Tuesday, October 14, 2014

स्प्रेड दर ५ प्रतिशतभन्दा तल

काठमाडौ, आश्विन २३ - वाणिज्य बैंकहरूले कर्जा र निक्षेपमा लिनेदिने ब्याजदरको अन्तर (स्प्रेड दर) ५ प्रतिशत तल झरेको छ । आर्थिक वर्षको पहिलो महिनामा यो ४ दशमलव ८२ प्रतिशत पुगेको हो ।
गत आर्थिक वर्ष राष्ट्र बैंकले तोकेरे यस्तो अन्तर एक वर्षभित्र ५ प्रतिशतभन्दा कम बनाउन निर्देशन दिएको थियो । मुलुकले खुला बजारको नीति लिएपछि पहिलो पटक ब्याजदरलाई सीमाभित्र ल्याउन राष्ट्र बैंकले यस्तो निर्देशन ल्याएको हो । 'ब्याजदर अन्तर गणना गर्ने संशोधित विधिअनुसार २०७१ साउन महिनामा वाणिज्य बैंकहरूको भारित औसत ब्याजदर अन्तर ४ दशमलव ८२ प्रतिशत रहेको छ । अघिल्लो महिना यस्तो ब्याजदर अन्तर ५ दशमलव २१ प्रतिशत रहेको थियो,' राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिमा भनिएको छ ।
बैंक वित्तीय संस्थाले निक्षेपमा थोरै र कर्जामा धेरै ब्याज लिएको गुनासो बढेपछि राष्ट्र बैंकले यस्तो निर्देशन जारी गरेको थियो । निर्देशनपछि वाणिज्य बैंक कर्जाको ब्याज घटाउन वा निक्षेप बढाउन बाध्य भएका हुन् ।
बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको समस्या भने कायमै रहेको तथ्यांकबाट देखिन्छ । अल्पकालीन ब्याजदरको सूचक ९१ दिने ट्रेजरी बिल्सको बट्टादर साउन महिनामा ० दशमलव ०००४ प्रतिशत कायम छ जुन एक वर्षअघि ० दशमलव २५ प्रतिशत थियो । ट्रेजरी बिल्सको ब्याजदर न्यून हुँदा बैंक वित्तीय संस्थाले पाउने प्रतिफल घटेको छ । यही अवधिमा वाणिज्य बैंकबीचको अन्तर बैंक कारोबार दर पनि ० दशमलव ३० बाट ० दशमलव १५ मा झरेको छ ।
बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धिको क्रम भने घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो महिनाको तुलनामा यस आर्थिक वर्षको साउनमा निक्षेप संकलन ० दशमलव ६ प्रतिशतले घटेको छ । यो ७ अर्ब ८७ करोड रुपैयाँ कम हो । अघिल्लो वर्ष भने निक्षेप ० दशमलव ५ प्रतिशतले बढेको थियो । वाणिज्य बैंक र विकास बैंकको निक्षेप वृद्धि ० दशमलव १ र २ दशमलव ३ प्रतिशतले घटेको छ । तर वित्त कम्पनीको निक्षेप संकलन भने १ दशमलव ५ प्रतिशतले बढेको छ । यी संस्थाबीच रहेको ब्याजदर अन्तरको असर निक्षेपमा पनि देखिएको हो । सामान्यतया वाणिज्य र विकास बैंकभन्दा बढी ब्याज वित्त कम्पनीले लिने/दिने गरेका छन् ।
समग्रमा निक्षेप संकलन घटेको देखिए पनि कर्जा लगानी बढेको छ । आर्थिक वर्ष ०७१/७२ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जा ० दशमलव ९ प्रतिशतले बढेको छ । यो १२ अर्ब २ करोड रुपैयाँ बराबरको वृद्धि हो । अघिल्लो वर्षको पहिलो महिना कर्जा लगानी ४८ करोड रुपैयाँले घटेको थियो । वाणिज्य बैंक र वित्त कम्पनीबाट ग्राहकले ऋण लिने क्रम बढेको देखिन्छ । तथ्यांकअनुसार वाणिज्य बैंकको कर्जा १ दशमलव ५ प्रतिशत र वित्त कम्पनीको २ प्रतिशतले बढेको छ । तर विकास बैंकको कर्जा भने यही अवधिमा १ दशमलव ३ प्रतिशतले घटेको छ । यी संस्थाबाट निजी क्षेत्रमा प्रवाह भएको कर्जा ० दशमलव ३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षमा यस्तो वृद्धि नकारात्मक थियो ।
निजी क्षेत्रतर्फ लगानी भएको कर्जा मध्ये औद्योगिक क्षेत्रमा सबैभन्दा बढी ३ अर्ब ५५ करोड रुपैयाँको वृद्धि देखिएको छ । अघिल्लो वर्ष यस्तो वृद्धि ३२ करोड रुपैयाँको मात्र थियो । निर्माण क्षेत्रमा ८२ करोड, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा ६८ करोड र थोक तथा खुद्रा व्यापारमा २ अर्ब ९२ करोड रुपैयाँले कर्जा बढेको तथ्यांक छ ।
प्रशस्त तरलताका कारण आर्थिक वर्षको पहिलो महिनामा अन्तर बैंक कारोबार घटेको छ । राष्ट्र बैंकका अनुसार पहिलो महिना ४ अर्ब १८ करोड रुपैयाँ बराबरको अन्तर बैंक कारोबार वाणिज्य बैंकबीच भएको छ । गत वर्षको यही अवधिमा यस्तो कारोबार १० अर्ब रुपैयाँभन्दा बढीको थियो ।
मूल्यवृद्धि ७ दशमलव ५ प्रतिशत
आर्थिक वर्षको पहिलो महिना मूल्यवृद्धि दर ७ दशमलव ५ प्रतिशत कायम भएको छ । एक महिनाको अवधिमा यो १ दशमलव ६ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको अन्तिम महिनामा मूल्यवृद्धि ९ दशमलव १ प्रतिशत थियो ।
वाषिर्क रूपमा तुलना गर्दा पनि मूल्यवृद्धि दर घटेको देखिन्छ । अघिल्लो आर्थिक वर्षको पहिलो महिना मूल्यवृद्धि दर ७ दशमलव ९ प्रतिशत थियो ।
आर्थिक वर्षको पहिलो महिना खाद्य तथा पेय पदार्थको मूल्य सूचक वृदिदर १० दशमलव ६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्य सूचक वृद्धिदर ५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको पहिलो महिना गैरखाद्य समूहमा पर्ने वस्तुको मूल्य ७ प्रतिशतले र खाद्यका वस्तुको मूल्य ८ दशमलव ९ प्रतिशतले बढेका थिए ।
चालू आर्थिक वर्षको पहिलो महिना फलफूलको मूल्य सबैभन्दा बढी चुलिएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार पहिलो महिना खाद्य तथा पेय समूहको फलफूल उपसमूहको मूल्यवृद्धि दर २४ दशमलव ३ प्रतिशत छ । अघिल्लो वर्ष फलफूलको मूल्य ६ दशमलव ९ प्रतिशतले मात्र बढेको थियो । हरेक वर्षजस्तै सुर्तीजन्य पदार्थ र मदिराको मूल्यवृद्धि पनि निरन्तर छ । सुर्तीजन्य पदार्थको मूल्य २३ दशमलव ५ र मदिराको १९ दशमलव ४ प्रतिशतले मूल्य बढेको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार पहिलो महिना तरकारीसहित दुध र अण्डाको मूल्य पनि क्रमशः १३ दशमलव ९ र ९ दशमलव ५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षभन्दा यो वृद्धि धेरै हो । चिनी तथा मिठाईको मूल्य भने ० दशमलव ६ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यी वस्तुको मूल्य १ दशमलव ६ प्रतिशतले घटेको थियो ।
गैरखाद्य वस्तुमा लत्ताकपडा र जुत्ता चप्पलको मूल्य ८ दशमलव १ प्रतिशतले बढेको छ । सबैभन्दा बढी महँगी काठमाडौं उपत्यकामा देखिएको छ । 'क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा ७ दशमलव ८ प्रतिशतले मूल्य सूचकांक वृद्धि भएको छ भने तराईमा ७ दशमलव ७ प्रतिशत र पहाडमा ६ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ,' राष्ट्र बैंकको तथ्यांकमा भनिएको छ ।
शोधनान्तर २ अर्ब ७७ करोडले बचतमा
आर्थिक वर्षको पहिलो महिना शोधनान्तर स्थिति २ अर्ब ७७ करोड रुपैयाँले बचतमा देखिएको छ । अघिल्लो वर्ष यस्तो बचत १६ अर्बभन्दा बढीको थियो । राष्ट्र बैंकका अनुसार चालू खाता १ अर्ब १ करोड रुपैयाँले बचतमा छ । आयातमा भएको उल्लेख्य वृद्धि र रेमिट्यान्सको वृद्धिदर थोरै भएकाले चालू खाता बचत घटेको राष्ट्र बैंकले उल्लेख गरेको छ । राष्ट्र बैंकका अनुसार पहिलो महिनामा रेमिट्यान्स वृद्धिदर ० दशमलव ८ प्रतिशतको मात्र भएको छ । यो ४२ अर्ब १९ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिनु हो । अघिल्लो वर्षको पहिलो महिना रेमिट्यान्सको वृद्धिदर २३ प्रतिशतभन्दा बढी थियो ।
साउनमा विदेशी विनिमय सञ्चिती एक महिना अघिभन्दा १ दशमलव ३ प्रतिशतले बढेको छ । यो वृद्धिपछि यस्तो रकम ६ खर्ब ७३ अर्ब बराबर पुगेको हो । अघिल्लो वर्षको वृद्धि ४ दशमलव २ प्रतिशतको थियो ।
निर्यात साढे ११ प्रतिशत घट्यो
आर्थिक वर्षको पहिलो महिना कुल वस्तु निर्यात ११ दशमलव ५ प्रतिशतले घटेको छ । गिरावटपछि निर्यात रकम ६ अर्ब ७२ करोडमा खुम्चिएको हो । अघिल्लो वर्षको पहिलो महिना वस्तु निर्यात ५ दशमलव ४ प्रतिशतले बढेको थियो । निर्यात घट्ने क्रमसँगै आयात पनि चुलिन थालेको छ । पहिलो महिना आयात १२ दशमलव ५ प्रतिशतले बढेर ५८ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।

No comments:

Post a Comment