काठमाडौ, फाल्गुन १० -
मन्त्रिपरिष्दले राष्ट्र बैंकको रिक्त सञ्चालक पदमा बालकृष्ण -बिके) मान
सिंहलाई नियुक्त गरेको छ । प्रधानमन्त्री पत्नी हिसिला यमी निकटका सिंह
यसअघि एनआईडीसी र नेपाल वायुसेवा निगममा काम गरिसकेका छन् । चार्टड
एकाउन्टेन्ट सिंहले एनआईडीसीमा महाप्रबन्धक र निगममा कार्यकारी अध्यक्ष भएर
काम गरेका थिए । निगममा रहँदा उनले गरेका काम कारबाहीमा ठूलै प्रश्न उठेको
थियो । दीपेन्द्रबहादुर क्षत्रीलाई गभर्नर नियुक्त गर्ने समयमा पनि सिंहको
नाम आएको थियो । उक्त समय माओवादीभित्र पुष्पकमल दाहाल पक्षले सिंहलाई
समर्थन नगरेपछि क्षत्री गभर्नर भएका थिए । 'अहिले पनि सञ्चालकबाट छिराएर
अर्को कार्यकालमा गभर्नर प्रस्ताव गर्ने तयारी हुन सक्छ,' राष्ट्र बैंक
सञ्चालक समितिका एक पूर्वसदस्यले भने, 'सञ्चालकमा राजनीतिक नियुक्ति हुने
पुरानै चलन हो ।' सिंह केही समय एमाले नेता वामदेव गौतम नजिक पनि मानिन्थे ।
गौतमकै कारण सिंहले वायुसेवा निगममा अध्यक्षको पद पाएको जानकार बताउँछन् ।
'निगममा रहँदा गरेको कामबारे अख्तियारमा समेत मुद्दा परेका सिंह
अवसरवादीका रूपमा चिनिन्छन्,' स्रोतले भन्यो, 'सञ्चालक समितिमा मात्र सीमित
हुने देखिँदैनन् ।' प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ सरकार गठन हुने
समयमा सिंहको नियुक्ति गरेका हुन् । राष्ट्र बैंकका केही महिनादेखि खाली एक
सञ्चालकको पदमा सिंह थपिएका हुन् । राष्ट्र बैंकको सञ्चालक समितिमा ७ जना
रहन्छन् । जसमा गभर्नर, दुई डेपुटी गभर्नर, अर्थ सचिव पदीय सदस्य रहन्छन् ।
यीबाहेकका पदमा बाबुराम भट्टराईकै सरकारले श्रीराम पौडेल र रामहरि
अर्याललाई पठाएको थियो ।
अर्थतन्त्रलाई प्रभाव पार्ने ठूला निर्णय गर्न सक्ने राष्ट्र बैंकको
सञ्चालक समितिमा हुने नियुक्तिका लागि राजनीतिक दलबीच ठूलै चलखेल हुने गर्छ
। समितिमा नियुक्त हुने यस्ता सञ्चालकले समय समयमा आफ्नो पायक निर्णय
गराउन ठूलै दबाब दिन गरेका छन् । राष्ट्र बैंकमा सञ्चालकको पदावधि ५ वर्षको
हुने गर्छ ।
No comments:
Post a Comment