मूल्य वृद्धिको प्रक्षेपण ९ प्रतिशत
रोशन अधिकारी
काठमाडौ, फाल्गुन १९ - रियलस्टेट र सेयर बजारको सुस्तता सम्बोधन गर्ने नीतिगत व्यवस्थासहित केन्द्रीय बैंकले मौदि्रक नीति संशोधन गरेको छ । मौदि्रक नीतिको मध्यावधि समीक्षामार्फत खस्कँदो सेयर बजारसँगै घरजग्गा कर्जामा तोकिएको सीमाका कारण लगानी गर्ने वातावरण नभएको गुनासो व्यवसायीले गर्दै आएका छन् । यसका साथै बैंकरहरू पनि खुलेरै घरजग्गा क्षेत्रको लगानी सीमा केही खुकुलो बनाउनुपर्ने माग गरिरहेका छन् ।
व्यवसायीका केही माग सम्बोधन गर्ने गरी नीतिगत व्यवस्था गरे पनि कार्यान्वयनका लागि बेग्लै निर्देशिका जारी गर्ने रणनीति केन्द्रीय बैंकले लिएको छ । पछिल्लो समयमा घरजग्गाको कारोबार घटेपछि यस क्षेत्रका लागि ऋण लिएकालाई ब्याज तिर्नसमेत समस्या पर्दै आएको छ । अर्कोतर्फ सेयर बजार घट्ने क्रममै रहेको छ । 'रियलस्टेट क्षेत्रमा भएको लगानी घटाउनका लागि थप समय दिएर केही सुविधा आउनेछ,' राष्ट्र बैंक स्रोतले भन्यो । यसका साथै सेयर धितो कर्जा -मार्जिन लेन्डिङ) लाई पनि सहज बनाउने तयारी भएको
छ । गभर्नर खतिवडाले सेयर बजार सुधार गर्नका लागि केन्द्रीय बैंकले कदम चाल्न बताउँदै आएका छन् ।
हालको नीतिअनुसार वाणिज्य बैंकहरूले रियलस्टेट कर्जालाई यसै आर्थिक वर्षभित्र ३० प्रतिशत र आगामी वर्ष २५ प्रतिशतमा झार्नुपर्नेछ । यो प्रावधान अधिकांश बैंकले भने पूरा गरेका छन् । प्रायः बैंकले घरजग्गा कर्जालाई अन्य कर्जामा परिणत गरेर केन्द्रीय बैंकको निर्देशक पालना गरेको अवस्थामा दीर्घकालीन चुनौती समाधान गर्न विशेष व्यवस्थाको माग हुँदै आएको
छ । हाल वाणिज्य बैंकको रियलस्टेट क्षेत्रमा औसत २० प्रतिशत लगानी देखिएको छ । विकास बैंक र वित्त कम्पनीले रियलस्टेटमा ३० प्रतिशतको हाराहारी लगानी गरेका छन् । जसमा विकास बैंकको सबैभन्दा कम योगदान छ । वाणिज्य बैंकले १ खर्बको हाराहारीमा र विकास बैंकका साथै वित्त कम्पनीले ३७ अर्ब रुपैयाँ लगानी गरेको केन्द्रीय बैंकले
जनाएको छ ।
घरजग्गा क्षेत्रबाट लिएको ऋणको व्याज तिर्न समस्या परिरहेकाले कर्जाको पुनर्तालिकीकरण गर्ने नीति पनि केन्द्रीय बैंकले लिन सक्ने देखिएको छ । 'निश्चित रकम भुक्तानी गरेर कर्जालाई पुनर्तालिकीकरण गर्न दिने प्रावधान आउने सम्भावना छ,' केन्द्रीय बैंक स्रोतले भन्यो, 'ब्याज मात्र तिरेमा पनि कर्जा नवीकरण गर्न सकिन्छ कि भनेर हामी हेरिरहेका छौं ।' घरजग्गा व्यवसायीले आयोजना गरेको एक कार्यक्रममा व्यवसायीले भारतको उदाहरण दिँदै यस्तो माग गरेका थिए ।
सेयर धितो कर्जा लिएकालाई पनि केही सजिलो वातावरण बनाउने तयारी छ । हाल कर्जाको २५ प्रतिशत भुक्तानी गरेर मात्र पुनर्कर्जा लिने पाइने प्रावधानलाई परिवर्तन गर्न लागिएको छ । समयअनुसार ब्याज तिर्नेले यस्तो सुविधा पाउनेछन् । यस अघि पनि केन्द्रीय बैंकले सेयर धितो कर्जामा केही परिवर्तन गरेको थियो । जसअनुसार मूल्यमा १० प्रतिशत परिवर्तन नहुँदासम्म मार्जिन कल नगरिनेलगायत सुविधा थिए ।
मौदि्रक नीतिको समीक्षाले मुद्रास्फीतिको पनि नयाँ लक्ष्य राख्ने भएको छ । यसअघि ७ प्रतिशत राखिएको लक्ष्यलाई बढाएर ९ प्रतिशत राखिने स्रोतले बतायो । पछिल्ला केही महिनादेखि मुद्रास्फीति दोहोरो अंकमा छ । तरकारी, फलफूल, खाद्यान्न, तेललगायतको मूल्यमा आएको वृद्धिपछि यो बढेको हो । 'यसका साथै भुक्तानी सन्तुलनको लक्ष्यलाई पनि परिवर्तन गरिनेछ,' स्रोतले भन्यो । हाल आर्थिक वर्षको अन्त्यमा ९ अर्ब रुपैयाँको भुक्तानी सन्तुलन लक्ष्य राखिएको छ ।
कर्जा विस्तार नियन्त्रण गर्ने मुख्य लक्ष लिएको चालू मौदि्रक नीतिले यसलाई भने निरन्तरता दिएको छ । आर्थिक वृद्धि दु्रत गराउन भने यसविपरीत मुद्रा प्रदाय खुकुलो बनाउनुपर्छ । सरकारले खर्च गर्न नसकेको अवस्थामा यसबारे खासै सोच्नुपर्ने नदेखिएको दाबी केन्द्रीय बैंकका अर्काे एक स्रोतले बतायो ।
No comments:
Post a Comment