Thursday, December 11, 2014

न्यून ब्याजको खातामा राखेर अनियमितता

काठमाडौ, मंसिर २२ - बिमा समितिले बिनाप्रतिस्पर्धार् र सञ्चालक समितिबाट स्वीकृति नलिई ठूलो रकम न्यून आय हुने बैंक खातामा राखेको खुलासा भएको छ। अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदनबाट पछिल्ला तीन वर्षमा समितिको सबैभन्दा धेरै रकम स्वीकृतिबेगर न्यून आय भएको कल खातामा राखिएको उल्लेख छ।
'समितिको रकम बैंकमा जम्मा गर्दा मुद्दती खातामा ५ देखि ७ दशमलव ५ प्रतिशतसम्म ब्याज प्राप्त हुने भए पनि ठूलो रकम कल एकाउन्ट -१ दशमलव ५ देखि ४ प्रतिशतसम्म) मा राखेको पाइयो,' छानबिन समितिको प्रतिवेदनमा भनिएको छ, 'कल एकाउन्टमा रकम राख्नुपर्नाको कारणमा आवश्यकतानुसार आकस्मिक रूपमा रकम झिक्न पर्ने भनिए पनि उच्चतम् ब्याजदर भएको बैंकमा राख्नुपर्नेमा यो गरेको देखिएन।'
समितिले २०६९ असार मसान्तमा ३३ करोड ५७ लाख रुपैयाँ, ०७० असार मसान्तमा ९१ करोड ८४ लाख रुपैयाँ र ०७१ असार मसान्तमा ११ करोड ३२ लाख रुपैयाँ कल खातामा राखेको अध्ययनमा उल्लेख छ। पहिलो दुई वर्ष मुद्दती खातामा कुनै रकम नराखे पनि ०७१ असारमा भने ६५ करोड रुपैयाँ राखिएको छ। पहिले भने मुद्दतीमा राख्दा रकम झिक्न नसकिने वहाना बनाएर कल खातामा सबै रकम राख्ने गरिएको थियो। सुरुमा राख्न नसकिने भनिएको रकम पछि मुद्दतीमा राखिनुलाई शंकास्पद मानिएको अर्थस्रोतको भनाइ छ।
अध्ययन प्रतिवेदनअनुसार समितिले प्रतिस्पर्धा नगरी रकम राख्दा ब्याज आम्दानीमा ५० प्रतिशतभन्दा बढी घाटा लागेको देखिन्छ। यो रकम करोडौंको हुन्छ। प्रतिवेदनले उल्लेख गरेअनुसार समितिले ०७१ मा ७ दशमलव ५ प्रतिशत ब्याज पाउने गरी रकम राखेको भए ब्याज आम्दानी ६ करोड ८८ लाख रुपैयाँ हुने देखिन्छ। तर समितिले अधिकतम ४ प्रतिशतमा राख्दा त्यसको झन्डै आधा ३ करोड ६७ लाख रुपैयाँ मात्र ब्याज आम्दानी हुन आउने देखिन्छ।
समितिलेे बैंकमा रकम राख्दासमेत सञ्चालक समितिको स्वीकृति नलिएको भेटिएको छ।
'यसरी विभिन्न बैंकहरूमा भिन्नभिन्न ब्याजदरमा कल एकाउन्टमा रकम राख्ने सम्बन्धमा सञ्चालक समितिको निर्णय भएको देखिएन,' प्रतिवेदनको पृष्ठ २६ मा उल्लेख छ। प्रतिवेदनले विभिन्न बैंकमा रकम राख्न बैंकहरूबीच प्रतिस्पर्धा नगराई राख्ने गरिएको उल्लेख गरेको छ।
आर्थिक वर्ष ७०/७१ भन्दाअघि केही वर्ष बैंकिङ प्रणालीमा तरलता अभाव देखिएको थियो। उक्त समय वाणिज्य बैंकबीच संस्थागत लगानी तान्नका लागि होडबाजी चलेको थियो। ठूलो रकम आफ्नो संस्थामा तान्न कमिसन दिने चलन पनि थियो। निक्षेपको ब्याजदर पनि उच्च हुँदै गएपछि बैंकले १२ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमितसमेत गरेका थिए। १२ प्रतिशतसम्म ब्याजमा रकम मिलाइदिन कमिसन एजेन्ट पनि लागेका थिए। समितिले भने सोही समयमा मात्र ४ प्रतिशत ब्याज पाइने खातामा रकम राखेको देखिन्छ। प्रतिवेदनले 'सञ्चालक समितिलाई कोषको अवस्था, प्रतिफल र जोखिम आदिको विषयमा नियमित रूपमा जानकारी गराई समितिको निर्देशनबमोजिम पारदर्शी र व्यवस्थित रूपमा कोषको व्यवस्थापना गर्न' निर्देशन दिएको छ।
अध्ययनमा ठूलो रकम न्यून आय हुने खातामा राखेको विषय उल्लेख गरे पनि त्यसमा कसको भूमिका छ भन्ने स्पष्ट छैन। बिमा समिति कर्मचारी संघले विभिन्न माग राखेर असार ९ गतेदेखि आन्दोलन गरेको थियो।
माओवादी सरकारको पालामा नियुक्त भएका अध्यक्ष फत्तबहादुर केसीले गरेका विभिन्न निर्णयले समितिलाई असर परेको भन्दै कर्मचारीले आन्दोलन थालेका थिए। 'बिमा क्षेत्र नै पछि परेको छ,' कर्मचारी युनियनका एक सदस्यले भने, 'आफूखुसी निर्णय गर्ने र आफ्ना अनुकुलकालाई च्यापेर अरूलाई पेल्ने काम लामो समय भएको छ।'
कर्मचारी युनियनले समितिका विभिन्न निर्णयमा प्रश्न उठाउँदै आन्दोलन गरेर काम ठप्प पारेपछि अर्थ मन्त्रालयले अध्ययनका लागि अध्ययन कार्यदल गठन गरेको थियो।अध्ययन सकेर प्रतिवेदन अर्थमन्त्रीलाई समेत बुझाइसकिएको छ। बिमा समितिमा विवाद र समस्या देखिएपछि अर्थ मन्त्रालयले सहसचिव नवराज भण्डारीको संयोजकत्वमा उपसचिवद्वय रामप्रसाद मैनाली र नरबहादुर थापा सम्मिलित अध्ययन समिति बनाएको थियो।

Friday, December 5, 2014

सञ्चालकले डुबाए नेपाल फाइनान्स


काठमाडौ, मंसिर १९ - सञ्चालकले 'पारिवारिक' ढंगमा आफूखुसी सञ्चालन गर्दा सर्वसाधारणको ४३ करोड रुपैयाँभन्दा बढी निक्षेप रहेको नेपाल फाइनान्स लिमिटेड 'डुब्न' पुगेको छ । राष्ट्र बैंकले सर्वसाधारणको रकम संस्थापकले नातागोतामा लगानी गरेका कारण वित्तीय सूचक बिगि्रएको भन्दै फाइनान्सलाई समस्याग्रस्त घोषणा गरेको हो । नेपाल फाइनान्स निजी क्षेत्रको लगानी रहेको पहिलो वित्त कम्पनी हो ।
लगानीकर्ता एवं पूर्वकार्यकारी प्रमुख रविचन्द्रमान प्रधान र उनका नातेदारले कानुनविपरीत संस्था चलाएपछि फाइनान्सको खराब कर्जाको अनुपात ५४ प्रतिशतभन्दा माथि पुगेको हो । प्रधान र उनका नातेदारले पालैपालो प्रमुख कार्यकारी भएर आफूखुसी संस्था चलाएको राष्ट्र बैंकले जनाएको छ ।
पछिल्लो सार्वजनिक विवरणले संस्थामा ४३ करोड ४४ लाख रुपैयाँ निक्षेप देखिन्छ, जसमा सर्वसाधारण र केही संस्थागत छन् । फाइनान्सले सार्वजनिक गरेको आर्थिक वर्षको पहिलो त्रैमासिक विवरणअनुसार १६ करोड ८८ लाख रुपैयाँ कर्जा लगानी भएको छ, जसमध्ये ५४ प्रतिशतलाई राष्ट्र बैंकले खराब कर्जाको सूचीमा राखेको छ । संस्थाले ९ करोड १२ लाख रुपैयाँ हाराहारीको ऋण उठाउन सकेको छैन ।
संस्थासँग १६ करोड १७ लाख रुपैयाँ नगद र मौज्दात छ । संस्थाले ३ करोड ८७ लाख रुपैयाँ छुट्टै लगानी गरेको छ । यी दुई शीर्षकका रकम भने सजिलै फिर्ता हुन सक्छ ।
'पुँजी नकारात्मक र संस्थागत सुशासन कमजोर देखियो,' राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले भने, 'थप निक्षेप राख्न दिइरहँदा जोखिम हुने देखेकाले समस्याग्रस्त घोषणा गरिएको हो ।' समस्याग्रस्त घोषणा भएपछि संस्थाले सर्वसाधारणलाई निक्षेप फिर्ता गर्न मात्र पाउँछ, नयाँ निक्षेप र कर्जा लगानी गर्न पाउँदैन ।
फाइनान्सले संस्थागत सुशासन कायम नगरेको जानकारी भने राष्ट्र बैंकलाई लामो समयदेखि थियो । करिब ४ वर्षअघि प्रधानले आफूखुसी काम गर्न थालेपछि राष्ट्र बैंकले जरिवाना गरी उनलाई सञ्चालकबाट हटाएको थियो । कारबाहीपछि प्रधान अमेरिका भागेका थिए ।
विदेशमा भए पनि संस्थालाई भने आफ्नै नातेदारमार्फत नियन्त्रणमा राखेका थिए, जसलाई अल्पमतमा रहेका अन्य संस्थापकले विरोध गरेका थिए । 'प्रधानले उतैबाट अदालतमा मुद्दा दायर गरेर निलम्बन फुकुवा पाएका थिए,' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, 'त्यसपछि फर्किएर अमेरिका बसेको समयको समेत तलबभत्ता बुझे ।' उक्त समय विभिन्न शीर्षकमा प्रधानले ४५ लाख रुपैयाँ संस्थाबाट लिएका थिए । 'आफ्नो
र नातेदारको पेवा बनाएर संस्था बिगि्रएको हो,' स्रोतले भन्यो, 'लगानी भएको ठूलो रकम पनि स्वार्थ
बाझ्ने गरी गैरकानुनी रूपमा प्रवाह गरिएको छ ।'
प्रधान समूहका कारण संस्था यसअघि पनि कारबाहीमा परेको थियो । पूर्वअर्थमन्त्री मधुकरशमशेर राणालगायत समूहको पनि फाइनान्समा लगानी थियो । तर करिब १० वर्षअघि संस्थामा पकडको विषयलाई लिएर झगडा भएपछि राणा समूह संस्थाबाट बाहिरियो । 'त्यसपछि संस्थामा प्रधान समूहको हालीमुहाली भएको हो । त्यो समय राष्ट्र बैंकले कारबाही गर्दै व्यवस्थापन समूह आफ्नो नियन्त्रणमा लिएको थियो,' स्रोतले भन्यो ।
राष्ट्र बैंकले २०७० पुस मसान्तको अपरिस्कृत वित्तीय विवरण र त्यसपछि गरेको स्थलगत अध्ययनले पुँजी कोष ४.३६ प्रतिशतले ऋणात्मक रहेको देखाउँछ । २०७० असार मसान्तमा २२ करोड चुक्ता पुँजी पुर्‍याउनुपर्नेमा संस्थाको १३ करोड ५८ लाखमात्र थियो । राष्ट्र बैंकका अनुसार लामो समय कार्यकारी प्रमुख रहेका प्रधान र उनको परिवारसँग सम्बन्धित व्यक्ति/संस्थाको नाममा फाइनान्समा ३६ प्रतिशतभन्दा बढी सेयर छ ।
फाइनान्सबाट संस्थागत स्वार्थ बाझ्ने संस्था र ग्राहकलाई राष्ट्र बैंकको निर्देशनविपरीत प्राथमिक पुँजीको २५ प्रतिशतभन्दा बढी कर्जा लगानी भएको छ । यस्ता कैफियतहरू भेटिएपछि राष्ट्र बैंकले असार २७ मा फाइनान्सका अधिकारीसित स्पष्टीकरण सोधेको थियो । चित्तबुझ्दो जवाफ नआएपछि राष्ट्र बैंक सञ्चालक समितिको बुधबार साँझ बसेको बैठकले संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो । राष्ट्र बैंकले संस्थालाई ६ महिनाभित्र सुधार गर्न १२ वटा निर्देशन दिएको छ । संस्थाले तोकिएको सुधार गरे कारबाही फुकुवा भएर पुनः सञ्चालन हुन सक्नेछ । तर वित्तीय अवस्था पुनः फर्किन योग्य नरहेको स्रोतले बतायो । संस्थामा सर्वसाधारणको ४९.९४ प्रतिशत सेयर छ । साढे २८ प्रतिशत संस्थागत र बाँकी व्यक्तिगत प्रवर्द्धक छन् । यसअघि पनि सञ्चालककै कारण संस्था संकटमा परेका थुप्रै घटना सार्वजनिक भएका छन् । योसँगै राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा गरिएका संस्थाको संख्या १० पुगेको छ ।

Tuesday, December 2, 2014

सेयरमा निराशा

काठमाडौ, मंसिर १६ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) को दैनिक कारोबार रकममा अस्वाभाविक गिरावट आउन थालेको छ । पछिल्लो समय निरन्तर घटिरहेको बजारमा साताको सुरुवातबाटै कारोबार रकममा औसतभन्दा आधा भएको छ । कारोबार र बजार घट्नुपर्ने निश्चित कारण कसैले दिन नसके पनि सोमबार १३ करोड ९६ लाख रुपैयाँको
मात्र सेयर खरिद बिक्री भयो । आइतबार कारोबार रकम ११ करोड ५६ लाख रुपैयाँ बराबर मात्र थियो ।
अस्वाभाविक गिरावट आउनुअघि नेप्सेको दैनिक औसत कारोबार २० देखि २५ करोड रुपैयाँको हाराहारी देखिएको थियो । असार अन्त्यमा हालसम्मकै उच्च दैनिक कारोबार १ अर्ब २० करोड रुपैयाँ पुगेको नेप्सेमा पछिल्लो समय ०६४/०६५ भन्दा कमको कारोबार हुन थालेको छ । जसले लगानीकर्तामा निराशा देखिएको हो । यसले नियामकको चिन्ता पनि बढाएको छ । नेप्सेले सेयर ब्रोकरलाई छलफल गरी कारण सुझाउन भनेको छ । 'कारोबार रकम घट्नुपर्ने कारण छैन,' एक्सचेन्जका महाप्रबन्धक सीताराम थपलियाले भने, 'हामीले ब्रोकरलाई छलफल गरेर के गर्न आवश्यक छ भनेर सुझाव मागेका छौं ।'
केही समयअघि बजार निरन्तर घटदा धितोपत्र बोर्डले लगानीकर्तालाई नआत्तिन आहानसमेत गरेको थियो । तर ओरालो लागेको बजार थामिन सकेको छैन । 'बजार किन घट्यो भन्ने ठोस कारण नै छैन,' धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने । बोर्ड मात्रै होइन, अर्थ मन्त्रालयलाई पनि बजार घट्नुको स्पष्ट कारण थाहा छैन । 'बजार घट्नुपर्ने स्पष्ट कारण देखिँदैन,'
अर्थ स्रोतले भन्यो, 'एउटै कारण संविधान समयमै नबन्ला भन्ने डर लगानीकर्तामा
हुन सक्छ ।'
सेयर धितो कर्जामा समस्या हुने हल्ला केही सातादेखि चले पनि आवश्यक सबै व्यवस्था नियामकले गरिसकेका छन् । राष्ट्र बैंकले अभौतिक सेयरबाट पनि ऋण लिन सकिने व्यवस्था राखेर निर्देशन जारी गरिसकेको छ ।
यसअघि सेयरको प्रमाणपत्र राखेर मात्र ऋण लिन सकिने व्यवस्था थियो । बैंक वित्तीय संस्थाले पनि सेयर धितो कर्जामा कडाइ गरेका छैनन् । तर ऋण लिने कम भएपछि ब्रोकरलाई ग्राहक पठाइदिन बैंकले आग्रह गर्ने गरेका छन् ।
सेयर बजारलाई असर गर्ने अर्थतन्त्रका अन्य सूचक पनि नकारात्मक छैनन् । ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष अञ्जनराज पौडेलका अनुसार बजारका नियमित लगानीकर्तालाई 'मार्जिन कल' को समस्या देखिएको छ । 'निरन्तर घटेपछि लगानीकर्तालाई मार्जिन कल हुन्छ, जसले बजारमा दबाब देखिएको छ,' उनले भने, 'सेयर थप्नुपर्ने वा पैसा बुझाउनुपर्ने अवस्थाले केही असर गरेको हो ।'
सामान्यतया मंसिरदेखि पुसमा हुने कम्पनीको वाषिर्क साधारणसभा पनि समयअघि भएकाले बजारमा असर देखिएको हुन सक्ने उनले बताए । 'अधिकांश कम्पनीले साधारणसभा सकेको र उपलब्ध गराउने लाभांश पनि वितरण भइसकेकाले थप प्रतिफल पाउन एक वर्ष पर्खनुपर्ने अवस्था छ,' उनले भने । छोटो समयका लागि खरिद गर्ने लगानीकर्ता पनि बजार अझै घट्ने चिन्तामा रहेको उनी बताउँछन् । अभौतिक सेयरमार्फत बैंकबाट सहजै ऋण नपाएको गुनासो पनि लगानीकर्ताले गरिरहेको उनले बताए ।
बजार विश्लेषक रविन्द्र भट्टराई पनि अभौतिक सेयरमा प्रवाह हुने ऋण र प्रक्रियाबारे स्पष्ट नभएर अन्योल देखिएको बताउँछन् । 'यो विषयमा नियामक, खरिदकर्ता र विक्रेता अन्योलमा छन्,' उनले भने, 'यस्तो प्रक्रियाबाट ऋण लिने भन्ने स्पष्ट जवाफ कसैसँग छैन ।' बैंक वित्तीय संस्थाबाट ऋण लिएर लगानी गर्ने धेरै हुँदा बजार बढेको र पछिल्लो समय कर्जा घटेपछि बजारमा असर देखिएको उनले बताए । 'बजार घटदा कारोबार पनि घट्छ,' उनले भने, 'घटेको बजारमा लगानीकर्ता डराउँछन् ।' गिरी पनि बजार घट्न थालेपछि लगानीकर्ता आत्तिने प्रवृत्ति रहेको बताउँछन् । 'संस्थागत लगानीकर्ताको प्रभाव नभएसम्म यस्तो समस्या देखिन्छ,' उनले भने ।
यसका साथै सेयर सापटी लिएर बिक्री गर्ने व्यवस्था -सर्ट सेल) नभएका कारण पनि बजार घट्ने क्रममा देखिएको भट्टराईले बताए । 'सर्ट सेलसम्बन्धी कानुनी व्यवस्था र पूर्वाधार छैन,' उनले भने, 'यस्तो व्यवस्थाले लगानीकर्तालाई बजार घटदा पनि कमाउन सहयोग गर्छ ।'
आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएपछि पनि सेयर बजारमा असर देखिएको थिएन । अधिकांश कम्पनीले नाफा वृद्धि भइरहेको विवरण सार्वजनिक गरे पनि बजार भने घट्ने क्रममै देखिएको थियो । सेयर बजार ९ सय अंक तल झरेपछि दैनिक औसत कारोबार ३० करोडको हाराहारीमा भइरहेको थियो । त्यसभन्दा अघि यस्तो कारोबार औसत ४० करोड रुपैयाँ थियो ।
गत आर्थिक वर्ष अन्त्य हुँदा १ हजार माथि रहेको परिसूचक पछिल्लो समय साढे ८ सयको हाराहारीमा आइपुगेको छ । सोमबार साढे ५ अंकले घटेर परिसूचक ८ सय ५१ दशमलव ४३ विन्दुमा आइपुगेको हो ।

पछिल्लो ६ साताको औसत दैनिक कारोबार
-    मंसिर ५ देखि ९ (२१ करोड १४ लाख)
-    कात्तिक २८ देखि मंसिर ४ (२२ करोड ६० लाख)
-    कात्तिक २१ देखि २७ (२३ करोड ६६ लाख)
-    कात्तिक १४ देखि २० (२१ करोड ६१ लाख)
-    कात्तिक ९ देखि १३ (२४ करोड ९७ लाख)
-    असोज २४ देखि ३० (२१ करोड १८ लाख)

Monday, December 1, 2014

रेमिट्यान्स कम्पनीलाई फाइदा पुग्यो : बैंकर

काठमाडौ, मंसिर १५ - राष्ट्र बैंकबाट आएको निर्देशनले वाणिज्य बैंकलाई रेमिट्यान्स कारोबार रोक्ने र रेमिट्यान्स कम्पनीलाई फाइदा पुर्‍याउने आरोप बैंकरले लगाएका छन। निर्देशन
जारी हुनअघि भएको छलफलमा असन्तुष्टि राखे पनि बैंकर्स संघले कुनै काम नगरेको आरोप एक बैंकरको छ।
'यो पूरै आश्चर्यजनक छ,' ती बैंकरले भने, 'हामीले निर्देशनका केही विषयमा असन्तुष्टि राखेका थियौं र राष्ट्र बैंकले पनि हेरिदिन्छु भनेको थियो तर एकाएक निर्देशन आयो।' खातामार्फत भुक्तानी अनिवार्य गरेर राष्ट्र बैंकले एजेन्टमार्फत कारोबारमा रोक लगाएको आरोप बैंकरले लगाएका छन्। 'घरघरमा रकम पुर्‍याएर सेवा दिन बन्द हुने भएको छ,' अर्का एक प्रमुख कार्यकारी अधिकृतले भने, 'ती सेवामा संलग्नलाई पनि राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानुपर्ने अवस्था सिर्जना गर्‍यो।'
राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीलाई भने एजेन्ट र सबएजेन्टबाट कारोबार गर्न अनुमति दिने गरेको छ। 'कति रेमिट्यान्स कम्पनी वैध छन् थाहा भएन,' स्रोतले भन्यो, 'तर पारदर्शी बैंकलाई झन् असहज अवस्था ल्याएर हुन्डीलाई प्रोत्साहन गरेजस्तो देखियो।' राष्ट्र बैंकले जारी गरेको रेमिट्यान्ससम्बन्धी निर्देशनमा बैंकर्स संघ पनि विभाजित देखिएको छ।
रेमिट्यान्स कारोबारमा पकड जमाएका पुराना बैंकले निर्देशनबाट बेफाइदा हुने बताएका छन्। कारोबार कम हुने नयाँ बैंक भने निर्देशनबाट खासै फरक नपर्ने हुँदा मौन जस्तै बसेका छन्।

रेमिट्यान्स कम्पनीलाई फाइदा पुग्यो : बैंकर

काठमाडौ, मंसिर १५ - रेमिट्यान्स कारोबारमा वाणिज्य बैंक र विकास बैंकलाई छुट्टै लाइसेन्सको व्यवस्था गर्दै राष्ट्र बैंकले कडाइ गरेको छ। रेमिट्यान्स ल्याउन र भुक्तानी दिन पनि सेवाग्राहीको खाता हुनैपर्ने नया व्यवस्था समेत गरेर केन्दि्रय बैंकले निर्देशन जारी गरेको छ।
राष्ट्र बैंकले आइतबार जारी गरेको निर्देशनअनुसार वाणिज्य बैंक र वित्त कम्पनी मार्फत रेमिट्यान्स भुक्तानी खातामार्फत मात्र गर्न पाइनेछ। यसको अर्थ बैंकमार्फत रेमिट्यान्स पाउन ग्राहकले खाता देखाउनु वा खोल्नुपर्नेछ। हातमा नगदको साटो खातामा मात्र रकम जम्मा हुनेछ। यस्तो व्यवस्था एक वर्षभित्र लागू गरिसक्न केन्द्रीय बैंकले निर्देशन दिएको हो। यस्तो व्यवस्थाले ग्रामीण क्षेत्रमा शाखा नभएका बैंक वित्तीय संस्थाले रेमिट्यान्सको कारोबार गर्न नसक्ने देखिएको छ।
साथै ५ वर्ष अवधिको अनुमतिपत्र नलिई क र ख वर्गका वित्तीय संस्थाले रेमिट्यान्स कारोबार गर्न पाउने छैनन्। यसअघि छुट्टै अनुमति लिनुपर्ने व्यवस्था थिएन। हाल कारोबार गरिरहेका क र ख वर्गका संस्थाले ९० दिनभित्र अनुमतिपत्र लिइसक्नुपर्नेछ।
'निर्देशनबाट रेमिट्यान्सको तथ्यांक बनाउन र प्रणालीमा नदेखिने समस्या हटाउन मद्दत पुग्नेछ,' राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले भने, 'के, कहाँ र कति आयो भन्ने देखिनुपर्छ।' रेमिट्यान्स कारोबार गर्ने अन्य संस्थाका लागि छुट्टै नियम भए पनि इजाजतप्राप्त वित्तीय संस्थालाई यस्तो व्यवस्था थिएन। नयाँ निर्देशनपछि क र ख वर्गकाले अनुमति लिएर कारोबार गर्न सक्नेछन्। तर वित्त कम्पनीलाई भने रेमिट्यान्स कारोबारको अनुमति खुला गरिएको छैन।
निर्देशनपछि रेमिट्यान्स कारोबार गर्ने वाणिज्य बैंक र विकास बैंकमा कुन मुलुकबाट कति रकम आयो र कसलाई भुक्तानी भयो भन्ने विवरण राष्ट्र बैंकसँग हुनेछ। राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंक र विकास बैंकले विदेशमा छुट्टै खातामार्फत रेमिट्यान्सको कारोबार गर्नुपर्नेछ। उक्त खाताको स्टेटमेन्ट मासिक रूपमा केन्द्रीय बैंकलाई बुझाउनुपर्नेछ। यसका साथै रेमिट्यान्स आप्रवाह, भुक्तानी, आम्दानी, खर्च, कमिसनलगायतको विवरण पनि राष्ट्र बैंकलाई बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले रेमिट्यान्स भुक्तानीको विनिमय दरमा पनि एकरूपता ल्याउन निर्देशन दिएको छ। निर्देशनअनुसार स्वदेशमा बैंकले अन्य प्रयोजनका लागि तोकेको विनिमय दरअनुसार रेमिट्यान्सको पनि भुक्तानी हुनुपर्नेछ। कारोबारमा बढेको प्रतिस्पर्धाका कारण तोकिएको विनिमय दरभन्दा बढीमा भुक्तानी गर्ने प्रचलन बढेको थियो। जसले रेमिट्यान्स कम्पनीलाई भन्दा वाणिज्य बैंकलाई तुलनात्मक फाइदा थियो। तर बैंकलाई लागू हुने पछिल्लो निर्देशनले रेमिट्यान्स कम्पनीलाई फाइदा पुग्नेछ।
यसका साथै विदेशबाट पठाउन खोजेको रकम सम्बन्धित बैंकले नपाएसम्म भुक्तानी
गर्न नपाइने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ। पि्रपेमेन्ट गर्नका लागि विदेशी बैंकको ग्यारेन्टी भए सोही ग्यारेन्टी रकमको सीमाभित्र रहेर मात्र गर्न सकिने व्यवस्था छ। यसअघि कम्पनीले विदेशबाट रकम नआए पनि स्वदेशमा भुक्तानी दिने गरेका थिए। विदेशको कम्पनीले फटाइँ गरेर केही बैंकलाई समस्या पनि परेको थियो।
बैंकले विदेशी कम्पनीबाट पाउने कमिसन पनि विदेशी मुद्रामा भुक्तानी लिनुपर्ने व्यवस्था गरिएको छ। रेमिट्यान्स कारोबारको विवरण अद्यावधिक राख्न र १० लाख वा शंकास्पद कारोबारको विवरण र सूचना राष्ट्र बैंकलाई जानकारी गराउन भनिएको छ।