरिरहेका छौं ।'
सबैभन्दा बढी फाइनान्स कम्पनीमा एकै परिवारका सदस्यको विभिन्न संस्थामा संलग्नता देखिएको उनले बताए । 'नक्कली व्यक्ति खडा गरेर पनि विभिन्न संस्थामा प्रवर्द्धक भएको प्रारम्भिक अध्ययनमा देखिएको छ,' स्रोतले भन्यो, 'प्रमाणित भए सुरुमा सल्लाह र पछि निर्देशनमार्फत मर्जरमा पठाउँछौं ।'
राष्ट्र बैंकले क, ख र ग वर्गका वित्तीय संस्थालाई एक अपासमा गाभिन सक्ने प्रावधान बनाएको छ । घ वर्गका लघुवित्त संस्थाले भने सोही वर्गकासँग मात्र गाभिन पाउने छन्् ।
यसबाहेक कारबाहीमा परेका र खराब ऋणको मात्रा लामो समयसम्म घटाउन नसक्नेलाई पनि गाभिन निर्देशन दिन सकिने विनियमावलीमा उल्लेख छ । विनियमावली अनुसार लगातार ३ वर्ष निष्त्रिmय कर्जा अनुपात ५ प्रतिशतभन्दा बढी भए वा तीन पटकभन्दा बढी शीघ्र सुधारात्मक कारबाहीमा परे मर्जरमा जान निर्देशन दिन सकिनेछ । केही कम्पनीहरू दुईपटकसम्म यस्तो कारबाहीमा परिसकेका छन् । पुँजी पर्याप्तता अनुपात पूरा गर्न नसके शीघ्र सुधारात्मक कारबाही लगाउने गरिन्छ ।
प्रणालीगत जोखिम बढेर दायित्व भुक्तानी गर्न नसके, वित्तीय प्रणालीमा नकारात्मक प्रभाव देखिए वा गाभिएपछि वित्तीय प्रणाली सुधार हुने भए निर्देशन दिन सकिने विनियमावलीमा उल्लेख छ ।
प्रोत्साहन गर्नका लागि विभिन्न छुट दिने व्यवस्था पनि विनियमावलीमा गरिएको छ । गाभिएका वित्तीय संस्थामा तोकिएको बमोजिम पुँजी संरचना कायम गर्न केहि छुट दिने तयारी गरिएको छ । यसबाहेक संस्थापकको सेयर स्वामित्व तोकिएको भन्दा बढी भएका कम गर्नका लागि ५ वर्षको समय दिने उल्लेख छ । यस्तो सेयर धितो राखी ऋण लिएको भए सीमामा ल्याउन थप तीन वर्ष दिन सकिने जनाइएको छ । गाभिएपछि विपन्न वर्ग कर्जा कम भएमा तीन वर्षभित्र सीमामा ल्याउन सकिनेछ । शाखा विस्तार गर्नैपर्ने न्यूनतम पहुँच भएका क्षेत्रमा पनि तीन वर्षसम्म शाखा नखोले छुट पाइनेछ ।
गाभिने संस्थालाई स्तरोन्नति/कार्यक्षेत्र विस्तार, तरलता सुविधा, पुनर्कर्जा लगायतमा पनि सुविधा दिने उल्लेख छ । गाभिँदा कुनै सम्पत्तिमा नोक्सान हुन गएमा सो नोक्सानमा कर छुट, अन्य करसम्बन्धी छुट तथा नेपाल सरकारबाट हुन सक्ने अन्य छुटका लागि राष्ट्र बैंकले सरकारसँग आवश्यक सिफारिस गर्न सक्ने विनियमावलीमा उल्लेख छ ।

Wednesday, May 11, 2011

नागरिक लगानी कोषको १६ करोड गायब

रोशन अधिकारी
काठमाडौ, वैशाख २८ - नेपाल सेयर मार्केट्स (एनएसएम) फाइनान्सले नागरिक लगानी कोषको १६ करोड निक्षेप गायब गरेको खुलासा भएको छ । राष्ट्र बैंकले गरेको अनुसन्धानमा नागरिक लगानी कोषको २० करोड मात्र निक्षेप देखिन्छ । कोषका अनुसारले उसले एनएसएममा ३६ करोड रुपैयाँ जम्मा गरेको छ ।
 'पछिल्लो तथ्यांकअनुसार हाम्रो ३६ करोड रुपैयाँ एनएसएममा जम्मा गरेको देखिन्छ,' कोषका वित्त विभाग प्रमुख सुशील अर्यालले भने । एनएसएमका पूर्वअध्यक्ष योगेन्द्र श्रेष्ठले विभिन्न अनियमितता गरेको देखिएपछि केन्द्रीय बैंकले गरिरहेको अध्ययनबाट पछिल्लो क्रममा यो तथ्य बाहिर आएको हो ।
'कोषको कति निक्षेप छ भनेर जानकारी लिँदै छौं,' राष्ट्र बैंकको उच्च स्रोतले भन्यो, 'खातामा २० करोड मात्र देखिएको छ ।' यो बाहेकको रकम हकप्रद सेयर खरिद गर्न प्रयोग भएको हुन सक्ने शंका राष्ट्र बैंकको छ । 'यो रकम पनि हकप्रद सेयर खरिद गर्न प्रयोग भएको हुन सक्छ,' स्रोतले भन्यो, 'बिमा संस्थानको २० करोड पनि त्यही प्रयोजनका लागि प्रयोग भएको देखिन्छ ।'
मुद्दती खाताको म्याद नवीकरण गर्दा संस्थाका तत्कालीन अध्यक्ष श्रेष्ठले 'हकप्रद सेयर खरिद गर्न प्रयोग गर्ने' भनी हस्ताक्षर गरेका छन् । सर्वसाधारण र संस्थागत निक्षेपकर्ताको रकम यसरी आपmनो व्यक्तिगत स्वार्थमा उपयोग गरेका कारण श्रेष्ठको राहदानी जफत गरी बैंकिङ कसुर ऐनअनुसार कारबाही गर्नुपर्ने निर्णय केन्द्रीय बैंकले गरेको छ ।
४२ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले हकप्रद जारी गरेर २ अर्ब ३ करोड रुपैयाँ पुर्‍याइएको छ । हालसम्मको अनुसन्धानबाट १ अर्ब ५७ करोड रुपैयाँ निक्षेप हकप्रद सेयर खरिद गर्नका लागि नक्कली खाता बनाई झििकएको देखिन्छ । 'कुनै पनि धितो नराखी नागरिकताको भरमा ऋण दिएको देखिन्छ,' स्रोतले भन्यो, 'अध्यक्षले सीधै तोक लगाएर कर्मचारी र सञ्चालक समितिलाई समेत जानकारी नदिई अनियमितता गरेको देखिन्छ ।' संस्थागत निक्षेपकर्ता बिमा संस्थानको २० करोड पनि अध्यक्षले ठाडो आदेश दिएर हकप्रद खरिद गर्न प्रयोग भएको छ । संस्थानलाई भने मुद्दती खाताको रसिद थमाइएको छ । हकप्रद सेयर खरिद गर्न प्रयोग गरिएको रकम निक्षेपमा जम्मा भने देखिँदैन ।
केन्द्रीय बैंकका अनुसार श्रेष्ठले अनियमितता गरेको रकम २ अर्बभन्दा बढी छ । अनियमितता गर्ने श्रेष्ठको राहदानी जफत, सम्पत्ति रोक्कालगायतको कारबाही सुरु भइसकेको छ । उनको पारिवारको कम्पनीमा ४० प्रतिशत लगानी छ । यसबाहेक पनि नातेदारको लगानी हुन सक्ने अनुमान गरिएको छ । श्रेष्ठले सेयर मार्केट्सबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा पनि करोडौं लगानी गरेका छन् । संस्थाको वास्तविक अवस्था पत्ता लगाउन केन्द्रीय बैंकले डिउ डिलिजेन्स अडिट -लेखापरीक्षण) गर्न निर्देशन दिएको छ । 'सञ्चालक समितिलाई विशेषज्ञमार्फत डिडिए गर्न निर्देशन दिइएको छ,' केन्द्रीय बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने ।
वास्तविक वित्तीय अवस्था पत्ता लगाउनका लागि यस्तो लेखापरीक्षण गर्ने गरिन्छ । अनियमितता देखिएपछि सबै तथ्य बाहिर ल्याएर कारबाही गर्न पनि यस्तो अध्ययनले सहयोग गर्छ ।
एनएसएमले जारी गरेको सूचनाअनुसार निक्षेपकर्ताको ३ अर्ब २५ करोड रुपैयाँ जम्मा छ । ऋण प्रवाह भएको मध्ये २ अर्ब ७५ करोड उठ्न सक्ने उल्लेख गरिएको छ । श्रेष्ठले गरेको अनियमितताबारे छानबिन भइरहेको जनाउँदै फाइनान्सले श्रेष्ठको सम्पत्ति बिक्री र कर्जा असुलीबाट ४ अर्ब ५५ करोड रुपैयाँ उठ्न सक्ने दाबी गरेको छ ।
शाखा खोल्न निर्देशन
काठमाडौं -कास)- नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स (एनएसएम) र गोर्खा विकास बैंकले बिनाकारण सबै शाखा बन्द गरेपछि मंगलबार केन्द्रीय बैंकले खोल्न निर्देशन दिएको छ । यी दुवै संस्थामा अध्यक्षलगायत केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरेका कारण कारबाही गरिएको छ । 'सबै शाखा खोल्न निर्देशन दिएका छौं,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने ।
गोर्खाले नयाँ सञ्चालक समिति गठन भइसकेपछि केही समय कार्यालय खोलेर फेरि बन्द गरेको छ । एनएसएमले राष्ट्र बैंकको अनुसन्धान सुरु भएपछि शाखा बन्द गरेको छ । 'शाखा बन्द गर्न वा खोल्न केन्द्रीय बैंकको अनुमति लिनुपर्छ,' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, 'दुवैले राष्ट्र बैंकलाई अनुमतिबिना शाखा बन्द गरेकाले कानुन नमानेको देखिन्छ ।' गोर्खा विकास बैंकले नयाँ सञ्चालक समिति गठन गरेपछि एक साता बैंक खोली बन्द गरेको छ । स्रोतका अनुसार गोर्खाले एक सातामा सर्वसाधारणलाई २५ करोडको हाराहारीमा निक्षेप फिर्ता दिएको थियो ।
बैंकले प्रस्तुत गरेको पछिल्लो विवरणअनुसार २० करोडभन्दा बढीको तरलता बैंकसँग छ । राष्ट्र बैंकले सूचना पठाएपछि सेयर मार्केट्सले भने मंगलबार दिउँसो ३ बजेदेखि केन्द्रीय कार्यालय खोलेर निक्षेप फिर्ता दिन थालेको थियो ।
'खातामा भएको सबै पैसा फिर्ता दिएनन्,' फाइनान्सका एक निक्षेपकर्ताले भने ।  केन्द्रीय बैंकलाई जानकारी नदिई शाखा बन्द गरे नसिहतदेखि इजाजत खारेजसम्मको कारबाही गर्न सकिन्छ । 'प्रकृति हेरेर स्पष्टीकरणदेखि जरिवानासम्मको काम गर्छौं,' राष्ट्र बैंक स्रोतले भन्यो ।

बजारमा नयाँ सेयर आउने क्रम घट्यो

कान्तिपुर संवाददाता
काठमाडौ, वैशाख २७ - घट्दो सेयर बजारले लगानीकर्तालाई मात्र नभएर सेयर जारी गर्ने तयारीमा रहेका कम्पनीलाई पनि असर गरेको छ । बजारकै बियरिस प्रवृत्तिका कारण गत वर्षको तुलनामा सेयर -प्राथमिक र हकप्रद) निष्कासन गर्ने कम्पनी र सेयर संख्या दुवै घटेको छ । 

धितोपत्र बोर्डको तथ्यांकअनुसार आर्थिक वर्षको १० महिनामा प्राथमिक निष्कासनका ५७ दशमलव १४ प्रतिशतले घटेको छ । यो समयमा ९ कम्पनीले ७६ करोड १० लाख रुपैयाँ बराबरका सेयर निष्कासन गर्न अनुमति लिएका छन् । गत वर्षको सोही अवधिमा २१ कम्पनीले दुई अर्ब १२ करोड रुपैयाँ बराबरका सेयर निष्कासन गर्न अनुमति लिएका थिए ।
हकप्रद सेयर निष्कासन गर्ने कम्पनी बढे पनि संख्या भने घटेको छ । धितोपत्र बोर्डको पछिल्लो तथ्यांकअनुसार २८ कम्पनीले पाँच अर्ब २६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासनका लागि अनुमति लिएका छन् । अघिल्लो वर्ष २२ कम्पनीले सात अर्ब १८ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न अनुमति लिएका थिए ।  हकप्रद जारी गरी चुक्ता पुँजी वृद्धि गर्नुपर्ने अधिकांश कम्पनीले प्रक्रिया पूरा गरिसकेकाले रकम घटेको विश्लेषक बताउँछन् । 'राष्ट्र बैंकको निर्देशनअनुसार अधिकांश कम्पनीले चुक्ता पँुजी वृद्धि गरिसकेकाले यस आर्थिक वर्षमा कम हकप्रद जारी भएको हो,' विश्लेषक रवीन्द्र भट्टराईले भने ।
अर्कोतर्फ नयाँ बैंक तथा वित्तीय संस्था थपिने क्रम रोकिएकाले पनि सेयर जारी हुने क्रममा गिरावट आएको देखिन्छ । घटिरहेको बजारका कारण लगानीकर्ताको निराशा, तरलता अभावलगायतका कारणले निष्कासन भएको सेयर पनि बिक्री हुने क्रम घटेको छ । आर्थिक वर्षमा हकप्रद जारी गर्न अनुमति लिनेमध्ये सानिमा विकास बैंकले सबैभन्दा ठूलो रकमको निष्कासन गरेको थियो । वाणिज्य बैंक बन्ने तयारीमा रहेको सानिमाले एक अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रदका लागि अनुमति लिएको थियो ।

सजिलै उम्कन्छन् बैंकिङ कसुर गरेका व्यक्ति

रोशन अधिकारी
काठमाडौ, वैशाख २७ - बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको रकम हिनामिना गरी लाभ लिनेहरूलाई राष्ट्र बैंकले सिफारिस गरेपनि कारबाही हुने गरेको छैन । कसुर हेरी जरिवानादेखि जेल चलानसम्म गर्न सकिने कानुनी प्रवाधान छ । तर हालसम्म ठूलै बैंकिङ कसुर गर्ने व्यक्ति पनि जेल चलान भएको उदाहरण छैन । 

२०६७/६८ मा राष्ट्र बैंकले विभिन्न विकास बैंक र फाइनान्स गरी १० वटालाई कारबाही भएको जनाएको छ । जसमा तीन जना सञ्चालक/ व्यवस्थापक पदबाट हटाइएका छन् । यसबाहेक कारबाहीमा परेकालाई १५ लाख २५ हजार जरिवाना गरिएको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, राष्ट्र बैंक ऐन र बैंकिङ कसुर लगायत कानुनी प्रावधानमा रहेर विभिन्न कारबाही गर्न सकिने व्यवस्था छ । 'बैंकिङ ऐनले गभर्नरलाई जरिवाना गर्ने अधिकार दिएको छ,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवाली भन्छन्, 'तोकिएको जरिवाना रकम उठ्ने पनि गरेको छ ।' पक्राउ पुर्जी जारी गर्ने, सम्पत्ति रोक्नेलगायत कारबाही गरिदिन भने केन्द्रीय बैंकले अन्य निकायलाई अनुरोध मात्र गर्न सक्छ ।
बैंकिङ कसुरमा कारबाही गर्ने निकाय राष्ट्र बैंक नभएकाले अन्यमार्फत उम्किरहेको हुन सक्ने उनी बताउँछन् । 'हामीले अर्थ मन्त्रालयलाई लेखरे पठाउने हो,' उनले भने, 'कारबाहीकै अधिकार कुनै पनि मुलुकमा केन्द्रीय बैंकलाई दिइएको हुँदैन ।' बैंकिङ क्षेत्रमा सबैभन्दा ठूलो अनियमितता पछि खारेज भएको नेपाल विकास बैंक डुबाउने कुनै व्यक्तिले पनि कारबाही भोग्नु परेको छैन । अनुसन्धानको क्रममा दोषी देखिएका ४० भन्दा बढी व्यक्तिलाई पक्राउ गर्न राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई अनुरोध गरेको थियो । केही पक्राउ परे पनि सोहि दिन रिहा भएका थिए । यसपछि खारेजीको प्रक्रियामा गएको सम्झना फाइनान्सका कुनै पदाधिकारी पक्राउ परेका छैनन् ।
एक वा दुई व्यक्तिले गरेको अनियमितताका कारण हजारौं सर्वसाधारणको रकम जोखिममा पर्दा समेत दोषी सजिलै उम्किएका उदाहरण अनेकौं छन् । राष्ट्र बैंकले सम्पत्ति रोक्का गरे पनि त्यसबाट असुल उपर गर्ने काम भने भएको छैन । 'सबैभन्दा ठूलो समस्या राजनीतिक हस्तक्षेपको हो,' केन्द्रीय बैंकका एक उच्च अधिकारीले भने, 'कारबाहीका सिफारिसमा परेका प्रहरीले पक्राउ गरेपछि छुट्छन् ।'
यसका साथै अदालतसम्म मुद्दा पुगे पनि धरौटीमा छुट्ने गरेकाले अपराधी मनोवृत्ति बढेको देखिन्छ ।
चालू आर्थिक वर्षमा एकपछि अर्को गर्दै बैंक तथा वित्तीय संस्थामा अनियमितता गर्नेको संख्या बढ्दै गएको छ । संकटग्रस्त घोषणा भएका संस्थालाई हेर्ने गरी छुट्टै समिति राष्ट्र बैंकले बनाएको छ । केन्द्रीय बैंकको अनुसन्धानमा सञ्चालक प्रमुख कार्यकारी रहेका संस्थामा समस्या बढी देखिएको छ ।
केन्द्रीय बैंकले आर्थिक वर्षको ९ महिनासम्ममा वीरगन्जका मर्केन्टायल फाइनान्स र इन्भेस्टा फाइनान्सका साथै राजविराजको मल्टीपरपस फाइनान्सलाई चुक्ता पुँजी नपुर्‍याएपछि निक्षेप संकलन र कर्जा लगानीमा रोक लगाएको छ । युनाइटेड विकास बैंक, हिमालय फाइनान्स र गोर्खा विकास बैंकका पदाधिकारीलाई जरिवाना गरिएको छ ।
पश्चिमाञ्चल र गोर्खा विकास बैंकका दुई सञ्चालकलाई कार्यकारी पदबाट हटाइएको छ । पछिल्लो समय अनियमितता देखिएको नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सका अध्यक्षले पनि राजीनामा दिएका छन् ।
केन्द्रीय बैंकका अनुसार पोखराको सांगि्रला विकास बैंकले आफ्नै ऋणीलाई संस्थापक समूहको सेयर बिक्री गरेपछि प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिइएको छ । यसबाहेक नगद लाभांश वितरणमा रोक लागेका संस्था आधा दर्जनभन्दा बढी छन् ।

Monday, May 9, 2011

योगेन्द्रप्रसाद श्रेष्ठलाई राहदानी जफत गरी कारबाही

रोशन अधिकारी 
काठमाडौ, वैशाख २६ - दुई अर्ब रुपैयाँभन्दा बढीको अनियमिततामा संलग्न नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सका कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठको राहदानी जफत गरी कारबाही गर्नुपर्ने ठहर राष्ट्र बैंकले गरेको छ ।
राष्ट्र बैंक ऐन र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनसँगै बैंकिङ कसुर था सजायका सम्बन्धमा व्यवस्था गर्न बनेको कानुनअनुसार उनलाई ३ देखि ५ वर्षसम्म कैदसम्मको सजाय हुन सक्छ । एक करोडभन्दा बढी कर्जाको दुरुपयोग गर्ने व्यक्तिलाई उक्त सजाय हुने कानुनी व्यवस्था छ । 'प्रचलित कानुनअनुसार कारबाही गर्ने भन्ने सञ्चालक समितिको निर्णय भएको छ,' समितिका एक सदस्यले भने ।
राष्ट्र बैंक सञ्चालक समितिले कारबाही अगाडि बढाउन अर्थ मन्त्रालयलाई आइतबार आग्रह गर्ने निर्णय गरिसकेको छ । कारबाहीको सिफारिस अर्थ हुँदै गृह मन्त्रालय पुगेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिन सक्नेछ । 'संस्थामा निकै ठूलो अनियमितता भएको देखिन्छ,' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, 'प्रवर्द्धक समूहमा पारिवारिक समूहको हालिमुहाली भएकाले यस्तो भएको हो ।'
राष्ट्र बैंकका अनुसार थप छानबिन जारी रहेकाले अनियमितताको पूर्ण विवरण आइसकेको छैन । यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन -वाफिया) र नेपाल राष्ट्र बैंक ऐनसमेत आकषिर्त हुने ती सदस्यले बताए । यी कानुनमा कसुर हेरी लाभांश रोक्नेदेखि खारेजी प्रक्रियासम्म लानसक्ने प्रावधान छ ।
कर्जा प्रवाह गर्दा अनियमितता भएको र निक्षेप दुरुपयोग गरेको देखिएपछि राष्ट्र बैंकले गत साता श्रेष्ठको खाता रोकी अनुसन्धान थालेको थियो । स्तरवृद्धि गरी वाणिज्य बैंक बन्ने निवेदन दिएको उक्त कम्पनीको गतिविधि संकास्पद लागेपछि केन्द्रीय बैंकले छानबिन गरेको हो ।
प्रारम्भिक अनुसन्धानमा निक्षेपको रकम व्यक्तिगत रूपमा प्रयोग भएको खुलेको थियो । स्रोतअनुसार बिमा संस्थानको २० करोड रुपैयाँ श्रेष्ठले व्यक्तिगत प्रयोजनमा प्रयोग गरेका थिए । स्तरोन्नतिका क्रममा रहेको नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सले चुक्ता पुँजी वृद्धि गर्न सेयरधनीलाई आफैं ऋण दिएको थियो । प्रवर्द्धक सञ्चालकलाई नक्कली खाता खोली ऋण प्रवाह गरेको केन्द्रीय बैंकको अध्ययन टोलीका एक सदस्यले बताए ।
कानुनी रूपमा संस्थाका लगानीकर्ताले ऋण लिन पाउँदैनन् । हाल संस्थाको चुक्ता पुँजी दुई अर्ब तीन करोड रुपैयाँ पुर्‍याइएको छ । 'बढेको पुँजीमा अधिकांश रकम सोही कम्पनीबाट ऋण लिएको देखिएकाले गम्भीर वित्तीय अपराध भएको छ,' राष्ट्र बैंकका एक अधिकारीले भने ।
नियमित निरीक्षण क्रममा बैंकको अध्ययन टोलीलाई विभिन्न कर्जासम्बन्धी कागजात दिन नसकेपछि अनियमितताको शंकामा गत साताबाट श्रेष्ठको खाता र लकर रोकिएको छ । पारिवारिक सम्बन्ध भएका गीता र सौरभ श्रेष्ठको खाता पनि रोक्का गरिएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गरेका श्रेष्ठको नाममा रहेको सेयर पनि रोक्का भएको छ ।
कम्पनीले निक्षेप तथा कर्जा सुरक्षण निगमसँग निक्षेप बिमाका लागि सम्झौता गरेको छ । त्यसबाट सर्वसाधारणको नाममा रहेको दुई लाख रुपैयाँसम्मको रकम सुरक्षित रहने बैंकले जनाएको छ । २०५० सालमा स्थापना भएको फाइनान्सको ११ शाखा र ७ एटीएम सञ्चालनमा छन् ।
यसैबीच राष्ट्र बैंक सञ्चालक समितिले आइतबार नै बैंक तथा वित्तीय संस्था गाभिन सहयोग पुग्ने गरी एक विनियमावली पनि पारित गरेको छ । 'पुँजी कोष, तरलता र शाखा विस्तारमा सहुलियतसहित विनियमावली पारित भएको' बोर्डका एक सदस्यले बताए ।