Friday, March 25, 2011

सञ्चालकले ऐन विपरीत जग्गा किन्न खोजेको खुलासा


रोशन अधिकारी 
काठमाडौ, चैत्र १० - स्पस्टिकरण दिइरहेका गोर्खा विकास बैंकका संचालकले थप गैरकानूनी काम गरेको खुलासा भएको छ । बैंकले बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐनको उल्लघन गर्दै प्रवर्द्धक संलग्न कम्पनीबाट ९० करोड रुपैयाँ बराबरको जग्गा खरिद गर्ने शुरु गरेको थियो । यसका लागि ३० करोड रुपैयाँ सर्वसाधारणको निक्षेपबाट बैना दिएको खुलेको हो । ऐनमा बैंक तथा वित्तिय संस्थाले प्रवर्द्धकसँग इच्छा बाझनिे गरी कारोबार गर्न नपाउने ब्यवस्था छन् । यसबाहेक संस्थागत हितका लागि खुल्ला प्रतिस्पर्धा मार्फत मात्र कारोबार गर्ने गरिन्छ ।
राष्ट्र बैंकले गरेको अध्ययन अनुसार करिब डेढ वर्ष अघिबाट कमलादीमा ५ रोपनी जग्गा खरिद गर्न पटकपटक गरी ३० करोड रुपैयाँ बुझाइएको छ । जग्गा बिक्रेता कृषि प्रेमुरा प्रोपर्टिज बैंकको एक प्रमुख लगानीकर्ता हो । एगि्रकल्चर पि्रमुरा होल्डिङको नाममा गोर्खा विकास बैंकको १३ दशमलव ०७ प्रतिशत प्रवर्द्धक सेयर छ । कम्पनीका तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने प्रवीण नौलखाले राजीनामा दिने र जग्गा खरिद गर्ने समय उस्तै रहेको केन्द्रीय बैंक स्रोतको दाबी छ । 'जग्गा खरिदकै लागि राजीनामा दिएको देखिन्छ,' केन्द्रीय बैंक स्रोतले भन्यो ।
'जग्गा खरिद गर्न सहमति भएको हो,' नौलखाले भने, 'तर मैले राजीनामा दिएको धेरै समय पछि हो ।' बैंकका तत्कालीन कार्यकारी अध्यक्ष डिबी बम्जनसँग मौखिक सहमति भए पछि प्रक्रिया सुरु गरेको उनले बताए । 'सञ्चालक समितिको निर्णय पछि खरिद प्रक्रिया सुरु भएको सुनेको थिएँ,' उनले भने, 'के कसरी गरियो मलाई थाहा छैन ।' बैंकमा आफू संलग्न नरहेकाले सञ्चालक समितिमा गरिएको निर्णय बारे प्रस्ट थाहा नभएको उनले बताए । 'म बैंकमा संलग्न थिइनँ,' उनले भने, 'फाइदा भएपछि बिक्री गरेको हो ।'
सञ्चालक समितिका एक सदस्यले भने यसबारे तत्काल केही प्रतिक्रिया दिन नसक्ने
बताए । 'बोर्डमा एकदुई पटक सो जग्गा खरिद गर्न आएको तर बिक्री नगरेको कुरा सुनेको थिएँ,'
नाम उल्लेख नगर्ने सर्तमा उनले भने, 'अरू काजगपत्र हेरेर मात्र भन्न सक्छु ।'
यस बाहेक जग्गाको मूल्य पनि दोब्बर भन्दा बढी बढाइएको अध्ययनमा देखिएको छ । ३० देखि ३५ करोड रुपैयाँको बीचमा खरिद गरिएको जग्गा ९० करोडमा बैंकलाई बिक्री गर्ने गरी सञ्चालक समितिले सहमति गरेको देखिन्छ । 'ठूलो कमिसनको खेल भएको हुन सक्ने देखिन्छ,' स्रोतले भन्यो ।
१३ करोड रुपैयाँको ऋण प्रवाह गर्दा कार्यकारी अध्यक्ष बम्जन सहित अन्यले अनियमितता गरेको आरोप केही समय अघि लागेपछि केन्द्रीय बैंकले अध्ययन सुरु गरेको थियो । उक्त ऋण लिने व्यक्तिले प्रहरीमा उजुरी दिए पछि बम्जन विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । केन्द्रीय बैंकको अध्ययनले समेत ऋण प्रवाह हुँदा अनियमितता देखिए पछि ५ लाख रुपैयाँ किन जरिवाना नगर्ने भन्दै स्पष्टीकरण मागेको छ । बैंकको सञ्चालक समितिलाई मागिएको लिखित स्पष्टीकरण बुधबारसम्म सबैले बुझाइसकेका छन् ।
यसअघि मंगलबार सञ्चालक समितिबाट डिबी बम्जन र निर्मल गुरुङ बाहेकका पदाधिकारी राष्ट्र बैंकमा गएर मौखिक स्पष्टीकरण दिएका थिए । उनीहरूले 'भएका गल्तीलाई सुधार्दै' बैंकको वित्तीय र संस्थागत सुशासनलाई बढाउने प्रतिबद्धता दिएका थिए ।
केन्द्रीय बैंकको अध्ययन अनुसार बैंकको निक्षेप घट्ने क्रम पछिल्लो महिनामा बढेको छ । ०६७ पुसमा ५ अर्ब ६५ करोड रुपैयाँ रहेको बैंकको निक्षेप फागुन पहिलो सातामा ५ अर्बमा सीमित भएको छ । बैंकको संस्थागत सुशासनमा समस्या भएको समाचार आउन थाले पछि निक्षेप घट्न थालेको हो । यसअघि अधिकांश बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भइरहेको समयमा गोर्खाको भने वृद्धि भएको थियो । असारमा ५ अर्ब ३८ करोड रुपैयाँ रहेको बैंकको निक्षेप पुससम्ममा २७ करोड ँरुपैयाँले बढेको छ ।
केन्द्रीय बैंक स्रोतका अनुसार पछिल्लो समय बैंकका ग्राहकले निक्षेप झक्िने क्रम बढेको छ । 'समय पुगेको मुद्दती खाता भएका निक्षेपकर्ताले नवीकरण गर्ने क्रम घटेको देखिन्छ,' स्रोतले भन्यो । यस बाहेक ठूला संस्थागत निक्षेपकर्ता बिमा संस्थान र नागरिक लगानी कोषको रकम भने बैंकले भुक्तानी गरेको छैन । यी दुवैको मुद्दती निक्षेप नवीकरण गर्ने समय भए पनि बैंकले केही समय थप मागेको छ । अवकाश प्राप्त गोर्खा सैनिक संलग्न रहेकाले 'पहुँचका आधारमा' अधिकांश ठूला निक्षेपकर्ता छन् । स्रोतका अनुसार २ अर्बको हाराहारी सर्वसाधारणले पैसा जम्मा गरेका छन् ।
संस्थागत सुशासन उल्लंघन गर्दै विभिन्न गैरजिम्मेवारीपूर्ण काम गरेको खुल्न थाले पछि राष्ट्र बैंकले स्पष्टीकरण लिने बाहेक कुनै निर्णय गरेको छैन । 'सबै अनुसन्धान नसकिएसम्म कुनै निर्णय हुँदैन,' स्रोतले भन्यो । ठूला मध्येको एक विकास बैंक भए पनि गोर्खाका सबै शाखा सञ्जालमा नजोडिएकाले अध्ययन बाँकी रहेको छ । बैंकका २१ शाखा सञ्चालनमा छन् ।

No comments:

Post a Comment