काठमाडौ, फाल्गुन १७ -
बैंक वित्तीय संस्थाको संस्थागत सुशासन कायम राख्न अपरिहार्य मानिने
विशेषज्ञ सञ्चालकको अभाव देखिएको छ । सञ्चालनमा रहेका वाणिज्य बैंक, विकास
बैंक र वित्त कम्पनीको हाराहारीमा पनि विशेषज्ञ सञ्चालक मुलुकमा छैनन् ।
राष्ट्र बैंकको तथ्यांकअनुसार क, ख र ग वर्गका संस्थाको संख्या १ सय ८३ छ ।
जसमा लघुवित्त विकास बैंक र सहकारी जोड्दा २ सय ३० पुग्छ । जबकि मुलुकमा १
सय २४ जना मात्रै विशेषज्ञ सञ्चालक छन् ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०६३ ले अनुमति लिएका संस्थामा ५ देखि
९ जनासम्म सञ्चालक हुनुपर्ने व्यवस्था गरेको छ । ऐनको दफा १२ को उपदफा २
ले व्यावसायिक विशेषज्ञको सूचीबाट एक जना सञ्चालक नियुक्त गर्नुपर्ने
व्यवस्था गरेको छ । बैंक वित्तीय संस्थामा सञ्चालक हुन सम्बन्धित संस्थाको
सेयर लिएको हुनुपर्ने भए पनि विशेषज्ञका लागि भने छुट दिइएको छ । यो छुट
लगानी गर्ने सञ्चालक मिलेर आफूअनुकूल निर्णय नहोस् भनेर दिइएको हो ।
व्यावसायिक विशेषज्ञको संख्या कम हुनाले सबै संस्थामा यस्ता सञ्चालक छैनन्
। योसँगै कतिपय संस्थाले यस्ता सञ्चालक नियुक्त नगर्दा पनि ध्यान नदिएर
राष्ट्र बैंकले छुट दिएको छ ।
पश्चिमी मुलुकमा देखिएको वित्तीय संकटपछि अधिकांश क्षेत्रका बैंक वित्तीय
संस्थामा विशेषज्ञ सञ्चालकको माग बढेको छ । संस्थागत सुशासन कायम राख्न
मद्दत पुग्ने र बैंकमा लगानी गरेका सञ्चालकको मनलाग्दी निर्णय रोक्न सकिने
भएकाले यस्ता विशेषज्ञको माग बढेको हो । 'वित्तीय संकटपछि विशेषज्ञ
सञ्चालकको माग अन्तर्राष्ट्रिय स्तरमा बढेको छ,' राष्ट्र बैंकका एक
पूर्वअधिकारी भन्छन्, 'सुविधा, अधिकार र दायित्व पनि धेरै बढेको छ ।' तर
नेपालमा भने योग्यता पुगे पनि सञ्चालक हुने रुचि नदेखाउने बढी भएकाले
संख्या कम भएको उनी बताउँछन् ।
बैंक वित्तीय संस्थाको सञ्चालक हुन पाउने व्यावसायिक विशेषज्ञको सूची
राष्ट्र बैंकले तयार गर्ने गर्छ । जसमा व्यवस्थापन, बैंकिङ, वित्तीय,
मौदि्रक, अर्थशास्त्र, वाणिज्य शास्त्र, व्यापार प्रशासन, वाणिज्य कानुन
विषयमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको व्यक्ति
राखिने गर्छ । योसँगै बैंक वित्तीय संस्थाको कार्यकारी तहमा कम्तीमा पाँच
वर्ष काम गरेको अनुभव हुनुपर्ने व्यवस्था छ ।
विषयगत शिक्षा पूरा गरे पनि बैंक वित्तीय संस्थामा काम गरेको अनुभव नहुनु र
दुवै भए पनि सञ्चालक बन्न रुचि नहुनुले संख्या बढ्न सकेको छैन । यस्तो
सूचीमा राष्ट्र बैंककै पूर्वकर्मचारीको संख्या अन्यभन्दा बढी छ । यस्तो
सूचीमा नाम लेखाउन राष्ट्र बैंकबाट जागिर सकिएको कम्तीमा एक वर्ष
पर्खनुपर्छ ।
'राष्ट्र बैंकले सूचीकृत गर्न आउनेको नाम राख्ने हो,' केन्द्रीय बैंकका
प्रवक्ता भाष्करणि ज्ञवाली भन्छन्, 'त्यो कम भएकाले भनिएजस्तो हुन सकेको
छैन ।' यसरी सूचीकृत हुनेको संख्या कम भएपछि राष्ट्र बैंकले ऐन संशोधन
गर्ने क्रममा केही परिवर्तनको तयारी गरेको थियो । संशोधनको प्रस्तावमा बैंक
वित्तीय संस्थाले आफैं यस्ता सञ्चालक तोक्न सक्ने प्रावधान राखिएको थियो ।
'तोकिएको योग्यता र अनुभव भएकालाई बैंक वित्तीय संस्था आफैंले तोक्ने
सक्ने प्रावधान ल्याउने तयारी थियो,' ज्ञवालीले
भने ।
बैंक वित्तीय संस्थाबाट आउने सुविधा कम हुने भएकाले पनि सञ्चालक हुन
चाहनेको संख्या बढ्न सकेको छैन । सञ्चालकले बैठक बस्दा भत्ता मात्र पाउने
प्रावधान छ । यस्तो भत्ता बैंक वित्तीय संस्थाले आफैं निर्धारण गरेर
तोक्छन् । यस्तो भत्ता प्रतिबैठक १० हजारसम्म दिएको उदारहण भेटिएको राष्ट्र
बैंकका एक अधिकारी बताउँछन् । 'एउटा सरकारी बैंकमा वर्षको ९६ पटकसम्म
सञ्चालक समिति बैंठक बसेको थियो,' राष्ट्र बैंकका एक अधिकारीले भने, 'तर
औसतमा यो १२ देखि १३ वटा हुन्छ ।' यस्तो भत्तालाई पारदर्शी बनाउन वाषिर्क
प्रतिवेदन तयार गर्दा सबै सञ्चालकले लिएको रकम उल्लेख गर्नुपर्ने प्रावधान छ
। यसका साथै विशेषज्ञ सञ्चालकलाई मत अधिकार पनि दिइएकाले बेलाबेला समस्या
देखिने गर्छ । सञ्चालक समितिमा आफ्नो पकड बनाउन विशेषज्ञ सञ्चाकलाई पक्षमा
लिएर निर्णय गरेको केही उदाहरण छन् । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन
लागू हुँदा मत अधिकार नभए पनि संशोधन गरेर थपिएको थियो ।
अर्कोतर्फ अल्पमतमा पर्नुपर्ने र गलत निर्णय रोक्न नसक्ने अवस्था हुने
भएकाले पनि विशेषज्ञ सञ्चालक बन्न रुचाउने कम छन् । बैंक वित्तीय संस्थामा
लामो समय काम गरेपछि काममा अल्भिmराख्न खोज्नेको संख्या यसमा बढी छ ।
'त्यसै बस्नुभन्दा विशेषज्ञ सञ्चालक हुनका लागि नाम राखेको हो,' नेपाल
बैंकबाट अवकाश पाएर विशेषज्ञ सञ्चालकको सूचीमा चढेका निर्मलकुमार बरालले
भने । मुलुकको वातावरणका कारण सोचेजस्तो काम गर्न नसकिने भएपनि नाम भने
राखेको उनी बताउँछन् । 'बिगि्रएका संस्था सुधार्न सक्ने अवस्था छैन,' उनले
भने, 'राजनीति, युनियन र अन्य कारणले काम गर्न गाह्रो छ ।'