काठमाडौं , वैशाख ९ -
राष्ट्र बैंकले सुन बिक्रीको दैनिक कोटा १५ किलोबाट बढाएर २० किलो
पुर्याउने तयारी गरेको छ । विवाहको सिजन सुरु हुन लागेपछि माग धान्नका
लागि कोटा बढाउन लागिएको हो । 'सुनको कोटा बढाउनेबारे छलफल गरिरहेका छौं,'
राष्ट्र बैंक स्रोतले भन्यो, 'विवाहमा सुनको माग बढे ५ किलोसम्म कोटा बढाउन
सकिन्छ ।' अहिलेको कोटा दैनिक १५ किलो छ । अर्कोतर्फ घटेको मूल्यले पनि
सुनको माग बजारमा बढेको छ । आइतबार सुनको मूल्य प्रति १० ग्राम ४३ हजार २
सय ९५ रुपैयाँ -तोलाको ५० हजार ५ सय) पुगेको छ । जुन एक साता अघि ४७ हजार ८
सय ४० रुपैयाँ -५६ हजार रुपैयाँ) थियो । शुक्रबारभन्दा प्रतिदस ग्राम ४ सय
२५ रुपैयाँले सुनको मूल्य बढेको छ । अघिल्लो साताको दोस्रो दिनसम्म गिरावट
देखिएको सुनको मूल्य तीन दिन स्थिर रहेर बढ्न थालेको हो । अन्तर्राष्ट्रिय
बजारमा अघिल्लो साता आएको गिरावटका कारण स्थानीय बजारमा पनि मूल्य घटेर
माग बढेको छ । सुन व्यवसायी बजारको माग ४० किलोसम्म पुगेको भन्दै कोटा
बढाउन माग गरिरहेका छन् । तर बजारको आधिकारिक मागसम्बन्धी तथ्यांक नभएको
राष्ट्र बैंकले सम्बोधन गरेको छैन । 'गरगहना र धार्मिक कार्यका लागि मात्र
सुन प्रयोग गर्न पाउने नीति राष्ट्र बैंकको छ,' राष्ट्र बैंकका प्रवक्ता
भाष्करमणि ज्ञवालीले भने, 'लगानीका रूपमा सुन खरिद गर्न पाइँदैन र हाम्रो
अर्थतन्त्रले पनि त्यसलाई धान्न सक्दैन ।' तीन वर्षअघि सुनको आयात बढेर
अर्थतन्त्रमा समस्या देखिएपछि कोटा प्रणाली लगाइएको हो । उक्त वर्ष नेपालमा
४१ अर्ब रुपैयाँभन्दा बढीको सुन आयात भएको थियो । जसले सोधानान्तर घाटा
बढाएर अर्थतन्त्रलाई धराशायी बनाएको थियो । सुनचाँदी, रत्न तथा आभूषण संघका
अध्यक्ष रमेश महर्जन भने सुन कोटा दैनिक ५ देखि १० किलोसम्म नबढाए अभाव
हुन सक्ने बताउँछन् । 'औसत दैनिक माग ३० किलो भए पनि विवाहको सिजनमा यो
बढेर ३५ देखि ४० किलोसम्म पुग्ने गर्छ,' उनले भने । राष्ट्र बैंकले कोटा
लगाएपछि चालू आर्थिक वर्षको ८ महिना तेस्रो धेरै रकम खर्चेर आयात भएको
वस्तुमा सुन परेको छ ।
No comments:
Post a Comment