Tuesday, April 26, 2011

सेयरधनीले नलिएको साढे २७ करोड लाभांश अनुत्पादक

रोशन अधिकारी
काठमाडौ, वैशाख १३ - कम्पनीमा लगानी गरे पनि करिब साढे २७ करोड रुपैयाँ बराबरको नाफा सर्वसाधारले लिएका छैनन् । वाषिर्क रूपमा कम्पनीले नाफाबाट सेयरधनीलाई लाभांश छुट्याए पनि उक्त रकम लिन सम्बन्धित सेयरधनी नगएपछि पैसा यत्तिकै थन्किएको छ । कानुनमा उल्लेख भए पनि नियामकले स्पष्ट व्यवस्था नगरेपछि वितरण नभएको रकम अनुत्पादक बनेको हो ।

आर्थिक वर्ष २०६६/०६७ सम्ममा वाणिज्य बैंक र अन्य तीन कम्पनीका सर्वसाधारण सेयरधनीले २७ करोड ४६ लाख रुपैयाँ लाभांश लगेका छैनन् । 'प्राथमिक सेयर निष्कासन गर्दा ठाउँठाउँबाट आवेदन खुलाइए पनि लाभांश वितरण गर्दा भने त्यस्तो गरिँदैन,' सेयर बजार विश्लेषक रवीन्द्र भट्टराई भन्छन्, 'लाभांशबारे जानकारी नै नभएर नलिने पनि भेटिन्छन् ।'

वाणिज्य बैंकहरूमा वितरण नभएर बसेको लाभांश रकम बढी छ । नयाँको तुलनामा पुराना बैंकमा लाभांश दाबी गर्न नआउनेको संख्या बढी छ । कारोबार हुन छाडेको वर्षौं भइसके पनि नेपाल बैंकबाट समेत सर्वसाधारणले लाभांश रकम लैजान बाँकी देखिएको छ । यसबाहेक युनिलिभर, दूरसञ्चार कम्पनी र चिलिमे हाइड्रो पावर कम्पनीको लैजान बाँकी रकम पनि करोडभन्दा बढी छ ।

सूचनाको अभाव, थोरै रकम, बसाइसराइ, मृत्यु, अन्यको नामबाट सेयर खरिद गर्ने आदि कारणले वितरण हुन बाँकी लाभांशको रकम बढ्दै गइरहेको देखिन्छ । सर्वसाधारणले नलगे पनि कानुनी जटिलताका कारण नियामकले यसको प्रयोग गरेका छैनन् । प्रयोगबारे स्पष्ट प्रावधानको अभावसँगै दुई नियामक संस्था कम्पनी रजिस्टार र राष्ट्र बैंकका कानुन बाझेका छन् । 

कम्पनी ऐन, २०६३ को दफा १८२ उपदफा ९ अनुसार कम्पनीको साधारणसभाले लाभांश वितरण गर्ने निर्णय गरेका मितिले पाँच वर्षको अवधि समाप्त भएपछि पनि कुनै सेयरधनीले लाभांश बुझी नलिएको लाभांशको रकम सोही दफाबमोजिम स्थापना हुने लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने छ ।

कोषको व्यवस्थापन तथा सञ्चालन कम्पनी रजिस्ट्रारको कार्यालयको रजिस्ट्रार, धितोपत्र बोर्डको अध्यक्ष वा निजको प्रतिनिधि र धितोपत्र बजार सञ्चालन गर्ने संस्थाहरू मध्येबाट धितोपत्र बोर्डले नियुक्त गरेको एक जना प्रतिनिधिसमेत रहेको समितिले निर्णय गरेबमोजिम हुने ऐनमा व्यवस्था छ ।

यस्तो रकम पुँजीबजार, लगानी नीति, कम्पनी कानुन वा व्यापार तथा व्यवसायसम्बन्धी पेसागत कानुनको सुधार गर्न कार्यालय वा कम्पनीका कर्मचारीलाई प्रशिक्षण लगायतमा खर्च गर्न सकिने उल्लेख छ । कम्पनी ऐनले यस्तो व्यवस्था गरे पनि यति धेरै रकम जम्मा भइसक्दासम्म कुनै कोष बनेको छैन ।

अर्कोतर्फ बैंक तथा वित्तीय संस्था ऐन २०६३ -बाफिया) को दफा ८२ को उपदफा २ अनुसार लाभांश घोषणा गरेको मितिले पाँच वर्षसम्म पनि सम्बन्धित सेयरधनी वा निजको हकवाला लाभांश लिन नआएमा त्यस्ता लाभांशको विवरण प्रत्येक आर्थिक वर्षको पहिलो महिनामा राष्ट्र बैंकमा पेस गर्नुपर्ने उल्लेख छ ।

राष्ट्र बैंकले जारी गरेको वित्तीय स्रोत संकलनसम्बन्धी निर्देशिका अनुसार पाँच वर्षसम्म वितरण नभएको लाभांशको अवधि समाप्त भएको एक महिनाभित्र राष्ट्रियस्तरको पत्रपत्रिकामा कम्तीमा एकपटक यसबारे सूचना प्रकाशन गर्नुपर्नेछ । सूचना प्रकाशित ँुगर्दा समेत त्यस्तो रकम भुक्तानी नभएमा उक्त रकमलाई बैंकले तोकिदिएको खातामा जम्मा गर्नुपर्ने नियम छ । जम्मा भएको रकमको प्रयोजनबारे भने खुलाइएको छैन ।

कानुन बाझएिको देखिए पनि बैंकमा बैंक वित्तीय संस्थाको हकमा बाफियाअन्तर्गत नै काम हुने गरेको राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले बताए । 'यस्तो रकम असीमित समयका लागि छाडिँदैन,' उनले भने, 'अहिल्यै केही भन्न सक्ने अवस्था छैन ।' ऐन बनाउँद यसबारे छलफल भए पनि पछिल्लो समय कुनै ठोस काम नभएको उनले बताए ।

अर्कोतर्फ धितोपत्र बोर्डले भने कम्पनी ऐनअनुसार कोष स्थापना गर्न केही समयअघि काम थाले पनि हाल रोकिएको जनाएको छ । 'अन्य कामको चाप, कर्मचारी अभावलगायतले अघि बढ्न सकेको छैन,' बोर्डका अध्यक्ष शूरवीर पौडेलले भने । कोष सञ्चालन गर्नका लागि प्रारम्भिक मस्यौदा तयार भइसकेको उनले बताए ।

यस्तो कोष सञ्चालनका लागि पुँजी बजारको नियामक धितोपत्र बोर्ड नै सबैभन्दा उपयुक्त हुने विश्लेषक भट्टराई बताउँछन् । 'यो कोष सञ्चालनमा ल्याई पुँजी बजार विकासमा खर्च गरिएमा धितोपत्र बोर्डले झेल्दै आएको लगानीकर्ता शिक्षाका लागि आवश्यक आर्थिक अभावको समस्या समाधान हुने देखिन्छ,' उनले भने ।

यस्तो लाभांश संकलनको दरमा वृद्धि गर्न सचेतनामूलक कार्यक्रम आयोजना गर्नुपर्ने उनी बताउँछन् । 'लगानीकर्ताले पनि ठेगाना परिर्वन हुँदा जानकारी दिने, थोरै रकम भए पनि संकलन गर्ने लगायत काम गर्नुपर्छ,' उनले भने ।

भारु झिक्न २३ नागरिकता

सुजित महत/रोशन अधिकारी
काठमाडौ, वैशाख १४ -  सीमावर्ती भारतीय बजारबाट भारु झिक्न एकै व्यक्तिले फरक-फरक नामका २३ वटा नक्कली नागरिकता बनाएको पाइएको छ । रौतहटको रघुनाथपुर गाविस-५ का प्रदीपकुमार रस्तोगीले नक्कली नागरिकताबाट बैंकमा २३ खाता खोलेर त्यति नै संख्यामा एटीएम कार्ड लिएको फेला परेको छ । प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरो -सीआईबी) द्वारा मंगलबार वीरगन्जमा २२ वषर्ीय रस्तोगी पक्राउ परेका छन् ।
स्थानीय बजारमा भारु अभाव भएपछि सीमा पारिबाट पैसा निकाल्नकै लागि खाता खोलेर एटीएम कार्ड लिने प्रवृत्ति बढिरहेको छ । बैंकमा खाता खोल्न नेपाली नागरिकता आवश्यक पर्ने भएकाले नक्कली नागरिकता बनाएको रस्तोगीले सोधपुछका क्रममा बताएका छन् । उनको साथमा रहेका २२ वटा नागरिकतामा पर्सा र एउटामा रौतहट जिल्लाको ठेगाना उल्लेख छ । भाउजूको फोटो राखेर महिलाको नाममा तीनवटा नक्कली नागरिकता बनाएका उनले बीसवटा नागरिकतामा आफ्नो र दाजुको फोटो प्रयोग गरेका छन् । 
धेरै भारु झिक्न बढी संख्यामा एटीएम कार्ड लिनुपर्ने भएकाले उनले यस्तो गरेका थिए । राष्ट्र बैंकको अध्ययनले यस्तो कारोबार फस्टाएको देखाएपछि नियन्त्रण गर्न गत चैतबाट दैनिक १० हजार र मासिक एक लाख रुपैयाँसम्म मात्र झिक्न सक्ने सीमा तोकिएको छ । यसअघि दैनिक २५ हजार र मासिक दुई लाख रुपैयाँसम्म निकाल्न सकिन्थ्यो । तर मात्रा घटाएपछि बढी भारु झिक्न धेरैवटा एटीएम कार्ड बनाइएको अनुमान छ ।
रस्तोगीलाई थप कारबाहीका लागि जिल्ल्ाा प्रहरी कार्यालय पर्साको जिम्मा लगाइएको ब्युरो प्रमुख डीआईजी भण्डारीले जनाए । अभियुक्तलाई प्रहरीले हाल नागरिकता र बैंकिङ कसुरसम्बन्धी कानुनअन्तर्गत कारबाही सुरु गर्ने जनाइएको छ । रस्तोगीले अपराधकर्मको रकम स्थानान्तरणका लागि पनि नक्कली नागरिकता बनाएर खाता खोलेको हुने सम्भावना व्यक्त गर्दै भण्डारीले भने, 'यसबारे चाहिँ सीआईबीले थप अनुसन्धान गर्नेछ ।'
भारु अभाव भएको कारण स्थानीय बैंकमा रकम जम्मा गरी भारतीय एटीएमबाट निकालेर विनिमय दरभन्दा बढीमा सटही गरी मुनाफा कमाउने सजिलो बाटो सीमावर्ती क्षेत्रका कतिपय युवाले अपनाएका छन् । भारतीय रकम विनिमय दरभन्दा तीनदेखि पाँच रुपैयाँ बढीसम्म बिक्री हुने भएकाले यस्तो प्रवृत्ति मौलाएको हो । एक सय भारु साट्दा एक सय ६५ रुपैयाँसम्म पाउन सकिन्छ ।
यस्तो कार्य गर्नेले ७ महिनामा ५० करोडभन्दा बढी कमाएको राष्ट्र बैंकको अध्ययनमा देखिएको थियो ।
बैंक स्रोतका अनुसार चालू आर्थिक वर्षको साउनदेखि माघमा नेपाल एसबीआई, एभरेस्ट, कुमारी र नेपाल इन्भेस्टमेन्ट बैंकमा १९ अर्ब रुपैयाँ जम्मा गरी भारतीय एटीएमबाट झिकिएको थियो । गत आर्थिक वर्षमा नेपाली नागरिकले भारतीय एटीएमबाट तीन अर्ब रुपैयाँको हाराहारीमा मात्र पैसा झिकेका थिए । बैंकले भारुको धेरै कारोबार हुने चार बैंककै अध्ययनमा यस्तो खुलासा भएको थियो । 'अलिअलि त अरू बैंकबाट पनि भएका छन्,' बैंक स्रोतले भन्यो । महँगोमै भए पनि सजिलोसँग उपलब्ध हुन थालेपछि ड्राफ्टमार्फत भारत पैसा लैजानेको संख्या घटेको छ ।  'घरभरिका व्यक्तिको नाममा एटीएम निकालेर भारुको कारोबार भइरहेको देखिन्छ,' राष्ट्र बैंकको अध्ययन टोलीमा रहेका एक अधिकारीले भने, 'यसले रोजगारी नै दिएको रहेछ ।' प्रवक्ता भास्करमणि ज्ञवाली खुला सिमाना भएकाले यस्तो कारोबार पूर्णरूपमा रोक्न नसकिने बताउँछन् । 'नेपालमा काम गर्ने भारतीय कामदारलाई सबैभन्दा धेरै यसरी पैसा बिक्री भएको देखिन्छ,' उनले भने । झिक्न सकिने रकमको दायरा केही घटाएपछि पछिल्लो समयमा एटीएमबाट भारु निकाल्ने क्रम आधा घटेको उनले दाबी गरे ।
चालीस हजार हुने हो भने दैनिक तीनदेखि पाँच हजार रुपैयाँसम्म कमाउन सक्ने कारोबारको रूपमा यो फस्टाएको छ । वीरगन्जका साथै विराटनगर, काँकडभिट्टालगायतका सीमावर्ती बजारमा यस्तो कारोबार बढी फस्टाएको अध्ययनमा देखिएको छ । भन्सारको मिलेमतोमा सामान पैठारी गरेको कागज बनाई भारु झिकेको यसअघि खुलासा भएको
थियो । महोत्तरीको मटिहानी छोटी भन्सार कार्यालयबाट करिब सात करोड रुपैयाँको किताब र कपास भित्रिएको कागज बनाएको गत मंसिरमा खुलेको थियो । वीरेन्द्र गुप्ता नामका भन्सार एजेन्टले सामान नै नल्याई बनाइएको प्रज्ञापन पत्र पेस गरी करिब चार करोड भारतीय रुपैयाँ लिएर बढी मूल्यमा बजारमा सटही गरेको फेला परेको थियो । राष्ट्र बैंकले भारतबाट सामान भित्रिएको प्रज्ञापन पत्र पेस गरेपछि मात्र भारतीय रुपैयाँ उपलब्ध गराउने गरी कडाइ गरेपछि यस्तो प्रवृत्ति देखिएको थियो ।
अवैध रूपमा खपत बढ्दै गएकाले केन्द्रीय बैंकमाथि भारुका लागि थप अमेरिकी डलर बुझाउनुपर्ने भार थपिँदै गएको छ । अमेरिकी डलर बुझाएर भारतीय रुपैयाँ खरिद गरिँदै आएको छ । निकासीको तुलनामा आयात बढी भएपछि भारतीय रुपैयाँको आवश्यकता बढ्दै गएको हो । वैदेशिक व्यापारमा सबैभन्दा ठूलो साझेदार भारतमा खरिद गरिएका वस्तुको भुक्तानीका लागि उसकै नगद प्रयोग हुने गर्छ । आर्थिक वर्षको सुरुवातमा सुधार देखिएको सोधनान्तर स्थिति फेरि चिन्ताजनक अवस्थामा पुगेको छ ।

Monday, April 25, 2011

बिमा प्रतिफलमा ६ प्रतिशतको सीमा

अधिक प्रतिफलबाट सर्वसाधारण वञ्चित

रोशन अधिकारी 

काठमाडौ, वैशाख १२ -  बिमा समितिले बोनसको अधिकतम सीमा तोकेपछि सर्वसाधारणले बजारअनुरूप प्रतिफलबाट वञ्चित हुने भएका छन् ।
बिमा समितिले आम्दानीबाट ६ प्रतिशत भन्दा बढी प्रतिफल दिन नपाउने निर्देशन दिएपछि कारोबारमा गिरावट आउने र ग्राहक लाभबाट वञ्चित हुने स्थिति आएको हो । हाल कम्पनीको आम्दानी दर साढे १० देखि ११ प्रतिशतसम्म छ ।
 बिमा कम्पनीमा लगानी गरेका व्यक्ति र बिमा पोलिसी खरिद गर्ने दुवैलाई प्रत्यक्ष असर गर्ने भएकाले निर्देशन परिर्माजन गर्न व्यवसायीले आग्रह गरेका छन्् । 'भारतीय कम्पनीहरूले भारु ७० रुपैयाँको हाराहारीमा प्रतिफल दिइरहेका छन््,' एक बिमा कम्पनीका प्रमुखले भने, 'यो निर्देशन लागू हुने बित्तिकै स्वदेशी कम्पनीमा कारोबार घट्छ ।'
हाल बिमा कम्पनीले पोलिसी अवधिको आधारमा ७ प्रतिशतसम्मलाई आधार मानेर बोसन दिइरहेका छन्् । बैंक तथा वित्तीय संस्थाको ब्याजदर दोहोरो अंकमा भएकाले यो बढ््दै जाने प्रवृत्तिमा छ । यसबाहेक निर्देशन अनुसार बैंक पैसा जम्मा गर्दा आउने प्रतिफलको आधाभन्दा कम मात्र बिमाबाट आउने भएपछि ग्राहक आकषिर्त नहुने कम्पनीहरू बताउँछन्् ।
बिमा समितिले दिएको निर्देशनअनुसार प्रत्येक तीन वर्षमा गरिने बिमांकीय मूल्यांकनमा सबैभन्दा कम दरमा प्रतिफल
-ब्याज दर) प्राप्त भएको वर्षको दर वा ६ प्रतिशतमध्ये जुन कम हुन्छ त्यसलाई आधार मानेर प्रतिफल वितरण गर्नुपर्ने उल्लेख छ ।
बिमांकीय मूल्यांकन गर्दा कम्पनीको व्यवस्थापन खर्च, मृत्यु दाबी, समर्पण, व्यतित बिमालेख र आयलाई आधार मानेर गर्ने
गरिन्छ । यसमध्ये सेयरधनीको चुक्ता पुँजी र ग्राहकको जम्मा पि्रमियमको वाषिर्क ब्याज दरअनुसार हुने आम्दानीले बोनस र लाभांश निर्धारणमा प्रमुख भूमिका खेलेको हुन्छ ।
पछिल्लोपटक राष्ट्रिय बिमा संस्थानको प्रतिहजार ६५ -लेखा परीक्षण र बिमांकीय मूल्यांकन नभएको), नेपाल लाइफ इन्स्योरेन्सको ५०, नेसनल लाइफ इन्स्योरेन्सको ५२, मेटलाइफ एलिकोको २५, एलआइसी नेपालको अवधिका आधारमा ५१ देखि ७० सम्म रुपैयाँसम्म बोनस प्रस्ताव भएको छ । ४ नयाँ कम्पनीले ०६८ वैशाखभित्र बोनस पेस गर्नुपर्ने समय तोकिएको छ । यसमा एसियन लाइफ इन्स्योरेन्सले ५२ रुपैयाँ बोनस स्वीकृतिको प्रस्ताव गरेको छ । बिमांकीय मूल्यांकन एक्च्युरीले अन्तर्राष्ट्रिय प्रावधान अनुसार गर्ने भएकाले यसमा सीमा तोकिन नहुने कम्पनीहरू बताउँछन्् ।
बिमा कम्पनीको प्रमुख आम्दानी वाणिज्य बैंकमा रहेको खाताबाट आउने ब्याज हो । गत वर्षबाट बढेको तरलता अभावले ब्याजदर पनि बढेपछि बिमा कम्पनीको आम्दानी वृद्धि हँुदै आएको छ । आम्दानी बढेपछि कम्पनीले दिने प्रतिफल पनि बढ्ने गर्छ ।
बिमा समिति केही समय प्रतिफल कम देखिए पनि भविष्यमा यसले कम्पनी र ग्राहक दुवैलाई फाइदा गर्ने बताउँछ । समितिले अन्तर्राष्ट्रिय प्रचलनअनुसार नै निर्देशन दिइएको बताएको छ । 'ब्याजदर जहिले उच्च रहन्छ भन्ने हुँदैन,' बिमा समितिका अध्यक्ष फत्तबहादुर केसीले भने, 'कम्पनीलाई बलियो र ग्राहकलाई फाइदा हुनेगरी नै निर्देशन दिइएको हो ।'
वितरण हुन नसकेको प्रतिफल कम्पनीमै सुरक्षित रहने भएकाले पछिका वर्षमा प्रयोग गर्न सकिने उनी बताउँछन्् । 'आवश्यक परे ६ प्रतिशतलाई बढाउन सकिन्छ,' उनले भने । कम्पनीको नेटवर्थ वृद्धि हुने र जोखिम कम हुने भएकाले यस्तो निर्देशन दिएको उनले बताए । 'यसबाहेक कम्पनी संख्या बढेपछि आआफ्नैै ढंगबाट मूल्यांकन गरेर प्रतिफल वितरण गरेको देखियो,' केसीले भने, 'यसमा एकरूपता ल्याउन जरुरी थियो ।' पुराना कम्पनीहरूले ६ प्रतिशतकै हाराहारीमा मूल्यांकन गरिरहेको उनले बताए ।
प्रतिफल नियन्त्रण गरेर नभई पुँजी, कारोबार सीमा, प्रोभिजन, रिजर्व आदिबाट जोखिम न्यूनीकरणको काम गर्नुपर्ने कम्पनीहरू बताउँछन्् । ग्राहकलाई मार्कामा पारेर कम्पनी बलियो बनाई व्यवसाय गर्न नसकिने तर्क उनीहरूको छ । 'ग्राहक नै भएनन् भने कम्पनी जति बलियो भए पनि के गर्ने,' अर्का बिमा कम्पनीका प्रमुखले भने, 'यो निर्देशन बैंकलाई ब्याज थोरै दिनुपर्छ भने जस्तै हो ।'
पछिल्लो निर्देशनलाई आधार मान्दा हाल वितरण गरिँदै आएको प्रतिफलमा २५ प्रतिशतसम्म कमी आउने र पछिल्लोपटक खुलेका कम्पनी सबैभन्दा बढी समस्यामा हुने व्यवसायी बताउँछन्् । जस अनुसार थोरै कारोबार गर्ने कम्पनीले प्रतिहजार १० देखि १५ र पुरानाले ४० देखि ४५ सम्म मात्र बोनस दिन सक्ने अनुमान कम्पनीहरूको छ । यस्तो भए ४० प्रतिशतसम्म बिमा लेख बिक्री घट्ने कम्पनीहरू बताउँछन्् ।
बिमा कम्पनीको छाता संगठन बिमक संघले बिमांकीय मूल्यांकन वर्षमध्ये जुन वर्ष सबैभन्दा कम दरमा प्रतिफल प्राप्त दर वा औसत वाषिर्क ब्याज दरलाई ० दशमलव ७५ ले गुणन गरी हुने ब्याज दर कायम गरी मूल्यांकन गर्ने व्यवस्था गर्न बिमा समितिलाई अनुरोध गरिसकेको जनाएको छ । 'औसत ब्याजदरलाई ० दशमलव ७५ ले गुणन गर्ने विधि सबैभन्दा राम्रो देखिन्छ,' संघमा जीवन बिमा कम्पनीका तर्फबाट उपाध्यक्ष रमेशकुमार भट्टराईले भने, 'यसमा एक तिहाइ जोखिमका रूपमा राखिएको हुन्छ ।'

बैकको चुक्ता पुँजी वृद्धिमा आलटाल

कर्मचारीतन्त्रका कारण ढिला: बैंक

रोशन अधिकारी 
काठमाडौ, चैत्र २९ - तोकिएको समयमा चुक्ता पुँजी पुर्‍याउन ढिलाइ गरेका पाँच वाणिज्य बैंकको अन्य वित्तीय स्थिति खराब देखिएको छैन । गिर्दो सेयर बजार र तरतलाको अभावका कारण चैत मसान्तसम्म चुक्ता पुँजी पुर्‍याउन समस्या भए पनि समग्र वित्तीय अवस्थाबाट सेयरधनी र लगानीकर्ता डराउनुपर्ने अवस्था नरहेको राष्ट्र बैंकले जनाएको छ ।
'बैंकको संस्थागत सुशासन, पुँजी पर्याप्तता अनुपात सबै ठीक छ,' उनले भने, 'निक्षेपकर्ता, सेयरधनी डराउनुपर्ने अवस्था छैन ।' बैंकहरूले पुँजी वृद्धि गर्ने समयमा ढिलासुस्ती गरेको उनले बताए । यसका साथै बैंकहरूले पुँजी वृद्धि हुने प्रतिबद्धता दिइरहेको र पूरा नगरे लाभांश वितरण र शाखा विस्तारमा रोक लगाउन सकिने उनले बताए । 'यो छिट्टै पुँजी पुर्‍याउनका लागि दिइने दबाब मात्र हो,' उनले भने, 'खराबी आएर कारबाही गरेको होइन ।'
डिसिबिएल, बैंक अफ एसिया, सनराइज, एनएमबी र सिटिजन्सले चैत मसान्तभित्र चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्‍याउनुपर्ने छ । यी सबै बैंकले अनुमति लिँदा २०६७ चैतसम्ममा चुक्ता पुँजी २ अर्ब पुर्‍याउने प्रतिबद्धता गरेका थिए । चैत सकिन लाग्दा केही बैंकले हकप्रद निष्कासन गरिसकेका छन् भने अन्यले चैत पछिको समय तोकेका छन् । अधिकांश बैंकको चुक्ता पुँजी २ अर्बको हाराहारी पुगिसकेकाले ठूलो समस्या नहुने बैंकर बताउँछन् ।
अनुमति दिँदा २०६७ असारसम्ममा चुक्ता पुँजी वृद्धि गर्ने उल्लेख भए पनि यसलाई ९ महिना थप गरेर चैत मसान्त पुर्‍याइएको थियो । ९ महिना समय थप गर्दा पनि अधिकांशले ढिलो प्रक्रिया सुरु गरेकाले म्याद नाघेपछि मात्र पुँजी वृद्धि हुने देखिएको छ । बैंकहरू असार मसान्तसम्म सबैको चुक्ता पुँजी पूरा हुने बताउँछन् ।
बैंकहरूले चुक्ता पुँजी वृद्धि तोकिएको समयमा हुन नसक्नुमा नियमकहरूको ढिलासुस्ती कारक भएको देखाएका छन् । 'यति धेरै समय लाग्दो रहेछ, हामीलाई थाहै भएन,' मंगलबार संयुक्त पत्रकार सम्मेलन आयोजना गरेर बैंकरले भने । 'हामी हात बाँधेर बसेको होइन,' डिसिबिएल बैंकका प्रमुख कार्यकारी अधिकृत सुधीर खत्रीले भने, 'कसरी कारबाहीको कुरा आयो ।' केन्द्रीय बैंकसँग सधैं सम्पर्कमा रहिरहेको र काम अघि बढ्दै गएको दाबी उनले गरे । चुक्ता पुँजी २०६७ मै पुर्‍याउनुपर्ने जानकारी अनुमति लिएको एक वर्षपछि मात्र थाहा भएको उनले बताए । 'एक वर्षपछि राष्ट्र बैंक जाँदा २०६७ मै पुँजी पुर्‍याउनुपर्ने थाहा पाए,ँ' उनले भने, 'त्यसपछि योजना बनाएर अघि बढिरहेका छौं ।'
२ अर्ब पुँजी पुर्‍याउन ८ करोड रुपैयाँ मात्र बाँकी रहेकाले समस्या नरहेको उनको दाबी छ । '३२ करोडबाट १ अर्ब ९२ करोड बनाइसकेका छौं,' उनले भने, 'यति लगानी गर्नेले ८ करोड हाल्दैनन् भन्ने कसरी पत्याउनु ।' २ अर्ब मात्रै नभएर बैंकको पुँजी ४ अर्ब पुर्‍याउने योजना रहेको उनले बताए ।

 

५ बैंकमा चुक्ता पुँजीको समस्या

'आफैं पैसा हाल्न नसक्नेले जनताको मात्र उठाएर बैंक चलाउन हुन्न’

रोशन अधिकारी  

काठमाडौं, चैत्र २८ - लगानीकर्ताले रकम थप्न नमान्दा चैत मसान्तमा २ अर्ब रुपैयाँ पुँजी पुर्‍याउन नसक्ने भएकाले ५ वटा बैंक समस्यामा परेका छन् । रकमको जोहो गर्न हकप्रद सेयर जारी गरे पनि बजारमा सेयरको मूल्य निकै तल झरेकाले प्रवर्द्धकले आफ्नै भागको सेयर पनि किन्न छाडेका छन् । पुँजी वृद्धि नगरे कारबाहीमा पर्ने पाँचवटै बैंक वैकल्पिक बाटो खोज्न थालेका छन् ।
२०६४ देखि ०६५ को बीचमा अनुमति लिएका वाणिज्य बैंकका लगानीकर्ताले २०६७ चैत मसान्तसम्ममा २ अर्ब रुपैयाँ लगानी गरिसक्नुपर्ने व्यवस्था छ । लगानी अपुगसँगै थप रकम जुटाउन जारी गरिने हकप्रद सेयरहरू बजारमा बिक्न छाडेपछि लगानीकर्ताले समेत किन्न छाडेका हुन् । लगानी गर्न बैंकबाट ऋण लिने गरिए पनि हाल उच्च ब्याजका कारण लगानीकर्ता थप निरुत्साहित भएका हुन् ।
वाणिज्य बैंकको अनुमति लिँदा सिटिजन्स, सनराइज, बैंक अफ एसिया, डीसीबीएल, एनएमबी र प्राइम कमर्सियल बैंकले २०६७ चैत मसान्तसम्ममा २ अर्ब चुक्ता पुँजी पुर्‍याउने प्रतिबद्धता गरेका थिए । चैत अन्तिम साता लागिसक्दा समेत यीमध्ये प्राइमबाहेक अरूले पुँजी पुर्‍याइसकेका छैनन् ।
राष्ट्र बैंकले भने तोकिएको समयमा पुँजी नपुर्‍याउनेलाई कुनै छुट दिने योजना बनाएको छैन । 'लाइसेन्स लिँदा सबै सञ्चालक समितिका सबैले पुँजी पुर्‍याउँछौं भन्दै हस्ताक्षर गरेका छन्,' केन्द्रीय बैंकका उच्च अधिकारीले भने, 'आफैं पैसा हाल्न नसक्नेले जनताको मात्र उठाएर बैंक चलाउन हुन्न ।' चुक्ता पुँजी वृद्धि गर्न नसक्नेलाई एकअर्कामा गाभिन सुझाव दिने तयारीमा केन्द्रीय बैंक छ । थप सहुलियत दिने मनस्थितिमा नरहेको केन्द्रीय बैंक यतिखेर पुँजी नपुर्‍याउनेलाई गर्न सकिने कारबाहीको खाका बनाइरहेको छ ।
तीन बैंकले भने पुँजी वृद्धिका लागि थप समय माग्दै केन्द्रीय बैंकमा निवेदन दिएका छन् । 'सनराइज, एनएमबी र बैंक अफ एसियाले थप समय मागेर निवेदन दिएका छन्,' स्रोतले भन्यो, 'समय थप हुने सम्भावना न्यून छ ।'
सेयर बजार खस्कँदो अवस्थामा रहेकाले थप लगानी गर्ने वातावरण रहेको सनराइजका सञ्चालक सुरेशकुमार बस्नेत बताउँछन् । 'साधारण सेयरकै मूल्य १ सय रुपैयाँको हाराहारी आउन लाग्यो,' उनले भने, 'प्रवर्द्धकले कसरी लगानी गर्ने वातावरण देख्नु ।'
सेयर बजार सुधारका लागि नियामक, केन्द्रीय बैंकलगायतले पहल नगरेकाले समस्या भइरहेको उनले बताए । 'यसबाहेक समग्र अर्थतन्त्रमा देखिएको समस्याले लगानी गर्ने अवस्था छैन,' उनले भने, 'संशोधनको तयारीमा रहेको बैंक तथा वित्तीय संस्था ऐनले पनि प्रवर्द्धकलाई लगानी गर्न प्रोत्साहित गरेको छैन ।' अवस्थाअनुकूल नरहे पनि आवश्यक प्रावधान पूरा गर्न प्रवर्द्धकले काम गर्ने उनले बताए ।
सनराइजबाहेक अन्य सबै बैंकले पुँजी वृद्धिका लागि काम थालिसकेका छन् । तर हकप्रद सेयरको बिक्री दर घटेकाले समस्या हुन सक्ने डर सबैमा छ । सिटिजन्स बैंकले खरिद नभएको हकप्रद सेयर लिलामीमा लगेको छ ।
आठ करोड रुपैयाँ मात्र अपुग भएकाले यो लिलामीबाटै पूर्ति हुने बैंकले जनाएको छ । 'धेरै ठूलो रकम छैन,' प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले भने, 'चैत मसान्तसम्ममै प्रक्रिया पूरा भइसक्छ ।' बैंक अफ एसियाले हकप्रद निष्कासनका लागि चैत २५ बाट प्रक्रिया सुरु गरिसकेको छ ।
यसले ५० करोड रुपैयाँ थप्नुपर्ने छ । 'प्रवर्द्धकले दिइसकेपछि सर्वसाधारणमा पनि बिक्री हुनुपर्ने हो,' प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर छेत्रीले भने, 'त्यसमा नभए अन्य विकल्पबाट पनि पुँजी थप हुन्छ ।' सेयर बजार खस्कँदो अवस्थामा रहेकाले हकप्रद बिक्री नभए अन्य विकल्पमा बैंकहरू जान सक्ने उनी बताउँछन् । 'लिलामी गरेर बिक्री गर्न सकिन्छ,' उनले भने, 'त्यो पनि नभए प्रवर्द्धकको सेयर कम गरेर पुँजी बढाउन सकिन्छ ।'
डीसीबीएल बैंकले नयाँ निष्कासन (फर्दर पब्लिक इस्यु) को तयारी गरिरहेको छ । हाल बैंकको चुक्ता पुँजी १ अर्ब ९२ करोड रुपैयाँ छ । यसका लागि धितोपत्र बोर्डबाट अन्तिम निर्णय पर्खिरहेको बैंकले जनाएको छ । '७ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्ने तयारी छ,' प्रमुख कार्यकारी अधिकृत सुधीर खत्रीले भने, '७५ प्रतिशत सेयरको प्रत्याभूति (अन्डरराइटिङ) पनि सकिएको छ ।' प्रत्याभूतिकर्ताले सेयर बिक्री नभए आफैं खरिद गर्ने गर्छन् ।
एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले पुँजी वृद्धिका लागि हकप्रद निष्कासन हुने प्रक्रियामा रहेको बताउँछन् । 'हामीले निवेदन दिइसकेका छौं,' उनले भने, 'विभिन्न कारणले केही ढिलो हुन गएको हो ।' हकप्रद जारी भएपछि पुँजी पुग्न समस्या नहुने उनले बताए ।
बैंकले ३५ करोड रुपैयाँ पुँजी वृद्धि गर्न बाँकी छ । 'कहिल्यै पनि सबै हकप्रद सेयर बिक्री हुँदैन,' उनले भने, 'थोरै भए पनि पुँजी पुग्ने गरी बिक्री हुन्छ ।'
प्रक्रियामा गएर बिक्री नहुने समस्यासँगै केही बैंकका प्रवर्द्धकले थप लगानी नगर्नेसमेत जानकारी आएको केन्द्रीय बैंक स्रोतले जनायो । 'आफैंले पूरा गर्छु भनेर हस्ताक्षर गरेको प्रतिबद्धता नमान्नु भनेको ठगी गर्नुसरह हो,' स्रोतले भन्यो, 'वैशाखको पहिलो साताभित्र हामी कारबाही अघि बढाउँछौं ।' बैंकले पुँजी पुर्‍याउन समस्या देखिए त्यस्ता बैंकलाई मर्जरमा जान सुझाव दिने योजना केन्द्रीय बैंकको छ । 'पुँजी पुर्‍याउन नसके मर्जरमा जानुपर्‍यो,' केन्द्रीय बैंक स्रोतले भन्यो, 'फाइनान्सबाट स्तरोन्नति हुन खोज्ने पुनः फाइनान्स नै बने हुन्छ ।'

कम्पनीले पूरा गर्दैनन् कर्पोरेट दायित्व

कानुनी कारबाही गर्न नेप्से निरीह
रोशन अधिकारी
काठमाडौ, चैत्र १८ - वाषिर्क नवीकरण शुल्क नबुझाएकै कारण १३ कम्पनीका सेयरधनीले कारोबार गर्न पाएका छैनन् । यसले सर्वसाधारणलाई सेयर बिक्री गरेका यी कम्पनीले सामान्य कर्पोरेट दायित्वसम्म पूरा गर्न नसकेको देखाउँछ । साथै आर्थिक वर्षको ९ महिना बित्न लाग्दा समेत साधारणसभा नगर्ने कम्पनीको सूची पनि लामै छ ।
स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आर्थिक वर्षको तीन महिना बित्दा ३५ कम्पनीले यस्तो शुल्क बुझाएका थिएनन् । कारोबार रोक्का भएपछि २२ कम्पनीले भने केही दिनमा बुझाए । स्टक एक्सचेन्जको वेबसाइट हेर्दा हरेक वर्ष दर्जनौं कम्पनीले यस्तो शुल्क बुझाउन ढिलाइ गरेको पाइएको छ ।
शुल्क नबुझाएर कारोबार रोकिने कम्पनीमा उत्पादनमूलक समूहका ७, वित्तको १, विकास बैंकको २, होटलको १ र व्यापारको २ कम्पनी छन् । 'कम्पनीले सूचीकरण गर्दा विभिन्न प्रावधान पूरा गर्छु भनेर सम्झौता गरेका हुन्छन्,' विश्लेषक रवीन्द्र भट्टराई भन्छन्, 'संस्थागत सुशासन कायम नगर्ने कम्पनीलाई कारबाही भएको सुनिँदैन ।'
यस्तो अवस्थामा सुधार ल्याउनलाई सूचीकरणका लागि छुट्टै नियम बनाउनुपर्ने उनी बताउँछन् । 'ठूला सेयर बजार (विकसित देश) मा नाफा कमाउने कम्पनीले पनि सूचीकृत हुन पाउँदैनन्,' उनले भने, 'हामीकहाँ संस्थागत सुशासनै नभएका कम्पनी पनि 'क' वर्गमा विभाजन गरिएका छन् ।'
एक्सचेन्जले भने यस्ता कम्पनीलाई चिठी पठाएर कारण सोध्ने गरेको जनाएको छ । 'हामीले कारण सोधेर पत्र पठाउँछौं,' नेप्सेका महाप्रबन्धक शंकरमान सिंहले भने, 'सर्वसाधारणको हितका लागि के गर्न सकिन्छ भनेर धितोपत्र बोर्डसँग पनि छलफल गर्दै छौं ।'
पछिल्लो समय सूचीकरणबाट हट्न विभिन्न कम्पनीले वाषिर्क शुल्क नतिरी बसेका छन् । नेप्सेले भने यस्ता कम्पनीलाई सूचीबाट हटाएको छैन । 'यस्ता कम्पनी रियल सेक्टरका छन्,' सिंहले भने, 'वित्तीय संस्थाको मात्र प्रभुत्व हुन्छ भनेर हामीले हटाएका छैनौं ।'
कम्पनी र सेयरको संख्या मात्र बढी देखाउन सूचीकृत गरिरहन नहुने भट्टराई बताउँछन् । 'गुणत्मक कम्पनी मात्र हुनुपर्छ,' उनी भन्छन्,  'यस्तै छाड्दा पछि आउने कम्पनीले पनि सिको गर्न सक्छन् ।'
अर्कोतर्फ नयाँ आर्थिक वर्ष सुरु हुन ३ महिना बाँकी रहँदा समेत ४२ कम्पनीले वाषिर्क विवरण धितोपत्र बोर्डलाई बुझाएका छैनन् । पब्लिक लिमिटेड कम्पनीका रूपमा वर्षभरिको कारोबारबारे लगानीकर्तालाई जानकारी दिनुपर्ने यी कम्पनीले नियामकलाई समेत विवरण बुझाउन सकेका छैनन् ।
धितोपत्र बोर्डको चैत १३ सम्मको तथ्यांकअनुसार वाणिज्य बैंक समूहको कृषि विकास बैंक, वित्त कम्पनी समूहको एनआइडिसी क्यापिटल मार्केट, सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट, सम्झना फाइनान्स, जनरल फाइनान्स, ललितपुर फाइनान्स, वल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, प्रुडेन्सियल वित्तीय संस्था, सृजना फाइनान्स, पाटन फाइनान्स, इम्पेरियल फाइनान्स, क्रिस्टल फाइनानस र भ्याली फाइनान्स छन् । विकास बैंक समूहका १० संस्थाले विवरण बुझाएका छैनन् । ऐनमा यस्ता कम्पनीलाई आर्थिक जरिवाना गर्न सकिने प्रावधान रहे पनि धितोपत्र बोर्डले चेतावनी मात्र दिइरहेको छ । 



 

प्रवर्द्धकले सेयर किन्न छाडे

रोशन अधिकारी
काठमाडौ, चैत्र २० - लगानीको स्रोत खुलाउनुपर्ने प्रावधानसँगै निरन्तर बजार घट्न थालेपछि बैंक वित्तीय संस्थाका प्रवर्द्धकले हकप्रद सेयर किन्न छाडेका छन् । पछिल्लो समय सिटिजन्स बैंक इन्टरनेसनलको ८ करोड र प्राइम कमर्सियल बैंकको ६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर प्रवर्द्धकले किनेनन् । बिक्री खुला गरिएको समयभर केही साधारण र अधिकांश प्रवर्द्धकलाई छुट्याइएको हकप्रद बिक्री नभएपछि पछि दुवैले बोलकबोल मार्फत सेयर बिक्रीको घोषणा गरे । जनरल फाइनान्सले पनि १ करोड रुपैयाँ बराबरको प्रवर्द्धक हकप्रद बिक्री नभएर सूचना प्रकाशित गर्‍यो ।
सेयरमा लगानी गर्दा खुलाउनुपर्ने स्रोतका कारण यस्तो अवस्था आएको विश्लेषक बताउँछन् । 'ठूला लगानीकर्तालाई लगानीको स्रोत समस्या बनेको छ,' विश्लेषक रवीन्द्र भट्टराईले भने, 'बजार पनि घट्दै गएकाले कसैले किन्न चाहँदैनन् ।'
सानाभन्दा ठूला लगानीकर्ता समस्यामा रहेको मर्चेन्ट बैंकर संघका अध्यक्ष भीष्मराज चालिसे बताउँछन् । 'थोरै रकमको हकप्रद किन्दा पनि स्रोत देखाउनुपर्छ' उनले भने, 'एक दुई वर्षअघि लाखौं लगानी गरेकाले त्यतिकै रकम कहाँबाट ल्याएको भनेर स्रोत खुलाउन कठिन भएको देखिन्छ ।'
 स्रोत नखुलाई लाखौं रकम लगानी गरेर प्रवर्द्धक बनेकाहरूलाई हाल थप लगानी गर्दा सबै रकमको स्रोत खुलाउन कठिन भएका एक बैंकरले बताए । अधिकांश कम्पनीले एक बराबर एकको अनुपातमा हकप्रद जारी गरेकाले प्रवर्द्धकले सुरुमा गरेकै लगानी बराबरको रकम फेरि लगानी गर्नुपरेको छ ।
'एकातर्फ स्रोत खुलाउनुपर्ने र अर्कोतर्फ चर्को ब्याजमा मात्र ऋण पाइने भएकाले लगानी हुन सकेको छैन,' दलाल संघका अध्यक्ष नन्दकिशोर मुन्दडा भन्छन् ।
साधारण र प्रवर्द्धक सेयरको फरक नबुझी लगानी गर्नेलाई पनि पछिल्लो पटक समस्या भएको भट्टराई बताउँछन् । 'अरूले बनेको सुनेर वा समूहमा मिलेर लगानी गर्नेलाई पनि यसरी हकप्रद निष्कासन हुँदा समस्या भएको देखिन्छ' उनले भने, 'थप ऋण नपाएर, छिट्टै बिक्री गर्न नपाइने भएकाले खरिद गर्दैनन् ।'
बजार घटेर अधिकांश कम्पनीको साधारण सेयर न्यून बिन्दुतर्फ लागेकाले पनि प्रवर्द्धक सेयरको बिक्री नभएको विश्लेषक बताउँछन् । 'साधारण सेयरकै मूल्य एक सय रुपैयाँको हाराहारीमा भएका समयमा प्रवर्द्धकको बिक्रीलाई असर परिहाल्छ' चालिसे भन्छन्, 'यसबाहेक ५ वर्ष बिक्री गर्न नपाइने, धितो राखेर ऋण नपाइनेजस्ता असुविधाले समेत असर गरेको देखिन्छ ।'
सेयर बजारबाट पाइने प्रतिफल कम भएकाले पनि सेयरको माग घटेको मुन्दडा बताउँछन् । 'बजार भाउअनुसार वाषिर्क प्रतिफल ५ प्रतिशत रहने देखिन्छ' मुन्दडा भन्छन्, 'बैंकमा जम्मा गर्दा १० प्रतिशतभन्दा बढी प्रतिफल आउँछ ।' सेयर धितोकर्जा नवीकरण गर्दा बुझाउनुपर्ने २५ प्रतिशत रकम हटाइए पनि बढेको ब्याजदरका कारण नयाँ ऋण लिन सकिने अवस्था नरहेको उनी बताउँछन् ।
यस आर्थिक वर्षमा वाणिज्य बैंकमा कुमारी, प्राइम, बैंक अफ एसिया र सनराइज बैंकले हकप्रद सेयर निष्कासन गर्न अनुमति लिएका छन् । यससहित २६ कम्पनीले ४ अर्ब ४८ करोड ८१ लाख रुपैयाँ बराबरका प्रवर्द्धक सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति लिएका छन् । आर्थिक वर्ष २०६६/०६७ मा १० अर्ब ९६ करोड २७ लाख रुपैयाँ बराबरका प्रवर्द्धक सेयर निष्कासनका लागि अनुमति दिइएको थियो ।