काठमाडौ, वैशाख ७ -
सहरमा दुई चिजको चर्चा छ । साझा बस र सुनको मूल्य । 'सुनको मूल्य अझै घट्छ
भने पछि नै किन्नुपर्ला कि ?' यस्तै खाले प्रश्न लिएर आउने सर्वसाधारणको
भीड सुन पसलमा बढ्न थालेको छ । अर्को भीड सुन घटेको समय किनेर छिट्टै नै
नाफा कमाउने धुनमा पनि छ । तर यसको चित्तबुझ्दो जवाफ पसलेसँग मात्रै नभई
अन्तराष्ट्रिय बजार केलाउने विज्ञसँग पनि छैन । शुक्रबारको कुरा गर्ने हो
भने केही (५ सयले) बढ्यो ।
किनभने भारतमा बिहीबार प्रति १० ग्राममा २ सय ५० भारतीय रुपैयाँ (भारु)
मूल्य बढेको थियो । सिंगापुरको बजारमा पनि ० दशमलव ५ प्रतिशतले सुनको मूल्य
बढेको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य सुधार भएकाले शुक्रबार नेपाली
बजारमा पनि केही बढ्ने संकेत देखिएको सुनचाँदी, रत्न तथा आभूषण महासंघका
अध्यक्ष रमेश महर्जनले जानकारी दिइसकेका थिए । साताको सुरुमा तोलामा ६
हजार ३ सयले घटेको सुनको मूल्य बढ्ने संकेत नै देखिएको हो त ? त्यसो
भनिहाल्न मिल्दैन । शुक्रबार नेपाली सुतिरहेकै बेला खुलेको जापानी बजार र
साँझ कारोबार हुने अमेरिकी बजारको कारोबारले आगामी साता पनि मूल्यमा चढाव
आउनेभन्दा उतारआउने लक्षण देखिइसकेको छ ।
किनभने शुक्रबारको कारोबारमा औसत ५ प्रतिशतले अन्तर्राष्ट्रिय बजार घटेको छ
। थोरै सुधार आए पनि यस वर्ष सुनको मूल्य अझै तल र्झन सक्ने अनुमान पनि
सार्वजिनक भएका छन् । बैंक अफ अमेरिका मेरिल लिन्चले सार्वजनिक गरेको
अध्ययनले भने सुनको मूल्यले न्यूनतम स्थान अझै छुन बाँकी रहेको देखाउँछ ।
कम्पनीले यस वर्षको न्यूनतम बिन्दु पुग्नअघि सुनको मूल्य प्रतिऔंस (२ तोला
६७ लाल) १२ सय डलरसम्म घट्न सक्ने अनुमान गरेको छ । बिहीबार प्रतिऔंस सुनको
मूल्य १ हजार ३ सय ९० को हाराहारीमा थियो । शुक्रबार प्रतिऔंस १ हजार ३ सय
६१ मा झरेको छ । सुनको टुक्रा पनि उत्पादन नहुने नेपालमा भने मूल्य
घट्नुको कारणभन्दा घटेपछि पर्ने असर महत्त्वपूर्ण छ । ३ वर्षअघि सुनकै
अत्यधिक आयातले झन्डै वित्तीय संकटको सामना गर्नुपरेको मुलुकका लागि सुनको
अन्तर्राष्ट्रिय बजारको उतारचढाव चासोको विषय हो । नेपालले धेरै रकम खर्चेर
आयात गर्ने वस्तुको तेस्रो नम्बरमा सुन पर्छ । पछिल्लो ८ महिनामा मात्रै
१७ अर्ब रुपैयाँको सुन मुलुक भित्रिसकेको छ । पहिलो नम्बरमा ६८ अर्ब
रुपैयाँको पेट्रोलियम पदार्थ र दोस्रो नम्बरमा त्यही पदार्थ खपत गर्ने १८
अर्ब रुपैयाँको सवारी साधन र पाटपुर्जा नेपाल भित्रिएका थिए ।
सूनको मूल्यमा आएको गिरावटले स्थानीय मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा
पनि चर्चा उत्तिकै चर्चा छ । दुई वर्षकै न्यून स्थानमा सुनको मूल्य पुग्नमा
केही कारणमा साइप्रसले सुन बिक्री गर्ने हल्ला, बैंकहरूले यसमा लगानी
नगर्ने चर्चा र अमेरिकी अर्थतन्त्रको सुधारसम्मलाई जोडेर घटनाको व्याख्या
भएका छन् । नेपालमा सुन भारतबाहेक तेस्रो मुलुकबाट आयात हुन्छ । पछिल्लो ८
महिनाकै तथ्यांक हेर्दा नेपालले तेस्रो मुलुकमा आफ्ना उत्पादन निर्यात गरेर
कमाएको सबै रकम सुन आयातमा मात्रै खर्च भएको छ । भारत निर्यात हुने
वस्तुबाट कमाएको रकमको झन्डै आधा सुन आयात गर्न चाहिने अवस्था आइसकेको छ ।
त्यसैले सुनको मूल्य घट्नुको पहिलो असर अर्थतन्त्रमा सुधार भएर देखिन्छ ।
चालू खाता बचत ९ अर्ब ५० करोड रुपैयाँमा झरेको समय सुनको मूल्य केही घट्ने
हो भने अर्थतन्त्रमा राहत हुने देखिन्छ । अवैधानिक सुन आयातका कारण असर
परेको शोधानान्तर बचतमा पनि मूल्य घटेपछि सुधार आउन सक्छ ।
'सुनको मूल्य सधैं बढ्छ र लगानी गर्दा फाइदा हुन्छ भन्ने मानसिकता तोडिएको
छ,' राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक मीनबहादुर
श्रेष्ठले भने, 'यसले आयात बढेर असर परेको शोधानान्तर स्थिति र उत्पादनमूलक
क्षेत्रमा लगानी हुने सम्भावना रहन्छ ।' मूल्य घट्ने क्रमले सुनमा हुने
लगानी अन्य उत्पादनमूलक क्षेत्रमा मोडिन सक्ने सम्भावना बढाएको उनले बताए
।
जति नै महँगो भए पनि माग कहिल्यै नघटेको नेपाली बजारमा पनि पछिल्लो घटनाले
केही राहत दिने देखिन्छ । विवाहलगायत सामाजिक काममा मात्र प्रयोग गर्न
पाइने सुन बजारमा दैनिक १५ किलो आउने गरे पनि माग भने ३० किलोभन्दा बढीसम्म
हुन्छ । तर सुनको मूल्य घट्दा व्यापारीले माग घटाउने भएकाले ग्राहकको
हातमा फाइदा नपुग्ने सम्भावना पनि रहन्छ ।
सामान्यतया सुनको मूल्य घट्दा व्यापारीले थप गिरावट आउने सम्भावनाका कारण
माग कम गर्छन् । त्यसको विपरीत मूल्य बढेको समय अझ बढ्ने डरले धेरै सुन
खरिद हुन्छ । यस्तो प्रवृत्ति अधिकांश बजारमा देखिने गर्छ । अर्कोतर्फ सुन
धितो राखेर कर्जा दिएका बैंक वित्तीय संस्थालाई भने मूल्य घट्दा जोखिम बढ्छ
। मूल्य घट्दै जाँदा बैंक वित्तीय संस्थाले मार्जिन परिवर्तन गर्नुपर्ने
अवस्था आउँछ । पछिल्ला केही वर्षदेखि सुन धितो राखेर कर्जा लिने क्रम बढेको
छ ।
किन हुन्छ घटबढ ?
अन्य वस्तुजस्तै सुनको मूल्यमा पनि माग र आपूर्तिले असर गर्छ । माग बढेपछि
सुनको मूल्य बढ्छ । तर यही अर्थले सधैं काम नगर्न सक्छ । जस्तो पछिल्लो
समय सुनको मूल्य र माग एक अर्कासँग जोडिएका छैनन् । बजारमा चलेको हल्लाले
सुन बजारमा मूल्य कम हुन दबाब दिएको छ । सुनको सबैभन्दा ठूलो माग हुने
मुलुक भारत हो । २०११ मा ९ सय ७५ टन -९ लाख ९० हजार किलोग्राम) सुनको माग
थियो । नेपालमा जस्तै भारतमा पनि सुनको माग घटेको छैन । मूल्यलाई असर गर्ने
अर्को कुरा विश्वभरका केन्द्रीय बैंकले लिने नीति हो । सबैभन्दा धेरै सुन
भण्डार गरेर राख्ने संस्था केन्द्रीय बैंक हुन् । वल्र्ड गोल्ड काउन्सिलको
तथ्यांक अनुसार विश्वभरका केन्द्रीय बैंकले सन् २००३ मा ३३ हजार टन सुन
भण्डारमा राखेका थिए । जुन सोही समयसम्म खानीबाट निकालिएको कुल सुनको झन्डै
२५ प्रतिशत थियो । त्यसलाई आधार मान्दा केन्द्रीय बैंकहरूले आफूसँग रहेको
सुन बिक्री गर्ने हो भने १० वर्षको माग धान्ने देखिन्छ । पछिल्लो पटक पनि
यही कारणले सुनको मूल्य घटेको छ । विभिन्न समाचारमा आर्थिक संकटमा फसेको
साइप्रसले आफ्नो भण्डारमा रहेको सुन बिक्री गर्ने हल्ला फैलिएको छ । यो
खबरसँगै आपूर्ति बढी हुने अनुमानका आधारमा सुनको मूल्य घटेको छ । युरोपियन
कमिसनको एक अध्ययनले साइप्रसलाई हालको आर्थिक संकटबाट बच्नका लागि ४० करोड
युरो -४५ अर्ब ७ करोड रुपैयाँ) बराबरको सुन बिक्री गर्नुपर्ने देखाएको छ ।
१० टन सुन बराबरको यो मूल्य सार्वजनिक हुने बित्तिकै सुनको
अन्तर्राष्ट्रिय बजारमा असर देखिन थालेको हो । साइप्रसजस्तै समस्यामा परेका
अन्य युरोपेली मुलुकले पनि सुन बिक्री गर्ने र त्यसले मूल्य घटाउने अनुमान
अन्तर्राष्ट्रिय बजारमा छ ।
No comments:
Post a Comment