Thursday, October 16, 2014

तीन वर्षयता नेपाल १६ स्थान माथि उक्लियो

काठमाडौ, आश्विन ३० - भोक र पोषणरहित खानाको अवस्था हेरेर निकालिने ग्लोबल हंगर इन्डेक्स (सूचक) मा नेपालले ४४ स्थानमा छ । सूचकले नेपालमा छिमेकी भारत, पाकिस्तान र बंगलादेशभन्दा पोषणयुक्त खाना पाउने जनसंख्याको प्रतिशत बढी रहेको देखाउँछ ।
पछिल्ला तीन वर्षमा सुधार जारी रहेर नेपाल १६ स्थान माथि उक्लिएको हो । सुधारले मुलुकमा पोषणयुक्त खाना पाउनेको संख्यामा सुधार आएको देखाउँछ । बर्सेनि गैरनाफामूलक संस्था इन्टरनेसनल फुड पोलिसी रिसर्च इन्सिटच्युटको अगुवाइमा यस्तो तथ्यांक निकालिन्छ । तथ्यांकमा १ सय २० मुलुक सामेल गरिएको छ । यसमा कुपोषण, बाल मृत्युदर र कम तौलका बालबालिलाई आधार बनाइन्छ ।
खान पाउने अवस्थामा सुधार आउँदै गए पनि नेपाल अझै जोखिमपूर्ण मुलुकको सूचीमा छ । संस्थाले पोषणयुक्त खानाको उपलब्धतालगायत आधारमा मुलुकलाई ज्यादै खतरनाक, खतरनाक, जोखिमयुक्त, मध्यम र न्यून भागमा विभाजित गर्ने गर्छ । जसमा विकसित मुलुकलाई भने सामेल गरिएको हुँदैन । २०११ बाट खतरनाक अवस्था रहेको मुलुकबाट स्तरोन्नति पाई जोखिमयुक्तमा परेको थियो । जोखिमयुक्तबाट बाहिर निस्कनका लागि १० भन्दा कम अंक हुनुपर्ने प्रावधान छ ।
प्रतिवेदनले नेपालमा जनसंख्याको १६ प्रतिशत कुपोषणयुक्त रहेको देखाएको छ । कुपोषणको तथ्यांक भने २०११ देखि २०१३ सम्मको तथ्यांकबाट निकालिएको हो । यो १९९० पछि सबैभन्दा सुधारिएको अवस्था हो । कम तौल हुने ५ वर्षभन्दा मुनिका बालबालिकाको संख्या २९ प्रतिशत देखाइएको छ । त्यस्तै ५ वर्षमुनिका बालबालिकको मृत्युदर ४ दशमलव २ प्रतिशत उल्लेख गरिएको छ ।
दक्षिणपूर्वी १५ एसियाली मुलुकमध्ये नेपालले १२ औं स्थान पाएको छ । जसले नेपाललाई भारत, पाकिस्तान र बंगलादेशभन्दा राम्रो स्थानमा राखेको हो । यसअघिको प्रतिवेदनमा पनि नेपालले तीन वटै मुलुकलाई उछिनेको थियो । यही क्षेत्रमा पोषणयुक्त खानाको उपलब्धताका आधारमा नेपालभन्दा श्रीलंका, इन्डोनेसिया, फिलिपिन्स, चीन, थाइल्यान्ड, फिजी, भियतनाम, मंगोलिया अघि छन् । सार्क मुलुकभित्र नेपाल श्रीलंकाभन्दा मात्र पछि छ । भुटान र अफगानिस्तानको तथ्यांक भने सामेल गरिएको छैन ।
'नेपालको अवस्था सुधारमा कृषिलाई मात्र हेरेर पुग्दैन,' अर्थविद् केशव आचार्यले भने, 'विभिन्न क्षेत्रमा आएका सुधारका कारण पोषणयुक्त खानाको उपलब्धता बढेको हो ।' जसमध्ये रेमिट्यान्सको प्रभाव पनि उल्लेख्य रहेको उनी बताउँछन् । 'मुलुकभित्रको उत्पादकत्व नबढे पनि
रेमिट्यान्सका कारण क्रयशक्ति बढेको छ र सँगै सडकलगायत पूर्वाधार थपिएका छन्,' उनले भने, 'जसले खानालगायत कुरामा प्रत्यक्ष प्रभाव परेको छ ।' विदेश गएका र फर्किएकाको रहनसहन र बानीमा आएको परिवर्तनले पनि यस्तो असर देखिएको उनले बताए ।
नेपाल कुल गार्हस्थ उत्पादनको तुलनामा तेस्रो धेरै रेमिट्यान्स भित्र्याउने मुलुक हो । गत वर्ष मुलुकमा ५ खर्ब ४३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । जुन अघिल्लो वर्षभन्दा २५ प्रतिशतले बढी हो । ४० लाख व्यक्तिको हाराहारी वैदेशिक रोजगारीका लागि विदेशमा रहेको अनुमान गरिन्छ । जुन बढ्ने क्रममा छ ।
रेमिट्यान्ससँगै शिक्षामा आएको सुधारका कारण पनि अवस्था परिवर्तन हुन थालेको आचार्य बताउँछन् । 'विशेषगरी महिला शिक्षामा भएको सुधारले पनि खानपानमा असर परेको छ,' उनले भने, 'शिक्षा र स्वास्थ्यलाई
छुट्याएर हेर्न मिल्दैन ।' विद्यालयमा पनि खाजा खुवाउने कार्यक्रमसँगै सञ्चारमाध्यमको बढ्दो पहुँचले पनि स्वस्थ्य बानीको विकास भरइहेको उनले बताए । प्रतिवेदनले १९९० पछि विकासशील मुलुकमा पोषणयुक्त खानाको उपलब्धतामा बढेको देखाउँछ । यो अवधिमा ३९ प्रतिशत सुधार देखिएको उल्लेख छ । प्रतिवेदनले ८० करोडभन्दा बढी व्यक्ति पोषणयुक्त खानाबाट बाहिर रहेको देखाउँछ ।

ग्लोबल हंगर इन्डेक्स
नेपालको स्थान
वर्ष    अंक     स्थान
२०१०    २०    ५६
२०११    १९ दशमलव ०९    ५४
२०१२    २० दशमलव ०३    ६०
२०१३    १७ दशमलव १३    ४९
२०१४    १६ दशमलव ४    ४४

No comments:

Post a Comment